क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
प्रकाश थुसा
लागूपदार्थ नियन्त्रणको नाममा युद्धको तयारी
नोवेल कोरोना भाइरसको महामारी विश्वव्यापी बनिरहेको तथा संरा अमेरिका स्वयम् सबैभन्दा बढी सङ्क्रमित र भाइरस सङ्क्रमणबाट मृत्यु हुने देश बनेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मण्डली भने ल्याटिन अमेरिकामा अर्कै खिचडी पकाउन उद्यत छन् । राष्ट्रपति ट्रम्पसँगै विदेशमन्त्री माइक पोम्पेओ, सल्लाहकार इलियट अब्राम्स, क्युवाली–अमेरिकी सिनेटरहरू माउरिसियो क्यारोन, मार्को रुबियोलगायतले त्यस क्षेत्रका दक्षिणपन्थी सरकारहरूसित बैठक गरेका र छिट्टै नै पश्चिम गोलाद्र्धमा लागूपदार्थ तस्करीविरुद्ध दीर्घकालीन परिणाम निस्कने कारबाही सञ्चालन गर्ने निर्णय र तयारीमा छन् । त्यसका निम्ति संरा अमेरिकाले आफ्ना जलसेना र हवाइ सेनाको अतिरिक्त बल क्यारिबियाली सागर र प्रशान्त महासागरको दक्षिणमा तैनाथ गरिसकेको समाचार तस्विरसहित आएका छन् ।
ट्रम्प प्रशासन र त्यसका पिछलग्गूहरूको प्रचार सुन्दा जति सामान्य देखिन्छ तिनीहरूको नियत भिन्न र खतरनाक छ । लागूपदार्थ तस्करीविरुद्ध कारबाही वा युद्धको नाममा तिनीहरू क्युवा, भेनेजुयला, निकारागुवा, मेक्सिकोजस्ता समाजवादी र प्रगतिशील सरकार भएका ल्याटिन अमेरिकी देशहरूमाथि हमला गर्न खोज्दै छन् । भेनेजुयलाको तर्फबाट राष्ट्रपति निकोलस माडुरोले संरा अमेरिकाले किन र कसरी भेनेजुयला सरकार र त्यहाँका वरिष्ठ अधिकारीहरूमाथि लागूपदार्थ तस्करीको आधारहीन आरोप लगाइरहेको छ भनी प्रस्ट पारिसक्नुभएको छ ।
गएको महिना मार्च २४ का दिन कोलम्बियाली भूमि भेनेजुयलासितको सीमा क्षेत्रमा कोलम्बियाली प्रहरीले एक गैरसैनिक ट्रकमा अत्याधुनिक युद्धअस्त्रहरूको एक खेपसहित प्रक्रियामा संलग्न मानिसहरूलाई पक्राउ गरेको थियो । ती अत्याधुनिक युद्धअस्त्रको खेप कोलम्बियाली भूमिमा क्याम्प बनाई तालिम गरिरहेका भेनेजुयला सरकारविरोधी पूर्वभेनेजुयाली तथा पूर्वकोलम्बियाली सैनिक तथा अर्धसैन्य दस्ताको भएको खुलासा भयो ।
मार्च २६ का दिन भेनेजुयाली सरकारको विरोधमा सक्रिय एक भेनेजुयाली पूर्वसैनिक जनरल क्लिभर अल्कालाले उक्त हतियारहरू आफूले राष्ट्रपति निकोलस माडुरोलगायतको हत्याका निम्ति संरा अमेरिकाबाट झिकाएको र त्यस षड्यन्त्रको सैन्य नेता आफू नै भएको स्वीकार गरे । उनले उक्त हतियारको खेप भेनेजुयलाका सांसद र तथाकथित अन्तरिम भेनेजुयाली राष्ट्रपति एवम् संरा अमेरिकाका खुल्ला दलाल ह्वान ग्वाइडोको खरिद् आदेशबमोजिम आएको खुलासा गरे । तिनीहरू आफ्नो उद्देश्यमा सफल भएको खण्डमा भेनेजुयलामा सत्ता विद्रोह हुने निश्चित थियो ।
पूर्वसैनिक जनरल अल्कालाले ती हतियार ह्वान ग्वाइडो, अमेरिकी सरकारका एक सल्लाहकार तथा कोलम्बियाली राष्ट्रपति तन ड्युकका राजनैतिक सल्लाहकार ह्वान जोसे रेन्डोनबीच भएको सम्झौताअनुसार कोलम्बियाली सरकारलाई थाहा दिएरै खरिद गरिएको स्पष्ट पारे ।
उनको त्यस स्वकारोक्तिपछि संरा अमेरिकी सरकारले एउटा असामान्य प्रतिक्रियात्मक कदम चाल्यो । ती पूर्वसैनिक जनरल अल्कालाको नामसित भेनेजुयलाका उच्च अधिकारीहरूको नाम जोडेर भेनेजुयलामाथि लागूपदार्थ ओसारपसार र आतङ्कवादलाई सहयोग गरेको झूटो आरोप लगायो । संरा अमेरिकी सरकारको आरोपले यस्तो प्रतीत गराउन खोज्यो कि अल्काला भेनेजुयलामा आतङ्कवादी हमला गराउनका लागि संरा अमेरिकाले भाडामा लिएका मानिस नभई भेनेजुयाली सरकारका सदस्य हुन् ।
गत वर्ष जनवरीदेखि अतिदक्षिणपन्थी नेता ह्वान ग्वाइडोलाई अगाडि सारेर भेनेजुयलामा सत्ता विप्लव गर्ने, सैनिक विद्रोह गराउने र भेनेजुयाली नेताहरूको हत्या गर्ने षड्यन्त्र पटक–पटक असफल भएपछि बहुलाएका साम्राज्यवादी शासक र तिनका मतियारहरू अहिले आफ्नो अन्तिम दाउ चाल्ने दुष्प्रयास गरिरहेका छन् । त्यो अन्तिम दाउ भनेको निहुँ खोजेर भेनेजुयलामाथि हमला गर्नु, युद्ध थोपर्नु, त्यहाँका शासकहरू र सैनिक नेतृत्वमा विभाजन ल्याउनु र सत्ता परिवर्तन गर्नु हो । लागूपदार्थ तस्करी र राज्य प्रायोजित आतङ्कवादको आरोप युद्धको निम्ति निहुँ खोजेको मात्र हो ।
सैनिक विद्रोह तानाशाहीलाई अमेरिकी साथ र समर्थन
ल्याटिन अमेरिकामा संरा अमेरिकाले यस शताब्दीमा पनि सत्ता विप्लव गराइरहेको छ र कतिपय देशमा तानाशाही शैलीले चलिरहेका शासनलाई पनि पूर्ण समर्थन र साथ दिइरहेको छ । सन् २००४ मा ल्याटिन अमेरिकी र क्यारिबियाली क्षेत्रको सबैभन्दा गरिब र दण्डित गरएको देश हाइटीका जननिर्वाचित राष्ट्रपति जीन बर्टान्ड एरिस्टाइडलाई अमेरिकी सेनाले अपहरण ग¥यो र त्यस देशबाट बाहिर निकाल्यो । एरिस्टाइडको अपदस्थीपछि उक्त देश लगातार आन्तरिक अराजकता र विनाशकारी भूकम्पपछिको अव्यवस्थाबीचबाट गुज्रिरहेको छ । हाइटीको आन्तरिक मामिलामा पटकपटक हस्तक्षेप गरेर संरा अमेरिकाले हाइटीका जनताविरुद्ध मानवताविरोधी अपराध गरेको थियो ।
त्यस्तै सन् २००९ मा अर्को राष्ट्र होन्डुरसमा प्रजातान्त्रिक निर्वाचनबाटै आएको राष्ट्रपति म्यानुयल जेलायाको प्रगतिशील सरकारविरुद्ध सैनिक विद्रोह गर्न लगाई त्यहाँ लामो अवधिसम्म तानाशाही शासन चल्न दियो । सन् २०१७ मा पुनः निर्वाचन गरियो तर पुनः राष्ट्रपतिमा जेलाया निर्वाचित भएपछि निर्वाचनमा धाँधली भएको बहानामा निर्वाचन परिणाम नै रद्द गरियो । कोलम्बियामा जस्तै त्यहाँ पनि प्रगतिशील राजनीतिक र समाजिक नेता कार्यकर्ता तथा आदिवासी समुदायका नेताहरूको हत्या दक्षिणपन्थी हतियारधारी दस्ताहरूबाट भइरहेको छ ।
सन् २०१२ मा पाराग्वेमा प्रगतिशील राष्ट्रपति फर्नाण्डो लुगोको जननिर्वाचित सरकारलाई अपदस्थ गर्न लगाइयो र धेरै वर्षसम्म अल्फ्रेडो स्ट्रोइसनरको तानाशाही शासन चल्न दिइयो ।
सन् २०१६ मा ब्राजिलका जननिर्वाचित राष्ट्रपति डिल्मा रूसेफमाथि भ्रष्टाचारको झूटा र बिनाप्रमाणको अभियोगको आधारमा संसद्को दुईतिहाइ बहुमतको आधारमा महाभियोग लगाउन दिइयो । त्यसपछिको कामचलाउ सरकारले गरेको राष्ट्रपति निर्वाचनमा भाग लिन नपाउने गरी लोकप्रिय नेता लुलालाई झूटा अभियोगमा जेलमा राखी अमेरिकी कठपुतली जायर बोल्सोनारोलाई सत्तामा आसिन गराइयो ।
केही महिनाअघि नोभेम्बर २०१९ मा बोलिभियामा जननिर्वाचित राष्ट्रपति ते मोरालेसको सरकारविरुद्ध निर्वाचनमा धाँधली गरेको आधारहीन र झूटो आरोप तथा दक्षिणपन्थीहरूको कथित सडक कब्जाका आधारमा सैनिक विद्रोह गराई राजीनामा गर्न लगाइयो । सेना र प्रहरीको दक्षिणपन्थी नेतृत्वलाई सत्ता विप्लवका निम्ति संरा अमेरिकाकै प्रत्यक्ष उक्साहट थियो । बोलिभियाको सैनिक विद्रोह गराउन अमेरिकी राज्य सङ्गठन– ओएएसका महासचिव लुइस अल्माग्रोले मुख्य खलनायकको भूमिका निभाएका थिए । ओएएसले बिनाआधार र प्रमाण बोलिभियाको निर्वाचनमा राष्ट्रपति मोरालेसको समाजवादी आन्दोलन पार्टीले धाँधली गरेको सङ्क्षिप्त प्रतिवेदन सार्वजनिक गरेको थियो तर पछि धाँधलीसम्बन्धी कुनै प्रमाण अगाडि ल्याउन सकेको थिएन ।
त्यतिमात्र होइन, एउटा राजनीतिक पार्टी, घोषणापत्र र कार्यक्रमका आधारमा निर्वाचन जितेर पछि उक्त पार्टी त्याग्ने र घोषणापत्र र कार्यक्रमको विपरीत सरकार चलाउने इक्वेडरका लेनिन मोरेनो, सयौँ दिन लामो जनआन्दोलनमाथि निर्मम दमन गर्ने र जनभावनाविपरीतका नीति निर्णय लाद्ने चिलीका सेवास्टियन पिनेरा र बोलिभियामा जननिर्वाचित सरकार ढालेर सेनाको आडमा सरकार चलाइरहेको जियानिज एनेजको सरकारलाई थप तानाशाही बनाउन सल्लाह र सहयोग संरा अमेरिकाले नै दिइरहेको छ ।
अर्कोतिर वासिङ्टनले ल्याटिन अमेरिकाका मेक्सिको, अर्जेन्टिनालगायत प्रगतिशील सरकार भएका देशहरूविरुद्ध पनि गुप्त र छद्म युद्धहरू सञ्चालन गरिरहेको खुलासा हुँदै गएको छ । ती देशका सरकारहरूलाई कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा सक्दो बढी कठिनाइ व्यहोर्न लगाउन चिकित्सा सामग्री निर्यात गर्न नपाइनेलगायत अनेकखाले प्रतिबन्ध लगाएको छ ।
सेना र जनताप्रति ट्रम्प प्रशासनको निर्ममता
यी पङ्क्ति कोर्दासम्म संरा अमेरिकामा कोभिड–१९को महामारीबाट ५ लाख ३० हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २० हजार ५ सत्न्दा बढीले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ को महामारीबीच संरा अमेरिकी युद्धकविमान बोकेको सैनिक जहाज यूएसएस थियोडोर रुजबेल्ट प्रशान्त महासागरको पश्चिमी भागको टापु ग्वाममा रोकिएको छ । उक्त जहाजमा ५ हजार सेना छन् र तिनीहरूमध्ये १० प्रतिशत कोभिड–१९ भाइरसबाट सङ्क्रमित भएका बताइएको छ । उक्त जहाजका कमान्डर तथा क्याप्टेन ब्रेट क्रोजियरले सङ्क्रमित बिरामीलाई उपचारका निम्ति जहाजबाट निकाल्न चाहे । क्याप्टेन क्रोजियरले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई कोभिड– १९ भाइरसको सङ्क्रमण जहाजमा सवार सैनिकहरूबीच फैलिरहेको र आफ्ना जहाजीहरूलाई समेत क्वारेन्टिनमा राख्नका लागि सहयोग माग गरे । तर, क्याप्टेन क्रोजियरको मागलाई पेन्टागनले सुनुवाइ गरेन, त्यसपछि क्याप्टेन क्रोजियरको चिठी सान फ्रान्सिसको क्रोनिकल अखबारमा छापियो । उक्त चिठीमा क्याप्टेन क्रोजियरले लेखेका छन् – जहाजमा उक्त रोगको सङ्क्रमण तीव्रगतिमा फैलन सुरु भएको छ र एक प्रकारको आतङ्क व्याप्त भएको छ । हामी युद्धमा छैनौँ । जहाजीहरू कोरोना सङ्क्रमणबाट मर्न आवश्यक छैन । उनीहरूको उचित उपचार गरिनुपर्छ ।
पछि ती सङ्क्रमितहरूलाई जहाजबाट उतार्न त दिइयो तर जुन सक्रियतापूर्वक क्रोजियरले जहाजमा भाइरस सङ्क्रमण रोक्न काम गरे र बिरामीको उपचारको निम्ति दबाब सिर्जना गरे त्यसको सजायस्वरूप उनलाई पदबाट मुक्त गरियो । पेन्टागनकी महिला प्रवक्ता अलिसा फराहले स्पष्टै भनेकी छिन्– “सुरक्षाको कारणले हामी कुनै पनि सैनिक युनिट, शिविर र जहाजका सैनिकको सङ्ख्या र त्यसका बिरामीको बारेमा खुलासा गर्दैनौँ तर क्याप्टेन क्रोजियरले त्यसको गम्भीर उल्लङ्घन गरेका छन् ।”
तर, जब उनी उक्त जहाज छोडेर वासिङ्टन जान निस्के उनका जहाजीहरू र सेनाले उनको साहसिक अडानका निम्ति सलामी दिँदै उनलाई हौसला दिए । क्याप्टेन क्रोजियरले जहाजमा कोरोना सङ्क्रमितको सङ्ख्या सार्वजनिक गरेको हुनाले पनि पेन्टागन उनीसित बेखुसी भएको थियो । यस घटनाले आफ्नै देशका सेना र जनताको स्वास्थ्य र जीवनप्रति अमेरिकी शासक वर्गको वितृष्णा र निर्ममता छर्लङ्ग भएको छ ।
त्यसो त न्युयोर्कका ४० हजार प्रहरीमध्ये २ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भई थलिएका छन् र अझ धेरै जनामा सङ्क्रमण फैलिएको अनुमान छ तर कुनै पनि प्रहरीका लागि सङ्क्रमणबाट जोगिने साधन–पीपीई उपलब्ध नभएको बताइन्छ । संरा अमेरिकाले कतिजना बिरामी वा निधन भएका सेना र प्रहरीबारे सूचना लुकाउने हो भन्न सकिन्न । कतिवटा कफनहरू मृतकका परिवारको जानकारी बिना नै जमिनमुनि गाडिने हो यसै भन्न सकिन्न ।
कोरोना भाइरसको महामारीको प्रतिरोध गर्नुपर्ने बेलामा संरा अमेरिकी सरकार नयाँ युद्धमोर्चा खोल्ने पत्याउनै नसकिने कदम चालेर अमेरिकी जनतालाई आफ्नै भाग्यमा छोडिदिएको छ । अमेरिकी सरकारले बन्दोबस्त नगर्ने हो भने सामाजिक सुरक्षाले नसमेटेका हजारौँ मानिस सडकमा नै मर्ने चेतावनी प्रमुख अमेरिकी अखबारहरूले नै दिइरहेका छन् । ती अमेरिकीहरूको पहुँच न औषधी र स्वास्थ्यउपचारमा न खाद्यवस्तुमा । सुविधासम्पन्न निजी स्वास्थ्यउपचारको सुविधा विशिष्ट र धनीहरूका लागि मात्र सीमित छ । यो संरा अमेरिकाको मात्र नभई हरेक पुँजीवादी देशको अवस्था हो तर वर्तमान ट्रम्प प्रशासनको नीतिका कारण संरा अमेरिकामा जनताको स्वास्थ्य उपचार प्रणाली ध्वस्त भएको कल्पनै गर्न नसकिने सामाजिक समस्याको खाडल सिर्जना भएको अमेरिकी विश्लेषकहरूले लेखेका छन् । उनीहरूका अनुसार एक करोड बेरोजगारहरू सामाजिक सुरक्षा योजना (बीमा) बाट वञ्चित छन् । बिना सामाजिक सुरक्षा, बिना सार्वजनिक अस्पताल, बिना श्रम कानुन अमेरिकी सरकारहरूले ठूलठूला पुँजीका मालिक र कम्पनीहरूलाई ठूलो नाफा दिने वातावरण बनाउँदै आएका छन् ।
विश्व नेताहरूको आग्रहको विपरीत दिशामा ट्रम्प
अमेरिकी जनता कोभिड–१९ सङ्क्रमणबाट त्रसित रहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यदि हामीले कोभिड–१९ को कारण हुने मृत्युलाई दुई लाखमा सीमित गर्नसके त्यो हामीले राम्रो काम गरेको हुनेछ’ भनी हृदयहीन र संवेदनाहीन अभिव्यक्ति दिएका थिए । त्यसैबेला उनले भेनेजुयलाले संरा अमेरिकामा गरिरहेको लागूपदार्थ तस्करी र राज्य प्रायोजित आतङ्कवादलाई रोक्न क्यारिबियाली सागरमा सेना, जहाज र युद्धक विमानहरू तैनाथ गरिसकेको घोषणा गरेका थिए ।
विश्वव्यापी महामारी फैलिएको अत्यन्त विषम परिस्थितिमा संसारमा भइरहेका युद्ध र सत्ता सङ्घर्षहरूसमेत स्थगन गर्न सर्वत्र आह्वान भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा रुस, चीन, फ्रान्सलगायत विश्वका कयौँ प्रभावशाली देशका राष्ट्रपति तथा नेताहरूले आजको कोभिड–१९ को महामारीको सङ्कट गहिरिँदै गएको अवस्थामा संरा अमेरिकाले एकपक्षीयरूपमा लगाएका आर्थिक नाकाबन्दीहरू हटाउन आह्वान गरिरहेका छन् । तर, संरा अमेरिकी सरकार कसैको आग्रह, अनुरोध सुनिरहेको छैन बरु विपरीत दिशामा कडाइपूर्वक लागेको छ ।
संरा अमेरिकाका ९ ओटा सैनिक शिविर रहेको कोलम्बियाका पत्रकारहरू तथा मानवअधिकारवादी संस्थाहरूले कोलम्बियामा बढ्दो अमेरिकी सेनाको उपस्थिति तथा भेनेजुयलाविरुद्धका गतिविधि सघन पार्दै गएकोमा कडा आपत्ति र विरोध गरेका छन् । कोलम्बियाको च्यानल थ्री मिडियाका निर्देशक होल्म्यान मोरिसले कोलम्बिया–भेनेजुयला सीमा क्षेत्रमा अमेरिकी सेना र हेलिकप्टरहरूको व्यापक उपस्थिति पुष्टि गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वका हरेक कुनाकाप्चामा तत्काल युद्धविराम गर्न गरेको आह्वानविपरीत भेनेजुयलाविरुद्ध हमला र युद्धको स्थिति उत्पन्न गर्नु खेदजनक र निन्दनीय भएको बताएका छन् । आजको अवस्थामा युद्धको अर्थ युद्धमा सामेल देशहरूको स्वास्थ्य प्रणाली भत्कनु र ती देशमा कोभिड–१९ बाट थप हजारौँ मानिसको अकाल मृत्यु निम्त्याउनु नै हुने उनको ठहर छ ।
प्रशान्त क्षेत्र र क्यारिबियाली सागर वरपर संरा अमेरिकाको सैनिक परिचालन रोक्न नसकिएको स्थितिले क्युवा, भेनेजुयला, निकारागुवा र मेक्सिकोलगायत समग्र क्षेत्रमै विध्वंसक युद्ध र राजनीतिक अस्थिरताको खतरा निम्त्याएको छ । संरा अमेरिकी सेनाको शिविर रहेका देशका नागरिक पनि अमेरिकी सेनाको क्रुरता र तिनीहरूमाथि प्रत्याक्रमणको क्रममा हुनसक्ने जनधनको क्षतिलाई लिएर चिन्तित छन् ।
संरा अमेरिकाको वर्तमान बदनाम प्रशासनका सञ्चालकहरू अझै पनि संरा अमेरिकाले एकछत्र र एकध्रुवीय विश्व व्यवस्था चलाउन सक्ने रुढीवादी सोचमा अडिग छन् । तिनीहरूले विश्वका विभिन्न भाग र आफ्नै वरपर जन्मेका नयाँ शक्तिहरू देखेका छैनन् तथा सर्वत्र आलोचित र विरोध गरिएको कमजोर बन्दै गएको संरा अमेरिकी शक्तिको सही मूल्याङ्कन गर्न नसकेको अमेरिकी रक्षा विश्लेषकहरूको ठहर छ । आज संसारको हरेक देशका नागरिक एक ध्रुवीय साम्राज्य र क्रुर नरसंहारकारी युद्धको अन्त्यको परिकल्पनामा एकताबद्ध हुँदै गएका छन् । संरा अमेरिकी र पश्चिमा शस्त्रअस्त्र निर्माता एवम् मृत्युका व्यापारीहरू भने त्यसलाई मान्न तयार भएका छैनन् । विश्वलाई ध्वस्त र आतङ्कित पारेर भए पनि आफ्नो अकुत नाफाको व्यापार कायमै राख्न उद्यत छन् । उनीहरू सबैजसो अन्तर्राष्ट्रिय कानुन तोडेर ‘अमेरिका प्रथम’ नीतिको आडमा जबरजस्ती संरा अमेरिकाको राजनीतिक र सैनिक सर्वोच्चता कायम राख्ने सपना देखिरहेका छन् । त्यसका निम्ति तिनीहरू डोनाल्ड ट्रम्पजस्तो अभद्र र छुद्र व्यवहारका राष्ट्रपतिलाई बढीभन्दा बढी प्रयोग गर्नमा तल्लीन छन् । विश्वको अन्य भागमा युद्ध गराउने र हतियार बेच्ने सफलता हात नलागेपछि क्यारिबियाली क्षेत्र र दक्षिण अमेरिकी महादेशमा चीन र रुसको प्रभाव बढेको बहानामा त्यस क्षेत्रमा नै भए पनि युद्धको धुँवा उडाउन लागिपरेका छन् ।
Leave a Reply