भर्खरै :

भारतीय अतिक्रमणको विरोधमा देशव्यापी प्रदर्शन

            काठमाडौँ, २९ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर एकतर्फीरूपमा सडक निर्माण गरेको विरोधमा सोमबार कीर्तिपुरमा आयोजित विरोध जुलुस र सभाबाट नेपाल मजदुर किसान पार्टीका चार जना विद्यार्थी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
            नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा भारतीय विस्तारवादविरुद्ध आयोजित सभाबाट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हृदय दाहाल, विद्यार्थीहरू जगत अधिकारी, युवराजविक्रम शाही र दीपक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
            गिरफ्तार गरिएका विद्यार्थीहरूलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा लगिएको थियो ।
            कीर्तिपुर नपा वडा नं. ५ पाँगा लाछीबाट सुरु भएको विरोध जुलुसमा सुरुदेखि नै प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारीहरूले प्रहरीलाई छल्दै भारतीय विस्तारवादको विरोधमा नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । जुलुस पाँगा ढोकासी, पाँगा दोबाटो, नयाँबजार हुँदै लोकतान्त्रिक चोकमा पुगी सभामा परिणत भएको थियो ।
            सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतीय विस्तारवादले लिपुलेक क्षेत्रबाट सडक निर्माण गरी नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको विरुद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभयो ।
            उहाँले १२ वर्षअघि सडक निर्माण गर्न थालेको बारे नेपाल सरकारले थाहा छैन भनेर बस्नु सरकारको निकम्मापन भएको र सरकार भारतीय दलाल सावित भएको बताउनुभयो ।
            नेपालको भूमि अतिक्रमणमात्र होइन, देशको सार्वभौमिकता नै गुम्ने खतरा भएकोले सम्पूर्ण न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू सङ्घर्षको मैदानमा उत्रन उहाँले आग्रह गर्नुभयो ।
            जुलुसको ब्यानर र झन्डा खोसेकोमा विरोध गर्दै उहाँले यो देश नरहे प्रहरी र सुरक्षा अङ्गहरू पनि नरहने भएकाले प्रहरी हस्तक्षेप बन्द गर्न आह्वान गर्नुभएको थियो ।
            नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हृदय दाहालले भारत सरकारको अगाडि झुक्ने दुईतिहाइको नेकपाको सरकार नालायकीपन भएको भन्दै देश र जनताको हितमा नलाग्ने सरकारको राजीनामाको माग गर्नुभयो ।
            जुलुसमा खोसिएको ब्यानर र झन्डा स्थानीय महिलाहरूले खोसेर लिएका थिए । प्रहरीले महिलाहरूलाई लछारपछार गरी पुनः हस्तक्षेप गरेको थियो ।
            जुलुस भारतीय अतिक्रमण बन्द गर, लिपुलेक हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद, नेपाल मजदुर किसान पार्टी जिन्दावाद, भारतीय सेना कालापानी छोड आदि नारा लगाउँदै अगाडि बढेको थियो ।
            पक्राउ परेका विद्यार्थीहरूलाई सोमबार नै रिहा गरियो ।
कैलाली

            भारतले नेपालको लिपुलेक क्षेत्रमा भूमि अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार लम्की बजारमा विरोध जुलुस तथा सभा भयो । लम्कीको बघौराबाट सुरु भएको जुलुस लम्की चोकमा पुगेर सभामा परिणत भएको थियो ।
            सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भारतीय विस्तारवादले नेपालको भूमि पटक–पटक मिचेको चर्चा गर्दै ऐतिहासिक तथ्य–तथ्याङ्कले नेपाली भूमि पुष्टि भएको लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गर्नु नेपालको सार्वभौमिकतामाथि आक्रमण भएको बताउनुभयो ।
            उहाँले नेपाल सरकारलाई भारतले सडक निर्माण गरिरहेको जानकारी हुँदाहुँदै पनि कुनै विरोध नगरेको बताउनुभयो ।
            उहाँले नेपाल र भारतबीचको सिमाना विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विचार राख्नुभयो ।
            नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले शासक दललाई नेमकिपाले
दिएको सुझाव नमान्दा भारतीय हस्तक्षेप बढ्दै गएको बताउनुभयो ।
            उहाँले देशको भूमि र सार्वभौमिकता रक्षाको लागि नेपाली जनतासँग सङ्घर्षको अर्को विकल्प नभएको बताउनुभयो । कार्यक्रममा गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
काभ्रे

            भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्ज्याङमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिले बनेपा करुणा मार्गदेखि कोलाँटोल हुँदै वाँख्यो चोकमा जुलुस तथा सभा सम्पन्न गर्‍यो ।
            सभामा नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न सायमीले नेपालको भूमि भारतले अतिक्रमण गरेको अवस्थामा कुनै पनि देशभक्त जनता महाव्याधिदेखि तर्सिएर कोठाभित्र बसिरहन सकिन्न भन्नुभयो । “हामीलाई हाम्रो प्राणभन्दा देशको सार्वभौमिकताको माया छ ।” उहाँले भन्नुभयो ।
            नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिका सचिव ज्ञानेन्द्र डंगोलले भारतीय विस्तारवादले भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेक भञ्ज्याङसम्म ८० किमि सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको बताउँदै कोरोना भाइरसको महामारीले संसारलाई नै लकडाउनमा राखेको मौका छोपेर भारतले नेपालको भूमि अतिक्रमण गरिएको विरोधमा देशभक्त जनता सडकमा आउनुपरेको हो भन्नुभयो ।
बुटवल 
            नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले साम्राज्यवादी र विस्तारवादीहरूले लिपुलेक कब्जा गर्न र एमसीसी पास गराउन सत्तारुढ दललाई आपसमा भिडाएको हुनसक्ने बताउनुभयो ।
            बुटवलस्थित रेडियो जागरणको कोरोना विशेष रेडियो कार्यक्रममा प्रस्तोता विनोद परियारसँग अध्यक्ष वासीले कवि भूपीले भनेजस्तै विदेशी शक्तिको इसारामा नेपाली शासकहरू जुट्ने र फुट्ने गरेको प्रस्ट पार्नुभयो । विश्वव्यापी नोवेल कोरोना भाइरस सङ्क्रमणको सड्ढटको बेला एकजुट भएर जनताको दैनिक जीवनमा सघाउनुपर्ने बेला सत्तारुढ दलका नेताहरू पदको लुछाचुँडीमा लाग्नु दुःखद भएको चर्चा गर्दै अध्यक्ष वासीले कोरोना सङ्क्रमण नियन्त्रण गर्न खुला सीमा नियमन गरी भारतमा मजदुरी गर्न गएका नेपाली नागरिकलाई स्वास्थ्य जाँच र क्वारेन्टिनमा राखी उचित व्यवस्थापन गर्नुपर्नेमा सरकार कर्तव्यच्युत भएको स्पष्ट पार्नुभयो ।
            अध्यक्ष वासीले सरकार इमानदारीपूर्वक जनताको सेवामा लागे हातेमालो गरेर नोवेल कोरोना भाइरस सङ्क्रमण रोक्न अगाडि बढ्न सहज हुनेमा जोड दिनुभयो ।
            मोदी सरकारले नेपालको लिपुलेकमा सडक उद्घाटन गर्ने र काश्मिरमा सैन्य कारबाही अगाडि बढाएको बताउँदै अध्यक्ष वासीले गएको कार्तिकमा नेपाली भूमि हडपी भारतले नक्सा जारी गरेको विरोधमा नेपालले पनि लिम्पियाधुरासम्मकै भूभाग समेटी नक्सा प्रकाशन गर्न माग गर्दा नक्सा छाप्ने होइन भूमि नै फिर्ता लिने भनी फूर्ति देखाउने प्रधानमन्त्री ओलीले लिपुलेकमा बाटो उद्घाटनको मेसो नपाउनु निन्दनीय छ भन्नुभयो । अतिक्रमित सबै नेपाली भूमि फिर्ता लिनुपर्नेमा जोड दिँदै उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिमको बेला देशको रक्षाको लागि देशभक्त जनतालाई सडकमा आउन बाध्य पारिएको छ भन्नुभयो ।
कालीकोट

            नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार सदरमुकाम मान्म बजारमा विरोध जुलुस तथा कोणसभा भयो ।
            कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपाल कुनै पनि देशको उपनिवेश नभएकोले देशको एक इन्च भूभाग पनि छोड्न नेपाली जनता तयार नहुने बताउनुभयो ।
            उहाँले भारतबाट नेपालको सिमाना क्षेत्रमा हडपेको भूमि फिर्ता गर्न नेपाली जनताले देशभक्तिपूर्ण आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिंदै नेपाली भूमिमाथि अतिक्रमण हुँदा पनि शासक दलहरू मूकदर्शक भएर बसेकोमा खेद व्यक्त गर्नुभयो ।
      नेमकिपा कालीकोटका सचिव खड्गराज शाहीले आफ्नो देशको भूमिको रक्षा गर्न नसक्ने सरकार भारतीय शासक वर्गको दलाल भएको पुष्टि भएको बताउनुभयो । सभामा धनञ्‍जय अधिकारीले पनि बोल्नुभएको थियो ।
नेक्राविसङ्घको विज्ञप्ति
            सोमबार कीर्तिपुरमा भएको विरोध प्रदर्शन तथा सभामा नेक्राविसङ्घका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेकोमा नेक्राविसङ्घ केन्द्रीय समितिले विरोध वक्तव्य जारी गरेको छ । नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूद्वारा प्रकाशित विज्ञप्तिमा विश्व कोरोना भाइरस रोगबाट आक्रान्त भइरहेको स्थितिमा भारत सरकारले नेपाली भूमि गुन्जी–लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा नेपाल मजदुर किसान पार्टी र यसका जनवर्गीय स·ठनहरू देशव्यापी आन्दोलनमा लागिरहेको र सो क्रममा नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा सोमबार भएको शान्तिपूर्ण जुलुसबाट नेक्राविसङ्घ केन्द्रीय सदस्य हृदय दाहाल, विद्यार्थीहरू जगत अधिकारी, युवराजविक्रम शाही र दीपक अधिकारीलाई प्रहरीले पक्राउ गरेकोप्रति भत्र्सना गरिएको छ ।
            “देशको सार्वभौमिकता र अखण्डताको पक्षमा भारतीय विस्तारवादको विरुद्धको आन्दोलनमा लागेका विद्यार्थीहरू पक्राउ गरेको घटनाप्रति नेक्राविसङ्घ केन्द्रीय समिति उक्त कदमको निन्दा एवं भत्र्सना गर्दछ । भारतीय दलाल सरकारविरुद्ध नेक्राविसङ्घ घोर विरोध गर्दछ”, वक्तव्यमा उल्लेख छ ।
दैलेख
 
            भारतीय अतिक्रमणको विरोधमा दैलेखको चामुन्डा बिन्द्रासैनीमा सोमबार मसाल जुलुस भयो । नेमकिपा चामुन्डा बिन्द्रासैनीको आयोजनामा भएको जुलुसपछिको सभामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले लकडाउनको मौका छोपेर भारतीय विस्तारवादले नेपाली भूमिमाथि अतिक्रमण गरेको बताउनुभयो ।
            उहाँले देशभक्त र देशघाती राजनीतिक दल चिन्ने समय आएको बताउँदै यतिबेला देशको पक्षमा नलड्ने दल देशघाती हुने बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य मनबहादुर विकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *