‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
बुधबार विश्व सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२ औँ जन्म जयन्ती मनाइयो । कार्ल मार्क्सलाई विश्वका कामदार जनताले आफ्नो मुक्तिको दर्शनका प्रणेता मान्छन् । उनले सिर्जना गरेका रचना र कम्युनिस्ट पार्टीको घोषणापत्रलाई बहुमत कामदार जनताको मुक्तिको मुख्य बाटो मान्छन् । त्यसैले उनी हरेक मजदुर, किसान तथा गरिब, शोषित जनताको मन मनमा रहँदै आएका छन् ।
उनले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गरेकै कारण चीन, प्रजग कोरिया, क्युवाजस्ता देशका जनताले त्यहाँका कम्युनिस्ट पार्टीहरूलाई विश्वासको मत दिँदै आएका छन् । आफूले बहुमत जनताबाट पाएको विश्वासको मतलाई सम्मान गर्दै त्यहाँका कम्युनिस्ट पार्टीले बहुमत जनताको पक्षमा काम गर्दै आएका छन् । ती देशमा कम्युनिस्ट सिद्धान्तअनुसार समाजवाद लागू भइरहेको छ ।
चीन, प्रजग कोरिया, क्युवाका व्यापक कामदार जनताले कम्युनिस्टहरूबाट समानता, स्वाधीनता र स्वाभिमान अनि सुख सुविधा पाएका छन् । त्यसैले नेपाली जनता पनि कम्युनिस्टहरूप्रति आशा र भरोसा गर्छन् । कम्युनिस्ट नाम गरेकैले ‘कम्युनिस्ट नै हुन् कि’ भनी पटक – पटकको चुनावमा नेपाली जनताले एमाले र एमाओवादीलाई मत दिंदै आइरहेका छन् । फलस्वरूप नेपालमा एमाओवादी र एमाले बेला – बेलामा सत्ताको नेतृत्व गर्दै आएका छन् । एमाले र एमाओवादी पार्टी एकता भएपछि ‘दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी’ बनेको दाबी गरे । तिनीहरू साँच्चिकै कम्युनिस्ट सिद्धान्तअनुसार अगाडि बढेका भए आम नेपाली जनता र कम्युनिस्ट पार्टीप्रति विश्वास गर्नेहरूका लागि खुसीको विषय हुने थियो ।
नेपालमा सत्ताको बागडोर सम्हाल्दै आइरहेको वा सत्ता राजनीतिमा निर्णायक भूमिकामा रहेको नेकपासँग बहुमत छ । संविधान संशोधनको लागि आवश्यक दुईतिहाइ मत पनि छ । सरकार उसैको छ । भारतपरस्त पुँजीवादी काङ्ग्रेस र पञ्चायती राप्रपाको विकल्पमा नेपाली जनताले नेकपालाई अगाडि ल्याएकै हो । तर, सत्ताको उन्मादले नेकपालाई काङ्ग्रेस र राप्रपाभन्दा कुनै अर्थमा फरक देखाएन । मुखले कम्युनिस्टको नाम जपे पनि नेकपा सरकारको नीति तथा कार्यक्रम र व्यवहारमा अन्य पुँजीवादी शासक दलभन्दा कुनै अर्थमा भिन्न भएन ।
सत्ताधारी नेकपाले बुझपचाउँदै छ । चुनावमा हसिया हथौडा अङ्कित कम्युनिस्ट झन्डा फरफरिएको देखेर नेकपालाई मत दिइएको हो । सोही मतको आधारमा नेकपाले बहुमत प्राप्त गरेको हो । कतिपय नेकपालाई नभई ओलीका लागि मत आएको भन्ने पनि छन् । यसो भन्नु सिद्धान्तहीन चकचकी हो । होला, केहीले ओलीलाई ‘राष्ट्रवादी’ को भ्रम पालेर त केहीका आफन्त भएर मत दिए होलान् । तर त्यो उल्लेख्य विषय होइन ।
व्यक्तिलाई हेरेर मत दिनेहरू न त कम्युनिस्ट बन्न सक्छन् न त काङ्ग्रेस । प्रजातन्त्रमा पार्टीको घोषणा पत्रको आधारमा चुनावी प्रतिस्पर्धा हुनुपर्ने हो । तर, पुँजीवादी राज्य व्यवस्थामा विचार र सिद्धान्तको आधारमा होइन, लोभ र धम्कीको भरमा चुनावी प्रतिस्पर्धा हुन्छ । पछिल्ला चुनावहरूमा झन्झन् पैसाको छेलोखेलो बढ्दै गएको घामजतिकै छर्लङ्गछ । नेकपाले पनि पैसाकै भरमा चुनाव जितेको हो । वास्तविक कम्युनिस्टहरूले पैसाको आधारमा चुनाव जित्न खोज्दैनन् । जबसम्म व्यापक जनता सचेत हुँदैनन्, तबसम्म कामदार जनताका प्रतिनिधिहरूले चुनावमा हारिरहन्छन् ।
कम्युनिस्ट पार्टीले व्यापक जनतालाई अझ सचेत र सङ्गठित गर्नमा समय खर्चिनुपर्छ । एकैछिनको लोभलालचमा मत दिँदा जनतालाई दीर्घकालीन असर पर्नेबारे टोल – टोलमा गएर कक्षा सञ्चालन गर्नु आवश्यक छ । विचारको निम्ति चुनाव लड्ने भावना जगाउनुपर्छ । विचारले जित्ने वातावरण सृजना गर्नुपर्छ । तर, कम्युनिस्ट नाम गरेको नेकपालगायत नेपालका शासक दलहरूले त्यो गरेको देखिन्न । चुनावको बेला गिद्धहरू भ्याई नभ्याई सिनोमा लछारिएझैँ शासक पार्टीहरू चुनावमा साम, दाम, दण्डभेद सबै प्रयोग गर्छन् । पद र पैसाको लोभ देखाइ करोडौँ खर्च गर्न दौडधुप गर्छन् । त्यसैले जब चुनाव सकिन्छ, सिकारीको गोली बरु फर्केर सिकारीको बन्दुकमा आउला तर शासक दलहरू जनताको समस्या बुझ्न आउँदैनन् ।
वास्तविक कम्युनिस्टहरूको समाजवादी व्यवस्थामा काम, माम र वासको सुनिश्चित गरिएको हुन्छ । शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य हुन्छ । अनि उद्योगकलकारखाना राज्यको स्वामित्वमा हुन्छ । तर, पटक –पटक सत्ताको स्वाद चाखिरहेको नेकपाले कम्युनिस्टको नाममा नेपाली जनतालाई ठगिरहेको छ । जनताको भावना र विश्वासलाई पटक – पटक लत्याउँदै आइरहेको छ । अब नेकपा सच्चिएला भनी आशा गर्ने कुनै ठाउँ बाँकी छैन । नेकपा छलकपट, बेइमान, भ्रष्ट, गुण्डा, डन, जालीफटाहा, अपराधी र भूमाफियाहरूको चङ्गुलमा फसिरहेको छ । उक्त चङ्गुलबाट नेकपा चाहेर पनि अब अवतरण हुनैसक्दैन । किनभने, नेकपा एउटा खराबसँग मात्र होइन, अनगिन्ती खराबहरूको बीचमा हुर्किएको छ । अब कामदार जनता नेकपाको झूटा ललिपपमा झुम्मिरहनु हुन्न ।
हिजो नेकपाभित्र भएका सच्चा र इमानदार नेता र कार्यकर्ताहरू पार्टीको बदनियत थाहा पाएपछि नेकपा सत्तोसराप गर्दै बाहिरिएका छन् । अझै केही इमानदार र सच्चा कार्यकर्ताहरू पनि नेकपा फोहोर आहालमा खेलिरहेको टुलुटुलु हेरिरहेका छन् । सच्चाइ खोल्न सकिरहेका छैनन् । अब नेकपा कुनै पनि हालतमा कम्युनिस्ट सिद्धान्तअनुसार समाजवादउन्मुख कुनैपनि काम गर्न सक्ने अवस्थामा छैन । अब नेकपा दिनानुदिन एक होइन, सयौँ ध्रुतहरूको चङ्गुलमा बेरिएको छ ।
विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०२ औँ जन्म जयन्तीको अवसरमा कम्युनिस्ट सिद्धान्तको अध्ययनलाई अगाडि बढाऔँ । कम्युनिस्टको नाममा कामदार जनतालाई ठग्ने नक्कली कम्युनिस्टहरूलाई उदाङ्गो पारौँ । २०२ औँ मार्क्स जयन्तीको शुभकामना !
Leave a Reply