‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी हुँदै थियो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को समीक्षा गर्न तथा केही जनभावनाको सम्बोधन गर्न उक्त बैठक बस्न लागेको हो । बैठकमा नगर प्रमुखहरू तथा जिल्ला समन्वय समितिका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । एउटा नगरपालिकाका प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेर आफू मन्त्रालयमा जानुपर्ने हुँदा बैठकमा उपस्थित हुन नसक्ने र आफ्नो प्रतिनिधिको रूपमा वडाध्यक्षलाई पठाएको सूचना गरेका थिए ।
बैठकको अध्यक्षता गर्दै प्रजिअले जिल्लामा लकडाउन पालना गर्दै जिल्लावासी घरभित्रै बसेकोमा खुशी व्यक्त गरे । उनले विदेशबाट फर्केका प्रायः सबैको पहिचान भई क्रमशः कोरोना परीक्षण भइरहेको चर्चा गर्दै जनप्रतिनिधिहरूको सहयोगप्रति आभार व्यक्त गरे ।
प्रजिअको अनुमतिमा प्रहरी प्रमुखले जिल्लाको सुरक्षा व्यवस्थाबारे जानकारी दिए । जिल्लामा ज्यालामजदुरी गर्नेहरूको तथ्याङ्क अद्यावधिक गरिरहेको उनको भनाइ थियो । उनले केन्द्र सरकारले जो जहाँ छ, त्यहीँ खानेकुराको बन्दोबस्त गर्न निर्देशन दिएअनुसार खानलाउन मुश्किल परेका ज्यालामजदुरी गर्नेहरूको नामावली सम्बन्धित स्थानीय तहलाई दिने तयारी भइरहेको बताए । यसका साथै सम्बन्धित जिल्लाको प्रशासनसँग समन्वय गरी विभिन्न जिल्लाबाट यस जिल्लाका इँटा भट्टा, उद्योगलगायतका क्षेत्रहरूमा कार्यरत एवम् डेरामा बस्नेहरूलाई साँझको समयमा घर फिर्ता पठाउने कार्य भइरहेको उनले जानकारी दिए ।
बैठकमा नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूले आ– आफ्नो कार्य क्षेत्रभित्र लकडाउन परिपालनाको लागि स्थानीय जनतामा सचेतना जगाउने कार्यहरू भइरहको बारे क्रमशः बताए । एक जना प्रमुखले स्थानीय तहमार्फत अस्पताल सञ्चालन गरेर कोरोना सङ्क्रमणको त्रासको समयमा स्थानीय जनतालाई निकै सुविधा पुगेको चर्चा गर्दै सबै स्थानीय तहले अस्पताल सञ्चालन गर्न सरकारले स्वीकृति दिनुपर्नेमा जोड दिए । उनले आफ्नो अस्पतालमा कोरोना परीक्षण गर्ने सम्पूर्ण ल्याब सुविधा भएको पटक –पटक सङ्घ सरकारलाई अवगत गराउँदा पनि कोरोना परीक्षणको स्वीकृति प्रदान नगरेकोमा दुःख व्यक्त गरे ।
बैठक सौहार्दपूर्णरूपमा भइरहेको थियो । यस्तैमा एकजना मेयरले कटाक्ष गर्न सुरु गरिहाले ! आफ्नो स्थानीय तहले यो समयमा जनताको हितमा गरेका कार्यहरूको बारेमा उनले बोल्न जरुरी ठानेनन्, बरु छिमेकी नगरपालिकाका कार्यहरूको विरोधमा समय खर्चे । उनी बौल्दै थिए, “जिल्ला अस्पतालबाट कार्यालयसम्म आइपुग्दा यहाँको नगरपालिकाले वितरण गरेको अनुमति पास देखाएर तरकारी किन्न आएको, मर्निङ वाकमा हिँडेको र मन्दिरमा पूजा गर्न हिँडेको भेटेँ । जनप्रतिनिधि भएर मलाई लाज लाग्यो । स्थानीय तहलाई अनुमतिपत्र दिने अधिकार छ र ?”
बैठकमा असहज परिस्थिति सिर्जना हुन लागेको भेउ पाउनेबित्तिकै स्थितिलाई साम्य पार्ने उद्देश्यले प्रहरी प्रमुखले प्रशासनसँग समन्वय गरेर नगरपालिकाले सर्वसाधारणको लागि अति आवश्यक अवस्थामा एक घरबाट एक जनामात्र घरबाहिर निस्कन अनुमति पास वितरण गरेको प्रस्ट पारे । उनले नगरपालिकाबाट अनुमति पाससँगै प्रत्येक वडामा स्वयम्सेवक परिचालन गरेपछि प्रहरीलाई सजिलो भएको समेत बताए ।
मेयरले मुख बिगार्दै भन्न थाले, “हुलका हुल स्वयम्सेवक परिचालन गर्ने अधिकार पनि नगरपालिकालाई रहेछ है ¤ कोरोनाले सर्वसाधारणलाई आक्रमण गर्ने, अनि स्वयम्सेवकलाई छोड्ने हो र ?”
“त्यसो त होइन तर स्वयम्सेवकहरूले माक्स, पन्जा र स्यानिटाइजरको प्रयोग गरिरहेका छन् । हामीबीचको समन्वय राम्रो छ ।” प्रहरी प्रमुखले स्वयम्सेवक परिचालन भएपछि सर्वसाधारण कममात्र बाहिर निस्केको, मन्दिर जाने र मर्निङ वाक जानेहरूको सङ्ख्या घटेको बताइरहँदा मेयरले कान कोट्याइरहेको सबैले देखेका थिए ।
“त्यो त ठिक छ, देवाली पूजा गर्नेहरूलाई समेत पासको व्यवस्था गरेर कहीँ नभएको जात्रा किन देखाएको त ?”
आफू तिर प्रश्न तेर्सिएको महसुस गरेर सेनाका कर्णेलले जवाफ दिइहाले, “होइन मेयरज्यू ! देवाली पूजा गर्ने समुदायका प्रतिनिधिहरूसँग नगरपालिकाले बैठक गर्दा हामी पनि सहभागी भएका थियौँ । कोरोना सङ्क्रमणबारे स्थानीय जनतामा राम्रो सचेतना भएको मैले अनुभव गरेँ । देवाली पूजासमेत सकेसम्म पछाडि सार्ने, मिल्दै नमिल्नेहरूका हकमा क्षमा पूजा गर्ने वा घरमै कूल पूजा गर्ने, सैनिक ब्यारेकभित्र पूजा गर्नेहरूका हकमा मात्र सीमित व्यक्तिहरूलाई पास दिने प्रस्ताव स्थानीय प्रतिनिधिहरूबाट नै आएको थियो । नगरपालिकाले यसलाई सहजमात्र बनाएको हो । पासको व्यवस्था भएपछि हामीलाई धेरै सजिलो भयो नि मेयरज्यू । भीड पनि जम्मा भएन, बोकाको बलि पनि दिइएन र छोटो समयमै अनुशासितरूपमा पूजा पनि सकाए । मेयरज्यू, वास्तविकता यस्तो हो !”
कर्णेलको भनाइप्रति समर्थन गर्दै प्रजिअले थपे, “कर्णेल सा’बले भन्नुभएको कुरा सही हो मेयरज्यू । यहाँको नगरपालिकाले स्थानीय भाषामा दैनिकरूपमा माइकिङ गरी यहाँका जनतालाई कोरोना रोगबारे सचेत पार्ने र अनावश्यकरूपमा घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ । केही दिनअघि मातातीर्थ औँसीको दिनमा बजारमा भीड जम्मा हुने सम्भावनालाई मध्यनजर गरी नगरपालिकाले चोक – चोकमा स्वयम्सेवक परिचालन गर्दा धेरै प्रभावकारी भएको यस बैठकमा जानकारी गराउन चाहन्छु ।”
सबैसामु आफू एक्लिएको महसुस गर्दै मेयरले बैठकमा आफ्नो रिस पोख्न थाले, “होइन यो बैठकमा म मात्र प्रतिपक्ष हो कि क्या हो, सबैले एउटै नगरपालिकाको पक्षमा बोलिरहेका छन् ! होइन महाशयहरू, नगरपालिकाको प्रतिनिधि हुँदाहुँदै उहाँले बोल्नुपर्ने विषयमा तपार्इँहरू सबैले त्यही नगरपालिकाको पक्षमा मात्र किन बोलिरहनुभएको हँ ?”
शीरको टोपी मिलाउँदै चस्माको धुलो रुमालले पुछ्दै वडाध्यक्षले मधुरो स्वरमा कुरा राखे, “खासमा आज मेरो नगरपालिकाका आदरणीय मेयरज्यू विशेष कामले मन्त्रालय जानुभएको भएर म यहाँ उपस्थित भएको हुँ । सबै मेयरज्यूहरूको गरिमामय उपस्थितिको यो बैठकमा मैले बोल्न जरुरी नठानेर नै अहिलेसम्म नबोलिकन बसेको हुँ । यहाँ उठेका विषयवस्तुका कारण म केही कुरा राख्छु ।”
“हामी सबै जनप्रतिनिधि जनताको सेवा गर्न निर्वाचनमा जितेर आएका हौँ । निश्चय पनि हामी फरक – फरक राजनैतिक दलका प्रतिनिधि हौँ, हाम्रो वर्गीय धरातल र वैचारिक दृष्टिकोण अलग – अलग छ । तथापि, अहिलेको सङ्कटको घडीमा हामीले जनतालाई महामारी रोगबाट सुरक्षित राख्ने साझा उद्देश्य बोकेर सँगसँगै हिँडिरहेका छौँ । हामी सबै एउटै जिल्लाका स्थानीय तहका प्रतिनिधि हौँ । यहाँ कुनै एउटा स्थानीय तहले मात्र लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने र अर्कोले हेलचेक्र्याइँ गरेमा रोग सङ्क्रमणको खतरा बढ्ने निश्चित छ ।”
टेबुलमा राखिएको तातो पानी एक घुट्को पिउँदै वडाध्यक्षले आफ्नो धारणा अगाडि सारे, “विश्वका जनतालाई त्राहिमाम बनाइरहेको कोरोना भाइरस नियन्त्रणका लागि सबैजना एकढिक्का भइरहेको वर्तमान अवस्थामा कसैले बठ्याइँ गरेर जिम्मेवारीबाट पन्छिन मिल्दैन । योबेला भूकम्प गएको समयमा जस्तै एनजिओ÷आइएनजिओको फेरो समाएर वैतरिणी पार गर्ने दुरासय राख्नु गलत हुन्छ । सडकमा हिँडिरहेका बटुवाहरूलाई पानी वा खाना खुवाउनेका अगाडि उभिएर आफ्नोले खुवाएको धाक लगाउने समय पनि होइन । आफ्नै पार्टीको दुईतिहाइ बहुमतको सरकार भएर पनि राहत वितरणका लागि सरकारद्वारा निर्देशित एकद्वार प्रणालीलाई लत्याउँदै एनजिओबाट राहत बाँडेजस्तो गरी त्यसैमा भ्रष्टाचार गर्न पनि सुहाउँदैन ।”
“सङ्कटको बेला विदेशबाट खरिद गरेको स्वास्थ्य सामग्रीमा कमिसन खानेमात्र नभई आफ्नो सत्तास्वार्थका लागि आफ्नै दल फुटाउन अध्यादेश ल्याउने र विपक्षी सांसदलाई अपहरण गर्नेसम्मको अपराध त कुनै पनि हालतमा क्षम्य हुनै सक्दैन । गुण्डागर्दी, अपहरण, हत्या र बलात्कारजस्ता घृणित अपराधलाई राजनैतिक आवरणमा छोप्न खोज्ने कुसंस्कार कसैलाई पनि पच्दैन ।”
वडाध्यक्षको स्वर क्रमशः चर्को बन्दै गइरहेको थियो भने अघि कटाक्ष गर्ने मेयरको अनुहार कालोनिलो हुन थालेको थियो । बैठकको अध्यक्षता गर्ने प्रजिअले सबैको भावभङ्गिमा चलाखीपूर्ण तरिकाले अध्ययन गरिरहेका थिए । परिस्थितिको गाम्भीर्यतालाई बुझेर उनले बैठकलाई टुङ्ग्याउन खोजे, “आदरणीय जनप्रतिनिधि, सरकारले लागू गरेको लकडाउनलाई पूर्णतः पालना गराउन जिल्लाका सबै स्थानीय तहहरू तथा यहाँ क्रियाशील राजनैतिक दलहरूले हामीलाई ठूलो सहयोग गरेका छन् । सबैलाई हामीले धन्यवाद दिनैपर्छ । नेपाली जनतालाई कोरोना भाइरस रोगबाट जोगाउन सबै पक्ष एकजूट हुनुको विकल्प छैन । आगामी दिनमा पनि यहाँहरूको सक्रिय सहयोगको अपेक्षा गर्दै यो बैठक टुङ्ग्याउने अनुमति चाहन्छु । धन्यवाद !”
प्रजिअको अनुमतिमा सबैजना बैठक कक्षबाट बाहिरिन थाले । कटाक्षवाला मेयरले शीर ठाडो पार्ने आँट गर्न सकेनन् । उनले शायद सोच्दा हुन्, “सानो खुर्सानी भनी टोक्न खोजेको, जिरे पो परेछ !”
Leave a Reply