भर्खरै :

बुद्ध जयन्ती र बुद्धबारे विचार

            पूर्वीय दर्शनका अग्रणी दार्शनिक व्यक्तित्व गौतम बुद्धको आज जन्म दिन । मानव समाजलाई सभ्यताको बाटोमा डोर्‍याउने इतिहासका हरेक व्यक्तिका विचार र योगदानको अध्ययनले हाम्रो भविष्यको बाटो अझ सहज र उज्यालो बनाउनेछ । गौतम बुद्ध त्यस्तै एक जना दार्शनिक हुन् । बुद्ध र बुद्धका विचारलाई उनी बाँचेको समयको सापेक्षमा अध्ययन गरिनुपर्छ । बुद्धलाई अलौकिकतामा होइन, लौकिक संसारको हिस्साका रूपमा बुझ्नुपर्छ । बुद्धलाई अलग होइन, शिलशिलामा बुझ्‍न जरुरी छ । 
            बुद्धका शिक्षा, जीवनवृत्ति र योगदानलाई बुद्धकालीन समाजको सापेक्षमा बुझ्नुपर्छ । बुद्ध आफू बाँचेको समयका प्रतिनिधि हुन्, त्यसकारण उनलाई त्यत्तिबेलाको समयको आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक कोणको सापेक्षमा बुझ्दा हामी बुद्धलाई नजिकबाट बुझ्‍न सक्नेछौँ । बुद्धले आफू बाँचेको परिधिमा रहेका विभिन्न स्थापित मान्यता र चिन्तनलाई चुनौती दिँदै तात्कालीन सन्दर्भमा प्रगतिशील अथवा अघि बढेको विचार दिएका थिए । त्यसकारण, विश्लेषकहरूले बुद्धलाई क्रान्तिकारी पनि भन्ने गरेका छन् । स्थापित भनिएका परम्परागत चिन्तन तोडेर अघि बढ्न ढोका खोल्ने विचार नै क्रान्तिकारी विचार हो ।
            बुद्ध दर्शनलाई कोरा सिद्धान्तवादी र अलौकिकतामा बुझ्ने मानिसहरू बुद्धलाई ‘भगवान’ बनाइदिन्छन् । बुद्धलाई ‘भगवान’ बनाउँदा उनका दर्शन र चिन्तन कोरा सिद्धान्त बन्न पुग्छन् । तिनलाई निरपेक्ष सूत्रको रूपमा बुझ्छौँ । त्यसले बुद्ध दर्शनको मूल भावना र अन्तर्यबाट हामी विमुख हुन्छौँ । त्यतिबेला बुद्धलाई हामी चित्र र तस्वीरमा खोज्न थाल्छौँ, अनि बुद्ध हाम्रो जीवनमा हराउँदै जान्छ । बुद्ध त्यस्ता चिन्तक हुन्, जसले तात्कालीन समाजमा स्थापित प्रत्ययवादी चिन्तनविरुद्ध उभिने साहस गरेका थिए । संसार, मानिस र जीवनलाई भौतिकवादी कोणबाट हेर्ने पूर्वीय चिन्तकहरूमध्ये गौतम बुद्ध पनि हुन् । मानिसले जीवनमा सामना गर्ने दुःख र समस्याको समाधान अलौकिक संसारमा खोज्ने चिन्तनलाई बुद्धले चुनौती दिए । उनले मानिसका सबै समस्याको कारण र निदान लौकिक नै हुने विचार दिए । चेतना र पदार्थसम्बन्धी पश्चिमा दर्शनको बहसको सापेक्षमा बुझ्दा बुद्ध प्रस्टतः पदार्थले नै चेतनाको निर्माण गर्ने मान्यताका पक्षपाती थिए अर्थात् बुद्ध भौतिकवादी थिए । भौतिवादी चिन्तनले नै बुद्धलाई गणतन्त्रवादी बनाएका थिए । राजा र शासकलाई अलौकिक शक्तिको रूपमा बुझ्ने सोचाइको बुद्धविरोधी थिए ।
            समयको विडम्बना ! भौतिकवादी बुद्धलाई नै मानिसहरूले अलौकिकतामा बुझेर ईश्वर बनाइदिए । उनको दर्शनको अध्ययन गर्नुभन्दा मूर्ति पूजा गर्नु बुद्ध दर्शनलाई अवसानतिर धकेल्नु हो । बुद्धको मूर्ति पूजा गर्दै प्रगतिशील दर्शनलाई छायाँमा पार्नेहरूले वास्तवमा बुद्धले आजीवन जोसँग वैचारिक सङ्घर्ष गरेका थिए, उनीहरूकै विचारलाई टेवा दिएका हुन्छन् । त्यसकारण बुद्ध र बुद्ध दर्शनलाई मूर्तिमा होइन, विचार, चिन्तन र जीवनमा खोजी गरिनुपर्छ ।
            बुद्ध हालको कपिलवस्तु जिल्लामा जन्मेको इतिहासले हामीलाई गौरवान्वित बनाएको छ । बुद्धप्रति हामी देशभक्तिको भावनाबाट अभिप्रेरित भएर गौरव त गर्छौं, तर बुद्धका शिक्षाबारे न नेपालीहरूबीच गम्भीर अध्ययनले व्यापकता पाउन सकेको छ न राज्यले नै गौतम बुद्धका दर्शनको व्यवस्थित अध्ययन अनुसन्धानको निम्ति पहल गरेको छ । आजसम्मका शासकहरूले गौतम बुद्धलाई विदेशबाट पैसा ल्याउने भीक्षापात्रको रूपमा दुरुपयोगमात्र गरेका छन् । तिनले पनि बुद्धलाई मूर्तिमै सीमित गर्न खोजेका छन्, बुद्ध दर्शनलाई जीवन्त दर्शनको रूपमा अध्ययन अनुसन्धानलाई जोड दिएका छैनन् । बुद्ध जयन्तीमा बुद्धलाई अलौकिक शक्तिको रूपमा नभई मानव जीवन र सभ्यताको निम्ति गहन विचार दिने दार्शनिक र चिन्तकको रूपमा स्मरण र सम्मानका रूपमा मानौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *