भर्खरै :

लकडाउन र समाज व्यवस्था

-श्यामकृष्ण खुलिमुली
   कसैलाई सकस छ, कसैलाई आनन्द छ, कसैलाई चिन्ता छ, कसैलाई भोकको चिन्ता छ । कोहीभित्र बसेको बस्यै छन्, कोही बाहिर डुलेको डुल्यै छन् । कोरोनाले कोरेका कोलाजका दृश्यहरू हुन् यी । संसारभर महामारीको रुपमा फैलिएको कोभिड –१९ को सङ्‍क्रमण र मृत्युको विभत्स आँकडाले संसार नै आतङ्कित छ । संसारको गति रोकिएको छ । व्यापार, व्यवसाय, अर्थतन्त्र, सेवा, शिक्षा सब चौपट छन् । नेपाल पनि यसबाट अछुटो छैन । अहिलेसम्म नेपालमा भयावह स्थिति नआए पनि यो अवस्था नआउला भन्न सकिन्न । खुला सिमाना, सरकारको गैर जिम्मेवारीपनले यस्तो सम्भावना रहेको छ ।
कुन मोडल ?
            संसार कोरोना युद्धमा छ । चीनले समयमै लकडाउन गरेर युद्ध जितेको अवस्था छ । इटालीले पनि त्यस्तै मोडल लागू गर्न खोज्यो । तर, जनताले बेवास्ता गरी हेलचेक्रायाइँ गरेपछि आजको भयावह अवस्था आयो । दक्षिण कोरिया र सिङ्गापुरले प्रविधिको भरपूर प्रयोग गरी कोरोनालाई जित्यो । नेपाल विकासोन्मुख तथा गरिब देश हो । नेपालसँग त्यस्तो प्रविधि छैन । मास्क, पञ्जा, पीपीई, टेस्ट किट आदि  विदेशीकै भर पर्नुपर्छ । नेपालले जुन लकडाउनको मोडल अवलम्बन गर्‍यो, त्यो उपयुक्त मोडल हो । यसमार्फत नागरिकलाई घरघरमा बन्द गरेर भाइरसको सङ्‍क्रमण रोक्न सकिन्छ । गरिब देशको लागि यो नै सबभन्दा उत्तम तरिका हो । किनकि हामीसित आधुनिक प्रविधि छैन । हामी त्यसका लागि खर्च धान्न पनि सक्दैनौँ ।
हाम्रो कर्तव्य
            सरकारले नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गर्‍यो र लकडाउनको घोषणा गर्‍यो । कतिले यसलाई पालना गरे, कतिले उल्लङ्घन । कोभिड–१९ आफै लाग्दैन । यो कुनै सङ्‍क्रमित व्यक्तिको सम्पर्कबाट सर्छ । रोगीको खोकी, हाछ्यूँसँग निस्केका पानीका बुँद, ठोस वस्तुमा टाँसिएका कोरोना भाइरसमार्फत यो सर्छ । तर मानिसहरू आफूलाई केही हुँदैन भनेर बाहिर निस्केर गाउँ र काठका मानिसहरू चिया गफ गर्ने गरेका छन् । गाउँमा भएका राङ्गा, बोका खोजीखोजी काट्ने र खाने गरेका छन् । कोही समूहमा जम्मा भई बाउन्न पत्तीको ऐना हेर्दै दिन काट्न थालेका छन् । गाउँ र काठमा मात्र होइन सहरमा समेत मानिसहरू समूह समूहमा बाहिर निस्केका छन् । मानिसहरू निस्फिक्री बाहिर डुलिरहेका छन् ।
            हिजो इटालीका जनताले पनि सरकारको यस्तै आदेश पालना नगर्दा आज ठूलो सङ्कट व्यहोरिरहेका छन् । उनीहरू त्यसबेला सरकारको आदेश अवज्ञा गरेर डान्सबार जाने, रेष्टुरेन्ट जाने, बजारमा निस्कने गरेका थिए । आज उनीहरूले त्यसको फल भोग्दै छन् । नेपालमा पनि यस्तै अवस्था नआउला भन्न सकिन्न । यस्तो भयो भने के गर्ने ? कोरोना सङ्‍क्रमण रोक्ने जिम्मा सरकारको हो तर यो पनि नभुलौँ कि हाम्रो पनि हो । सरकार एक्लैले चाहेर केही हुन्न, यदि हामीले अवज्ञा गर्ने हो भने । हरेक दिन सामाजिक सञ्जालमा सचेतनाका अनेक सामग्रीहरू पोष्ट भइराखेका छन् । सञ्चारमाध्यमले कोरोनाबाट बच्ने उपाय फुकिराखेका छन् । तर, पनि कतिपय नागरिकहरू अटेर गरिरहेका छन् । यो खतराको घण्टी हो । जुन कुनै पनि दिन प्रत्युत्पादक बन्नसक्छ । घरबाहिर कोरोना भाइरस ढुकेर बसेको छ । जो ढोका लाएर भित्र बस्छ त्यसलाई यसले छुँदैन तर जो बाहिर निस्कन्छ त्यसलाई आक्रमण गर्छ । यसबाट बच्ने एउटै उपाय भनेको लकडाउनमा बस्नु नै हो । यसका लागि सबैले आ – आफ्नो कर्तव्य पूरा गरौँ ।
            जीवन सङ्घर्ष हो, अभावबीच फुलेको फूल हो । समस्या सबैलाई छ । घरभित्र थुनिएर बस्न कसलाई मनपर्ला र ? अफिस जाने र काममा जानेको दैनिकी बिग्रिएको छ । केटाकेटीहरू दिनदिनभर घरभित्रै कोच्चिएर बस्नुपरेका छन् । दैनिक ज्याला मजदुरी गर्नेले आन्द्रा बाँध्नुपर्ने भएको छ । तर, जीवन छ त सबथोक छ । त्यसैले केही दिन लकडाउन झेल्नुपर्दा आकाश नै खस्दैन । यो त आफू र आफ्नो परिवारको सुरक्षाको लागि हो । कोभिड –१९ बाट बच्ने एउटै उपाय भनेको लकडाउनमा बस्नु नै हो । यसको लागि सबैले आ –आफ्नो कर्तव्य पूरा गरौँ ।
लकडाउन कि कफ्र्यु ?
            लकडाउन कुनै राजनीतिक बन्द हड्ताल होइन, न कि कफ्र्यु । यस्तोबेला कतिलाई सार्‍हो गार्‍हो पर्नसक्छ । कतिको घरमा खाद्यान्न सकिएको हुन्छ, तरकारी किन्नुपर्ने हुन्छ, तेल ग्याँस सकिएको हुनसक्छ । यस्तो अवस्थामा सरकार र स्थानीय सरकारले सामाजिक दुरी कायम गरी किनमेलको लागि निश्चित समय तोकिदिनुपर्छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कति सर्वसाधारणले अनाहकमा दुःख पाएको कुरा उठेको छ । ग्याँस लिन गएकालाई प्रहरीले दुःख दिएको, पसल जानेलाई कुटेको, आफ्नै घरमा काम गरिराखेकालाई धम्क्याइएका खबरहरू पनि आएका छन् । सरकार र प्रहरी प्रशासन स्वयम् पनि लकडाउनको बारेमा अनभिज्ञ छन् । यस्तो बेलामा सर्वसाधारणलाई बाँच्न नदिने होइन, पीडा दिने होइन । कतिपय मानिस बिरामी हुन्छ । तिनलाई अस्पताल लानुपर्ने हुन्छ । यस्तो बेला तिनलाई लकडाउनको नाममा दुःख दिनु अमानवीय काम हो । यसबारेमा सम्बन्धित निकाय सचेत र गम्भीर हुनुपर्छ । सरकारले ठाउँ –ठाउँमा अनुगमन गर्नुपर्छ । समस्यामा परेकालाई सहयोग गर्नुपर्छ ।
खोइ राहत ?
            लकडाउनले सबभन्दा बढी समस्यामा परेको वर्ग भनेको दैनिक ज्यालादारी गर्ने मजदुर हुन् । यसले निम्न आय भएका विपन्नलाई झन् ठूलो समस्यामा पारेको छ । खाद्य सम्प्रभुता तथा खान पाउने अधिकारबाट बञ्चित भएका ज्यामी, मजदुर, विपन्न वर्गलाई सरकारले तत्काले राहतको बन्दोबस्त गर्नुपर्ने हो । समयमै राहतको घोषणा गर्न नसक्दा रोगभन्दा पनि भोकको सङ्‍क्रमण बढे त्यसलाई कसले र कसरी नियन्त्रण गर्ने हो ? संविधानप्रदत्त मौलिक हकबाट जनतालाई बन्देज गर्ने अधिकार राज्यलाई छैन । दिनभरि कमाएर बेलुकाको छाकको जोहो गर्नेहरू आज भोकसँग लडिरहेका छन् । लकडाउनले रोगको सङ्‍क्रमण त रोक्ला तर त्यसले सिर्जित भोकको भयावहलाई रोक्न सक्दैन ।
            १८ चैतमा सर्वोच्च अदालतले विपन्नका लागि राहत उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरिसकेको अवस्थामा सरकार यसप्रति गम्भीर हुनुपर्छ र भोकको क्षेत्रफल घटाउन लागिपर्नुपर्छ ।
            यसैक्रममा स्थानीय सरकारले राहत वितरण थालेको छ । तर, राहत आहत बनेको छ । राहतको नाममा सामाजिक सञ्जालमा राख्न फोटोमात्र खिच्ने काम गरेको छ । पाउनुपर्नेले भन्दा पनि नपाउनुपर्नेले राहत पाएका छन् । राहतको नाममा राजनीति हुन थालेको छ । यस्तो घृणित कार्यले जनताको भोकमाथि खेलबाड गरिरहेको चरितार्थ हुन्छ ।
अभाव र कालोबजारी
            कोरोनाको महामारीले सम्पूर्ण क्षेत्रमा असर पुर्‍याएको छ । तर, यस्तो अवस्थामा अत्यावश्यक सेवामा सूचिकृत व्यापारी र व्यवसायीले यसलाई मागिखाने भाँडो बनाएका छन् । खाद्यान्न, ग्यास तथा तरकारीमा अभाव सिर्जना गरी मूल्यवृद्धि गरेका छन् । व्यापारी तथा व्यवसायीले यी वस्तुमा मनपरी मूल्य तोकेर असहज परिस्थितिको फाइदा उठाइरहेका छन् । अत्यावश्यक औषधि, मास्क, पञ्जा तथा स्यानिटाइजर आदिको कालोबजारी गरिरहेका छन् । सरकारले पटक – पटक कारबाहीको ढ्याङ्ग्रो ठटायो तर उल्लेखनीय कारबाही गर्न नसक्दा व्यापारीहरूको मनोबल बढेको छ । यस्तै बेला सेवाको बोर्ड झुण्ड्याएर बिरामीसँग पैसा असुल्न पल्केका निजी हस्पिटलले सङ्‍क्रमित तथा बिरामीको उपचार गर्न नसक्ने भनेर सरकारलाई चुनौती दिइरहेका छन् । माछा आए दुलो हात सर्प आए बाहिर हात भनेझैँ अरुबेला मृतकलाई समेत आइसीयू र भेन्टिलेटरमा राखेर पैसा असुल्ने ती अस्पतालहरूले देश सङ्कटमा परेको बेला हात बाँधेर बसेका छन् । पुँजीको संरक्षण गरी तिनीहरूकै बीचमा हराएको सरकार निजी क्षेत्रसँग कति लाचार भइरहेको छ ? व्यक्तिले सरकार हल्लाइरहेको अवस्था छ । त्यो पनि जनताको भनिएको दुईतिहाइको कम्युनिस्ट सरकार ।
            चाहे भूकम्पको बेला होस्, चाहे नाकाबन्दीको बेला होस् या अहिलेको महामारीको बेला व्यापारीहरू हरेक पल्ट पाहाझैँ मोटाइरहेका छन्, गरिब जनता भने सुकेर कङ्काल भइरहेका छन् । चारैतिर अभाव हुँदा पनि व्यापारीका गोदाम भरिभराउ हुन्छन् । अभावको नाटक गर्छन् । नेपथ्यबाट कालोबजारी गर्छन् । नाफा सोहोर्छन् । यो पुँजीवादको विशेषता हो, नवउदारवादको चरित्र हो र समाज व्यवस्थाको प्रतिबिम्ब हो । त्यसको पटाक्षेप हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *