भर्खरै :

लिपुलेक अतिक्रमणविरूद्ध जिल्ला–जिल्लामा जुलुस र सभा

            काठमाडौँ, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमाथि एकतर्फीरूपमा सडक निर्माण गरेको विरोधमा आइतबार देशका विभिन्न जिल्लामा विरोध जुलुस तथा प्रदर्शन भए । कोभिड–१९ महामारीलाई ध्यानमा राखी आपसी दुरी कायम गरी मास्क लगाएर प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी बनेका थिए ।
            नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा आइतबार भक्तपुरमा विरोध जुलुस तथा सभा भयो ।
            भक्तपुरको कमलविनायकबाट सुरू भएको युवा–विद्यार्थीको उक्त जुलुस च्याह्मासिँह–सूर्यमढी–दत्तात्रय–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक अरनिको राजमार्ग सडक खण्डमा पुगेर समापन भएको थियो । जुलुस भारतीय विस्तारवाद लिपुलेक छोड, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड, सीमा अतिक्रमण–बन्द गर, नेक्रायुसङ्घ–जिन्दावाद, नेक्राविसङ्घ–जिन्दावाद आदि नारा लगाउँदै अगाडि बढेको थियो ।
            जुलुसपछि आयोजित सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सबै प्रमाणले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति हो भन्नुभयो ।    उहाँले विसं २०१८ सालमा कालापानी क्षेत्रको सबै गाउँमा नेपालको जनगणना गराउनुभएका तत्कालीन जनगणना अधिकृत वरिष्ठ पत्रकार भैरव रिसाल अझै जीवित रहेको र कालापानी क्षेत्र नेपालको हो भनी बोलिरहेको अवस्थामा पनि नेपाल सरकारले देशको भूमि फिर्ता लिने साहस नगर्नु नालायकी र लाचारीपन हो भन्नुभयो ।
            भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै अध्यक्ष ख्याजूले अतिक्रमित भूमि फिर्ता लिन युवा–विद्यार्थीको आन्दोलन चालू रहने बताउनुभयो ।  
            कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नेपाललगायत विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको अवस्थामा भारतीय विस्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौकापरस्त अनुहार उदाङ्गो पारेको छ भन्नुभयो । नेपाली भूमि अतिक्रमण गरी ७८ किमि सडक बनाउँदासमेत नेपाल सरकार आफूलाई थाहा छैन भनी पन्छिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको उहाँले बताउनुभयो ।

सुर्खेतमा विरोध सभा : चार जना पक्राउ
            भारतीय हस्तक्षेपको विरोधमा नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार विरोध जुलुस प्रदर्शन गर्‍यो ।
            प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, सचिव धनेन्द्र विक, सदस्य गणेश खड्का र जगत लामिछाने मगरलाई पक्राउ गरेको छ ।

            त्यसअघि आयोजित विरोध सभामा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले भारतले नेपाली भूमि मिचेर सडक बनाउने कार्यको विरोध एवं भत्र्सना गर्नुभयो । उहाँले वर्षौँअघि भारतले आफ्नो भूमि मिचेर सडक निर्माण गर्दा नेपाल सरकार किन मौन बसेको भनी प्रश्न गर्नुभयो ।
            “भारतले नेपाली भूमिमा सडक बनाएको जानकारी हुँदाहुँदै मौन बस्ने सरकार भारतको दलाल सरकार हो”, बोहराले भन्नुभयो ।
            नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले भारतले सन् २०१९ नोभेम्बर २ मा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय नक्सामा गाभेर प्रकाशित गरेलगत्तै सो नक्सा खारेजको माग गर्दै विरोधका गतिविधि गरेको स्मरण गर्दै नेपाल सरकार सिमाना समस्या समाधानमा उदासीन भएको बताउनुभयो ।
            म·लगढी चोकबाट सुरू गरिएको जुलुस वीरेन्द्रचोक हुँदै नेताचोक पुगी कोणसभामा परिणत भएको थियो ।
            जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, भारतीय सेना कालापानी छोडलगायतका नारा लगाइएको थियो । गिरफ्तार कार्यकर्ताहरूलाई आइतबार साँझ रिहा गरिएको थियो ।

जुम्लामा प्रदर्शन
            भारतीय कदमको विरोधमा जुम्लामा पनि प्रदर्शन भएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा प्रदर्शन गरेको हो । नेमकिपाको स्थानीय कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन हुँदै कृष्ण मन्दिरमा पुगी समापन भएको थियो । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूबीच आपसी दुरी कायम गरिएको थियो ।
            विरोध सभामा नेमकिपा जुम्लाका कार्यवाहक अध्यक्ष राजेश्वर देभकोटाले सरकार लम्पसारवादमा पतन हुँदै गएको बताउनुभयो । नेमकिपाले भारतीय थिचोमिचोविरुद्ध सडक र सदन जहाँपनि सरकार र जनतालाई सचेत गराउँदै आएको उहाँको भनाइ थियो ।
            नेपाल क्रान्तिकारी युवा सङ्घ जुम्लाका अध्यक्ष लालबहादुर बुढाले कोरोना कहरसँग विश्व समुदाय लडिरहेको बेला भारतले गरेको हस्तक्षेप विस्तारवादी नीतिको नाङ्गो प्रस्तुति रहेको दाबी गर्नुभयो । नेपाली युवाहरूले सरकारलाई होसियार बनाएर भारतको यो कदमको बदला लिने बेला आएको उहाँले बताउनुभयो ।
            नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जुम्लाका अध्यक्ष नरबहादुर घर्तीले लिपुलेकमा निर्माणाधीन सडक बन्द गर्नुमात्रै नभई भारतले मिचेको नेपालको सम्पूर्ण भूमि फिर्ताका लागि नेपाली जनताले एकमतको आवाज उठाउनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो ।
            नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जुम्लाका सचिव धर्मेन्द्र अधिकारीले देशभक्त युवा विद्यार्थीले देशभरि गरेको विरोध प्रदर्शनहरूको समर्थन गर्नुपर्ने बताउनुभयो ।
टोखामा विरोध सभा
            नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा भारतीय विस्तारवादले नेपालको  कालापानी, लिपुलेकको भूमि अतिक्रमण गर्दै चीनको मानसरोवरसम्म जोड्ने बाटो बनाएको विरोधमा काठमाडौँ टोखामा र्‍यालीसहित विरोध कार्यक्रम सम्पन्न भयो ।
            कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले इतिहासकै शक्तिशाली भनिएको सरकारले उक्त कदमको विरोध गर्न नसक्नु र अतिक्रमित भूमि फिर्ता गर्ने पहल गर्न नसक्नु लज्जास्पद हो भन्नुभयो । उहाँले भारतीय विस्तारवादको कदमविरूद्ध एकजुट भई विरोध गर्न आह्वान गर्नुभयो ।
            कार्यक्रममा नेमकिपा टोखा नगर समितिका सदस्यहरू  शैलेश डंगोल  र विशोक डंगोलले पनि बोल्नुभएको थियो । विरोध सभाअघि जुलुसले टोखा नगर परिक्रमा गरेको थियो ।
कीर्तिपुरमा युवा भेला
            नेपालको भूमिमाथि हस्तक्षेप गरेको विरोधमा आइतबार कीर्तिपुरमा कार्यकर्ता भेला भयो ।
            भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतीय विस्तारवादले नेपालको भूमिमाथि भएको एकपछि अर्को हस्तक्षेपको विरोध एवं भत्सर्नाना गर्नुभयो ।
            उहाँले नेपालको लिपुलेकबाट १२ वर्षदेखि सुरू भएको सडक निर्माणबारे सरकारलाई थाहा नहुनु सरकारको गैरजिम्मेवारीपन र भारतको दलाली भएको स्पष्ट हुन्छ भन्नुभयो ।
            उहाँले जनविरोधी सरकारको गतिविधिको विरोधमा नेपाली न्यायप्रेमी जनताले सशक्त विरोध नगरे नेपालको सार्वभौमिकता गुम्ने खतरा बढ्ने बताउनुभयो ।
            नेमकिपा कीर्तिपुर नगर समितिका उपाध्यक्ष बुद्धिमान महर्जनले नेपालमा हुने हरेकजसो विपत्ति एवम् समस्यामा भारतीय विस्तारवादले नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने काम गरिरहेको छ भन्नुभयो ।
            आयोजक समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कीर्तिपुर नगर सदस्य कान्छाबाबु महर्जनले नेमकिपाद्वारा जारी वक्तव्यबारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *