भर्खरै :

सक्‍वको म राजदास – ३०

            अन्ना पेट्रोभ्नाको कुरा सुन्दै गर्दा मलाई पनि धेरै दुःख लाग्न थाल्यो– आफ्नो मनपर्ने केटासँग बिछोड हुँदै गएको, आफूबाट टाढा हुँदै गएको अनि आफू निरीह बन्दै गएको । सोभियत सरकारले अन्नाको साथी आन्ड्रेइलाई सैनिक तालिमको सिलसिलामा पूर्वी जर्मनी पठाइदियो भनेको सुन्दा मलाई पनि आफ्नी श्रीमती भालेन्टिनाको भाइ भिक्टरलाई पूर्वी जर्मनी पठाएको कुरा सम्झना आयो । मैले भनेँ, “अनि आन्ड्रेइसँग कुनै सम्पर्क भएन त अन्ना उनलाई जर्मन पठाएपछि ? “भएन राज केही सम्पर्क भएन, कुनै चिट्ठी पत्र पनि आएन र चिट्ठी पत्रमात्र होइन आन्ड्रेइ पनि फर्केन जर्मनीबाट कहिल्यै राज । जर्मनीमा हो वा अन्त कतै मलाई केही थाहा भएन । सैनिक तालिमको अभ्यासमा उनको मृत्यु भयो भन्ने समाचार उनका आफ्नाबाट मेरो कानमा पर्‍यो ।
            आन्ड्रेइको केही व्यक्तिगत सामान र लुगामात्र फर्कियो घर, आन्ड्रेइ फर्केन । आँखाबाट आँसु झार्दै अन्ना शब्दविहीन स्वरमा फेरि रुन थालिन्  ।
            “हुनसक्छ राज आन्ड्रेइलाई पूर्वी जर्मनीबाट चेकोस्लोभाकिया पठाइदियो । तपाईँलाई थाहा छ राज ? १९६५ मा सोभियत सङ्घले चेकोस्लोभाकियामाथि हस्तक्षेप गरेको थियो । त्यसमा अन्य वार्सा सन्धिका सदस्य राष्ट्रहरूमध्ये पूर्वी जर्मनी पनि थियो ।”
            “ हो अन्ना, त्यस चेकोस्लोभाकिया घटनाबारे मलाई राम्ररी सम्झना छ । सन् १९६५ मा म काठमाडौँमा पद्मोदय हाइ स्कूलको कक्षा ८ मा पढ्दै थिएँ । आफ्नो गाउँ साँखुबाट भर्खर–भर्खर काठमाडौँ आएको थिएँ । मैले अन्नालाई आफ्नो केही कहानी र मैले सुनेको चेकोस्लोभाकिया घटनाका केही कुरा सुनाउँदै गएँ ।
            पद्मोदय हाइ स्कूलमा मेरा एकजना धेरै मनपर्ने सर हुनुहुन्थ्यो– स्व. प्रेमबहादुर कंसाकार । उहाँ जियोग्राफी (भूगोलशास्त्र) पढाउनुहुन्थ्यो । मलाई नेपालभाषा र साहित्यको कुरा धेरै सुनाउनुहुन्थ्यो । विशेष गरेर मलाई नेपालभाषा पढ्नुपर्छ, लेख्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । आफ्नो घरमा बोलाउनुहुन्थ्यो । मलाई नेपालभाषाको निबन्ध लेख्न सिकाउनुहुन्थ्यो । नेपालभाषामा निबन्ध लेख्न एउटा–एउटा विषय दिनुहुन्थ्यो । म पनि नेपालभाषामा निबन्धहरू जाने पनि नजाने पनि लेख्थेँ । उहाँले सच्याउँदै सम्झाउनुहुन्थ्यो । उहाँ नेपालभाषा लेखनमा शब्दहरूका पछाडि राखेका विसर्गहरू सबै हटाई विसर्गबिना लेख्नुपर्ने धारणा राख्नुहुन्थ्यो । मैले पनि उहाँले भन्नुभएअनुसार विसर्ग बहिष्कार गर्दै लेख्न थालेँ ।
             मलाई नेपालभाषा पढाउने स्व. सूर्यबहादुर पिवा, प्रेमबहादुर कंसाकारजस्तै मेरा एकजना अर्को गुरु हुनुहुन्थ्यो । उहाँकहाँ म हप्ताको एक दुई चोटि नेपालभाषा साहित्य पढ्न र नेपालभाषाको व्याकरण बुझ्न जान्थँे । मैले सूर्यबहादुर सरलाई एक दुई वटा निबन्ध पनि लेखेर देखाउन लान्थेँ । उहाँले मेरो निबन्ध पढ्दै केर्दै भन्नुहुन्थ्यो, “भएन यो तरिका …प्रेमबहादुरको स्टाइल भयो यो ” भनेर त्यसबेला प्रेमबहादुर कंसाकारले चलाउनुभएको नेपालभाषा आन्दोलनको आलोचना गर्नुहुन्थ्यो ।
            प्रेमबहादुर सरले मलाई स्कूलमा पढाउँदै गर्दा भन्नुहुन्थ्यो, “राजदास नेपालभाषा द्वैमासिक ‘सितु’ पत्रिका निस्कँदै छ । यस पत्रिका म निकाल्दै छु । तिमी पत्रिकाको लागि एउटा दुइटा आर्टिकल लेख्नु ल ।”
           साँच्चिकै उहाँको लगनशीलतामा बजारमा धेरै राम्रो गुणस्तरीय नेपालभाषा द्वैमासिक पत्रिका ‘सितु’ निला पौ निस्कियो । म ‘सितु’ पत्रिका नियमित पढ्ने विद्यार्थी भएँ । म ‘सितु’ पत्रिकामा प्रकाशित नेपालभाषाका प्रायः सबै लेख र रचनाहरू पढ्थेँ । ‘सितु’ पत्रिकामा मेरो पनि दुई तीनवटा रचनाहरू छापिए ।
           तीमध्ये एउटा मेरो लेख थियो । सन् १९६५ मा सोभियत सङ्घको बार्सा सन्धिका राष्ट्रहरू पूर्वी जर्मनी, हंगेरी, बुल्गेरिया, पोल्यान्ड र रोमानिया मिलेर चेकोस्लोभाकियामाथि सैनिक हस्तक्षेप गरेको बारेमा लेखिएको शीर्षक थियो – ‘एउटा निरीह खरायोमाथि सिंहको आक्रमण ।’
            यहीँ कुरा सुनाउँदै मैले अन्ना, पेट्रोभ्नालाई भनेँ, “हो अन्ना मलाई पनि धेरै दुखित तुल्याएको थियो त्यसबेला चेकोस्लोभाकियाको घटना सुनेर । त्यसबारे मैले आफ्नो मातृभाषामा एउटा सानो लेख लेखेँ । मैले अन्नालाई यो पनि भनेँ, “अन्ना मेरी श्रीमतीको भाइलाई पनि पूर्वी जर्मनी पठाएको थियो ।
            सोभियत सैनिक तालिमको सिलसिलामा भिक्टर ३ वर्ष सैनिक तालिम लिएर घर फर्किए र अहिले एक मेकानिकल ड्राइभर भएर ट्रकहरू चलाउँदै छन् । सोभियत सङ्घको आफ्नै गाउँ सहर पेन्जामा छन् ।
            भिक्टर भालेन्टिनाको दुई वर्षले कान्छो भाइ हो । उनको पढाइ त्यति राम्रो थिएन । त्यसकारण स्कूलको पढाइपछि भिक्टर (भिच्या) उच्च शिक्षालयमा पढ्न गएनन् ।
            भिक्टरलाई रुसमा ‘भिच्या’ भनिन्छ । आ–आफ्नै बोलाउने नाम हुन्छ रुसमा । जस्तो कि भिक्टरलाई ‘भिच्या’ । अलेक्जेन्डरलाई ‘साझा’, ‘सान्शा’, भालेन्टिनालाई ‘भ्वाल्या’, भ्लादिनीरलाई ‘बोबा’, मिखाएललाई ‘मिशा’ र टमारालाई ‘टोमा’ आदि ।
            ३ वर्षको तालिमबाट फर्किंदा भिच्यालाई सीधा घर फर्काइएन । बरु काजाक्स्तानको एउटा गाउँमा गहुँ बाली उठाउने काममा पठाइयो । दुई तीन महिना काजाक्स्तानमा गहुँ ओसार्न काम गर्नमा लागे भिक्टर । मेरो सालो भाइ भिक्टर ट्रक राम्ररी चलाउँथे । दुई चार चोटि म आफैँ चढेको थिएँ उनले चलाएको एउटा ठूलो रसियन ट्रकमा । सोभियत सङ्घले पढाइमा राम्रो नभए पनि एउटा सुयोग्य नागरिक उत्पादन गर्‍यो । सोभियत सङ्घले एकजना हत्ताकत्ता जवान सैनिक –मेकानिक्स– ड्राइभर बनायो । काजाक्स्तानको गाउँमा गहुँ ओसार्दा ओसार्दै भिक्टरले एउटी सुन्दरी काजाकी केटी पनि उडाएर ल्याए आफू घर फर्किंदा । धेरै राम्री थिइन् टमारा काजाक्स्तानकी छोरीबेटी । कपाल कालो, गहुँगोरी अनुहार घुघुरिएका कपाल, झट्ट हेर्दा एक नेवार्नीजस्तै लाग्ने । जिउडाल अलि–अलि हृष्टपुष्ट भएकी नरम र हँसिलो स्वभावकी एक नेवार्नी उदास (तुलाधर) थरकी छोरीबेटीजस्तै देखिने । मलाई धेरै माया गर्थिन् टमारा । म उनको घरमा जाँदा मलाई सहर घुमाउन लग्थिन् । प्रत्येक पटक म ससुराली घर पेन्जा जाँदा सालो भाइ भिक्टरले टमारा लिएर आउँदा मेरो विवाह भइसकेको थियो भालेन्टिनासँग । म भालेन्टिनासँगै गएको थिएँ ससुराली भिक्टरको विवाह समारोह मनाउन ।
            दुई तीन दिन भोजभतेर भएको थियो ससुरालीमा काजाक्स्तानबाट टमाराको मुमा र बहिनी गाल्या (गलीना) पनि आएकी थिइन् छ दिनको रेलको यात्रा गरेर आफ्नी छोरीको विवाहमा । काजाक्स्तानबाट रसियाको कुनै सहर आउँदा लगभग ५–६ दिनको रेल यात्रा गर्नुपथ्र्यो । म पनि आफ्नो पढाइको अन्तिम वर्ष केही पैसा कमाउन भनी एक विद्यार्थी समूहसँग सामेल भएर काजाक्स्तान गएको थिएँ एक निर्माण ब्रिगेडमा । ६ दिन लगातार रेलको डिब्बामा सुतेर गएको थिएँ काजाक्स्तानमा काम गर्न सकुँला कि नसकुँला भन्ने डरले । केही गरी मैले अरू रुसी साथीहरू सहरमा काम गर्न नसकेर खाली हात फर्कन पर्ने भएको भए मेरो जीवन बर्बाद नै हुन्थ्यो होला, किनकि अर्को साल पढाइ सकाएर मलाई नेपाल फर्कनु थियो आफ्नी श्रीमतीका साथ दुई साना छोराहरू साशा र देनीसलाई लिएर । तर, मैले काम राम्ररी गर्न सकेँ र पैसा पनि कमाएँ दुई महिना विद्यार्थी बिगे्रडमा काजाक्स्तान गएर रुसी सहपाठीहरूसँग मिलेर । त्यही पैसा नेपाली राजदूतावासको सिफारिसमा डलर साटेर म लण्डन गएको थिएँ । केही सामान किन र आफूसँग भएको सबै पैसाको सर–सामान किनेर फर्कँदै थिएँ । लण्डनबाट मस्को र दैव–संयोग भेट भएको थियो । अन्ना पेट्रान्नासँग एक रेलको डिब्बामा आफ्ना दुःख सुखका कुराहरू मनभरि गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *