भर्खरै :

लकडाउनमा महिलाको दिनचर्या

-सुनिता गाइसी
जुन घरमा महिला खुसी हुन्छन् त्यो घरमा सुख, शान्ति र सद्भाव छाउँछ । गएको महिनामात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो विभिन्न नाराका साथ । महिलाको हक अधिकारका कुराहरू पनि सुनिए तर कतिपय कुराहरू हात्तीको देखाउने र चपाउने दाँत फरक भएझैँ फरक हुने गरेको छ । संविधानले महिलालाई अधिकार सम्पन्न बनाएको छ तर व्यवहारमा त्यस्तो छैन । आधा आकाश ढाकेका महिलाहरू अघि बढेमा मात्र समाजमा अघि बढ्दछ ।  हाल विश्वमा महामारीको रूपमा बढ्दै गएको कोरोनाको प्रकोपलाई कम गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । यो अवस्थामा महिलाहरूको जीवनशैलीबारे केही चर्चा गर्ने जमर्को गरेको छु । कतिपय मानिसहरू लकडाउनले गर्दा काम छैन, आराम गर्ने, खाने, सुत्नेमात्र भयो दिक्क लाग्यो भनी आफ्ना फेसबुक वालमा राखेर लाइक र कमेन्ट कति भयो भनेर हेर्न व्यस्त छन् । तर, तिनै घरका महिलाहरू बिहान उठेदेखि दिनभर परिवारका सदस्यहरूको खानपानदेखि घरको सरसफाइमा व्यस्त हुन्छन् । उनीहरूलाई आराम गर्नसम्म समय हुँदैन । कामकाजी वा जागिरे महिलाहरू लकडाउन अगाडि र हालको समयलाई दाज्दै भन्छन्ः दैनिकरूपमा घरबाहिर काम गर्न जाँदा मानसिकरूपमा स्वस्थ रहेको हुन्छ । घरायसी केही तनाव रहे पनि कार्यालयमा गएर काम गर्दा, साथी सङ्गीहरूसँग कुरा गर्दा मन शान्त रहन्थ्यो । घरभित्रका कामहरू पनि सहजरूपमा भइरहेको थियो । तर, लकडाउनको समयमा त बिहान उठेदेखि नसुतेसम्म बढी समय किचेनमा नै बित्छ ।  स्कूल बन्द हुनाले बालबालिका घरै भए । त्यसकारणले उनीहरूको खानपानमा बढी समय दिनुपर्ने हुन्छ । कतिपय महिलाहरूले यसलाई अवसरको रूपमा लिएका छन् जागिर खानुपर्ने हुनाले परिवारलाई समय दिन नसकेको तर लकडाउनले गर्दा परिवारसँग समय बिताउन पाएकामा धेरै महिलाहरू खुसी पनि छन् । तर, कतिपय महिलाहरू पूरै दिन घरैमा हुने हुनाले मानसिकरूपमा तनाव महसुस गरिरहेका छन् । दैनिकरूपमा आवश्यक सामानहरू सहजरूपमा नपाउनाले घरायसी कामकाजमा विभिन्न समस्या आएको र केही गरी सामान पाइहाले पनि व्यापारीहरूले मनपरी मूल्य लिँदा उनीहरू मारमा पर्ने गरेका छन् । खाना  खाइसकेपछि अब खाजा के खुवाउने भन्नेतिर लाग्दछन् खाजापछि खानाको लागि फेरि तयारी गर्न जुट्दछन् । हाल खानेपानीको समस्या बढदै छ । गर्मी बढेसँगै धारामा पानी आउने क्रम पनि कम हुँदै गएको छ । यसबाट प्रत्यक्षरूपमा महिलाहरू नै पीडित छन् । किचेनको कामपछि बढीजसो महिला पानीको जोहो गर्न लाग्दछन् । ३,४ दिनपछि धारामा पानी आउँछ । सार्वजनिक धाराहरूमा त महिलाहरू तँछाडमछाड गर्ने गरेको दृश्य पनि प्रशस्त देखिन्छ ।
            हाल काठमाडौँ उपत्यकाको जनसङ्ख्या ३० लाख पुगेको तथ्याड्ढले देखाउँछ । काठमाडौँमा दैनिक ४० करोड लिटरभन्दा बढी पानीको माग भइरहेको छ । तर, हाल वर्षामा १५ करोड लिटर र हिउँदमा १० करोड लिटरमात्रै पानीको आपूर्ति गर्न सकिएको कुरा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणा बताउनुहुन्छ । खानेपानीको सहज आपूर्ति नहुनाले पनि घरायसी काममा प्रभाव पारिरहेको कुरा गृहिणी महिलाहरू बताउँछन् । लकडाउनले घरबाट बाहिर निस्कन रोक लगाउनाले खानेपानीको अभाव टड्कारो भएको छ ।  लकडाउनको समयमा कतिपय पुरुषहरूले महिलाहरूलाई घरायसी कामकाजमा सहयोग गरिरहेका छन् । यो राम्रो कुरा हो । कतिपय पुरुषहरू आफ्ना परिवारका महिला सदस्यहरूलाई घरायसी कामकाजमा सहयोग गर्न चाहन्छन् तर घरका वृद्ध महिला सदस्यहरू उनीहरूलाई ती काम नगर्न भन्छन् । आफ्नो छोरीलाई ज्वाइँले काममा सहयोग गर्दा गाउँभरि सुनाइ हिँड्ने आमा आफ्नै घरमा छोराले बुहारीलाई घरायसी काममा सहयोग गरे के जोइटिङ्‍ग्रे भाको तँ भनी छोरालाई झपार्ने गर्छिन् । कतिपय महिला अधिकारवादीहरू महिलाहरू हिंसामा पर्नुको कारण पितृसत्तालाई ठान्दछन् । यो केही हदसम्म सत्य पनि होला । तर, समाजको वास्तविक रूप हेर्ने हो भने महिलाहरू बढीजसो महिलाहरूबाटै पीडित छन् । विवाह हुनु अगाडि आमाले छोरी बिग्रेला भनी यसो नगर त्यसो नगर भनी नियन्त्रण गरेका हुन्छन् । विवाहपछि बुहारीलाई नियन्त्रण गर्ने भनेका घरका मान्य महिलाहरू नै हुन् । सबैले समयअनुसार चलेमा मात्र घरपरिवारमा शान्ति छाउँछ ।
हाल भइरहेको लकडाउनमा पनि एकल र संयुक्त पारिवारिक संरचनाअनुसार महिलाको अवस्थामा केही फरक पाइएको छ । महिलाको स्वतन्त्रताको कुरा गर्दा संयुक्त परिवारमा कही जान नपरेपनि बुहारी भनेपछि बिहान सबेरै उठ्नुपर्ने भन्ने मान्यता अझै  छन् । यसको दाजोमा एकल परिवारका महिलाहरू केही स्वतन्त्र रहेको महसुस गर्दछन् आफ्ना हरेक निर्णयहरू स्वयम् गर्न पाउँछन्, जसमा उनीहरू खुसी पनि छन् । अरूले के भन्ला भन्ने कुराको चिन्ता उनीहरूलाई हुँदैन । उनीहरू विभिन्न सृजनात्मक काममा लाग्न सक्दछन् । तर, कतिपय संयुक्त परिवारमा रहेका महिलाहरूले पनि व्यक्तित्वको विकास गर्ने मौका पाएका छन् । हरेक कुराको राम्रो र नराम्रो दुबै पाटो हुन्छ यसलाई सकारात्मकरूपमा लिनुपर्दछ ।
            यो लकडाउनको अवधि सारै संवेदनशील अवस्था हो । यो समयमा आफू पनि घरभित्रै सुरक्षित भई बसौँ र अरूलाई पनि घरैमा बस्न अनुरोध गरौँ । बेला – बेलामा साबुन पानीले हात धुने गरौँ । घरपरिवारका कार्यहरू सबै जना मिलेर गर्ने गरौँ । परिवारका सदस्यले एक अर्काको हेरविचार गरेमात्र घर स्वर्ग हुन्छ । 
मजदुर दैनिक, २०७६ चैत्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *