भर्खरै :

मौन अवधिमा सामाजिक सञ्जाल : सिर्जनात्मक प्रयोगदेखि दुरूपयोगसम्म

काठमाडौं, २९ वैशाख । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने ?”
सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरू भयो । निर्वाचन, लोकतन्त्र, पार्टी, नेता र जनताका सपनादेखि विगतमा कुन दलले कस्तो काम गरे भन्नेबारे मत अभिमतको सवाल जवाफ अहिले सामाजिक सञ्जालमा यो वा त्यो रूपमा चलिरहेको छ ।
युवा उम्मेदवार भएका कारण पनि विवेकशील नेपालका दर्शनालाई सामाजिक सञ्जालमा पछ्याउने धेरै छन् । मौन अवधि सुरू भएपछि चलाइएको बहसमा ठूला दल र तिनका नेताका कारण देश उँभो नलागेको गुनासा अभिव्यक्त भएका छन् । स्थानीय निर्वाचनको प्रचार नगर्न मौन अवधि लागू भएपछि प्रत्यक्ष मत माग्ने काम नभए पनि अप्रत्यक्ष रूपमा आफूले समर्थन गरेको दल र उम्मेदवारका पक्षमा जनमत तान्ने प्रयास जारी छ । प्रत्यक्ष रूपमा घरदैलो गरेर प्रचारप्रसारमा रोक लागे पनि सामाजिक सञ्जाल र अन्य प्रयोगबाट मतदाताको मन जित्ने प्रयासलाई सम्भवतः निर्वाचन आयोगको अनुगमनले पनि नदेखेझैं गरिदिएको छ ।
त्यसो त मौन अवधिमा केही भन्न नपाइने वा सामाजिक सञ्जाललाई पनि पूरै नियन्त्रण गर्न खोज्ने विषय सम्भव हुँदैन । पत्रकार भुवन केसीले फेसबुकमा भनेझैं “मौन अवधि भनेको थर्कमानको अवधि होइन ।” यही अवधिलाई सामाजिक सञ्जालमा सिर्जनात्मक सदुपयोग गर्ने काम पनि भइरहेको छ भने दल र नेताहरूबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।
वैशाख ३१ गते तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि बिहीबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिताबमोजिम मौन अवधि सुरू हुने भएकोले प्रचारप्रसारमा रोक लगाइएको छ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले शुक्रबार दिउँसो “मौन अवधिमा पनि घाम त लागिरहँदो रहेछ ! जय सूर्यदेव, जय सूर्यमुखी ।” भन्ने पोस्ट गरेर अप्रत्यक्ष रूपमा आफ्नो पार्टीको निर्वाचन चिह्नको प्रचार गर्नुभयो । यसलाई जवाफ दिने प्रकारले नेपाली काङ्ग्रेसका युवा नेत्री प्रतिमा गौतमले “मौन अवधिमा पनि शीतल हावा चलिरहेछ । रूख नभए शीतलता कहाँ होला र ? रूख जीवन हो, जीवन रूख हो ! हामीले बुझ्न जरूरी छ ।” यो पोस्टलाई नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदीले तत्काल शेयर गरेर अरूमाझ पु¥याउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वाेत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै शेयर गरेका छन् ।
सामाजिक सञ्जाललाई नियमित अवलोकन गरिरहेका पत्रकारिताका अध्येता केसीका विचारमा “सोसल मिडियामा आचारसंहिता लागू गराउनु आफैमा विवादास्पद छ । यसमा विश्वका जुनसुकै स्थानबाट पनि सामग्री राख्न सकिन्छ । स्थानीय तहको निर्वाचन नेपालको तीनवटा प्रदेशमा मात्र हुँदैछ । त्यो क्षेत्रभन्दा बाहिरबाट सोसल मिडियामा प्रचार गरे र मत मागे भने त्यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि छैन । त्यो कुरा व्यावहारिक हुँदैन ।”
केसी भन्नुहुन्छ – “निर्वाचन आयोगको आचारसंहितालाई मान्ने नै हो भने पनि मौन अवधिमा कुनै पार्टी वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार गर्नुलाई राम्रो मानिंदैन । तर व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न मिल्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *