भर्खरै :

अनलाइन प्रवचनमार्फत मार्क्सको सम्झना

            काठमाडौँ, २३ वैशाख । विश्व सर्वहारा वर्गमा गुरु कार्ल मार्क्सको २०२ औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्‍घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो । कोभिड–१९ को विश्वव्यापी महामारी प्रतिरोध गर्न घोषित लकडाउनबीच आयोजित सो कार्यक्रमका प्रमुख वक्ता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत सबै सहभागीहरू आ–आफ्नो घरबाट सहभागी बन्नुभएको थियो ।
            अनलाइन प्रवचन कार्यक्रममा मार्क्सबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले कुनै पनि विषयवस्तुमा गहिराइसम्म गएर अध्ययन गर्ने मार्क्सको अध्ययन विधिबाट सिक्न जरुरी भएको बताउनुभयो ।  प्रमाणपत्रको लागि मात्र अध्ययन नगरी समाजको आमूल परिवर्तनको निम्ति गहन अध्ययन गर्नुभएको चर्चा गर्दै उहाँले समाजको आमूल परिवर्तनको निम्ति अध्ययन अपरिहार्य भएको बताउनुभयो ।
            कोभिड–१९ को महामारीले पहिलो र दोस्रो विश्वयुद्धले जस्तै संसारको रूपरेखामा परिवर्तन ल्याउनसक्ने सम्भावनातर्फ सङ्केत गर्दै बिजुक्छेँले भन्नुभयो, “पहिलो विश्वयुद्धले कहिल्यै घाम नअस्ताउने बेलायती साम्राज्यलाई बिदा गर्‍यो । दोस्रो विश्वयुद्धले फासीवाद अन्त्य गर्‍यो । कोभिड–१९ को महामारीले संरा अमेरिकी साम्राज्यवादको युग अन्त्य गर्ने सङ्केत गरेको छ ।”
            पुँजीवादी शासन व्यवस्था भएका देशमा पुँजी र पूर्वाधार भएर पनि कोभिड–१९ नियन्त्रण बाहिर हुनुको मूल कारण त्यहाँको स्वास्थ्य प्रणालीको मूल प्राथमिकता नाफा  र व्यापार भएको चर्चा गर्दै उहाँले समाजवादी स्वास्थ्य प्रणालीको मूल प्राथमिकता जनताको स्वास्थ्यको रक्षा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट देशले जनताको जीवनलाई प्राथमिकतामा राखेको हुन्छ । पुँजीवादी स्वास्थ्य प्रणालीले नाफालाई प्राथमिकतामा राखेको हुन्छ ।”
            नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे सहभागी विद्यार्थीहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष बिजुक्छेँले जनताको निम्ति पूर्ण समर्पित हुनुपर्ने समयमा शासक दलका नेताहरू को प्रधानमन्त्री बन्ने विषयमा झगडा गरिरहनु ‘गर्नेलाई भन्दा देख्‍नेलाई लाज’ को विषय भएको बताउनुभयो । उहाँले देशको आजको अवस्थाको निम्ति प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस पनि दोषी भएको बताउनुभयो । प्रमुख प्रतिपक्षले सरकारका कमी कमजोरीको विरोध र आलोचना गर्नुभन्दा सत्तामा भागबन्डा खोजेको हुनाले अहिलेको अवस्था बनेको उहाँको भनाइ थियो । बिजुक्छेँले भन्नुभयो, “जनता आपत्मा परेको अवस्थामा बद्मासी गर्ने र भ्रष्टाचारीहरू सक्रिय भएका छन् । जनतालाई राहतको नाममा गोदाममा कुहिएको चामल वितरण गर्ने कामप्रति जनता सजग हुन जरुरी छ ।”
            बिजुक्छेँले सिमानामा कडाइ गर्नुपर्नेमा जोड दिँदै भारतबाट आउने नेपालीलाई उपचार र बस्ने खाने बन्दोबस्त गरेर निरोगी भएको अवस्थामा मात्र गाउँ फर्काउनुपर्नेमा जोड दिनुभयो ।
            शासक दलहरू पटक – पटक नेमकिपाले दिएको सुझावलाई बेवास्ताको परिणाम आज देश र जनताले भोग्नुपरेको प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जिल्लामा अस्पताल र स्वास्थ्य पूर्वाधार निर्माण गर्न हामीले दिएको सुझावप्रति शासक दल संवेदनशील भएनन् । आज आपत्‍को बेला जनताले दुःख पाएका छन् ।”
            युवा–विद्यार्थीहरूलाई कोभिड–१९ प्रतिरोधको निम्ति जारी भएको सूचनाको पालना र जनतालाई सूचित बनाउन आग्रह गर्दै अध्यक्ष बिजुक्छेँले अन्धविश्वास र अवैज्ञानिक विचारको विरोध गर्नुपर्छ भन्नुभयो ।
            भारतमा प्रधानमन्त्री स्वयम् बत्ती बालेर कोरोना भगाउन लागेकोतर्फ सङ्केत गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “बत्ती बालेरै रोग निको हुने भए डाक्टर, नर्स र अस्पतालको के खाँचो भयो र ?”
            अध्यक्ष बिजुक्छेँले धेरैले ‘सपनाको देश’ मानेको संरा अमेरिकामा गरिब जनताले उपचार खर्च निकै महँगो भएर कोभिड–१९ को कारण ज्यान गुमाइरहेको बताउनुभयो । “धनीहरूले उपचार गर्न सकेका छन्, त्यसकारण कममात्र मरेका छन् । गरिबले महँगो उपचार खर्च तिर्न सकेका छैनन् । धेरै गरिबहरूले ज्यान गुमाएको छन् । पुँजीवादी व्यवस्थामा यस्तै हुने गर्छ”, उहाँले भन्नुभयो ।
            पुँजीपति वर्गको हितमा असर पर्ने भएकोले ट्रम्पले रोग प्रतिरोध गर्न लकडाउन घोषणा गर्न नमानेको उहाँको भनाइ थियो ।
            अनलाइन प्रवचनमा नेक्राविसङ्‍घका केन्द्रीय अध्यक्ष सविन ख्याजू र रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *