भर्खरै :

लुकास परिवारलाई अध्यक्ष बिजुक्छेँको समवेदना सन्देश

            गत मई ४ को बिहान सखारै ९४ वर्षको उमेरमा कामरेड मिखाइल लुकासको असामयिक निधन भएको खबरले हामीलाई दुःखी बनाएको छ । नेपाल मजदुर किसान पार्टी र नेपालका साम्राज्यवादविरोधी जनताको तर्फबाट हामी कामरेड लुकासप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछौँ । श्रीमती हेलेन लुकास र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । मिखाइल लुकासको सङ्घर्षमा लगातार इमानदार सहायता गर्नुभएकोमा हामी हेलेन लुकासप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।
            एक जना साम्राज्यवादविरोधी योद्धा, समाजवादका अथक अभियन्ता, लेखक र कलाकारको रूपमा हामी कामरेड लुकासलाई सधैँ सम्झिरहनेछौँ । ‘नर्थस्टार कम्पास’ ले हामीलाई एक ठाउँमा ल्यायो र केही दशकदेखि हामी सँगसँगै अघि बढिरहेका छौँ । ‘नर्थस्टार कम्पास’ समाजवादको रातो झन्डा र साम्राज्यवादविरोधी सङ्घर्षको हिस्सा हो । ‘नर्थस्टार कम्पास’ को संस्थापक सम्पादक एवम् सोभियत जनतासँग मित्रता र ऐक्यबद्धता अन्तर्राष्ट्रिय परिषद्का अध्यक्षको रूपमा उहाँले गर्नुभएको योगदान र उठाउनुभएको रातो झन्डाप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँका हरेक योगदानले साम्राज्यवादविरुद्ध आवाज उठाउनुका साथै अत्यन्त प्रतिकूल परिस्थितिमा समेत संसारका कुनाकाप्चामा समाजवादको किरण फैलाएको छ ।
            एक जना अन्तर्राष्ट्रवादी, लेखक, कलाकार र सङ्गीतकारको रूपमा ७५ वर्षसम्म मिखाइल लुकास सांस्कृतिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहनुभयो । समाजवादी विचार तथा माक्र्स, लेनिन र स्तालिनका विचार प्रचार गर्न कामरेड लुकासले आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभयो । उहाँले सङ्कलन र सम्पादन गर्नुभएको ‘द सेक्रेट डकुमेन्टस्’ (गुप्त दस्तावेजहरू) राजनीतिक तथा वैचारिक क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि प्रमाणित भयो । त्यस्तै अन्य कृतिहरूको प्रकाशन लुकासप्रतिको श्रद्धाञ्‍जली हुने हाम्रो विश्वास छ । उहाँको उदाहरणीय जीवन र कृति संसारभर सदैव प्रेरणाको स्रोत बन्नेछ । अथक सङ्घर्ष, अतुलनीय अगुवाइ तथा योगदानको निम्ति कामरेड लुकास सदा स्मरणीय हुनुहुनेछ । मिखाइलको अनुपस्थितिमा पनि उहाँले गर्नुभएको सङ्घर्षलाई उहाँको परिवार र अन्य मित्रहरूले निरन्तरता दिनुहुनेमा हामी आशावादी छौँ ।
            हामी उहाँलाई सधैँ सम्झिरहनेछौँ । 
नारायणमान बिजुक्छेँ (रोहित) अध्यक्ष, नेपाल मजदुर किसान पार्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *