खेलकुद विकासको लागि खेलाडीमा इमानदारिता नैतिकता र राष्ट्रिय भावना आवश्यक
- आश्विन २, २०८३
भक्तपुर, ३ असोज । वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाका आठ विद्यालयका ८० उसु खेलाडीहरूको ग्रेडिङ सम्पन्न भयो ।
बाल विकास स्कूल, लिबालीमा भएको ग्रेडिङको औपचारिक कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थीलाई स्वस्थ बनाउनको साथै मोबाइलको लतबाट टाढा राख्न भए पनि खेलकुदमा संलग्न गराउनु आवश्यक रहेको बताउनुभयो ।
बालबालिकाहरूको बानी बिगार्ने काम मोबाइलले गरिरहेको हुँदा केही देशहरूमा १३ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल चलाउन बन्देज गरिसकेको भन्दै उहाँले सानै उमेरदेखि बालबालिकाहरूलाई खेलकुद, सङ्गीतजस्ता अतिरिक्त क्रियाकलापमा संलग्न हुन आफ्ना छोराछोरीहरूलाई उत्साहित गर्नु आजको आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाज, परिवार, प्रशिक्षक र खेलाडीको राम्रो समन्वय बनाउन सके राम्रो खेलाडी उत्पादन हुन्छ । राम्रा खेलाडीहरू संस्कारी हुन्छन् । संस्कारी खेलाडीहरूले बल प्रयोग र तोडफोडमा जोड दिँदैन ।”
नेपाल उसु महासङ्घका केन्द्रीय महासचिव राजिव महर्जनले राम्रा खेलाडीहरू उत्पादनको लागि प्रशिक्षकले धेरै मेहनत गरेको हुने बताउँदै प्रशिक्षार्थीबाट प्रशिक्षकलाई दिने भनेको आदर, सम्मानमात्र भएको हुँदा सबै खेलाडीहरूले आफ्ना प्रशिक्षकलाई आदर गर्न कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
साउथ एसियन रेफ्री रोशन बुढाथोकी, भक्तपुर जिल्ला उसु प्रशिक्षक एवं पूर्वमुख्य प्रशिक्षक फत्तबहादुर लामाको उपस्थितिमा भएको ग्रेडिङ कार्यक्रममा भक्तपुर जिल्लाको मेधा मावि, बाल विकास ई. स्कूल, मोर्डन सेकेन्डरी स्कूल, बागेश्वरी मावि, ख्वप्रिङ ई. एकेडेमी, एभरेस्ट ई. स्कूल, साइनिङ स्टुडेन्ट एकेडेमी र चाँगुनारायण उसु क्वानका ८० खेलाडीहरू सहभागी भएको प्रशिक्षक रमेश सुवालले जानकारी दिनुभयो ।
Leave a Reply