भर्खरै :

पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

-कल्पना पौडेल
काठमाडौँ, ३१ वैशाख । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ ।
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामीमध्येबाट भुजेलका मिर्गौला सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौँका १५ वर्षीय मिलन श्रेष्ठमा गत बिहीबार नै सफल प्रत्यारोपण गरिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले यो नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुनेगर्छ । हाम्रो देश पनि धेरै दुर्घटना हुने देशमा पर्छ, हामीले मस्तिष्क मृत्यु भएका यस्ता व्यक्तिबाट अङ्ग झिकी अरु आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्नसकेमा धेरै व्यक्ति अङ्ग नपाएर मर्नुपर्ने अवस्थामा कमी आउँछ ।”
नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यरोपणबारे जनचेतनाको कमी भएकाले सबैलाई सम्झाउन समस्या छ । यो संवेदनशील र जटिल विषय पनि भएकाले सरकार, गैरसरकारी संस्था, नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
सरकारले गत वर्ष मानवअङ्ग प्रत्यारोपण नियमावली–२०७३ जारी गरी मस्तिष्क मृत्यु (बे्रन डेथ) भएका व्यक्तिको अङ्ग झिकी अर्कोमा प्रत्यारोपण गर्ने सहज बाटो खोलेको थियो ।
यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाका आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङक्रियाज, सानो आन्द्रा र दुई आँखाका नानी अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।
प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था सामान्य भएको र केही दिनमा उनीहरुलाई डिस्चार्ज गरिने केन्द्रले जनाएको छ । सरकारले कुनै अस्पतालमा बिरामीको मस्तिष्क मृत्यु भएमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना भएको केन्द्रिय समन्वय एकाइमा सम्पर्क गर्नसक्ने व्यवस्था गरेको छ । त्यसपछिको सबै प्रक्रिया सोही एकाइमार्फत हुनेछ ।
कार्यकारी निर्देशक श्रेष्ठले मृतक भुजेलका परिवारलाई सुरुमा राजी बनाउन केही समस्या भएपनि पछि उहाँहरुले खुसीसाथ सहमति दिएको अनुभव सुनाउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *