भर्खरै :

कोभिड–१९ को महामारीविरुद्ध नर्सहरू

मे १२ मा विश्वभर नर्सिङ्ग दिवस मनाइन्छ । यसपालिको नारा ‘विश्वका मानिसको निम्ति नर्सहरूको साँचो मूल्य’ मा केन्द्रित भई ‘स्वास्थ्यको निम्ति विश्वको उपचार’ राखिएको छ ।
आधुनिक नर्सिङ्गका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म मे १२ को दिन नर्सिङ्ग दिवस मनाइँदै आएको छ । नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको थियो । यस वर्षको दिवस विशेष छ । यस वर्ष नाइटिङ्गेलको दुई सतवार्षिक दिवस पनि पर्छ । इटालीमा जन्मिएकी नाइटिङ्गेल आमाबुबा साथ बेलायत गइन् । त्यतिबेला सम्भ्रान्त महिलाहरू काम गर्दैनथे । ती महिलाको काम विवाह गर्नु, घर र बच्चाहरूको हेरदेख गर्नुहुन्थ्यो । पढ्नु, सिलाइबुनाइ एवम् सामाजिक कार्यमा सहभागी हुनु नै तिनको काम हुन्थ्यो । नाइटिङ्गेलले पीडितको सेवा गर्ने जीवनको लक्ष्य लिइन् । उतिबेला नर्सिङ्ग सम्मानित पेशा थिएन । अस्पताल दुर्गन्धित एवम् डरलाग्दो हुन्थ्यो । नाइटिङ्गेलले आमाबुबाको इच्छाविपरीत नर्सिङ्ग पेशा अँगालिन् । उनले लण्डनमा महिलाको निम्ति एउटा अस्पताल पनि खोलिन् ।
सन् १८५३–१८५६ को क्रिमिया युद्धमा आफ्ना ३३ साथीहरूसँग मिलेर उनले घाइते बिरामी सैनिकहरूको सेवा गरेकी थिइन् । युद्धको भयावह स्थितिमा बिरामी सैनिकहरूको उपचारमा सुधार ल्याउन पछि नपरेका नाइटिङ्गेलले विश्वभरि नर्सिङ्ग पेशालाई प्रविष्ठित बनाइन् । उनले रातको समयमा पनि लाल्टिन बोकेर एक–एक गर्दै सम्पूर्ण घाइतेहरूको उपचार गरिन् । त्यसकारण उनको नाम सम्मानस्वरूप ‘लेडि विथ ड ल्याम्प’ राखिएको थियो भने कसैले ‘क्रिमियाली परी’ पनि भन्थे ।
अहिले विश्वमा कोभिड–१९ को महामारी फैलिएको छ ।
महामारीमा नर्सहरू बिरामीको सेवामा निरन्तर लागिपरेका छन् । स्वास्थ्यकर्मीको संसारमा नर्सहरूको सङ्ख्या अधिक छ । नर्सहरू अन्य स्वास्थ्यकर्मीजस्तै अग्रपङ्क्तिमा छन् । तिनीहरू परिवार, साथीसङ्गति छोडेर उपचार कार्यमा संलग्न छन् । सेवा कार्यमा खटिँदा एक नर्सले अनेक इच्छा–आकाङ्क्षा छोड्नुपर्छ । नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित सङ्ख्या १३० नाघिसकेको छ । देशभरि विभिन्न अस्पतालमा क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गरिएको छ । यस्तो भयावह स्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवीजस्ता योद्धाहरू निरन्तर खटिएका छन् ।
नर्सहरूमध्ये कोही गर्भवती छन्, कोही दूधेबालक छोडेर आफ्नो ज्यानको पर्वाह नै नगरी अहोरात्र लागिपरेका छन् । कोहीले त अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरणविना युद्ध लडिरहेका छन् । त्यसैले हाम्रो देशमा पनि सरकारले स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने र ड्युटीमा खटिएका उपचारकर्मीहरूलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । यो स्वागतयोग्य कुरा हो । केही गैरसरकारी र निजी स्वास्थ्य संस्थाले नर्सहरूलाई डबल ड्युटि वा २४ घन्टा ड्युटि गरेबापत जोखिम भत्ता त परै जावस् अझ सञ्चित घर बिदासमेत कट्टी गर्ने निर्णय गरेका छन् ।
मानिसको जन्मदेखि स्वास रहुञ्जेलसम्मको उपचारमा नर्सको अद्वितीय भूमिका भएको हुनाले नर्सहरूलाई पनि स्वास्थ्य नीतिमा संलग्न गरिनुपर्छ । यसरी सम्पूर्ण मानिसहरूको उपचारमा संलग्न भएर समाजलाई अघि बढ्न प्रोत्साहन गर्ने नर्सहरूलाई नर्सिङ्ग दिवसको शुभकामना ! जीवन मरणको दोसाँधमा रहेकी गर्भवती सुत्केरी व्यथाले छट्पटाउँदै गर्दा बाटोसम्म गएर उद्धार गर्ने अ.न.मि. बिमला सन्जेलजस्ता नर्सहरूलाई पनि नर्सिङ्ग दिवसको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *