भर्खरै :

कोभिड–१९ र नर्सिङ्ग दिवस

सन् १९५६ (वि.सं. २०१३) भन्दा अगाडि भारतमा पनि स्वास्थ्य क्षेत्रको त्यति विकास नहुँदा कम्पाउन्डरहरूलाई मिडवाइफ्रीको तालिम दिएर अस्पताल चलाइरहेको थियो । नेपालमा पहिलो अस्पताल वीर अस्पतालको स्थापना सन् १८९० (वि.सं. १९४७) मा भए तापनि नर्सिङ्ग शिक्षाको सुरूआत भएको थिएन । त्यतिबेला नेपालमा नर्सले गर्ने सम्पूर्ण काम डाक्टर र कम्पाउन्डरले गर्थे ।
१९ औँ शताब्दीको सुरूआतमा नेपाली समाजमा स्वास्थ्यसम्बन्धी केही चेतना आएपछि विशेषगरी राणा परिवारले यसको आवश्यकता महसुस ग¥यो । त्यसपछि ४ जना नेपाली महिलालाई भारतमा १८ महिने मिडवाइफ्री प्रसूतिसम्बन्धी तालिममा पठाइयो । ती चार जना नर्समा ः विद्यादेवी कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राई हुन् । तालिम सकेर आएपछि चार जना नर्स वीर अस्पतालमा फर्किए । दोस्रो चरण सन् १९५२ (वि.सं. २००९) मा डा.उमादेवी दास (प्रथम नेपाली पी.एच.डी. नर्स हुन्) र रूकमिनी श्रेष्ठलाई ४ वर्ष ९ महिनाको स्टाफ नर्स तालिमको लागि भारत पठाइयो । सन् १९५७ (वि.सं. २०१३) मा ती दुवै जना तालिमबाट फर्केपछि नर्सिङ्गको अध्यापन सुरू भयो । त्यसपछि विभिन्न विषयमा केही महिलालाई पटक–पटक भारत, श्रीलङ्कालगायतका देशमा तालिमको लागि पठाइयो । श्री ५ को सरकारअन्तर्गत स्थापना गरिएको क्याम्पस सन् १९७२ मा महाबौद्ध नर्सिङ्ग क्याम्पस भनेर नामकरण गरियो ।

संसारमा नर्सिङ्ग अध्यापन सुरू भएको ९७ वर्षमा मात्र नेपालमा नर्सिङ्गको अध्यापन सुरू भयो । फ्लोरेन्स नाइटिङ्गेलले सन् १८६० मा स्टेट थोमस हस्पिटलअन्तर्गत नाइटिङ्गेल ट्रेनिङ स्कूल फर नर्सेस नामक नर्सिङ्ग स्कूल स्थापना गरेका थिए । सन् १८५३–१८५६ मा भएको रसियाविरूद्ध फ्रान्स, बेलायत, टर्की र सारदीनियाँको क्रिमिया युद्धका घाइते सैनिकहरूको उपचार र हेरचाहमा नाइटिङ्गेलले पु¥याएको योगदानको कदर गरेर बेलायत सरकारले उहाँलाई दुई लाख पचास हजार डलर बराबरको धनराशीसहितको पुरस्कारबाट सम्मानित ग¥यो । सम्मानस्वरूप प्राप्त रकम नै उहाँले नर्सिङ्ग स्कूल स्थापनार्थ लगाउनुभयो ।
नेपालमा नर्सहरूको अवस्था
हाल नेपालमा अनमी र विदेशी नर्सहरूसहित करिब ९० हजार नर्सहरू नर्सिङ्ग काउन्सिलमा दर्ता छन् । प्रत्येक वर्ष सात हजारभन्दा बढी नर्सहरू उत्तीर्ण हुन्छन् ।
विभिन्न ११७ नर्सिङ्ग कलेजबाट उत्तीर्ण भएका यी नर्सहरूको व्यवस्थापन चुनौतीको विषय बनेको छ । सरकारले व्यवस्थित गर्ने नीति नभएकोले यी दक्ष जनशक्तिको परिचालन सही ढङ्गले गर्नसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार जनरल वार्डमा एक नर्स बराबर पाँचजना बिरामी र सघन कक्ष, आईसीयू, सीसीयूमा एक नर्स बराबर दुई बिरामी हुनुपर्ने प्रावधान छ । तर, नेपालमा १ जना नर्सले एउटै वार्डमा भएका ३० देखि ४० जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । विशेषगरी सरकारी अस्पतालमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको नर्स बिरामीको अनुपात पटक्कै मिलेको छैन । एकातिर उत्तीर्ण भएका नर्सहरू बेरोजगार हुनुपरेको छ भने अर्काेतिर सरकारी दरबन्दीअनुसारको अस्पतालमा नर्सहरू पुगेका छैनन् ।
नर्सिङ्ग दिवस र कोभिड १९
प्रत्येक वर्ष मे १२ का दिन विश्वभरि विभिन्न कार्यक्रमका साथ मनाइने विश्व नर्सिङ्ग दिवस फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिवस पारेर मनाइने गरिन्छ । यो वर्ष पनि आज विश्वभरि ‘नेतृत्वका लागि आवाज, विश्व स्वास्थ्यका लागि नर्सिङ्ग सेवा’ भन्ने नाराका साथ नर्सिङ्ग दिवस मनाइँदै छ । सन् २०१९ को अन्तबाट चीनको उहान सहरबाट सुरू भएको कोभिड–१९ को सङ्क्रमणले विश्व आक्रान्त भएको अवस्थामा यो वर्षको नर्सिङ्ग दिवस मनाइँदै छ ।
विश्वभरि स्वास्थ्यकर्मीलाई विशेष महत्व दिएर हेरिरहेको यो समयमा कोभिड–१९ को महामारीसँग लड्न नर्सहरूको भूमिका अग्रपङ्क्तिमा रहेको छ । विश्वभरिमा करिब २ लाख ८५ हजार मानिसले कोभिड १९ को सङ्क्रमणको कारण ज्यान गुमाइसकेका छन् । त्यसमध्ये हजारौँ स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको पर्वाह नगरी दिनरात सङ्क्रमितको सेवामा समर्पित भएर आफ्नो जीवनको आहुति दिइसकेका छन् । त्यसमध्ये सबैभन्दा धेरै नर्सहरूले ज्यान गुमाएको तथ्याङ्क छ । अमेरिकाको न्युयोर्कमा सबैभन्दा बढी नब्बे हजार मानिसले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन् भने सबैभन्दा बढी स्वास्थ्यकर्मी तथा नर्सहरूले ज्यान गुमाउने सङ्ख्यामा पनि अमेरिका अग्रपङ्क्तिमा रहेको छ ।
महामारीभन्दा पहिले विश्वमा नै उत्कृष्ट स्वास्थ्य प्रणाली रहेको अमेरिकाजस्तो विकसित मुलुकले सबैभन्दा बढी गुमाउनुपर्ने विश्व स्वास्थ्य जगतमै दुःखलाग्दो कुरा हो ।
नेपालमा समुदायमा सङ्क्रमण अन्य मुलुकमा भन्दा ढिलो गतिमा भइरहेको छ । यो हाम्रो निम्ति एउटा चुनौती र अवसर पनि हो । नेपालको स्वास्थ्य व्यवस्था विकसित मुलुकको भन्दा एकदम कमजोर र अव्यवस्थित छ । हामीसँग महामारीसँग लड्ने स्वास्थ्य सामग्रीको अभाव छ, पूर्वाधारको पनि कमी छ । चीनको उहानमा एक सातामा १ हजार शैय्याको कोभिड अस्पताल बनाइएको थियो । चीनले चमत्कारिकरूपमा कोभिड–१९ लाई उत्कृष्ट तरिकाले नियन्त्रण ग¥यो । यो विश्वको निम्ति उदाहरणीय बनेको छ । अहिले पनि चीनले विश्वका विभिन्न मुलुकका स्वास्थ्य सामग्रीलगायत विशेषज्ञ चिकित्सकको टोली पठाएर सहयोग गरिरहेको छ । तर, नेपालमा सुरूमा कोभिडको बिरामी भर्ना गर्ने आइसोलेसन नै व्यवस्थित भएन ।
भेन्टिलेटर र अन्य सघन उपचार कक्ष त अहिलेसम्म पूर्णरूपमा व्यवस्थित भइसकेको छैन । सङ्क्रमित बिरामीको सम्पर्कमा जाँदा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा पोशाक (पीपीई), एनजीएस मास्क, फेस शिल्ड र पञ्जाको कमी थियो । कतिपय सामग्रीहरू अस्पताल आफैँले आफ्नै स्रोत र साधन प्रयोग गरी तयार पारेका थिए भने केही विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय दातृ संस्था र निकायले उपलब्ध गराए ।
सङ्क्रमितको सङ्ख्या अझै कतिसम्म पुग्छ भने यकिन गर्न सकिँदैन । यसरी नै सङ्क्रमित थपिँदै जाने हो भने यो महामारी लामो समयसम्म रहने सम्भावना बढ्छ ।
देश पूर्ण लकडाउनमा हुँदा निजी अस्पतालहरूले अस्पतालमा बिरामी भर्ना गर्न कम भएपछि अस्पतालको आय नभएको भन्दै धेरै निजी अस्पतालमा नर्सहरूलाई कामबाट बञ्चित गरेको समाचार सुनियो । तलब दिन नसकिने भनी स्टाफ कटौती गरियो । ती स्वास्थ्य संस्थालाई हाम्रो प्रश्न छ, “के अस्पताल नाफामा जाँदा तलब बढाएर दिएको कुनै महिना छ र आय छैन भनेर तलब नदिन ?” अहिले विश्वभरि नै नर्सिङ्ग पेशाकर्मीको अभाव भइरहेको अवस्थामा नेपालका निजी अस्पतालले यो नाटक तुरून्त बन्द गर्नुपर्छ ।
स्वास्थ्यमन्त्री प्रत्येक पटक महामारीमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीले थप सुविधा पाउनेछ भन्दै बोल्छन् तर त्यही मुलुकमा स्वास्थ्यकर्मीले तलब पनि समयमा नपाउँदा कुनै निकाय चुइँक्क बोल्दैनन् ।
सरकारी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरूले केही राहत पाए पनि विकास समिति, निजी स्रोत र व्यक्तिले चलाएका ठूलो अस्पतालमा अझै पनि नर्सहरूको समस्या उस्तै छ ।
महामारीको समयमा ज्यान जोखिममा राखी दिनरात बिरामीको सेवामा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई २०० औँ विश्व नर्सिङ्ग दिवसको शुभकामना दिन चाहन्छु । महामारीबाट जोगिन पटक–पटक साबुन–पानीले हात धोऔँ । अति आवश्यक काममा बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कौँ ।

One response to “कोभिड–१९ र नर्सिङ्ग दिवस”

  1. Muna says:

    Thank you soo much Devika d for this worthful article. lekh raamro lagyo. ahileko awasthama NAN le nirbaha garnuparne bhumika ko bare pani lekhnu vako vaye jhanai ramro hunthyo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *