भर्खरै :

नेपालमा अनुगमन फितलो सङ्क्रमण बढ्ने खतरा

चीनले एक महिना अगाडि नै कोभिड –१९ नियन्त्रण गर्ने काम राजनीतिक नभएको बरू वैज्ञानिक र प्राविधिक भएको स्पष्ट गरेको थियो । वैज्ञानिक र प्राविधिकको भरमै चीनले यो भाइरसलाई नियन्त्रण गरेको हो । कुनै पनि खालको राजनीतिक व्यवस्था भएको देशमा यो भाइरस देखापर्दै छ । देश र जनताप्रति समर्पित राजनीतिक व्यवस्थाले यो भाइरस सङ्क्रमण रोक्ने र सङ्क्रमितको सफल उपचार गर्ने पुष्टि भइरहेको छ । प्रजग कोरियामा यो भाइरसको सङ्क्रमण देखिएन भने क्युवामा पनि तुलनात्मकरूपले सङ्क्रमण बढेको छैन । क्युवामा शनिबारसम्म सङ्क्रमित ८० र मृत्यु २ पुगेको तथ्याङ्क थियो । क्युवाले क्यारिवियाली देशहरू केलिज, एन्टिगुवा र बर्मुडा, सेन्ट भिसेन्ट, ग्रानेडाइन्स, दक्षिण अमेरिकी देश अर्जेन्टिनामा कोभिड–१९ नियन्त्रण गर्न चिकित्सक टोली पठायो ।
औद्योगिक क्रान्ति युरोपमा भएको थियो । यो राजनीतिकभन्दा पनि विज्ञान र प्रविधिको क्रान्ति हो । कोभिड–१९ नियन्त्रण गर्न विज्ञान र प्रविधिमा भरपर्नु आवश्यक छ । तर, संरा अमेरिकाले क्युवाको चिकित्सक टोली क्यारिवियन र दक्षिण अमेरिकी देशमा कोभिड–१९ नियन्त्रण गर्न गएको क्युवाको ‘सेन्तो कोटको कूटनीति’ भनी सम्बन्धित देशलाई सहयोग नलिन चेतावनी दियो । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विश्व स्वास्थ्य सङ्कट नै भएको घोषणा गरिसकेको हुँदा संरा अमेरिकी दबाबमा संरा सङ्घले क्युवा, प्रजग कोरिया, इरान, सिरियालगायत देशमा लगाएको नाकाबन्दी अविलम्ब हटाउनु आवश्यक छ ।
चीनमा कोरोना भाइरस सङ्क्रमण सुरूसँगै चीनस्थित दक्षिण कोरियाको राजदूतावासले आफ्नो पर्खालमा ‘चीनको कठिनाइ हाम्रो पनि कठिनाइ हो’ उल्लेख बायनर टाँगेको थियो । त्यसबेला चीनलाई सहयोग गर्ने देशहरूमध्ये एक दक्षिण कोरिया पनि थियो । यसकारण चीनले दक्षिण कोरियामा कोभिड–१९ नियन्त्रण गर्न तत्कालै मास्क, सुरक्षित पोशाक, चस्मा, परीक्षण किट, थर्मोमिटर र अन्य सामानहरू सहयोग ग¥यो ।
अमेरिकालगायत पश्चिमा देशहरूले चीनमा गरिएको ‘लक डाउन’ लाई मानव अधिकार हनन भनी विरोध गरे । मङ्गलबार सार्वजनिक एक अध्ययनअनुसार विद्यालय, कलेज र कार्यस्थल बन्द गरी शारीरिक दुरीमा बस्नु नै कोभिड–१९ नियन्त्रणको प्रभावकारी उपाय हो । युरोपको इटाली र संरा अमेरिकाले यसलाई बेवास्ता गरे । जनवरी ३० सम्म इटालीमा यो भाइरस देखापरेको थिएन । संरा अमेरिकामा सङ्क्रमित ५ जनामात्र थिए । ३१ जनवरीमा इटलीमा सङ्क्रमित २ जना देखियो भने अमेरिकामा ६ जना पुग्यो । २७ मार्चसम्म इटलीमा सङ्क्रमित ८०,५३९ र मृत्यु ८१६५ पुग्यो भने अमेरिकामा सङ्क्रमित ६८,३३४ र मृत्यु ९९१ पुग्यो । २८ मार्चसम्म अमेरिकामा सङ्क्रमित १,०४,२५६ र मृत्यु १७०४ पुग्यो भने इटालीमा सङ्क्रमित ८६,४९८ र मृत्यु ९१३४ पुग्यो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग सहकार्य गर्नुभन्दा पनि ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी विरोध गरे । इटलीले समयमै चीनसँग सहकार्य ग¥यो । १७ मार्चसम्म चीनले इटलीलाई दोस्रोपटक नौ टन सामग्री सहयोग ग¥यो । इटलीमा युरोपेली सङ्घको झन्डा हटाएर चीनको झन्डा गाडिएको तस्वीरसमेत प्रकाशित गरियो । चीनले नेपाल, पाकिस्तानलगायत ८३ देशमा कोभिड–१९ नियन्त्रण गर्न सहयोग गर्दै छ ।
नेपालमा शनिबारसम्म ५ जनालाई यो भाइरस सङ्क्रमण भएको तर कसैको मृत्यु भएको छैन । नेपालमा कोभिड–१९ भएको वा नभएको रगत परीक्षण गर्न नमुना काठमाडौँमा पुग्नु आवश्यक छ । डाक्टरहरूले दक्षिण कोरियामा सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत परीक्षण गरेर यो भाइरस नियन्त्रण गर्दै छ । नेपालमा अनुगमन र निगरानी फितलो भएको हुँदा यो भाइरस भुसको आगोजस्तै फैलिने सम्भावना बढ्दो छ । सिङ्गापुर र जापानले पनि सङ्क्रमितसँग सम्पर्क भएका सबैको रगत जाँच गरेर यो भाइरसलाई नियन्त्रण गरेको हो । नेपालमा कोभिड–१९ पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालका निर्देशकलाई समेत थाहा नहुने स्थिति भएको समाचार छ । यो भाइरससम्बन्धी अध्ययनमा लागेका वैज्ञानिकहरू औषधि पत्ता लगाउन १०–१२ वर्ष लाग्ने बताउँछन् । नेपाल सरकारले स्वास्थ्यकर्मीहरूलाई पर्याप्त व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) उपलब्ध गराउनु आवश्यक छ । खाद्यान्न आपूर्ति व्यवस्थित गरी शारीरिक दुरी बढाउन सबैलाई सजिलो बनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *