भक्तपुर । नोबेल कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण रोकथाम तथा न्युनीकरणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनमा जनजीवन सहज बनाउन भक्तपुर नगरपालिकाले मंगलबारदेखि स्थानीय वडा कार्यालयमार्फत नगरबासीलाई अत्यावश्यक अवस्थामा घर बाहिर आउने अनुमति पत्र वितरण थालेको छ । संसारभर महामारी फैलिएको अवस्थामा बजार, मन्दिर, पाटी वा सार्वजनिक स्थलमा मानिसको भीड जम्मा नगराउने उद्देश्यले अनुमति पत्र वितरण गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, नपा कर्मचारी र स्वयम्सेवकहरू नगरबासीको दैलो दैलोमा पुगेर अनुमति पत्र, साबुन र मास्क वितरण गरेका थिए । अनुमति पत्रमा सबै घरको मूलीको नाम लेखिएको छ । अनुमति पत्र लिएर एक पटकमा परिवारको एक जना मात्र सदस्य अत्यावश्यक कामको लागि घरबाहिर आउन सकिनेछ । अत्यावश्यक अवस्थामा घर बाहिर निस्कँदा अनिवार्य रुपमा अनुमति पत्र देखाउनुपर्ने छ । जनहितलाई ध्यानमा राखी नगरपालिकाले लागु गरेको व्यवस्था अटेर गरे प्रहरी प्रशासनबाट कडा कारबाही गरिने बताइएको छ । अनुमति पत्रको दुरुपयोग नगर्न सम्पूर्ण जनतामा आग्रह गर्दै प्रमुख प्रजापतिले अनुमति पत्र बोकी अनावश्यक रुपमा बाहिर निस्केमा समेत कारबाही गरिने प्रष्ट पार्नुभयो । उहाँले नगरबासीहरूको सहजताको लागि मात्र अनुमति पत्र वितरण गरिएको प्रष्ट पार्नुभयो ।
अनुमति पत्र वितरणबारे जानकारी दिंदै भक्तपुर नपा वडा नं ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले भन्नुभयो,“साथीहरूले घरघरमै गएर अनुमति पत्र विरतण गरिरहुनभएको छ र यस क्रममा रोगको संक्रमण र बच्ने उपायबारे घरधनीहरूलाई सचेतना दिइरहनु भएको छ ।” मंगलबार वितरण गर्न नसकिएका केही स्थान र वडामा बुधबार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
प्रहरी प्रशासनसँगको समन्वयमा अनुमति पत्र वितरण भइरहेको हुँदा बुधबारदेखि अनुमति पत्र नलिई बाहिर निस्कनेलाई प्रहरीले कारबाही गरिने उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले अनावश्यक रुपमा घर बाहिर नआउन र भीड जम्मा नहुन सबैमा अनुरोध गर्नुभयो ।
यसैबीच भक्तपुर नगरपालिकाले नगरबासीलाई अनावश्यक कार्यमा घरबाट बाहिर ननिस्कन भक्तपुर नपाले सबैलाई अनुरोध गरिरहेको छ ।
मन्दिर, मस्जिद, चर्च, बहाबहीलगायत धार्मिक स्थलहरूम पूजा प्रार्थना गर्ने वा मर्निङ वाक, योग र शारीरिक व्यायामको नाउँमा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्ने कार्यलाई निरुत्साहित गर्ने कार्यम जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाहरू समेत परिचालित भइरहेको नगरपालिका स्रोतले बताएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकको निर्णयअनुसार नगरका सबै वडामा वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको अध्यक्षतामा समन्वय समिति गठन भइसकेको र सोही समितिको अगुवाइमा स्थानीय जनतालाई कोरोना भाइरस रोगबाट जोगिने उपायबारे घरघरमै जानकारी दिने कार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *