भर्खरै :

कोभिड–१९ को नाममा साम्प्रदायिकता नभड्काऔँ

 
कोभिड–१९ महामारीको आपत्कालमा छिमेकी देश भारतमा मुसलमान समुदायमाथिको हिन्दू अतिवादी दमन अझ तीव्र बनेको छ । मार्च महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित तबलिगी जमातको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी बनेका केही व्यक्तिमा कोभिड–१९ को सङ्‍क्रमण पुष्टि भएसँगै भारतमा मुसलमानविरूद्ध साम्प्रदायिक विभेद अझ फैलिएको छ । त्यही बहानामा सबै मुसलमानमाथि दमन, हिंसा, कुटपिट र विभेदको निशाना बनाइएको छ । मुसलमान समुदायमाथि सामाजिक बहिष्कार हुनथालेको छ ।
त्यसको केही प्रतिछाया नेपालमा पनि देखिएको छ । भारतको एउटा टेलिभिजन च्यानलले ‘नेपालका मुसलमानहरूले भारतमा मान्छे फैलाएर कोभिड–१९ को सङ्‍क्रमण फैलाएको’ भनी समाचार प्रसारण गरेको थियो । त्यस्तै जनकपुरमा दुई जना महिलाले केही थान नोट फालेको र पछि उनीहरू मुसलमान समुदायको भएको समाचारलाई पनि केही सञ्चारमाध्यमले मुसलमानविरोधी कोणबाट प्रचार गरे । आइतबार आएको परीक्षण नतिजाले उनीहरू दुवैमा कोभिड–१९ को सङ्‍क्रमण नभएको पुष्टि भयो । शुक्रबार उदयपुरको एउटा मस्जिदमा भेटिएका १२ जना सङ्‍क्रमित भेटिएको समाचारले कोभिड–१९ लाई मुसलमानविरोधी हतियार बनाउन खोज्नेलाई मलजल प्राप्त भएको छ ।

        भारतमा सक्रिय धार्मिक अतिवादीहरूले नेपालमा पनि धार्मिक साम्प्रदायिकता भड्काएर आफ्नो राजनीतिक ध्येय पूरा गर्न सक्नेबारे नेपाल सरकार सजग हुन जरूरी छ । नेपालमा पुस्तौँ–पुस्तादेखि बस्दै आएका मुसलमान धर्मावलम्बीहरूको अन्य सबै नेपाली जनतालाई जस्तै उचित उपचार र सुरक्षाको बन्दोबस्त गरौँ । नेपाललाई धार्मिक द्वन्द्वको आधार बनाउने चालबाजीबाट नेपाली जनता सचेत बन्‍न जरूरी छ ।

 
तर, कोभिड–१९ लाई लिएर कुनै धर्म, जाति, समुदाय वा विचारधारामाथि विभेद, दोषारोपण र हमला गर्नु सर्वथा गलत हो । यो भाइरसले कुनै धर्म, जाति, भौगोलिक सिमाना, राजनीतिक विचारधारा अथवा कुनै पनि कृत्रिम सीमा मानेको छैन । त्यसकारण यसलाई मुसलमान धर्मसँग जोडेर हेर्नु शतप्रतिशत गलत हो । यसअघि केही पश्चिमा देशका केही मूर्ख मानिसहरूले कोभिड–१९ लाई एसियाली, अझ विशेषतः चिनियाँजस्ता देखिने मानिसहरूमाथि कुटपिट, अपमान र विभेद गर्ने माध्यम बनाएका थिए । सद्भाव, सहकार्य र ऐक्यबद्धताले मात्र जित्न सकिने भाइरसलाई मानिस–मानिसबीचको विभाजनले अझ राक्षसी रूप लिन प्रोत्साहित गर्‍यो ।
कुनै जाति, भाषा, धर्म, विचारधाराको आधारमा नभई कुनै व्यक्तिमा कोभिड–१९ को कुनै लक्षण देखिए–नदेखिएको, सङ्‍क्रमित कोही व्यक्तिसँग सम्पर्क भए–नभएको र प्रयोगशाला परीक्षणको आधारमा सङ्‍क्रमणको निक्र्योल गरिनुपर्छ ।
केही अतिवादी र सङ्कीर्ण राजनीतिक विचारधारा बोक्ने मानिसहरू कोभिड–१९ सङ्‍क्रमणलाई आफ्नो दुनो सोझ्याउने मौकामा बदल्न खोज्छन् । समाजमा विभाजनको बिजारोपण गर्न खोज्ने शक्तिले यस्ता विग्रह र जालझेल गरिरहेका हुन्छन् । त्यसले कोभिड–१९ विरूद्धको विश्वव्यापी प्रतिरोधलाई मात्र कमजोर बनाउने होइन, बरू प्राणघातक रोगलाई अझ बढी नरभक्षी बनाउनेछ । सङ्‍क्रमितको उचित उपचार गरौँ, सकेसम्म धेरै मानिसको परीक्षण गरौँ, विज्ञ चिकित्सकहरूले दिएका सल्लाह र सुझावको पालना गरौँ । यतिबेला मानव समाजबीच विभाजन होइन, एकता र ऐक्यबद्धताको खाँचो छ ।
भारतमा सक्रिय धार्मिक अतिवादीहरूले नेपालमा पनि धार्मिक साम्प्रदायिकता भड्काएर आफ्नो राजनीतिक ध्येय पूरा गर्न सक्नेबारे नेपाल सरकार सजग हुन जरूरी छ । नेपालमा पुस्तौँ–पुस्तादेखि बस्दै आएका मुसलमान धर्मावलम्बीहरूको अन्य सबै नेपाली जनतालाई जस्तै उचित उपचार र सुरक्षाको बन्दोबस्त गरौँ । नेपाललाई धार्मिक द्वन्द्वको आधार बनाउने चालबाजीबाट नेपाली जनता सचेत बन्‍न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *