भर्खरै :

भारतले नेपाली भूमिमा सडक बनाउँदा सरकार किन सुतिरहेको ?

काठमाडौँ, २९ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारकै कारण भारतीय हस्तक्षेप बढेको उल्लेख गर्नुभयो ।
पश्चिम नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सुरक्षाकर्मीको उपस्थिति नबनाउनु र त्यहाँका नेपाली जनतालाई भारतसँग सम्बन्ध राख्न बाध्य पार्नु सरकारको गल्ती भएको उल्लेख गर्दै सांसद सुवालले भारतले नेपाली भूमि गुञ्जिदेखि लिपु भञ्ज्याङसम्म सडक बनाउँदा सरकार किन सुतिरहेको भनी प्रश्न गर्नुभयो ।
भारतले नेपाली भूखण्डमा सडक बनाई उद्घाटन गरेको बाटोबाटै कोभिड–१९ भाइरस नेपाल पसेको समाचारतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले सीमा निगरानीको लागि ५ सय स्थानमा सीमा चौकी राख्ने सरकारी निर्णय भारतकै दबाबमा कार्यान्वयन नगरिएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कोभिड–१९ महामारीको घडीमा सांसद अपहरणको घटना भएको बारे गृह मन्त्रालयको अध्ययनबारे जानकारी माग्नुभयो ।
नेपाल–भारत खुला सीमाको कारण एक–अर्को देशमा कोभिड–१९ भाइरस सङ्क्रमण हुने भएकोले दुवै देशको हितका निम्ति खुला सीमा बन्द गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले विदेशबाट फर्कने नेपालीलाई क्वारेन्टिन र स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार आरडीटी परीक्षण भरपर्दो नभएको हुँदा पीसीआर प्रविधिबाट कोभिड–१९ परीक्षण गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले निजी अस्पताल र मेडिकल कलेजले यो महामारी (सङ्कट) को बेला सामान्य ज्वरोका बिरामीको समेत उपचार नगरेको हुँदा शिक्षा र स्वास्थ्य सेवालाई सरकारअन्तर्गत सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपप्रम एवम् रक्षामन्त्री
ईश्वर पोखरेलले नेपालमा कोभिड–१९ कै लागि अलग अस्पताल नभएको उल्लेख गर्दै विदेशमा बसेका नेपालीलाई स्थिति अनुकूल भएपछि ल्याउने बताउनुभयो । उहाँले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न राहत दिने काम स्थानीय निकायमार्फत हुने बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले महामारीको बेला शान्ति–सुरक्षा, कालोबजारी, अपराध नियन्त्रण गर्न सरकार सजग रहेको उल्लेख गर्दै सीमा निगरानीको लागि थप ५ सय स्थानमा सीमा चौकी स्थापना गर्ने बताउनुभयो ।
सीमापारि नेपाली दुईहजार १ सय जना नेपाल आउन तयारी रहेको उल्लेख गर्दै मन्त्री थापाले नेपालमा भारतीय एक हजार रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेको अहिले हटाएको उल्लेख गर्दै नेपालमा १२० जना सङ्क्रमित पुगेको बताउनुभयो ।
मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमित निको भएकाको रगत नयाँ सङ्क्रमितलाई दिएर उपचार गर्ने प्लाज्मा थेरापीबारे प्रोटोकल बनाइरहेको उल्लेख गर्नुभयो ।
गृहसचिवले केही दिनअगाडि सांसदले गाडी मिलाई घर पठाएकाहरूलाई अहिले उद्योगीले काठमाडौँ बोलाइदिन भनिरहेको विडम्बना सुनाउनुभयो ।
प्रम कार्यालयका सचिवले उपचार गर्न नमानेका निजी अस्पताललाई स्पष्टीकरण लिएको उल्लेख गर्नुभयो । स्वास्थ्य सचिवले ओम्नीसँग १४ प्रतिशत महँगोमा सामग्री किनेको स्पष्टीकरण दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *