सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
सन्दर्भ : १३१ औँ श्रमिक दिवस
“…. तिमीहरू हामीलाई फाँसी दिएर दुःख कष्टमा बाँचिरहेका लाखौँ करोडौँ थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको मन छ भने हामीलाई झुण्ड्याऊ । तर, तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिङ्गोलाई मात्र कुल्चँदै छौँ, जसको ज्वाला तिम्रो पछाडि जहाँ तहाँ दन दन दन्किरहेछ । त्यो ज्वाला जनताको बीचमा दन्किरहेको छ । त्यसलाई निभाउने तिमीहरूको तागत छैन …”
माथि उद्धृत गरिएको ओजपूर्ण भनाइ मई आन्दोलनका एक कैदी नेताले मृत्युलाई पनि चुनौती दिँदै अदालतमा अभिव्यक्त गरेको हो । भोका, नाङ्गा र दासझैँ काम गर्न बाध्य मजदुरहरूले आफ्नो मानवीय अधिकारको निम्ति बलिदानीपूर्वक लडेको इतिहासको नाम नै मई आन्दोलन हो । मई दिवस पुँजीवादी शोषण, अन्याय, अत्याचार, दमन र उत्पीडनको विरुद्ध संसारभरकै कामदार जनता एक भई लड्न प्रण गर्ने दिवस हो । आजभन्दा १३० वर्षअघि अर्थात् सन् १८८६ को मई १ को दिन अमेरिकाको शिकागोलगायत देशका सम्पूर्ण औद्योगिक सहरहरूमा ज्याला वृद्धि र ८ घण्टाको कामको दिनको मागसहित मजदुरहरूले अभूतपूर्ण प्रदर्शन र हड्तालको आयोजना गरेको सम्झनाको दिन नै मई दिवस हो । मई आन्दोलनलाई मजदुरहरूको वर्गीय मुक्ति अभियानको रूपमा आज पनि संसारभरकै मजदुरहरू स्मरण गर्छन् । मई दिवसकै परिणामस्वरूप पुँजीवादी अमेरिकी सरकारमात्रै होइन अन्ततः संसारका सम्पूर्ण तानाशाही, प्रतिक्रियावादी एवं पुँजीवादी सरकार मजदुरहरूको ८ घण्टाको कार्य दिनको माग पूरा गर्न बाध्य भए ।
मई दिवसको ऐतिहासिक पृष्ठभूमि कस्तो छ ?
औद्योगिक क्रान्ति
सन् १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । रेल यातायातको विकासले व्यापार र उद्योग तथा कल कारखानाको विकासमा तीव्रता ल्याएको थियो । कोइला, तामा, फलाम, तेल र काठ–पातको अपार भण्डार भएको अमेरिकामा औद्योगिक मजदुरहरूको सङ्ख्या दिन पर दिन बढ्दै जानु अस्वाभाविक भएन । यसरी औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौँ देश बन्यो ।
१८६० तिर संरा अमेरिकाको कुल जनसङ्ख्या ३ करोड १० लाखमा १८ लाख जनता मजदुरमा परिणत भए । उद्योगहरूमा काम गर्ने मजदुहरूमा एउटा ठूलो भाग केटाकेटीहरू थिए । सन् १८६५ सम्ममा संरा अमेरिका औद्योगिक उत्पादनमा संसारमा चौथो श्रेणीमा पुग्यो । १८७० मा तेल झिक्ने उद्योगको विकासबाट मजदुरहरूको सङ्ख्यामा लाखौँले वृद्धि भयो ।
मजदुरहरूको तत्कालीन स्थिति
पुँजीवादको विकास सँगसँगै आर्थिक विषमता बढ्दै गयो । पुँजीपति र मजदुरहरूबीचको खाडल झन्–झन् फराकिलो हुँदै गयो । धनी झन्–झन् धनी हुँदै जानु पुँजीवादी देशको विशेषता नै हो । मजदुरहरू दिनमा १८ देखि २० घण्टासम्म श्रम गर्दा पनि दुई छाक खानसक्ने औकातमा थिएनन् । आफ्ना बालबच्चाहरूलाई पढाउनु–लेखाउनु त कता हो कता एक सरो लगाउन र एक भर पेट खुवाउनसम्म पनि तिनीहरूलाई धौधौ पर्दथ्यो । यसले गर्दा केटाकेटी र बुढाबुढीलाई समेत कारखानामा कडा परिश्रम गर्नुपर्दथ्यो । मार्क्स र ऐंगेल्सको कम्युनिस्ट घोषणा पत्रमा भनिएको छ, “मजदुरलाई औसतरूपले खालि त्यतिमात्र ज्याला दिइन्छ जति उसलाई बाँच्नको निम्ति एकदम आवश्यक पर्दछ अर्थात् त्यति नपाएको खण्डामा मजदुर बाँच्न सक्दैन । यसकारण मेहनत गर्ने मजदुरले आफ्नो कडा परिश्रमबाट जति ज्याला पाउँछ, त्यसबाट आफ्ना र जहान परिवारको गुजारा मुश्किलले चलाउन सक्दछ । मजदुर बाँच्नै नसक्ने भएको खण्डमा फेरि मजदुर कहाँबाट आउला ?”
दिनभरि काम गरिसकेपछि मजदुरहरू आफ्नो छाप्रो–डेरामा फर्कन्थे । सबभन्दा सस्तो खानेकुरा रोटी थियो । तसर्थ बिहान तिनीहरू कफी र सुख्खा रोटी खान्थे भने दिउँसो धेरैजसो एक टुक्रा प्याजसँग सुख्खा रोटी निल्थे । बेलुकी पनि अधिकांशको खाना रोटी नै हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा पनि ८–१० जवान मजदुरहरू बस्न बाध्य थिए ।
मजदुर आन्दोलन विकास
अमेरिकी मजदुरहरूले समय समयमा छिट्फुट विद्रोहहरू गर्दै आए । पुँजीवादी चरम शोषणविरुद्ध मजदुरहरू भित्रभित्रै सचेत र सङ्गठीत हुँदै आए । १९ औँ शताब्दीको सुरुमा नै अमेरिकी मजदुरहरूले ‘सूर्योदयदेखि सूर्यास्तसम्म’ काम गराउने प्रवृत्तिको विरुद्ध आवाज उठाउँदै आएको पाइन्छ । त्यतिबेला पनि मजदुरहरूलाई १८ घण्टासम्म काम गराउनु सामान्यजस्तो नै थियो । सन् १८०६ मा फिलाडेल्फियाका आन्दोलनकारी मजदुरहरू नेताहरूमाथि षड्यन्त्रपूर्ण मुद्दा चलेपछि त्यहाँका मजदुरहरूलाई २० घण्टासम्म काममा जोताइन्छ भन्ने सत्य उद्घाटन भएको थियो ।
संसारको सबैभन्दा पहिलो मजदुर सङ्गठन फिलाडेल्फियाका मेकानिक्सहरूको सङ्गठनलाई मानिएको छ । त्यो मजदुर सङ्गठन बेलायतका मजदुर सङ्गठनहरूभन्दा २ वर्षअगाडि स्थापना भएका थिए । फिलाडेल्फियाको त्यस मजदुर सङ्गठनको नेतृत्वमा सन् १८२७ मा त्यहाँका मजदुरहरूले दिनमा १० घण्टाको कामको माग गर्दै हडताल भयो । यसबाट केही उद्योगहरूका मजदुरहरूले आफ्ना मागहरू पूरा गराउन सफलता प्राप्त गरे ।
सन् १८५० देखि १८६० को दसकमा अमेरिकामा धेरै मजदुर सङ्गठनहरू बने । २० अगष्ट १८६६ मा साठी मजदुर सङ्गठनका प्रतिनिधिहरू बाल्टिमोरमा जम्मा भए । त्यस भेलाबाट ‘नेशनल लेवर युनियन’ को स्थापना भयो । मजदुरहरूका राष्ट्रिय सङ्गठनको आन्दोलन विलियम एच. सिल्विसको नेतृत्वमा अगाडि बढ्यो । सन् १८६६ मा नेशनल लेवर युनियनको स्थापनाको समयमा भएको अधिवेशनमा निम्नि लिखित प्रस्ताव स्वीकार गरिएको थियो, “यो देशका मजदुरहरूलाई पुँजीवादी दासताबाट मुक्त गर्नेको लागि आजको सबैभन्दा पहिला र मूल आवश्यकता यस कुराको छ कि एउटा यस्तो कानुन बनाइयोस् जसले अमेरिकाको हर प्रान्तमा ‘आठ घण्टा’ लाई कामको दिन भनेर निश्चित गर्दछ । यसको गौरवपूर्ण नतिजामा पुग्नको लागि हामी आफ्नो पूरा शक्ति लगाउने निश्चित गर्दछौँ ।” तर सुन १८६९ मा सिल्विसको असामयिक निधन भयो । त्यसपछि युनियनमा खराब तत्वहरूको प्रवेशले गर्दा नेशनल लेवर युनियनको बदनामी भयो र त्यो त्यतिकै विलिन भएर गयो ।
आठ घण्टा कामको दिनबारे मार्क्सको विचार
नेसनल लेवर युनियनले ‘आठ घण्टा कामको दिन’ को आन्दोलन गर्ने निधो सन् १८६६ अगष्टमा गरेको थियो त्यसै साल सेप्टेम्बर महिनामा जेनेभामा भएको प्रथम अन्तर्राष्ट्रिय महाअधिवेशनले आठ घण्टाको कार्य दिनको मागको विषयमा यसरी उठाएको थियो, “जबसम्म काम गर्ने समयलाई कानुनीरूपमा तोकिँदैन तबसम्म मजदुर वर्गको हित र स्वतन्त्रताको लागि गरिने सबै प्रयास अधुरो हुनेछन् । त्यसैले महाधिवेशन प्रस्ताव गर्छ कि आठ घण्टा कार्य दिनलाई कानुनी मान्यता दिइयोस्” ।
सन् १८६७ मा प्रकाशित ‘पुँजी’ को प्रथम भागको एक अध्यायमा ‘कामको दिन’ विषयमा आठ घण्टा कार्य दिनको लागि नेसनल लेवर युनियनद्वारा गरिएको आन्दोलनको सन्दर्भ जोड्दै सर्वहारा वर्गका महान गुरु कार्ल मार्क्सले ‘काला’ र गोरा मजदुरहरूको वर्ग हित र एकताको वर्णन एकदमै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । मार्क्स अगाडि लेख्नुहुन्छ, “जबसम्म अमेरिकी प्रजातन्त्रको कुनै पनि भागमा दासताको धब्बा रहन्छ, तबसम्म त्यहाँ कुनै पनि किसिमको स्वतन्त्र मजदुर आन्दोलन हुर्कन सक्दैन । जहाँ कालो छाला भएकालाई घृणा गरिन्छ, त्यहाँ गोरा मजदुरहरूले पनि आफूलाई कहिल्यै मुक्त पाउन सक्दैनन् । तर, दास प्रथा उन्मूलन भएपछि त्यहाँ एक नयाँ जिन्दगीको जन्म लियो । गृहयुद्धको पहिलो परिमाणस्वरुप ‘आठ घण्टाको कार्य दिन’ को आन्दोलन प्रशान्तदेखि आन्द्रसम्म र बेलायतदेखि क्यालिफोर्नियासम्म आगोजस्तै सल्किँदै गयो ।”
७० को दशक पनि मजदुर आन्दोलनको महत्वपूर्ण अवधि
१८७० देखि १८८० मा संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा आफ्नो पक्षमा कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्घर्षहरू चर्काउँदै थिए ।
७० कै दशकमा भएका मजदुर आन्दोलनहरूमध्ये रेल मजदुरहरूको आन्दोलन उल्लेखनीय छ । १८७७ मा भएको त्यस ऐतिहासिक मजदुर आन्दोलन दबाउन पुँजीपति वर्गले सेना र स्वयम्सेवकको नामधारी गुण्डाहरू प्रयोग गर्यो । रेल मजदुरहरूको त्यस हडतालमाथि गोलीको वर्षा गर्न पनि पुँजीपति वर्ग पछि परेन । दमनको कारण आन्दोलन चर्किन मद्दत पुग्यो । मजदुरहरू कति पनि झुकेनन् । अरु औद्योगिक मजदुर र किसानहरूले पनि रेल्वे मजदुरहरूको समर्थन गरे । पिट्सवर्ग, बाल्टिमोर, शिकागोलगायत प्रमुख सहरहरूमा हडताली मजदुर र सिपाहीँबीच चर्का भीडन्तहरू भए र ती भीडन्तमा कम्तीमा कम ३०० मजदुर मारिए । अमेरिकाका सहरहरू सहिदको रगले रङगिए । हत्याकाण्डले सुतेर बसेका सम्पूर्ण मजदुरहरूलाई झक्झक्याई दियो । मजदुरहरूको त्यस आन्दोलनले क्षणिकरूपमा हार खाए पनि भुसको आगोजस्तै आन्दोलनको आगो भित्र भित्रै बलिरह्यो ।
मई आन्दोलनको तयारी
मजदुरहरूको आन्दोलनको सिलसिला रोकिएन । सङ्घर्षकै क्रममा मजदुरहरूले थुप्रै अनुभवहरू हासिल गर्दै गए । उनीहरूको उत्साह र लडाकूपन बढ्दै गयो । मार्क्स र ऐंगेल्सले लगाउनुभएको ‘विश्वका मजदुरहरू एक होऔँ’ भन्ने नारा विश्वभर फैलिँदो थियो । अमेरिकी मजदुरहरूमा पनि मार्क्सवादको प्रभाव पर्दै थियो तर त्यहाँ मजदुरहरूको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना भने भइसकेको थिएन ।
सन् १८४८ मा महान् गुरु कार्ल मार्क्सले मजदुरहरूको वास्तविक मुक्तिको बाटो प्रस्ट पारिसक्नु भएको थियो । मजदुर आन्दोलनलाई तलब वृद्धि र कामको घण्टा कम गर्ने आदि स–साना मागहरूमा सीमित नगरी मजदुर वर्गकै राज्य सत्ता स्थापना गर्ने मुख्य लक्ष्यमा परिणत गर्नु मार्क्सवादको सार हो । मार्क्सवादी साहित्यको प्रचारप्रसारको प्रभाव अमेरिकी मजदुर नेताहरूमा पनि पर्दै गयो र आन्दोलनलाई नयाँ दिशामा लग्ने तयारीहरू हुन थाले ।
सन् १८८० को दशकमा अमेरिकामा औद्योगिक विकास तीव्ररूपले भयो । तर, त्यहाँ १८८४ र १८८५ मा ठूलो आर्थिक मन्दी आयो । यस अवधिमा मजदुरहरूको बेकारी समस्या चर्को भयो । यसबाट मजदुर आन्दोलन विकासमा थप टेवा पुर्यायो ।
आठ घण्टाको कार्य दिनको नारा व्यापक श्रमिकहरूमा लोकप्रिय बन्दै गइरहेको थियो । अमेरिकाका मजदुर सङ्गठनहरू सन् १८८६ को मई १ बाट पुनः मजदुर आन्दोलनको आँधीबेहरी ल्याउने घोषणाका साथ तयारीमा जुटे । मई आन्दोलनको लागि सन् १८८५ देखि तयारी आन्दोलनहरू हुन थाले । सन् १८८१ देखि १८८४ सम्म भएका हड्तालहरूको औसत सङ्ख्या डेढ लाख थियो भने सन् १८८५ मा ७०० हड्ताल र आन्दोलनमा भाग दिने मजदुरको सङ्ख्या २ लाख ५० हजारसम्म पुग्यो । १८८६ सम्ममा १८८५ मा भन्दा दुई गुणा बढी अर्थात् १५७२ वटा हड्तालहरू भए भने हड्ताली मजदुरहरूको सङ्ख्या ६ लाखसम्म पुगेको थियो । १८८५ मा २४६७ उद्योगहरूमा हड्ताल भएको थियो भने १८८६ मा यो सङ्ख्या बढेर ११,५६२ सम्म पुगेको थियो ।

मई आन्दोलनका ऐतिहासिक दिनहरू
१८८६ मई १ को दिन ज्याला वृद्धि गर्ने र ८ घण्टाको कार्य दिनको माग पूरा गराउन देशव्यापी हड्ताल गर्ने आह्वान भएअनुसार व्यापक तयारी भयो । १ मईको दिन देशभरका सबै कलकारखाना र यातायात बन्द गर्ने तयारी भयो तर पुँजीपतिहरूका अखवारहरूले आन्दोलनलाई भड्काउन विभिन्न कुचेष्टाहरू गरे । हड्तालीहरूसँग बम हानेर पनि दबाउनुपर्छ भन्ने प्रचार गरियो । हड्तालमा भाग लिने मजदुर नेताहरूलाई मार्ने धम्कीहरू दिइयो । तर डर र धम्कीको परवाह नगरी आन्दोलन सफल पार्न व्यापक मजदुरहरू तैयारीमा लागे ।
‘सडकमा हेर बत्तिका खम्बाहरू एक कम्युनिस्टको लासले सिङ्गार्नुपर्छ’ र ‘हुलदङ्गालाई गोली र तिनीहरूका नेताहरूलाई डोरी’ जस्ता पुँजीपतिहरूका धम्कीबाट मजदुरहरू पछि हट्ने कुरै थिएन । किनभने सर्वहरा वर्गसँग हार्नका निम्ति सिक्रीबाहेक केही छैन । आफूलाई पशुसरह व्यवहार गर्ने, शोषण र अन्याय अत्याचार गर्ने वर्ग शत्रुपति मजदुरहरूको घृणाले आन्दोलन सफल हुने सम्भावना प्रबल भएको थियो । मजदुरहरूले अन्दोलन सफल बनाउन जस्तो, जोडतोडका साथ तयारी गर्दै थिए । उस्तै पुँजीपति एवम् प्रतिक्रियावादीहरू आन्दोलन दबाउन तयारी गर्दै थिए ।
आन्दोलनको केन्द्रविन्दु शिकागो सहरमा बाहिर थुपै्र सिपाही, पुलिस, डाकु, गुण्डा र जासुसहरू थुपारिए । ‘मई १ को दिन देशभरि हड्ताल सुरु भयो । शिकागोको हड्तालमा ४० हजार मजदुरले भाग लिए । वातावरण तनावपूर्ण थियो । मजदुरहरूका नशा नशामा रगत उम्लिएको थियो । सबैले जोशका साथ एकै स्वरमा नारा लगाए ‘८ घण्टाको कामको दिन लागू गर !’ पुँजीपति वर्ग र त्यसका सिपाही, पुलिस, गुण्डा र जासुसहरू हिंस्रक पशुझैँ निहुँ खोज्दै थिए ।
हड्ताल दोस्रो दिन पनि चल्यो । दोस्रो दिनसम्ममा शिकागोमा हडताली मजदुरको सङ्ख्या ८० हजार पुग्यो । शिकागोको स्थिति झन् तनावपूर्ण भयो । १ र २ मईको आन्दोलन शान्तिपूर्ण नै रह्यो ।
३ तारिखका दिन पुलिसले एकाएक गोली चलाएर ५ जवान मजदुरको हत्या गर्यो । ५० जवान मजदुर गम्भीररूपले घाइते भए । उक्त हत्याकाण्डको विरोधमा ४ मईका दिन विरोधसभा भइरहेको ठाउँमा केही सरकारी गुण्डाहरूलाई पुलिसमाथि बम फ्याँक्न लगाएर सरकारले दमनको नयाँ नीति लियो । बम पड्केर ७ जवान प्रहरीको मृत्यु भयो । यसैलाई अतो थापेर सरकारले पुलिस र सेनाको प्रयोग गरी थुप्रै मजदुरहरूको हत्या गर्थ्यो। अनगिन्ती मानिस घाइते बनाइए । प्रशासनले ८ जवान मजदुर नेताहरूसहित हजारौँलाई गिररफ्तार गर्यो ।
सरकारले बम काण्डको दोष मजदुरहरूमाथि लगायो र तिनीहरूको विरुद्धमा मुद्दा चलायो । न्यायको पगरी गुथेर बसेका ‘न्याय मूतिहरू’ निर्दोष मजदुर नेताहरूलाई मृत्युदण्ड सुनाउन तयारी गर्दै थिए । तर, मजदुर नेताहरूले मृत्युलाई पनि चुनौती दिए । वीरहरू मृत्यु स्वीकार्छन् तर प्रतिक्रियावादीहरूसामु झुक्दैनन् । अदालतको कठघरामा पनि ती मजदुर नेताहरू त्यतिकै जोशिला र जिउँदा देखिन्थे । भविष्यप्रति आशावादी ती नेताहरूमा पश्चाताप र दुःखको सत्ता वर्गशत्रुप्रति घृणाको भावना भरिएको थियो । पुँजीवादी न्यायालयले हडताली मजदुर नेतामध्ये ४ जवानलाई फाँसी दिने फैसला गर्यो । न्यायको गला रेटेर पुँजीपति वर्गले ती मजदुर नेतालाई फाँसी दिएरै छोड्यो । यस समाचार बिजुलीजस्तै संसारभर फैलियो । सम्पूर्ण मजदुर रिसले उठे । सारा संसारका मजदुर पुँजीपतिवर्गसँग बदला लिन सङ्घर्षमा अगाडि बढे । मई आन्दोलनका नेताहरूको शहादत्व सङ्घर्षको अन्त थिएन ।
मई दिवस कहिलेदेखि मनाउन थालियो ?
सन् १८८६ को मई आन्दोलनको क्रान्तिकारी भावनालाई हृदयङ्गम गरी १४ जुलाई १८८९ मा एँगेल्सको समेत उपस्थिति रहेको संसारको मजदुरको पेरिस बैठकले १८९० मई १ देखि संसारभर प्रत्येक वर्ष मई आन्दोलनलाई मजदुर दिवसको रूपमा मनाउने निर्णय गर्यो १८९० मई १ को दिन युरोपका सबैजसो देशमा ८ घण्टाको कार्यदिनको माग लिएर प्रदर्शनहरू भए ।
मई दिवसको ऐतिहासिक महत्व के हो ?
मई दिवसबारे ऐंगेल्स भन्नुहुन्छ, “मेको प्रदर्शन सर्वहारा वर्गको केवल युगान्तकारी घटनामात्र होइन, यो एउटा मजदुर वर्गको पहिलो जुझारु अन्तर्र्राष्ट्रिय कारबाही हो । यसले विभिन्न देशमा अति सुखद सफलताको सम्भावना प्रदान गरेको छ ।”
सन् १८९३ मा दोस्रो अन्तर्राष्ट्रियको ज्युरिच काङ्ग्रेसले मई दिवसको प्रदर्शनलाई ‘८ घण्टा कार्य दिनका साथ सामाजिक परिवर्तन, वर्गभेदको अन्त गर्न श्रमिक वर्गको सुदृढ सङ्कल्पका रूपमा पनि प्रदर्शनलाई लिनुपर्दछ’ भन्ने निर्णय गरेर मजदुर आन्दोलनलाई अर्को उचाइमा विकास गर्न पुग्यो ।
मई आन्दोलनको सिलसिलामा मजदुर नेताहरूलाई फाँसी दिएको ७ वर्षपछि सरकारको होस् खुल्यो । सरकारले त्यतिबेला ‘न्यायको हत्या’ भएको स्विकार्यो । यसरी सङ्घर्षको कारण ८ घण्टाको कामको दिन निश्चित भयो । मजदुर वर्गको यो ठूलो विजय भयो । आज संसारभर ८ घण्टाको कार्य दिन लागू हुनुमा मई आन्दोलनको ऐतिहासिक महत्व रहेको छ ।
स्रोत : नौलो आयाम द्वैमासिक, २०५५ जेठ–असार
Leave a Reply