भर्खरै :

कामदार जनताको सरकार मानवतासँग जोडिएको हुन्छ

-काजी बहादुर पञ्च
लकडाउनको सङ्कटमा शासकहरू झन् जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ । यो महामारीको अवस्थामा धनी र गरिबको दूरी बढाउने काम गर्नुहुँदैन । सबै नेपालीलाई उत्तिकै उपचार सुविधा दिन सरकार सचेत र जागरुक हुनुको विकल्प छैन । धनीहरू परिवारसँग मिलेर बस्ने अवसर पाएका छन् । तर, खान र लाउन समस्या भएको परिवारको हालत दयनीय छ । उनीहरुलाई लकडाउनको कारणले आफ्ना सन्तानलाई के खुवाउने भन्ने समस्या छ । कोही धनीले गंगाजल छर्केसरि राहत दिंदै छन् तर सरकारले प्रभावकारी कदम चालेको देखिंदैन । ओली सरकार मजदुर र किसानको सरकार हो भने यस्तो सङ्कटको अवस्थामा सरकारले कर्मचारीलाई जस्तै मजदुर किसानको लागि पनि एक महिनाको खर्च दिनुपर्छ ।
            चीनले जस्तै कोरोना भाइरसको सुरुवातमै निगरानी गरेको भए आज युरोपमा त्यस्तो विधि महामारी फैलिने थिएन । अमेरिकाले समयमै ध्यान नदिएकोले आजको आश्चर्यजनक अवस्था आएको हो । भविष्यको लागि लगानी गर्नु घाटा व्यापार सम्झने अमेरिकी सरकार समस्याको मूल जड बन्दै छ । यो ट्रम्पको अहिलेसम्मकै सबभन्दा ठूलो अपराध हो ।
            चीनले विश्व स्वास्थ्य सङ्गठनलाई डिसेम्बर ३१ मा निमोनियाजस्तो लक्षण भएको अज्ञात रोग फैलिएको सूचना गर्‍यो । विश्व स्वास्थ्य सङ्गठनबाट रोगको स्रोत कोरोना भाइरस भएको पहिचान भयो । यसबारे चीनले जैविक सूत्र पत्ता लगाई संसारलाई उपलब्ध गरायो । ट्रम्पले यो रोगलाई सामान्य रुघाखोकीभन्दा बढी केही नभएको र नियन्त्रणभित्र रहेको बताउँदै आए । अमेरिका नवउदारवादको जालोमा फस्दै जानुको नोक्सानी हो ट्रम्पको त्यो अभिव्यक्ति । त्यसको जरा अझ गहिराइमा झागिँदै छ । यसको असर युरोपेली देशहरूमा फैलिंदै छ । युरोपियन युनियन पनि काम न काजको बन्दै छ यो महामारीमा ।
            चीन महामारीलाई नियन्त्रण र रोकथाममा सहयोग गर्न युरोपमा समेत सक्रिय बनेको छ । क्युवा पनि कोरोना भाइरसको विरुद्धमा लागिपरेको छ । यो विषयमा ट्रम्पसँग अमेरिकी गुप्तचर विभागले कुरा गर्न चाहेको थियो तर सफल नभएपछि उक्त विभागले प्रतिक्रिया दिएको थियो, “सिङ्गो प्रणालीमा खतराको रातो बत्ती पिलिकपिलिक गर्दै छ ।” यसले पुँजीवादी देशभन्दा समाजवादी देश बहुमत जनताको सेवा गर्ने देश हो भन्ने बुझउँछ । विस्तारवादी तथा पुँजीवादी भारत सरकारले परिस्थितिलाई मध्यनजर नगरी गरिएको लकडाउनबाट भारतीय जनता र भारतमा कार्यरत नेपाली जनताले समस्या र बर्बादीको अवस्था भोग्नुपरेको छ ।
            रोगलाई हतियारले जित्नसक्ने भइदिएको भए आज पुँजीवादी राष्ट्रहरू धेरै खुशी हुन्थे । पुँजीवादीहरू श्रमिक जनतालाई वास्ता गर्दैनन् । तिनीहरू जनतालाई सामन्तहरूले जस्तै नोकर–चाकर सम्झन्छन् ।
            समाजवादी व्यवस्था भएको सरकारमात्र कामदार जनताको हुनेछ । यो कुरा कोरोना भाइरसको महामारीमा सहयोग गर्ने र समयमै सचेतना जगाउने देश चीनको शिक्षाबाट प्रमाणित भएको छ । हतियारभन्दा बुद्धि नै ठूलो हुन्छ भनेको यही हो ।
            नेपाल सरकार पनि आवश्यक औषधि, उपचारमा सहयोग पुर्‍याउने मास्क, पञ्जा, स्यानिटाइजर, भेन्टिलेटर तथा उपचार क्षेत्रको पर्याप्त व्यवस्था गर्न सक्षम हुनुपर्छ । सरकार शुभलाभको पछाडि दौड्नु भएन । यसबारे समयमै सोचिएन र सचेत भएन भने देशले धेरै मूल्य चुकाउनुपर्नेछ । त्यसकारण महामारी कोरोना भाइरसको विरुद्धमा सफलता पाउन र प्रभावकारी कदम चाल्न सरकार गम्भीरताका साथ अघि बढ्नुपर्छ । नेपाली जनता र नेपालमा रहेका विदेशी मित्रहरूले पनि नेपाल सरकारको लकडाउनको निर्णयलाई पूर्णरूपमा पालना गर्नुपर्छ । यसको अवज्ञा गरेमा देश र जनताले धेरै नै मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ ।
मजदुर दैनिक, २०७६ चैत्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *