काठमाडौँ, २६ वैशाख । क्यानाडाबाट प्रकाशित हुँदै आएको ‘द नर्थस्टार कम्पास’ पत्रिकाका सम्पादक तथा समाजवादी आन्दोलनका योद्धा मिखाइल लुकासको शुक्रबार अनलाइन शोक सभा भयो । पत्रकार समाज, नेपालको आयोजनामा भएको अनलाइन शोक कार्यक्रममा सहभागीहरू अनलाइनमार्फत आ–आफ्नो घरबाटै सहभागी बनेका थिए भने अरु सयौँ जनाले विभिन्न सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हेर्नुभएको थियो ।

            कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेमकिपाको तर्फबाट कामरेड मिखाइल लुकासको निधनमा उहाँकी पत्नी हेलेन लुकास र मिखाइल लुकासका सुपुत्र लुकासप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।

            शोक मन्तव्यमा उहाँले भन्नुभयो,“हामी आशा गर्छौँ, कामरेड मिखाइल लुकासका बाँकी कार्यहरू पूरा गर्न ‘कार्पाथो–रुसी क्यानेडियाली समाज’ र ‘सोभियत जनतासँग मित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद् तथा त्यसको पत्रिका ‘नर्थस्टार कम्पास’ मा कार्यरत इन्टरनेट (वेभ) कामरेडहरू सफल हुनुहुनेछ ।”

            अध्यक्ष बिजुक्छेँले ‘द नर्थस्टार कम्पास’ सँग नेमकिपाको सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “नर्थस्टार कम्पासको सुरुको अङ्क २६ वर्षपहिले अर्थात् सन् १९९१ मा प्रकाशित भएको हो । त्यसको ७ वर्षपछि अर्थात् सन् १९९८ र १९९९ देखि नेमकिपाले ‘नर्थस्टार कम्पास’ प्राप्त गर्दै रह्यो । ‘श्रमिक’, ‘मजदुर’ र अन्य हाम्रा प्रकाशनहरूले त्यसको भावना र भाषालाई नेपालीमा रुपान्तरण गर्दै गए ।”

            उहाँले भन्नुभयो, “‘नर्थस्टार कम्पास’ को अन्तिम अङ्क सन् २०१७ अक्टोबर–नोभेम्बर अङ्क थियो । आर्थिक सङ्कटको कारण ‘नर्थस्टार कम्पास’ को छापाको ठाउँमा इन्टरनेटबाट प्रसारण गरियो । तर, नेपालमा हामीले त्यसलाई प्राप्त गर्न सजिलो भने थिएन । प्राविधिक कारणले त्यसका जानकारी र लेखहरू प्राप्त गर्न नसकेको साथीहरू बताउनुहुन्छ ।”

            “हाल ‘नर्थस्टार कम्पास’ पत्रिकाको मुद्रण संस्करण बन्द छ । नेपालबाट नेमकिपा सो पत्रिकाको प्रकाशन समितिको सदस्य थियो । नेपालमा सो पत्रिकाका विभिन्न सामग्री र समाचारको नेपाली अनुवादसहित नेपालकै विभिन्न सान्दर्भिक सामग्री समेटेर २०६८ देखि ‘ध्रुवतारा’ पत्रिका प्रकाशन हुँदै आएको छ । नेमकिपाका अग्रजहरूले भूमिगत र भारत प्रवासको समयमा सोही नामको पत्रिका प्रकाशन गर्नुभएको थियो ।” उहाँले भन्नुभयो ।

            कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सोभियत सङ्घको अस्थायी हारपछि संशोधनवादविरोधी सङ्घर्षमा मिखाइल लुकासले महत्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्दै भन्नुभयो, “सन् १९९१ मा गोर्भाचोभले सोभियत सङ्घ र समाजवादको विघटन गरेपछि पहिलोपटक उहाँले ‘सोभियत सङ्घको पुनःस्थापना’, ‘समाजवादको पक्ष’ मा र संशोधनवादी तथा विश्वासघातीहरूको विरोधमा आवाज उठाउनुभयो र ‘सोभियत जनतासँगको मित्रता एवम् ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्’ स्थापना गर्दै ‘नर्थस्टार कम्पास’ सुरु गर्नुभयो । उहाँकै अगुवाइ र अथक परिश्रमले सन् २००१, २००८ र २०११ मा अन्तर्राष्ट्रिय महाअधिवेशनहरूको सफल आयोजना भयो ।”

            नेमकिपाका केन्द्रीय सदस्य तथा पत्रकार समाज नेपालका अध्यक्ष अनुराधा थापामगरले साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवाद तथा विस्तारवादको चङ्गुलबाट नयाँ पुस्ताले आफ्नो देश र कामदार वर्गलाई जोगाउन सङ्घर्षरत रहने सङ्कल्प गर्नु आजको महत्वपूर्ण विषय भएको बताउनुभयो ।

            उहाँले भन्नुभयो, “आफ्नो पढाइ, प्रमाणपत्र र रोजगारी (क्यारियर) को निम्ति केही युवाहरू देश छोड्न तयार हुन्छन्, सिद्धान्त छोड्न तयार हुन्छन् र एक नागरिकको हैसियतले आफ्नो कर्तव्यबाट समेत च्युत हुन तम्सन्छन् । त्यस्ता युवाहरूको निम्ति मिखाइल लुकासबाट अन्तर्राष्ट्रवादी भावना, सिद्धान्तप्रति समर्पण र कर्तव्यप्रति दृढ रहने उदाहरण स्मरण गर्नु उपयुक्त हुन्छ ।”

            अनलाइन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँको तर्फबाट शोकसन्तप्त लुकास परिवारलाई पठाउन लागिएको शोक वक्तव्य वाचन गर्नुभयो ।

            कार्यक्रममा पत्रकार समाज नेपालका सचिव नीरज लवजूले पनि बोल्नुभएको थियो ।

2 responses to “मिखाइल लुकासको अनलाइन शोकसभा”

  1. Ram Dundar Basi says:

    हार्दिक श्रद्धाञ्जली ।

  2. हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *