‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
भारतको महाराष्ट्रमा शुक्रबार बिहान झिसमिसेमै १६ जना मजदुरमाथि मालबाहक रेल गुड्यो । घटनास्थलमै १६ जना मजदुरको ज्यान गयो । भारतमा पनि सरकारले लकडाउन घोषणा गरेको छ । कारखानाहरू बन्द भएका छन् । काम ठप्प छ । मजदुरहरू कामबाट निकालिएका छन् । मजदुरहरूको कुनै खाने बस्ने बन्दोबस्त छैन । दुई चार पैसा कमाऊँला, छोराछोरी घरपरिवारलाई सुखा रोटी भए पनि खुवाउँला भनी परिवारबाट टाढा काममा आएका मजदुरहरू आफै विचल्लीमा परे । न काम न मामको विरानो सहरमा बस्नुभन्दा आफ्नै गाउँ फर्किन खोजे तर मजदुरहरूले न बस पाए न रेल । घर फर्किन पाउनुपर्ने माग गर्दै भारतका ठूला सहरहरूमा दिनदिनै हजारौँ प्रवासी मजदुरहरूले प्रदर्शन गरिरहेका छन् । जम्मुमा समेत घर फर्किन खोज्ने मजदुरहरूमाथि लाठी बर्साइएको समाचार आइरहेका छन् । सरकारले खान, बस्न र हिँड्न कुनै पनि सुविधा दिएको छैन । अनि मजदुरहरू पैदलै सयौंँ हजारौँ किलोमिटर टाढाको गाउँघर फर्किन बाध्य छन् । बिहीबार महाराष्ट्रको जालनबाट ती मजदुर मध्यप्रदेशको लागि पैदल हिँडेका थिए । झण्डै चालीस किलोमिटरको यात्रापछि थकित १६ जना मजदुर रेलको ट्रयाकमै सुते । बाँकी ४ जना मजदुर रेलको लिक छेऊमै सुतेका थिए । रेल नचलेरै हिँडेर आउन विवश मजदुरहरूले रेल आउने सोचेकै थिएनन् सायद ¤ अचानक आएको मालबाहक रेलले १६ जना मजदुरको जीवन नै समाप्त गरिदियो । महाराष्ट्र औरङ्गावादको यो विभत्स घटनाले भारतीय मजदुरप्रति मोदी सरकारको संवेदनशीलता उदङ्ग्याएको छ । भारतीय मजदुरहरूको अवस्थालाई प्रस्ट पारेको छ ।
अन्तरराज्यमा काम गर्ने ४० करोड प्रवासी मजदुर आफ्नो घर जान चाहन्छन् । सरकारले पछिल्लो समयमा रेलको बन्दोबस्त गर्ने भने पनि धेरै झमेला देखाइरहेका छन् । रेलवे सुरु गरेको छैन । धेरै त साइकलमा पनि निस्केका छन् । भारतीय मजदुरहरूको यो बिजोगको बीचमा मध्यम वर्गीय परिवार भने रक्सीको पसल अगाडि लामो लाइनमा उभिएर बसेका छन् । मे महिनाको सुरुमै रक्सी पसल खोल्न दिएपछि झोला भरि –भरि रक्सीका सिसी किन्नको लागि हानथाप गरिरहेका छन् । रक्सी किन्न आउनेहरू हाकाहाकी, ‘लकडाउनमा रक्सी खाने सुत्ने अनि उठेपछि फेरि रक्सी खाने सुत्ने’ भनिरहेका छन् । ७० प्रतिशत कर बढाउँदा पनि रक्सी पसलमा भिड हटेको छैन । हुनेखानेको निम्ति कि रक्सी खाने कि योग गर्ने सुविधा छ । गरिब मजदुरको निम्ति कहालिलाग्दो सास्ती मात्र छ ।
प्रकृतिसँग जो सङ्घर्ष गर्न सक्छ, ऊ मात्र बाँच्न पाउँछ भन्ने डार्बिनको प्रकृतिको छनोटको सिद्धान्तलाई के पँुजीवादी मोदी सरकारले कोभिड – १९ को यो महामारीको बेलामा कति मजदुरहरू आफ्नै खर्चमा, आफ्नै बलमा बाँच्न सक्ने रहेछन् भनी परीक्षण गर्दै छ र ? मजदुरहरूप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता नै देखेका छैनन् मोदीले । सिङ्गो भारत अस्तव्यस्त छ । यही अस्तव्यस्तता लुकाउन फासीवादी मोदी सरकारले कोरोना भगाउन दीप बाल्नेदेखि थाल बजाउनेसम्म काम लगाएको छ । कोभिड – १९ बाट मानव जीवन रक्षा गर्नुपर्ने बेला छ । भारतीय मजदुरहरूलाई मानवीय उचित व्यवस्थापन गर्न जरुरी छ । तर, आफ्नो अकर्मण्यता ढाकछोप गर्न चिकित्सकहरूको प्रोत्साहनको लागि भन्दै पन्डुबी जहाजमा दियो बालेर, लडाकू विमानबाट पुष्प वर्षा गरेर सैन्य (युद्ध) अभ्यास गरिरहेको छ । यसैको सिलसिलामा हिन्दुवादी कट्टरपन्थीहरूको मनोबल बढाउन काश्मीरमा सैन्य कारबाही चर्काएको छ । विस्तारवादी मोदी सरकारले अतिक्रमित नेपाली भूमि लिपुलेक जाने बाटो बनाई उद्घाटन गरेको छ । मोदी सरकारका यी फासीवादी विस्तारवादी क्रियाकलाप हेरेर जरुर पनि भारतीय उग्रवादीहरूले कोरोना कहर भुलेका होलान् !
भारतीय उग्रवादीहरूले कोरोना भुलाउने युद्धको माहोल सिर्जना गर्न सञ्चारमाध्यमलाई पनि परिचालन गरिरहेका छन् । भारतीय ‘इन्डिया टिभी’ले ‘ओ माइ गड’ भन्ने एउटा कार्टुन देखाइरहेको छ । कार्टुनमा चिनियाँ जस्तो देखिने र अर्को मान्छेले चीनको उहानमा मेसिनबाट कोरोना भाइरस बनाउँछ । भाइरसले बनाउनेमध्येकै अर्को व्यक्तिलाई मार्छ । चिनियाँ देखिने मान्छे खुशी हुन्छ । अनि, भाइरसलाई यूरोप पठाउँछ । संरा अमेरिकामा पठाउँछ । त्यसपछि प्यारासुटमा बसेर भारतमा आउँछ । मोदीजस्तो मान्छेले मेसिनगनले हान्छ । कति कोरोना भाइरस मर्छ । केही झरेकोले भारतीयलाई लखेट्छ । भारतीय भाग्छ र लकडाउन गर्छ । लकडाउन गरेको पर्खाल नाघेर आएको कोरोनालाई गोली हान्छ । साबेलको बिँडमा ठोक्किएर कोरोना ढल्छ । ढलेको कोरोनालाई मोदीले च्याप्प समातेर एक लात हान्छन् । कोरोना भाइरस चीनको उहानमा पुग्छ । भारतको न्युज च्यानलमा प्राथमिकतापूर्वक पटक – पटक विज्ञापनजस्तै प्रशारण गरिरहेको ‘ओ माइ गड’ कार्टुनले भारतीय शासकहरूको मनोविज्ञानलाई प्रस्ट पारेको छ । यिनीहरूले हस्पिटलको सेवाबाट कोरोना भाइरसलाई जित्ने होइन, हतियारको प्रयोगबाट नरसंहार मच्चाउने र संसारमा आफ्नो हैकम कायम गर्न चाहना राख्छन् भन्ने देखाएको छ । प्रतिक्रियावादी शासकहरू आन्तरिक समस्या हल गर्न नसकेपछि जनताको ध्यान मोड्न अर्को देशमाथि आक्रमण गर्ने कुचेष्टा गर्छन् । चीनविरुद्ध ट्रम्पको बर्बराइ र मोदीका पछिल्ला कदमले तिनीहरू आफ्ना सत्ता स्वार्थपूर्तिको लागि मानवीय संवेदनालाई तिलाञ्जली दिन उद्दत रहेको छर्लङ पारेको छ ।
साम्राज्यवादीहरू, विस्तारवादीहरू आफ्नो जनता सङ्कटमा परेको बेलामा पनि युद्ध थोपरेर झन् सङ्कट बल्झाउन खोज्छन् । विदेशी जनतालाई पनि अनाहकमा दुःख दिन्छन् । उपनिवेशमा रहेका शासकहरू भने आपसमै लडेर सङ्कटको घडीमा जनतालाई झन् सताउने गर्छन् । देशलाई थप कमजोर बनाउने काम गर्छन् । साम्राज्यवादी र विस्तारवादीहरूको दलालीमै आफ्नो सत्ता स्वार्थ प्राप्त हुने आत्महीनता देखाउँछन् । आत्मसमर्पणवादी दलाल शासक दलहरू दलाली गर्नमै प्रतिस्पर्धामा उत्रन्छन् । जनताको समस्याप्रति उदासीन नेपाली दलाल शासक दलहरूको चरित्रलाई कोरोनाको यो विपत्तिले झन् उदाङ्गो पारेको छ । आज नोवेल कोरोना भाइरस सङ्क्रमणविरुद्ध सारा नेपाली जनताको एकमनका साथ सहयोग लिई अगाडि बढ्नुपर्ने बेलामा सरकार आफै कुहिरोको काग जस्तै हराउनुको मूल कारण नै शासक दलहरूको दलाल मानसिकता हो भन्नु अतियुक्ति नहोला !
विश्वव्यापीरूपमा फैलिएको नोवेल कोरोना भाइरसको सङ्क्रमणको यो विषम परिस्थितिमा हरेक नागरिकले आ–आफ्नै देश खोजिरहेका छन् । आफ्नो सरकार खोजिरहेका छन् । रोजीरोटीका लागि विदेश गएका मात्र होइन, पढ्नको लागि विदेश गएका नेपालीहरू पनि नेपाल फर्किन चाहेका छन् । सरकार भने ‘जो जहाँ छ त्यहीँ सुरक्षित भएर बस्न’ अर्ति दिइरहेको छ । आफ्नो भूमिमा बेखर्ची भएकाहरूले सिंहदरबार गेट अगाडि जाइलागेजस्तै विदेशी भूमिमा नेपालीहरू जाइलाग्न नसक्लान् तर पक्कै पनि रिसले मुरमुरिएर बसेका छन् । निरिह भएर बसेका छन् । जतिसुकै आक्रोशित भए पनि हवाइ उडान रोकिएपछि अरू देशबाट नेपाल फर्किने अवस्था छैन । भारततिरको सीमा पनि बन्द नै भनेको छ । औपचारिक नाकाबाट नेपालीहरूलाई आउन दिइएको छैन । भारततिरकै क्वारेन्टिनमा बस्न नेपाल सरकारले भनिरहेको छ । अझ प्रधानमन्त्री ओली त एक पाइला अघि बढेर भन्छन्, “होटलमा राख्दा पनि भएन रे ।” सीमामा आइपुगेका नेपाली मजदुरहरूलाई भारतले ‘होटलको सुविधा’मा राखेको समाचार प्रधानमन्त्री ओलीको कानमा कसले पु¥यायो होला ? कि प्रधानमन्त्री ओलीले भारतीय शासक रिसाउलान् भनी थोरै बुट्टा भरेका मात्र हुन् ।
भारतको क्वारेन्टिनबाट फर्केकाहरूले जेलबाट मुक्त भएको प्रतिक्रिया दिइरहेका छन् । खाने बस्ने उचित प्रबन्धको कुरा छोडौँ, खानेपानी समेत नभएको बताइरहेका छन् । भारतीय क्वारेन्टिनमा भारतीय अधिकारीहरूले नेपालीहरूलाई नाकासम्म छोड्ने र भारतमै यताउता हिँडेमा जिन्दगीभर जेलमा सडाउने धम्की दिएको भिडियोहरू नै चर्चामा रहेका छन् । भारतीयहरू नेपालीहरूलाई सीमा नाका काटेर नेपाल पस्न बाध्य पारिरहेका छन् । ओली सरकार ती नेपालीहरूलाई नेपालतिर क्वारेन्टिनमा राख्ने उचित बन्दोबस्त गर्नु बदला ‘जो जहाँ छ, त्यहीँ सुरक्षित रहने’ भन्दै तर्किन खोजिरहेको छ । नेपाल भारत खुला सीमा छ । तराईको फाँटमा सीमाको दशजगा नाघ्न महाभारतको युद्ध लड्नु पर्दैन । सीमाको जटिलताबारे अनुभव नभएका सीमित सशस्त्र प्रहरी जवानले राती, कुलो, खोल्सा, जङ्गल, खेतबारी हुँदै लुकीछिपी भारतबाट आएका स्थानीय रोक्न सक्ने अवस्था छैन । यही खुला सीमामा कमजोर व्यवस्थापनको फाइदा उठाएर लुकिछिपी रुपन्देही र कपिलवस्तुमा पसेकाहरूमै कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यदि रोजीरोटीका लागि भारत गएका नेपाली मजदुरहरूलाई औपचारिकरूपमा नेपाल पस्न दिने र तिनीहरूको अभिलेख राख्ने हो भने स्वाभाविकरूपमा लुकिछिपी आउने समस्या हुन्थेन । आज भारतबाट आउने मजदुर नचाहेर पनि लुकेर आउन र लुकेर बस्न बाध्य पारिएका छन् सरकारबाटै । लुकिछिपी आउने भएपछि कोरोना सङ्क्रमित भारतीयहरू नै आउने पनि खतरा रहन्छ !।
कोरोना भाइरस सङ्क्रमणको जोखिम हप्ता दिन वा महिना दिनले पार लाग्दैन । यो समस्या समाधानको लागि वर्षौँ लाग्नेछ । नेपाल भारतबीच खुला सीमा राख्ने हिजोको परिभाषाले अब काम गर्न सक्दैन । त्यसकारण, सरकार दृढतापूर्वक नेपाल भारत सीमा नियमित गर्न, आवश्यकतानुसार निश्चित नाकामा बाहेक काँडेतार लगाउन अगाडि बढ्नुपर्छ । सीमा नाकामा विचल्लीमा परेका हजारौँ नेपाली मजदुरहरूको आर्तनाद सुन्नुपर्ला, सीमा नाका व्यवस्थित पार्न भारतसँग आँखा जुधाएर कुरा गर्नुपर्ला भनेर नै त सत्तारूढ पार्टीभित्रै ‘कुकुर झगडा’ गरेको देखाइरहेका त होइनन् । सचेत जनता प्रश्न गर्दैछन् ।
Leave a Reply