बुद्धलाई शान्तिका प्रतीक मानिन्छ । उनले विश्वमा शान्ति कायम गर्न विभिन्न उपदेश दिए । मानिस जति आधुनिक बन्दै गए, त्यति नै सामाजिक अराजकताहरू बढ्दै छन् । हरेक व्यक्ति धेरै कमाउन, सुख सुविधाका साथ बाँच्न चाहन्छन् । उसको यस्तै चाहनाले धन कमाउने दौडमा लागेको हुन्छ । यसको लागि कोही नराम्रो काम गर्न पनि पछि पर्दैनन् । एक व्यक्तिले गर्ने नराम्रो कार्यले सिङ्गो समाजलाई असर पार्ने गर्दछ । त्यसैले त बुद्धले आफ्ना चाहनाहरूलाई त्याग गर्नुपर्ने कुरा बताएका छन् । बुद्धका अनुसार संसारमा दुःख छ, दुःखको कारण पनि छ । उनका अनुसार दुःखको मूल कारण तृष्णा हो । जब तृष्णाको नास गरिन्छ, तब दुःखबाट  छुटकारा पाउन सकिन्छ ।

            मानिसको चाहना दिन प्रतिदिन बढ्दै जान्छ । असीमित चाहनाले गर्दा मानिसहरूले मानव जीवनको मूल्यलाई कम ठान्दै गएका छन् । त्यसैले त विश्व कोरोनाको मारमा  परेको बेला कतिपय मानिसहरू मनपरी बजार भाउ बढाइरहेका छन् । ‘यही मौका हो कमाउने’ भनी कतिपय पसलेहरूले कमसल खालको सामान पनि बढी मूल्यमा बेच्ने, नाटकीय ढ·बाट उपभोक्ताका दैनिक अत्यावश्यक वस्तुहरूको अभाव सिर्जना गर्नेजस्ता अनैतिक र गैरकानुनी कार्यहरू गरिरहेका छन् । यस्ता कार्यहरूलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नु जरुरी देखिन्छ । यस्तो कार्य भइरहेको देखे उपभोक्ताहरू पनि सचेत भई उजुरी गर्नुपर्दछ । नेपालमा उपभोक्ता हकहित संरक्षण ऐन २०५४ ले उपभोक्ताको हितमा विभिन्न व्यवस्थाहरू गरेको छ । त्यसलाई व्यवहारमा उतार्ने बेला आएको छ । नत्र  बजारियाहरूको मनपरीतन्त्र हावी हुनेछ । यस्तो विषम परिस्थितिमा मानवताभन्दा आफ्नो स्वार्थको लागि मरिमेट्नेहरू कम छैनन् ।

            संसार पनि विचित्रकै छ । यहाँ कोही नाफा घाटाको हिसाब गर्न व्यस्त छन् भने कोही आफूले सकेको हरसम्भव सहयोग गर्दै छन् । सबै मानिस एकै किसिमका छैनन् कतिपय मनकारी मानिसहरूले बाटो हिँड्ने बटुवा, गरिब दुःखी, एकल महिला वृद्धवृद्धाहरूलाई आफूले सकेको सहयोग गर्दै छन् । कतिपयले दैनिकरूपमा खाना खुवाउँदै छन् भने कतिपयले लकडाउन अवधिमा हिँडेर आफ्नो गन्तव्यतिर पुग्नेहरूलाई खाजा, पानी र जुत्ता चपलको पनि व्यवस्था गरेका थिए । यो विषम परिस्थितिमा मानिसमात्र होइन अन्य प्राणीहरू पनि सङ्कटमा परेको कुरालाई ध्यानमा राखी समाजसेवी मनकारी मानिसहरूले आफू पनि बाचौँ, अरूलाई पनि बचाऔँ भन्दै सडकका कुकुर, बाँदर, चराचुरुङ्गीलाई दैनिकरूपमा खाना खुवाउँदै छन् । वास्तवमै बुद्धले दिएका उपदेशहरू यो लकडाउनको अवधिमा धेरै मानिसहरूले आत्मसात गरेको महसुस हुन्छ । बौद्ध दर्शनले उदार र अहिंसाको विषयमा निकै चर्चा गरेको पाइन्छ । बुद्ध धर्म सम्पूर्ण प्राणीहरूमा दया, करुणा र मानवतामा आधारित छ । बुद्ध दर्शन वैज्ञानिक व्याख्यामा आधारित, वर्ण, जाति व्यवस्थामा विश्वास नगर्ने र आजको दुनियाँ व्यक्तिको गुण तथा सीपमा आधारित छ ।

            बाहुनले पूजा पाठ नै गर्नुपर्ने अनि तल्लो जातका मानिसहरूले कपडा सिलाउने वा भाँडाकुँडा हतियारमात्र बनाउनुपर्ने विभेद आजभोलि क्रमशः कम हुँदै गएको छ । आजभोलि बाहुनले पनि कपडा सिलाउने पसल राखेका छन्, मः मः पसल राखेका छन् । आजभोलि कतिपय कुपरम्परा चालचलन नमान्दै आधुनिकरूपमा मानिसहरूले आफ्नो जीविका चलाइरहेका छन् । रगत सबैको रातै हुन्छ, को ठूलो जात को सानो जात ! संविधानले जातीय विभेदलाई हटाइसकेको छ । कानुनको नजरमा देशका सबै नागरिक समान छन् । यदि कसैले जातीय आधारमा छुवाछूत वा विभेद गरेमा त्यस्ता व्यक्तिलाई कानुनबमोजिम आर्थिक जरीवानासहित जेल सजाय पनि हुने व्यवस्था छ । 

            बौद्ध धर्मले मूर्ति पूजाको विरोध गर्दछ । बुद्धका अनुसार भगवानलाई खुसी पार्ने नाममा मूर्तिमा नाना किसिमका पूजा सामग्रीले पूजा गर्दैमा, दूधले स्नान गराउँदैमा कोही खुसी हुँदैनन् । बरु दीन दुःखीलाई सहयोग गर्नु नै धर्म हो । हुन पनि मानिसहरू धर्मको नाममा लाखौँ रुपैयाँ दान गर्छन् । तर, मन्दिर बाहिर बसेका गरिब मानिसहरूलाई दश रुपैयाँ दिन गार्‍हो मान्दछन् । अझै पनि अन्धविश्वासको पछि लागेर भगवान खोज्नेको जमात हामी बाक्लै देख्दछौँ । भगवान मूर्तिमा होइन जीवित प्राणीको मनमा खोज्‍नुपर्दछ । जब ती गरिब दुःखीको ओठमा हाँसो देखिन्छ तब हाम्रो मनमा पनि शान्ति छाउँछ । वास्तवमै धर्म गर्नु भनेकै मनको शान्ति प्राप्त गर्नको लागि हो । शान्त मनमा मात्रै सकारात्मक विचारहरूको जन्म हुनसक्दछ जसले सारा जगतको भलो हुन्छ ।

            विश्वका धनी र सम्पन्न राष्ट्रहरू विश्वलाई आफ्नो मुठीमा राख्न होडबाजी गर्दै छन् । हालको कोरोनाको प्रकोपले ती कतिपय देशहरूले घुँडा टेक्न बाध्य भएका छन् । शक्तिशाली देशहरू जो वर्षौँदेखि एक अर्काका शत्रुसरि थिए । आजको महाविपत्तिको समयमा तिनीहरू एक ठाउँमा आउनुपर्ने हो । तर, अझै संरा अमेरिकाजस्ता देश भने आफ्नो जिद्दीमा बसेको छ । यो महामारीले विश्वलाई नै मानवता र मानव जीवनको मूल्यको महत्वको पाठ पढाएको छ । बुद्धले जुन दया, करुणा, मानवता, शान्ति, उदारता, अहिंसाको कुरा गरेका थिए, आजको विश्वले त्यसलाई बिस्तारै बुझ्दै गएको छ । यतिबेला यो लकडाउनको पनि सकारात्मक पाटोबारे वातावरणविज्ञले चर्चा गरिरहेका छन् । यो अवधिमा वातावरणीय प्रदूषण कम भएको उनीहरूको भनाइ छ । यसले गर्दा ओजन तहमा परेको प्वाल पनि क्रमशः  टालिँदै गएको अध्ययनले देखाएको छ । हरेक घटनाको सकारात्मक र नकारात्मक पाटो हुने गर्दछ । जे जस्तो भए पनि मानिसले परिस्थिति अनुकूल आफ्नो जीवन अगाडि बढाउनुपर्दछ । 

            बुद्धले समाजमा बढ्दै गएको अशान्ति, विचलन, हिंसाबाट मानव अस्तित्वलाई बचाउन दिएका उपदेश हामी सबैले आत्मसात गर्नुपर्छ । मानवले मानवताको बारेमा नसोचे कसले सोचिदिन्छ । त्यसैले ढिलो हुनुअगावै हामी सबैमा सकारात्मक सोचको विकास हुनु जरुरी छ ।

सुनिता गाइसी image
सुनिता गाइसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *