भर्खरै :

‘भर्च्युअल’ कक्षाले देशभरका विद्यार्थीहरूलाई सहयोग गरिरहेको छ   – सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

            प्रश्न : केही समयअघि बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी वैकल्पिक माध्यमबाट विद्यालयहरूमा भर्र्ना अभियान र पाठ्यपुस्तक वितरणलगायतका काम सुरु गर्ने र त्यससम्बन्धी अरू काम गर्ने निर्णय गरेको थियो तर सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसमा रोक लगाउन निर्देशन जारी गरेको छ । यसलाई भक्तपुर नगरपालिकाले कसरी हेरेको छ ?
            सुनिल प्रजापति : शिक्षा क्षेत्रमा पछि पर्नु भनेको देश पछि पर्नु हो । शैक्षिक क्षेत्र बन्द हुनु कुनै पनि हिसाबले पनि राम्रो होइन । इतिहासमा पढ्न पाइन्छ, भियतनाम युद्ध र कोरिया युद्धको विषम परिस्थितिमा समेत त्यहाँको नेतृत्वले शैक्षिक संस्थाहरू बन्द नगरी सुरक्षित ठाउँमा, घना जङ्गलको बीचमा छाप्राहरू बनाएर सञ्चालन गरेका थिए ।
            आजको समय भनेको कुनै देशसँग हाम्रो देशको लडाइँ भएको होइन । एउटा विषाणुसँग गर्नुपर्ने प्रतिरोधको कारणले अहिले सिङ्गो देश अझ विश्व नै ठप्प भएको अवस्था हो । हिजोको समयमा भन्दा आज निकै नै प्रविधिको विकास भइसकेको छ । विज्ञान र प्रविधिको कारणले धेरैले घरमा बसेर पनि पठनपाठन गर्नसक्छन् । त्यसकारणले आधुनिक प्रविधिलाई जति सक्यो त्यति उपयोग गरेर विद्यार्थीहरू घरमा बसेर र शिक्षकहरू पनि कोठामा बसेर पढाउन सकिने यो युगमा प्रविधिको प्रयोग गरौँ । तर, केन्द्र र प्रदेश सरकार र स्थानीय तहबीच समन्वयको अभावले जनता अन्योलमा छन् । बाग्मती प्रदेशले एउटा सूचना निकाल्ने अनि सङ्घले अर्को सूचना निकालेर बन्द गर्ने, यो राम्रो होइन । किनभने यो भनेको लाखौँ विद्यार्थीहरूको भविष्यसँग सम्बन्धित विषय हो । नर्सरीदेखि माथिल्लो तहसम्मका सबै विद्यार्थीलाई प्रभाव पर्ने भएको हुँदा यस्तो विषयमा के गर्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा स्थानीय तह, प्रदेश र केन्द्रबीच छलफल गरी निर्णय गरेको भए राम्रो हुने थियो । कसैसँग समन्वय नगरी फटाफट सूचना निकाली दिँदा अप्ठेरो भएको हो ।  निर्णय गर्दा व्यवाहारिक पक्षलाई ध्यान दिनु आवश्यक छ ।
            एउटै बैठकले धेरै समस्या समाधान हुनसक्थ्यो । केन्द्र र प्रदेशको विद्यालय सञ्चालनमा आ–आफ्नो अधिकारको दाबी देखिन्छ । वास्तवमा विद्यालय सञ्चालनको जिम्मा कानुनले स्थानीय तहलाई तोकेको छ । त्यसैले यस्ता विषयहरू स्थानीय तहले निर्णय गर्नुपर्ने हो । यस्तो अवस्थामा स्थानीय तहसँग समन्वय गरेर काम गरेको भए राम्रो हुने थियो । विद्यालय सञ्चालन गर्ने निर्णय स्थानीय तहको स्थितिअनुसार फरक फरक होला । शैक्षिक संस्थाहरू सञ्चालन गर्ने धेरै उपायहरू छन् तर त्यतातिर प्रदेश र सङ्घ सरकारको ध्यान गएको देखिँदैन ।
            प्रश्न : भक्तपुर नगरपालिकाअन्तर्गतका विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रिया र अन्य शैक्षिक क्रियाकलाप गर्ने वातावरण कतिको छ त ?
            सुनिल प्रजापति : नेपाल सरकारले सूचना निकालेर बन्द गरेको अवस्थामा हामीले कुनै काम गर्दा त्यो निर्णयविपरीत हुन जान्छ । सकेसम्म त्यस्तो खालको अन्योल नआओस् भन्ने चाहन्छाँै । परिस्थिति कस्तो छ त्यसको आधारमा चल्नुपर्छ । अहिले भर्ना खुलेको अवस्थामा तुरुन्तै विद्यार्थी भर्ना हुन आउँछ भन्ने साँचो होइन । सरकारले निर्देशन दिदैमा सबै काम हुन्छ भन्ने पनि होइन । परिस्थितिले त्यस्तो भन्दैन । त्यसकारण पहिलो चरणमा लकडाउनलाई अलिकति खुकुलो पार्न आवश्यक छ । जस्तो अहिले कुनै पनि सङ्‍क्रमित नभेटिएका सुरक्षित ठाउँमा निश्चित सङ्ख्यामा यातायातलाई नगर वा जिल्लाभरि मात्रै सञ्चालन गरी जिल्ला बाहिरका नागरिकहरूलाई प्रवेशमा रोक लगाउनेजस्ता उपायहरू अपनाउन सकिन्छ । यसो गरेमा स्वाभाविकरूपमा जनजीवन क्रमशः सहज बन्दै जानेछ ।
            प्रश्न : सबै विद्यालयहरूमा सबै तहका वार्षिक परीक्षाहरू सम्पन्न गरी नतिजा प्रकाशित गर्ने क्रम सुरु भइरहेको छ । भक्तपुर नगरपालिकाले कक्षा ८ का विद्यार्थीहरूको नगरस्तरीय अन्तिम परीक्षा BLE पनि सम्पन्न गरिसकेको छ । त्यसको नतिजा प्रकाशन गर्ने प्रक्रिया कहाँ पुगेको छ मेयरज्यू ?
            सुनिल प्रजापति : कक्षा ८ को परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी भइसकेको छ । अब केही दिनपछि प्रकाशित हुन्छ । हामीले सबै कुरा हेरिसकेका छौँ । कुनै पनि दिन हामी निकाल्न सक्छौँ । विद्यालय तहका अन्य वार्षिक परीक्षाको पनि रिजल्ट निकाल्न गार्‍हो छैन । अनलाइनबाट निकाल्न सकिने भन्ने कुरा आइसकेपछि त्यहीअनुसार परीक्षाफल प्रकाशित हुन्छ ।
            प्रश्न : लकडाउनको अवधिमा विद्यालयको नियमित कक्षाहरू सञ्चालन हुुने देखिंदैन । यो बीचमा विद्यालयका साना बालबालिकाहरूका लागि अभिभावक र विद्यालयले के–के गर्नसक्छन् जस्तो लाग्छ ?
            सुनिल प्रजापति : अब यस्तो बेला स–साना भाइबहिनीहरूलाई उनीहरूको तहअनुसार व्यावहारिक कक्षाहरू जस्तै : चित्रकला लेख्नेदेखि लिएर के–के गर्न सकिन्छ । अहिले त अनलाइन माध्यमबाट पनि सिकाउन सकिन्छ । घरमै बसेर पनि अभिभावकहरूले बालबच्चाहरूलाई विभिन्न खेल, व्यवहारिक ज्ञान र नैतिक शिक्षा सिकाउन सकिन्छ । त्यसको लागि यो अत्यन्तै महŒवपूर्ण अवसर हो । कति विद्यार्थीहरू त अभिभावकहरूसँग टाढा बस्ने गरेका छन् । यस्तो अवस्थामा छोराछोरीहरूको मनोभावना बुझेर आमाबाबुले सँगै बस्ने, माया गर्ने, रमाइलो गर्ने र केही सिर्जनशील गतिविधिमा संलग्न गराउने कार्य गर्दा उचित हुन्छ । माथिल्लो कक्षाका विद्यार्थीहरूलाई अभिभावकले जानेबुझेका कुराहरू सिकाउनुपर्छ । पाठ्यक्रमसँग सम्बन्धित वा जीवन दर्शनसँग सम्बन्धित समय सान्दर्भिक नयाँ–नयाँ किताबहरू पढ्ने राम्रो अवसर पनि हो । सामाजिक सञ्जालहरूको पनि सही उपयोग गर्नुपर्छ ।
            प्रश्न : भक्तपुरमा पछिल्लो समयमा केही विद्यालयहरूले अनलाइन तथा भर्चुअल कक्षा सुरु गरेको देखिन्छ । यसलाई सबै विद्यालयमा एकरूपता ल्याउन सकिन्छ कि ?
            सुनिल प्रजापति : यसबारे अध्ययनको अवश्यकता छ । औसतमा एकतिहाइ विद्यार्थीमात्रै इन्टरनेटको पहुँचमा र बाँकी विद्यार्थीहरू इन्टरनेटको पहुँचमा छैनन् भने एकतिहाइलाई फाइदा भएपनि बाँकीलाई अप्ठेरो पर्नसक्छ । यो कुरा शिक्षकलाइ थाहा नहुन सक्छ । विद्यालयले विद्यार्थीसँग शुल्क उठाउँछ अनि अभिभावकको गुनासो आउने सम्भावना छ । त्यो बेला अभिभावक र विद्यालयको बीचमा द्वन्द्व उत्पन्न हुनसक्छ ।
            प्रश्न : सरकारले सरकारी विद्यालयका शिक्षकलाई लकडाउनको समयावधिलाई सार्वजनिक बिदाको रूपमा तलब दिने निर्णय गरेको अवस्थामा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब दिन अनलाइन कक्षा बाध्यता हो कि ?
            सुनिल प्रजापति : अनलाइन कक्षा बाध्यता होइन, समयको आवश्यकता हो । तर, सबै विद्यार्थीहरूमा इन्टरनेटको पहुँच नपुगेकोले मात्र समस्या हो । कति शिक्षक र विद्यार्थीको समय अहिले खेर गइरहेको छ । यसलाई केही हदसम्म सदुपयोग गर्न अहिले क्भ्भ् परीक्षा दिने तयारी अवस्थामा रहेका विद्यार्थीको लागि नगरपालिकाले टेलिभिजनमार्फत भर्चुअल कक्षा सञ्चालन गरिरहेको छ । यसले भक्तपुरका विद्यार्थीलाई मात्र होइन, देशभरका विद्यार्थीहरूको लागि सहयोग भइरहेको छ । अहिले हात–हातमा मोबाइल छ । इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीहरूले पढ्न सकून् भनेर सामाजिक सञ्जालमा पनि राखेका छौँ । हुम्ला, जुम्ला जस्ता पहाडी र तराइका विभिन्न जिल्लाका विद्यार्थीहरूले पनि सम्पर्क गर्ने गरेका छन् । धेरै विद्यार्थीहरूले राम्रो मानेका छन् । ऐच्छिक विषय पनि पढाउनुपर्याे भनेर सुझाव आएपछि त्यसतर्पm नपाको ध्यान गएको छ । फेसबुकमा प्रत्यक्षमात्र होइन रेकर्डेड पनि हेर्न सकिन्छ । चाहिने कक्षामा मात्र पनि बस्न सकिन्छ । अन्य ठाउँका शिक्षकहरूले पनि प्रसारणको निम्ति सम्पर्क गरिरहनुभएको छ । कसरी कानुनी हिसाबले गर्न सकिन्छ त्यसलाई व्यवस्थित तरिकाले गर्ने सोच नपाले सोच राखेको छ ।
            प्रश्न : लकडाउनको क्रममा पनि काठमाडौँ भित्रिने क्रम जारी छ । यसले हामीलाई कठिनाइ त आउने होइन ?
            सुनिल प्रजापति : सम्भावना छ । त्यसको लागि सरकारले प्रत्येक व्यक्तिलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएरमात्रै भिœयाउने व्यवस्था मिलाउन आवश्यक छ । दैनिक ७०० वटा गाडी भारतबाट आएको कुरा जानकारीमा आएको छ । तीमध्ये एकजनामा मात्र सङ्‍क्रमण भेटिए पनि भयावह हुनसक्छ । त्यसैले हतारमा यस्तो निर्णय लिन हुँदैन । केन्द्र, प्रदेश र स्थानीय तहले प्रयास गर्न जरुरी छ ।
            प्रश्न : लकडाउनले अर्थतन्त्र सङ्कटमा परेको छ र जीवनयापन पनि कष्टकर भएको छ । खाद्य सङ्कट हुने देखिन्छ । यसकारणले पनि लकडाउनको उल्लङ्घन भइरहेको छ । यसमा के गर्न सकिन्छ ?
            सुनिल प्रजापति : अर्थतन्त्र कमजोर भए उकास्न सकिन्छ । तर, मान्छेको ज्यान गयो भने फर्काउन सकिँदैन । त्यसैले पहिलो प्राथमिकता स्वास्थ्य हो । त्यसपछि अर्थतन्त्र र खाद्यान्न उत्पादनको कुरा सोच्ने हो । डेढ महिनासम्म पूरै बन्द हुँदा पनि कसैले खुल्नुपर्याे भनेको छैन । यसको अर्थ हामी सबै सुरक्षित हुनुपर्छ भन्ने कुरामा जनताले साथ दिएकै हुन् । सारा जनताले स्वीकारेका हो । सरकारले गरेको लकडाउन पालना गर्नुपर्छ भनेर जनताले सहमति जनाएको कारण सफल भएको छ । नत्र त जुलुुस आउँथ्यो नि । सुरक्षित बनाउने काम सरकारकै हो ।
            प्रश्न : भारतमा लकडाउन थपिएसँगै नेपालमा पनि लकडाउनको अवधि थपिराख्नुपर्ने र पछिल्लो समयमा नेपालगञ्जमा तीन दिन पूरै नगरपालिका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको अवस्था छ । परिस्थिति कस्तो तयार हुँदै छ ?
            सुनिल प्रजापति : अहिले समस्या नै छ । विश्वभरि नै रोगका कारण मर्नेहरूको सङ्ख्या बढ्दै छ, सङ्‍क्रमितहरूको सङ्ख्या पनि बढ्दै छ । नेपालगञ्जमा दैनिकजसो नै सङ्‍क्रमितको सङ्ख्या बढिरहेको छ । यद्यपि कसैको ज्यान गएको छैन । त्यो हिसाबले सकारात्मक छ । यति हुँदाहुँदै पनि एकजना मान्छेले गर्दा देशमै क्षति पुर्‍याउनसक्ने सम्भावना छ । अझ यसलाइ व्यवस्थितरूपमा लैजानुपर्छ । यसमा सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नपर्छ ।
            प्रश्न : कोरोना भाइरस नियन्त्रणको लागि नगरपालिकाले प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । यसको खर्च प्रक्रिया केकस्तो रहेको छ ?
            सुनिल प्रजापति : नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा प्रदेश सरकारले १२ लाख रूपैयाँ राखिदिने भनेको छ । अरू पैसा नगरपालिकाले जुटाइरहेको छ । पहिले कोषमा २५ लाख थियो । पछि १ करोड थप गरिएको छ । त्यसैबाट सफाइ मजदुर, डाक्टर तथा नर्सको लागि पीपीई सुट तथा अन्य सुरक्षा सामग्रीको बन्दोबस्त गरिएको छ । विभिन्न संस्था, सहकारी तथा व्यक्तिहरूले कोषमा रकम, साबुन, पीपीई, मास्क, स्यनिटाइजर, खाद्यान्नलगायतको सहयोग प्राप्त भइरहेको छ । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, जनस्वास्थ्य केन्द्र र महानगरीय प्रहरी परिसरमा पीपीई सेट वितरण गरेका छौँ । नपामा प्राप्त भएको खाद्यान्न पनि वडाहरूमा तुरुन्तै पठाइरहेका छौँ । कोषमा सहयोगको क्रम जारी छ । विपद्को बेला सहयोग गर्ने सबै सहयोगी हातहरूलाई धेरै–धेरै धन्यवाद ।
            प्रश्न : कार्यक्रमको अन्त्यमा ?
            सुनिल प्रजापति : भक्तपुर एफएम मार्फत ख्वप सः सुनिरहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध छ, हामी कोरोना भाइरसको जोखिममा छौँ । त्यसकारणले हामी सबै सुरक्षित भएर बस्नुपर्छ । सरकारले घोषणा गरेको लकडाउन पालना गरौँ । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेअनुसार सामाजिक दुरीमा रहेर काम गरेमा हामी सुरक्षित रहनेछौँ ।
            (नगर प्रमुख प्रजापतिले ख्वप सः कार्यक्रममा दिनुभएको अन्तर्वार्ताको सार सङ्‍क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *