भर्खरै :

संरा अमेरिकी साम्राज्यसित मुखुन्डो छैन

–डेनिस इटलर
ह्वाइट हाउसमा बसेका बर्बर मानिसहरूले आफूले नरसंहारकारी नाकाबन्दी लगाइराखेको देश इरानलाई सहयोग दिने प्रस्ताव राखेको खबर पत्याउनै मुस्किल छ ।
आज संरा अमेरिकासित इरानलाई दिनका निम्ति केही पनि छैन, आफ्नै जनतालाई दिनका निम्ति पनि केही छैन । बरु इरानसित सच्चा मित्रहरू छन् जसले सङ्कटको यस घडीमा उसलाई सहयोग गरिरहेका छन् । चीन र रुस दुवै अहिले इराको साथमा उभिएका छन् । दुई महिना लामो अवधिसम्म निकै कडा कठिनाइ व्यहोरेर पनि चीन अहिले अन्तर्राष्ट्रिय मैदानमा खरो उत्रिएको छ र कोरोना भाइरसको महामारीसित लडिरहेका देशहरूलाई सामग्री र जनशक्ति सहयोग गरिरहेको छ ।
अर्कोतिर संरा अमेरिका केही देशलाई थोरै सहयोगको आश देखाएर आफूसित कमी भएका चिज चोर्न दाउ लगाइरहेको छ । आज संरा अमेरिकाले जे भन्छ त्यसलाई कसैले पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । सबैले यसलाई संरा अमेरिकाको धुवाँको पर्दा र छल गर्ने ऐनाको रूपमा बुझिरहेका छन् । संरा अमेरिकाले आफ्नो असफलताको दोष जति अरूमाथि थोप्न र आफ्नै अपराधमाथिको ध्यान अन्यत्र मोड्न हरेकखाले जुक्ति अवलम्बन गरेको छ । उसले को मित्र र को शत्रु सबैमाथि एकैखाले भाषा प्रयोग गरिरहेको छ । अहिले कोरोना भाइरसको महामारी हटाउने चुनौती जनताको आँखामा अमेरिकी संस्थापनको परीक्षाको रूपमा रहेको छ ।
संरा अमेरिका अहिले तासको घरमा पुगेको छ, उसका खुट्टा दलदलमा भासिएको छ र अमेरिकी साम्राज्यसित आज कुनै मुखुन्डो छैन । यसको भयानक लाग्न छोडेको विश्वका बहुमत मानिसले घृणा गर्ने अनुहार उदाङ्गो भएको छ । चिनियाँहरूले भन्ने गरेझैँ अहिले संरा अमेरिकी साम्राज्यवाद कागजी बाघ बनेको छ । यहाँ संरा अमेरिकाका लागि अहिले कुखुराहरू आफ्नै घरमा बास बस्न फर्केका छन् भन्ने भनाइ बढी सान्दर्भिक हुन्छ ।
संरा अमेरिकाले अहिले आफ्नो सङ्कटको समाधान गर्न सक्दैन । यसले आफ्नो साम्राज्यवादी सुविधाहरू पनि अति धेरै नै प्रयोग गरिसक्यो । इरान र चीनजस्ता देशले आजका कुनै पनि आँधी (सङ्कट) सामना गर्न सक्छन्, उनीहरू लडाइँमा आगोमा खारिएका स्पातजस्तै भएका छन् । तर, संरा अमेरिकाले दशकौँसम्म यस ग्रहमा विध्वंस मात्र मच्चाइरह्यो, विश्वका जनताको नजरमा संरा अमेरिकाले मृत्यु र विश्वंसबाहेक ल्याउन सक्दैन भन्ने परिसक्यो । अमेरिकी शासकहरू शौकसुविधाको काखमा डुबिसकेका छन् । संरा अमेरिकाको आजको स्थिति देखेर बाइबलको एक वाक्य स्मरण हुन्छ – पिताका पापहरूले उसका पुत्रहरूको जीवनमाथि छोप्न आयो । संरा अमेरिकाको भविष्य अन्धकार देखिएको छ र संरा अमेरिका भोजको अन्तिम परिकार खाइरहेको छ ।
(डेनिस इटलर संरा अमेरिकाको क्यालिफोर्नियास्थित क्याब्रिलो कलेजका प्रोफेसर हुन् । इटलर एक चर्चित राजनीतिक विश्लेषक हुन् र उनले दशकौँदेखि अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउँदै आएका छन् ।)
The Empire has no masks
Press TV+ Monday, 23 March 2020
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *