भर्खरै :

के यो देशमा सरकार छ ?

 
-चम्पा
          कोरोना (कोभिड–१९) महामारीको सेरोफेरोमा दैनिक काम गरिखाने मजदुर तथा किसानको अवस्था दिन प्रतिदिन कष्टकर, पीडादायी र मुटु कमाउने खालको बन्दै छ ।  एकातिर जनतालार्ई कोरोना सङ्‍क्रमणको त्रास छ भने अर्कोतिर भोक र प्यासले मरिन्छ कि भन्‍ने भय छ । परिवारको भोक मेट्न दैनिक मजदुरी गर्न हिँडेका श्रमिकहरूको पेटमा भोक र प्यासको आगो दन्किएपछि सरकारले चालू राखेको लकडाउनको परवाह नगरी ती आ–आफ्ना घरतिर हिँडिरहेका कारुणिक दृश्य देखिन्छन् । पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, वीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका सडकहरूमा लस्करै मजदुरहरू सकिनसकी आफ्नो ज्यान घिसारिरहेका दृश्य पीडादायी छन् । अलिकति पैसा, फुका चिउरा र थोरै रासन बोकेर, आपूmले समाउन सक्ने पोका–पन्तुरा बोकेर घर फर्किरहेका छन् । खुट्टामा फित्ते चप्पल लगाई, साना नानीहरूलाई कहिले काँध र कहिले पिठ्यूँमा बोकी ती खाली पेटमा सयौँ किलोमिटरको कठिन यात्रा गर्दै छन् । कोही सोलुखुम्बुबाट बर्दिया, कैलाली झर्दै छन् । कोही काठमाडाँै, ललितपुरबाट सिन्धुली, सप्तरी, उदयपुर पुग्दै छन्  त कोही रोल्पा, सल्यान, दाङतिर लाग्दै छन् । भारतबाट आफ्नो देश नेपाल फर्केका नेपाली मजदुरहरू सिमानामा अलपत्र छन् । कोहीले महाकालीमा पौडी खेलेरै भए पनि आफ्नो भूमि भेट्टाए । ती दिन र रात नभनी, घाम र पानी नभनी हिँडिरहेका छन् । भोक र अभावले मर्नुभन्दा त बरु हिँड्दा हिँड्दै मरिन्छ भन्दै यात्रा गर्दै छन् । तिनका अनुहारमा पीडा र आक्रोशका अनगिन्ती धर्साहरू देखिन्छन् । कोही हिँड्ने खर्च नपाएर सडकमै अलपत्र छन् । यी नै घटनाले सर्वत्र चर्चा पाउँदै छ । तीमध्ये केही प्रतिनिधि घटना पस्कनु सान्दर्भिक होला ¤
          पोखराबाट कैलालीको टीकापुरसम्म पैदल हिँडेका खुसीराम चौधरी यतिबेला पटक्‍कै खुसी छैनन् । उनी हिँडिरहँदा पाँचाँै दिनमा उनको हजुरबुबाको मृत्युको खबर आउँदा उनी बल्ल रुपन्देही पुगेका थिए । त्यहाँबाट कति दिनमा घर पुगिन्छ कुनै ठेगान थिएन । मुक्त कमैया परिवारका खुसीराम घर निर्माण काममा मजदुरी गर्न तीन महिना अघिमात्रै पोखरा गएका थिए । लकडाउन सकिएपछि जाउँला भन्दाभन्दै आपूmसँग भएको खानेकुरा रित्तिएपछि १५ जनाको टोलीमा हिँडेको बताउँछन् उनी । खुट्टाको दुखाइ कम हुँदै जाला तर अहिले मन धेरै पोलेको छ, भन्छन् उनी (कान्तिपुर, वैशाख ४)
          नारायणपुरका २९ वर्षीय विजय चौधरी पोखरामा काम बन्द भएपछि आफ्नो अधियामा लगाएको गहुँ भित्याउन घर फर्केका छन् । बर्दियाका हरिलाल चौधरी काठमाडौँमा मजदुरी गर्ने ठेकेदारले केही दिन खुवाए, नसकेपछि फर्काएको पीडा पोख्छन् । बर्दियाकै ५० वर्षीय रामप्रसाद थारुलाई बाटामा भोकले गर्दा आन्द्रा बटारिएपछि होटलमा खान गएकालाई ‘बटुवालाई खान दिनुहुन्‍न खतरा हुन्छ’ भन्दै खानसमेत दिइएन । ३ वर्षकी छोरी पिठ्यूँमा बोक्दै काठमाडौँबाट दाङसम्मको यात्रा तय गरेका प्रकाश नेपाली परिवारको पीडा सुन्‍ने र देख्नेका आँखा रसाउने खालको छ । लौरोका सहारामा हिँड्ने ज्येष्ठ नागरिक पनि धेरै सङ्ख्यामा भेटिन्छन् ।
          आशाराम चौधरी सोलुखुम्बुको मार्दुदोभान हाइड्रो पावरमा ज्यामी काम गर्ने मजदुर हुन् । त्यहाँ खाने बस्‍ने बन्दोबस्त नहुने देखेपछि रातको २ बजे हिँडेको बताउँछन् । मरे पनि घरमै मरुँला भन्दै हिँडे उनी । गाउँघर नजिक सुत्न नदिएपछि ज·लमा सुते, जहाँ पानी भेटिन्छ त्यही खाना र फुक्का चिउरा खाए । तिनीसँग १५ जनाको टोली थियो । (रातोपाटी भिडियो)
          वीपी राजमार्ग काभ्रे भञ्ज्याङ्मा सिन्धुलीतर्फ हिँडिरहेका नारायण विश्वकर्मालाई हिमालय टेलिभिजनले ‘किन हिँड्नुभयो ?’ भनी प्रश्न गर्दा उनी भक्कानिएर रुँदै जवाफ फर्काउँछन्, “हामीलाई मानवीय भावनाले पनि हेरिएन कोठामा खान केही थिएन, एक म¬ठ्ठी चामल र अलिकति पानी दिने मान्छे भेटिएन ।”
          लकडाउनको २३ औँ दिनमा पनि पृथ्वी राजमार्गमा राति हिँडिरहेका मजदुरहरू भेटिए । दाङ देउखुरीका घनश्याम चौधरी सिन्धुपाल्चोकको बाह्रबिसेबाट चैत ३० गते हिँडेका हुन् । उनलाई नयाँ वर्षको आगमनले कहीँकतै छोएन । रातदिन नभनी हिँडेका उनी थकानको सीमा छैन भन्छन् । निर्माणसम्बन्धी काम गर्ने उनको काम लकडाउनसँगै रोकियो । केही दिन गाउँलेसँग मागेर टारे । मागेर भोक मेट्न नसकिने भएर हिँडे । हिँडेकै दिनदेखि उनको पेटमा भातको एक सिता परेको छैन । ( नयाँपत्रिका, वैशाख ५)
          बाटामा देखिने महिला मजदुरहरूको सास्ती कहालीलाग्दो छ । सल्यान कपुरकोटकी १७ वर्षीया कमला धर्ती इँटाभट्टामा काम गर्ने मजदुर हुन् । उनी बिहीबार नागढुङ्गाबाट गृह जिल्ला झरिरहेका भेटिए । उनको पेटमा सात महिनाको बच्चा छ । उनी रहरले हिँडेका जरुर होइनन् । इँटाभट्टामा काम गर्दाको पैसा र रासन सकिएपछि बाध्यताले हिँडेकी हुन् । ‘पेटमा बच्चा छ साहुले रासन पनि दिएनन्, जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर हिँडेका हौँ’ भन्छिन् उनी । (कान्तिपुर भिडियो, वैशाख ०४, २०७७)
          यी केही दृष्टान्तमात्रै हुन् । खुशीराम, नारायण, आशाराम, घनश्याम, कमलाजस्ता हजारौँ हजार मजदुरहरूको कथा उस्तै छ । ती फरकफरक ठाउँबाट फरकफरक गन्तव्य त हिँड्दै छन् तर तिनका पीडा उस्तै छन् । भोक एउटै, फाटेका चप्पलको व्यथा एउटै, अलकत्रा र सडकको हिँडाइको सास्ती एउटै । हिँड्दा हिँड्दै थाकेर कतै सुसाइरहेका, थकानले बाटोमै पल्टिरहेका, सडकलाई नै ओछ्यान मानेर निदाइरहेका मजदुर परिवार, चिचिला बालबालिकाहरूको सामाजिक सञ्जालका भित्ताहरूमा टाँगिएका तस्वीरहरूले हेर्ने र देख्नेको मन पनि भक्कानिएको होला ¤ दिनमा हिँड्न नदिएपछि रातको अँध्यारो नभनी हिँडिरहेका ती मजद¬रहरूको बाध्यताले कसको मन नदुख्ला ? हिँड्दा–हिँड्दा फाटेका जुत्ता, सुन्निएका खुट्टा र सुकेका जीउहरू देख्दा कसको मन आक्रोशित नहोला ? त्यसैले त देख्ने र सुन्‍ने जनता भन्दै छन् ‘के यो देश मजदुरको होइन ? के यो राज्य किसानको होइन ? के सरकारले ती मजदुरहरूलाई सुरक्षित घर पुर्‍याउने बन्दोबस्त गर्नसक्दैन ? जन्मदिनमा हेलिकप्टर चढेर केक काट्ने प्रधानमन्त्री कता छन् ? सुतेकै ठाउँमा भात खुवाउने प्रम ओलीको बोली कता हरायो ? भात खान नपाएरै आफ्नो घर हिँडेका ती मजदुरहरूको निम्ति आवश्यक बन्दोबस्त मिलाउन किन पहल भएन ? सडक मानवरहित, भोकानाङ्गा र टुहुरारहित देश निर्माणको आश्वासन दिने सरकार किन सडकमा मजदुरलाई बेसहारा छोड्दै छ ? के यो सरकारविहीनताको अवस्था होइन ? जो जहाँ बसेको हो त्यही बस्‍ने आदेश यदि सरकारको हो भने बसेकै ठाउँमा सरकारले राहत पुर्‍याउनुपर्छ या पर्दैन ? वास्तविक मजदुरसम्म राहत नपुगेकै कारण यस्तो समस्या देखिएको बारे सरकार किन मौन छ ? यी हृदयविदारक दृश्य सरकारले देख्यो या देखेन ? सरकार आँखामा पट्टी बाँधेर र कानमा तेल हालेर बसेको हो कि ? के यो सरकारले निम्नत्तम संवेदनशीलतासमेत गुमाइसकेको
हो ? 
          कोभिड १९ सङ्‍क्रमण रोक्न लकडाउनलाई एउटा उपायको रुपमा अवलम्बन गर्नुभन्दा अगाडि सरकारले आवश्यक तयारी थाल्नुपर्ने थियो । स्वास्थ्य क्षेत्रको तयारीसँगै खाद्यान्‍न आपूर्ति र वितरणको बन्दोबस्त नमिलेकै कारण दैनिक मजदुरी गर्ने नेपाली जनताले अनावश्यक दुःख पाए । निम्न आय भएका गरिब र निमुखा मारमा परेका छन् । घर फर्केका मजदुरले मात्र दुःख पाएका होइनन् । जो जहाँ छन्  तिनले पनि सकस बेहोर्दै छन् । पैसाको छेलोखेलो गरी चुनाव जितेका शासक दलको सक्कली रुप र क्षमता उदाङ्गो भएको छ । ‘लकडाउनमा बिहान नन भेज र बेलुका भेज खाना खाने र परिवार मिली रमाइलोसँग बस्‍ने दैनिकी’ बताएका प्रचण्डलाई भोका मजदुरका आँसुले नपोलेकै हो ? यो अस्तव्यस्तता उनले नदेखेझैँ किन गरे ? यो अस्तव्यस्तताको जिम्मेवारी नेकपाको सरकारले लिनुपर्दछ साथै आवश्यक तयारी र बन्दोबस्त गर्न ढिलो भइसकेको छ ।
          सरकार भनेको सर्वधारणको हितको लागि हुनुपर्छ । सरकारले आफ्ना वरपरकाको भलाइमा सीमित हुनुहुँदैन । धनी धनाढ्यहरूले त आफ्नो बन्दोबस्त आपैmले गर्छन् नै । सरकार भनेको बहुसङ्ख्यक जनताको भलाइको निम्ति हुनुपर्छ । सरकारको उपस्थिति भनेको सङ्कटको बेला देखिनुपर्छ । निर्णय क्षमता, कार्यान्वयन कौशल, जनएकताको अगुवाइ तथा जनपरिचालन महामारी, प्रकोप या कुनै विपत्तिमा देखिनु पर्छ । सरकारले आजको निम्ति मात्र होइन भोलि र भोलिको निम्ति मात्र होइन सुदूर भविष्यसम्मको लागि सोच्न सक्नुपर्छ । प्रकोप, महामारी आउन सक्छ भन्‍ने मनमा राखेर काम गर्ने र सोहीबमोजिम पूर्वतयारी गर्ने शासकमात्र सफल हुनसक्छ । केही केहीको निम्ति तयारी नगर्ने सरकार गैरजिम्मेवार, अकर्मण्य तथा अदूरदर्शी सरकार हो । राज्य सञ्चालनको यो सर्वमान्य सिद्धान्तअन्तर्गतकै कुरा हुन् । यस कस्सीमा घोटेर हेर्दा वर्तमान सरकार कम्युनिस्ट त हुँदै होइन, लोककल्याणकारी समेत हुन सफल हुन सकेन । देशमा सरकार छ भन्‍नेसम्मको प्रत्याभूति दिन नसक्ने सरकारको भत्र्सना तथा विरोध जति गरे पनि कमै हुने छ ।  शासकको घैँटोमा बेलैमा घाम लागोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *