भर्खरै :

ओलीको कुतकुत्याइ र जिज्ञासा

कुनै व्यक्ति राष्ट्रपति भएपछि सर्वज्ञाता हुन्छन् ? अमुक व्यक्ति प्रधानमन्त्री बनेपछि सर्वविज्ञ हुन्छन् ? अथवा, कुनै संस्था वा निकायको शीर्ष पदमा आसीन भएपछि कोही सर्वश्रेष्ठ हुन्छन् ? निश्चय पनि हुँदैनन् । कुनै पनि पद ज्ञान, विद्वता र श्रेष्ठताको स्रोत होइन । तर, कतिपय व्यक्ति उच्च पदमा पुगेपछि आफूलाई सर्वज्ञाता, सर्वविज्ञ र सर्वश्रेष्ठ ठान्दछन् । त्यस्तो ठान्नु यथार्थमा अज्ञानता, मूर्खता र नीचताको द्योतक हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस र त्यसको सङ्क्रमण एवम् उपचारको विषयमा थुप्रै अज्ञानता र मूर्खता प्रदर्शन गरिरहेका छन् । उनी वैज्ञानिक वा डाक्टर होइनन् केवल एउटा व्यापारी हुन् । तर, आफूलाई सर्वज्ञाता र सर्वविज्ञ देखाउन सिङ न पुच्छरको कुरा गरेर पदकै अवमूल्यन् गरिरहेको अनुभव विश्वले गरिरहेको छ ।
हाम्रा प्रधानमन्त्री केपी ओलीले पनि कोरोना भाइरस निर्जीव हो, तातोपानीले हात धोए निर्जीव भाइरस समाप्त हुन्छ अर्थात् मर्छ भनेर आफ्नो ज्ञान एवम् विद्वता प्रदर्शन गरेका छन् । यो भनाइले अरूलाई झँै पङ्क्तिकारलाई पनि कुतकुत्याएको छ र जिज्ञासा उत्पन्न गराएको छ ।
जाने बुझेसम्म कोरोना भाइरस निर्जीव होइन, सजीव नै हो । निर्जीवले घाउ–चोट पार्न सक्छ । तर, रोग गर्न सक्दैन । अति सूक्ष्म जीव भाइरस अर्थात् विषाणु हाम्रो शरीरभित्र प्रवेश गरेपछि उपयुक्त तापक्रम, स्थान र खाना उपलब्ध हुने अङ्गमा यसले रोग उत्पन्न गराउँछ । रोग गर्ने यस्ता जीवाणु–विषाणुको कुनै आकार ठूलो हुने, कुनै गुणात्मकरूपमा सङ्ख्या बढ्ने, कुनैले विष उत्पन्न गर्ने गर्छ । कोरोना भाइरस उपयुक्त वातावरणमा पुगेपछि यसको आकार वा साइज बढ्ने बताइएको छ ।
प्रम ओलीको ज्ञानमा यदि कोरोना निर्जीव हो भने त्यसको मृत्यु किन र कसरी हुन्छ ? निर्जीव आफै मृत हो भने तातो पानीले त्यसलाई कसरी मार्न सक्छ ? मृत्यु केवल सजीव वा जीवितको हुन्छ । तर, निर्जीवलाई तातोपानीले ‘समाप्त’ पार्ने प्रम ओलीको विद्वताले जगहँसाइ मात्र भएको छ । त्यसबाट बच्न विज्ञहरूलाई नै बोल्न दिनुपर्छ, मै जान्ने–सुन्ने हुँदा मुर्खतामात्र प्रदर्शन हुन्छ ।
तर, यो सरकारलाई आफै वैज्ञानिक, डाक्टर हुनुपर्ने हुटहुटी छ । कोरोना भाइरस र कोभिड–१९ बारे नेपालका थुप्रै विषाणु विज्ञ, डाक्टरहरूले आफ्नो ज्ञान र बुद्धि प्रदर्शन गरिरहेका छन् । तीमध्ये एक विज्ञाणु विज्ञ डा. शेरबहादुर पुन हुन् । तर, उनको ज्ञान र बुद्धि सरकारलाई पचेन र झन्डै कारबाही गरेको थियो । जनदबाबले सरकारलाई पछि हट्न बाध्य पा¥यो ।
डा. पुनले अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तो औलो ज्वरोको औषधीले कोभिड–१९ को उपचार गर्ने र नेपालका प्रम ओलीले जस्तो तातोपानीले निर्जीव विषाणु मार्ने कुरा गरेका छैनन् । यदि आफू सर्वज्ञाता र सर्वविज्ञ हुने उत्कट इच्छा भए विषय विज्ञको सल्लाहमा बोले हुन्थ्यो, उटपट्याङ कुरा गरेर गाईजात्रे किन बन्ने ? यद्यपि, सम्बन्धित विज्ञले बोलेको कुरामा जनताले जति विश्वास गर्छन् त्यति राष्ट्रपति वा प्रधानमन्त्री अथवा प्रवक्ताले बोलेकोमा विश्वास गर्दैनन् भन्ने तथ्यलाई पनि हेक्का राख्नुपर्छ ।
वामदेव ‘महाराजा’ ?
‘दुईतिहाइ’ को अर्थ स्थिर सरकार हो, घोषणापत्रलाई कार्यान्वयन गर्ने सहज अवस्था हो, विद्यमान राजनीतिक, आर्थिक, प्रशासनिक, सांस्कृतिक, सामाजिक विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सुवर्ण मौका हो । छोटोमा देशलाई प्रगति पथमा हिँडाउने होइन लम्काउने र कुदाउने अभूतपूर्व अवसर हो । राजनीतिशास्त्रका विद्यार्थीले बुझ्ने र अथ्र्याउने कुरा यिनै हुन् । तर, वर्तमान सरकारले ‘दुईतिहाइ’ को औचित्य र सार्थकतालाई प्रमाणित गर्न सकेको देखिएन । ६÷६ महिनामा परिवर्तन हुने सरकार ‘दुईतिहाइ’ ले तीन वर्ष पु¥याउला जस्तो छ, विकृति र विसङ्गति ‘दुईतिहाइ’ को पनि परम्परागतरूपमै सहयात्री देखियो, घोषणापत्रलाई हल्ला र आश्वासनमै सीमित पारियो । यस दृष्टिले अल्पमत, एकमना, संयुुक्तको भन्दा ‘दुईतिहाइ’ को सरकारको कुनै तात्विक भिन्नता देखिएन ।
‘दुईतिहाइ’ को दम्भमा सत्ताधारी पार्टीले व्यक्ति विशेषको लागि संविधान संशोधन गर्ने कुरा गर्न थालेको छ । देशको मूल कानुन वामदेवलाई प्रधानमन्त्री बनाउन संशोधन गर्ने भन्ने ‘दुईतिहाइ’ को दुस्साहस कति प्रत्युत्यादक हुनेछ, सायद उसले सोचेको छैन । हिजो ऐन–नियमहरू निहित स्वार्थको लागि संशोधन गरी दुरुत्साहित भएको सत्ताधारी दल संविधानलाई सायद उसले आफ्नो पेवा ठानेको छ । हिजो चुनाव गर्न सक्ने स्थिति नभएको बेला काङ्ग्रेसी सरकारले संसद् विघटन गरेर प्रतिगमन निम्त्याएको थियो । व्यक्ति विशेषको लागि संविधान संशोधन गरे त्योभन्दा नराम्रो स्थिति निम्तिनेछ वा त्यसको वातावरण बन्न सक्छ, बीजारोपण र पूर्वाधार हुनसक्छ । बेलैमा सचेत होस् यही आग्रह छ ।
जहाँसम्म वामदेवको कुरा छ, उनलाई दलभित्रको ‘किङमेकर’ पनि भन्ने गरिन्छ । तर, चुनावमा पराजित भएर पनि प्रधानमन्त्री बनी छाड्ने इच्छा बहादुरी हो कि नामर्दपना ? गणतन्त्रमा धेरै ‘राजा’ हरू देखापरेको जनताको दुःखेसोमा के वामदेव ‘महाराजा’ नै बन्न खोजेका हुन् ? के वामदेव अबको चुनावमा जितेर प्रधानमन्त्री बन्ने सामथ्र्य नभएरै चोरबाटोबाट वा दुईतिहाइको घोर दुरुपयोग गर्न उद्यत भएका हुन् ? अथवा, संविधान देशको मूल कानुन होइन कागजको खोष्टा हो भनी प्रमाणित गर्न खोजेका हुन्– वामदेव र सत्ताधारी दलले !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *