भर्खरै :

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ ।
बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य हुनुभएको छ । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिनु भएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँड्नुभएको हो । उहाँका दुई शिशु घरमा नै छन् । उहाँका श्रीमान् घरमा तिनलाई कुरेर बस्नुभएको छ ।
एक हलको मेलो जग्गाले उहाँहरूलाई खान पुग्दैन, ज्याला गरेर खानुपर्छ । कोभिड –१९ को त्रास फैलिएका बेला गाउँमा समेत काम नपाएपछि सो परिवार समस्यामा परेको हो । गाउँमा मागेको खानेकुराले परिवार पालिएको सानुमायाले राससलाई बताउनुभयो ।
खरको छानो भएको घरभित्र एक डोको मकै, खाना पकाइने भाँडा र लगाइने लुगा समेत एकसरो पुरानो मात्र रहेको ३० वर्षीया सोल्टीमाया चेपाङको परिवार छुट्टै समस्याले गाँजिएको छ । खोरियाबारी । ज्याला गरेर बाँच्नुपर्ने अवस्थाको परिवार । श्रीमान् ६० वर्षका हुनुभयो । हाल उहाँसँग सात जनाको परिवार छ । खानबस्न समस्या छ । दादुराका कारण थलिएकी छोरी कोरोनाको त्रासका कारण उपचार नपाएर आँगनमै बसिरहेकी छन् । समस्यामाथि समस्या आएको चेपाङ परिवार बाँच्नका लागि हरेक दिन सङ्घर्ष गरिरहेछ । कोरोना भाइरसको जोखिमले लकडाउन भएपछि काम नपाइएकाले आफूहरू थोरैथोरै खोले खाएर बसिरहेको सोल्टीमायाले बताउनुभयो ।
चेपाङ गाउँका यी प्रतिनिधिमूलक परिवार हुन् । गाउँमा समेत काम नपाएपछि उहाँहरूजस्तै बुमराङका सात परिवार, बुङपुङ तार्केटारका पाँच परिवार र रोतेसका सात परिवार खानेकुरा सकिएर समस्यामा परेको वडाध्यक्ष देवकृष्ण आलेले बताउनुभयो ।
यो हालको समस्याले बढी समस्यामा परेको भए पनि खोरियाबारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यस क्षेत्रमा २२० घर चेपाङ सङ्घर्षपूर्ण तरिकाले बाँचिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *