भर्खरै :

शिक्षणपद्धतिको सान्दर्भिक कलेवर

            लकडाउनको कारण देशभरका शैक्षिक संस्थाहरूको पठनपाठन हुनसकेको छैन । लकडाउन खोलेर पनि शैक्षिक संस्थाहरूको नियमित सञ्‍चालन अझै पछि धकेलिने देखिएको छ । सरकारले सबै तहका शैक्षिक परीक्षा पनि अनिश्चितकालसम्मको लागि स्थगित गरेको छ । यहीबीच परीक्षाका वैकल्पिक उपायबारे छलफल चलिरहेको छ । तीन घन्टा परीक्षा हलभित्रै लेखेकै आधारमा मूल्याङ्कन गर्ने पद्धति नै अवैज्ञानिक भएकोले यही मौकामा त्यो प्रणाली खारेज गर्नुपर्ने र नयाँ प्रयोग गर्नुपर्ने केही शिक्षाविद्हरू बोलिरहेका छन् । कोही आन्तरिक मूल्याङ्कनलाई नै अन्तिम मूल्याङ्कनको आधार बनाइन उपयुक्त भएको सुझाव दिइरहेका छन् । अवस्था सामान्य बनेपछि एसईई गर्ने–नगर्नेमा सरकार अझै अन्योलमा छ । धेरै सम्भव सरकारले एसईई सञ्‍चालन नगरी केही शिक्षाविद्हरूले दिएजस्तो नयाँ प्रयोग गरेर जोखिम मोल्ने साहस गर्नेछैनन् ।
            यो बहसबीच विभिन्न स्थानीय तह र संस्थाले आरम्भ गरेको भर्चुएल कक्षाले समाजमा सकारात्मक सन्देश सञ्‍चार गरेको छ । मानव समाजको विकासक्रम अध्ययन गर्दा मानिसले फरक–फरक युगमा त्यत्तिबेला उपलब्ध स्रोतसाधनको प्रयोग गरेर सिक्ने र सिकाउने काम गर्दै आएको पाउँछौँ । कुनै बेला मानिस ढुङ्गाको स्लेट, खरी, माटो प्रयोग गरेर पनि सिक्थे, धेरै पछि मानिसले कालोपाटी र चक प्रयोग गरेर सिक्ने काम चालू राखे, आजभोलि ह्वाइटबोर्ड र मार्कर प्रयोग गरेर शिक्षकले विद्यार्थीहरूलाई पढाउने गरेका छन् । विज्ञान प्रविधिको विकास र आजको प्रतिकूल परिस्थितिमा सिक्ने र सिकाउने माध्यम र तरिकामा अन्तर आएको छ । आज शिक्षकहरू कोही टेलिभिजनको क्यामराअघि त कोही ल्यापटप र कम्प्युटरअघि बसेर भर्चुएल कक्षाहरू सञ्‍चालन गरिरहेका छन् । कक्षामा प्रत्यक्ष छुन सकिने, उत्साहित हुँदा गद्‍गद् हुने, गल्ती हुँदा मुख निन्याउरो पार्ने, साथीलाई जिस्काउने, चौरमा खेलिरहेका विद्यार्थीसामु शिक्षकहरू ज्ञान बाँडिरहेका छैनन् । उनीहरू कति आफ्नै कोठा त कोही स्टुडियोमा गएर आफूले प्रत्यक्ष नदेखेका विद्यार्थीहरूलाई विभिन्न विषयमा अध्ययन गरिरहेका छन् । शिक्षण पद्धतिमा यो नयाँ प्रयोगले भोलिका दिनमा पनि विकल्पको बाटा उजागर गरेको छ ।
            आज अधिकांश विद्यार्थीहरू लकडाउनका दिनहरूमा पनि केही न केही कुरा सिकिरहेका छन् । कक्षामा ओहोरदोहोर गरेर, ह्वाइटबोर्डमा लेखेर, प्रश्न सोधेर, गल्ती गर्दा झपारेर, राम्रो गर्दा मायाले स्पर्श गर्ने शिक्षकहरूलाई कम्प्युटर र टेलिभिजनको स्क्रिनमा हरेर विद्यार्थीहरू पढिरहेका छन् । यस्ता कक्षाका केही सकारात्मक र केही नकारात्मक पक्ष पक्कै होलान् । तर, आजको प्रतिकूल परिस्थितिमा पनि शिक्षकको जिम्मेवारीबाट विमुख नभएर उपलब्ध विकल्पको प्रयोग गरेर पठनपाठनलाई निरन्तरता दिने शिक्षकहरू सम्मानयोग्य छन् । अहिलेको सिकाइ पद्धतिले विद्यार्थीलाई मात्र नभई शिक्षकहरूलाई पनि धेरै कुरा सिकाइरहेको छ । यो सिकाइले शिक्षकहरूलाई आत्मविश्वासी बनाउनुका साथै आफ्नो पेशाप्रति गौरवान्वित बनाउनेछ । प्रतिकूलताले नै मानिसलाई धेरै नयाँ खोज्‍ने र आविष्कार बनाउन प्रेरित गर्छ । व्यक्ति व्यक्तिबीचको भौतिक सम्पर्क कम गर्नुपर्ने यो परिस्थितिमा पनि सिक्ने–सिकाउने नयाँ पद्धतिलाई स्थानीय कलेवर दिनु कदरयोग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *