कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
-यहु प्रकाश
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सुरुमै सन् २०४० भित्र चीन पहिलो मुख्य आर्थिक शक्ति हुने भएकोले त्यसो हुन नदिन अमेरिकाले आफू नै सदैव पहिलो आर्थिक शक्ति हुन चीनविरुद्ध कीटाणु युद्ध वा भाइरस युद्ध सुरु गरेको आशङ्का गर्नुभएको थियो । भियतनाम युद्ध र कोरिया युद्धमा अमेरिकाले कीटाणु युद्ध वा भाइरस युद्ध गरेको थियो । त्यसैको आधारमा चीनविरुद्ध अमेरिकाले अहिले कीटाणु युद्ध वा भाइरस युद्ध गरेको भनी शङ्का गर्नु स्वाभाविक हो ।
२०७६ चैत १५ गतेको मजदुर दैनिकमा राजनद्वारा लिखित ‘मानवता– सानो कद, ठूलो मन’, २०७६ चैत २१ गतेको मजदुर दैनिकमा राजा नेपालद्वारा लिखित ‘कोरोना र यसले सिकाएको नैतिक पाठ’, २०७६ चैत २३ गतेको मजदुर दैनिकमा बलराम दुवालद्वारा लिखित ‘चिनियाँ लकडाउन मोडेलबाट हामीले के सिक्ने ?’, केपी छुस्याकीद्वारा लिखित ‘कोभिड १९ कोरोना महामारी– के विश्वको मानचित्र परिवर्तन होला ?’, २०७६ चैत २५ गतेको मजदुर दैनिकमा प्रकाशित विलियम जोन्सद्वारा लिखित सीजीटीएनबाट सुमनद्वारा नेपालीमा अनुदित ‘कोभिड–१९ महामारी र नयाँ विश्व व्यवस्थाको छलफल’, हरिचन्द्र पाण्डेद्वारा लिखित ‘महामारी प्रतिरोधको अवरोध–राजनीतिक सङ्कीर्णता’, २०७६ चैत ११ गतेको श्रमिक साप्ताहिकमा लोकप्रिय टिप्पणीकार जोरालद्वारा लिखित ‘अमेरिकी भाइरसविरुद्धको त्रास’, २०७६ चैत १८ गतेको श्रमिक साप्ताहिकमा अमेरिकी लेखक, पत्रकार र रेडियो कार्यक्रम प्रस्तोता केभिन ब्यारेटद्वारा लिखित ‘कोभिड १९ को महामारीको पछाडि को ?’, २०७६ चैत २५ गतेको श्रमिक साप्ताहिकमा क्रिश्चिनाद्वारा लिखित ‘केही असमझदारीहरूबारे’, प्रतिष्ठाद्वारा लिखित ‘कोरोना भाइरसमुक्त हुन प्रजग कोरियाबाट पनि सिक्नुपर्ने’ आदि विभिन्न लेखहरू छापिनुले अमेरिकी साम्राज्यवादले नै कोभिड–१९ लाई अनेकन झूटा नाम प्रचार गरी चीनको बदनाम गर्न खोजेको विरोधमा लगातार प्रचार कार्य गरिरहेको प्रस्ट हुन्छ । ती प्रचारमाध्यमले संसारभर महामारीको रूपमा फैलिएको भाइरसविरुद्धको युद्धमा समाजवादी भावना अति आवश्यक भएको कुरा सबैभन्दा अग्रभागमा बसेर प्रचार–प्रसार गरेको देखिन्छ ।
हिजोसम्म ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी सबै दोष चीनलाई खन्याएर चीनविरुद्ध नाकाबन्दी लगाउने धम्की दिने संरा अमेरिकालगायतका पश्चिमा देशहरू यतिखेर भाइरसविरुद्धको युद्धमा चीनको सहयोग लिनुपर्ने अवस्थामा पुगेका छन् ।
२०७६ फागुन २२ गते (५ मार्च २०२०) दैनिक न्युजको प्रस्तोता शिवजीले हवाई विभागका इन्जिनियर ई.दीपेन्द्र कँडेलसँग लिएको अन्तर्वार्तामा उनले गरेको राजनीतिक विश्लेषणअनुसार अमेरिकाले नै चीनविरुद्ध चीनको अर्थतन्त्रलाई ध्वस्त पार्न जीवाणु युद्ध छेडेको हो । प्रस्तोता शिवजीले यो बिजुक्छें टाइपको विश्लेषण भयो भनी प्रश्न राख्दा ई.दीपेन्द्र कँडेलले उही दिन नारायणमान बिजुक्छेँलाई आदरस्वरूप मेसेज पठाएको कुरो सार्वजनिक जानकारी दिए । शिवजीले उनलाई के आधारमा अमेरिकालाई आरोप लगाएको भनी प्रश्न गर्दा उनले अमेरिकी उपराष्ट्रपतिको भनाइ ‘अबको ६ महिनाभित्र अमेरिकाले कोरानाको औषधि पत्ता लगाउँछ’ भनी दिएको अभिव्यक्ति नै यसको आधार भएको बताए ।
ई.दीपेन्द्र कँडेलले ६ महिनाभित्र अमेरिकाले नै कोरोनाको औषधि आविष्कार गर्ने भन्नु कुन अनुसन्धानमा छ ? भनी प्रतिप्रश्न गरे र यो आधारमा नै अमेरिकालाई यस्तो आरोप लगाएको हो भनी जवाफ दिए । यो अन्तर्वार्ता युट्युबमा हेर्न सकिन्छ ।
सन् २०१९ अक्टोबरमा उहान पुगेका अमेरिकी जलसेनाबाट कोरोना भाइरस चीनमा फैलाइएको बारे चीन सरकारले अमेरिकालाई आरोप लगाएको छ । यसबारे अमेरिकाले चित्तबुझ्दो खण्डन गरेकै छैन ।
११ चैत २०७६ श्रमिक साप्ताहिकमा सीआरआईको महामारीसम्बन्धी तीन शङ्काबारे अमेरिकाले विश्वलाई जवाफ दिनुपर्छु भन्ने शीर्षकमा लेख छापिएको थियो । उक्त लेखमा तीन शङ्काबारे डोनाल्ड ट्रम्पको अमेरिकी सरकारले स्पष्टरुपमा व्याख्या गर्नुपर्छ भनी प्रस्ट उल्लेख गरिएको थियो ।
पहिलो, अमेरिकी रोगको नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का प्रमुख रोबर्ट रेडफिल्डले सार्वजनिकरुपमा पुष्टि गरेअनुसार सन् २०१९ मा अमेरिकी फ्लुबाट करिब तीन करोड अमेरिकी सर्वसाधारण सङ्क्रमित हुनुको साथै २० हजार भन्दा बढीको मृत्यु भएको थियो । ती २० हजारमध्ये कति जना कोरोनाबाट सङ्क्रमित भएका थिए ?
दोस्रो, सन् २०१९ जुलाईमा किन अकस्मात् मेरिल्याण्ड राज्यस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो ‘रासायनिक तथा जैविक हतियारको अनुसन्धान केन्द्र्र’ बन्द गरियो र बन्दपछि अमेरिकामा धेरै निमोनिया वा निमोनियाजस्तै बिरामी भेटिएका सम्बन्धमा अमेरिकी सरकारले जवाफ दिनुपर्छ ।
तेस्रो, सन् २०२० फेबु्रअरीमा डोनाल्ड ट्रम्पको अमेरिकी सरकारले कोभिड–१९ महामारीलाई महत्व किन नदिएको र केही सांसद्ले लाखौँ कित्ता शेयर किन बिक्री गरेको सम्बन्धमा प्रस्ट पार्न आवश्यक छ ।
डा. सुन्दरमणि दीक्षितले एउटा अन्तर्वार्तामा अमेरिकालाई दोष दिनुहुँदैन र अहिलेको अवस्थामा सबै मिलेर कोरोनाविरुद्धको विश्वव्यापी युद्ध लड्नुपर्छ भने । उनले जैविक युद्धमा पठाउनुभन्दा पहिले सेनालाई खोप दिइन्छ र औषधि नै पत्ता लागेको छैन भने अमेरिकालाई निराधार त्यतिकै दोष दिन मिल्छ ? भनी प्रतिप्रश्न गरे । तर, इतिहासका विभिन्न तथ्य र संरा अमेरिकालगायतका साम्राज्यवाद र उपनिवेशवादी देशहरूले गरेको अमानवीय अपराधका इतिवृत्तान्तले डा. दीक्षितको भनाइ सही सावित हुँदैन ।
Leave a Reply