भर्खरै :

मजदुरवर्ग जुकाको आहारामात्र ?

नेपालमा पहिलो कोरोना सङ्क्रमित फेला परेको पुस २८ गतेबाट चार महिना कटेको छ । यी पङ्क्ति (शनिबार) लेख्दासम्ममा १०९ जना सङ्क्रमित भइसकेका छन् । दुई महिनाको बच्चादेखि ८१ वर्षसम्मका महिला सङ्क्रमित भएकोमा ३० जना निको भएका छन् भने अन्य उपचाररत छन् । कोरोना परीक्षण व्यापक नभए पनि दायरा फराकिलो पारिएको छ । तर, परीक्षण किटकै अभावको समाचार आएको छ । केही व्यक्तिलाई सङ्क्रमण दोहोरिएको छ । यद्यपि, सङ्क्रमितको उपचार सफल देखिएको छ भने लकडाउन पूर्ण प्रभावकारी नभए पनि त्यसको अत्यावश्यकतालाई पुष्टि गरेको छ । त्यसैले यसलाई पटक–पटक गरेर जेठ ५ गतेसम्म बढाइएको छ । सफल उपचारको परिणाम दुःखद समाचार सुन्न परेको छैन । लकडाउनको कारण कोभिड–१९ को महामारी नेपालमा देखिएको छैन । तर, महामारीको जोखिम भने यत्रतत्र देखिन थालेको छ ।
हरेक दिन लकडाउनको अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिइएको समाचार प्रसारण भइरहेको छ । लकडाउनको पालना नगरिएको र गराउन नसकेका ठाउँहरूमा सङ्क्रमितहरूको सङ्ख्या ह्वार्ह्वार्ती बढेको छ । नेपालमा मात्र होइन विश्वकै स्थिति त्यस्तै देखिएको छ । तैपनि कतिपय मानिसहरू सचेत नहुनु चिन्ताको विषय हो । यसै क्रममा चन्द्रागिरी नपामा लकडाउन उल्लङ्घन गर्नेहरूलाई जरिवाना गर्न थालेको समाचार सुनेको थिएँ । अस्ट्रेलियामा त एक प्रदेशमन्त्रीले राजीनामा नै दिएका छन् । न्यु साउथ वेल्सका कलामन्त्री डन हार्बिनलाई एक घरबाट आफ्नै अर्को घरमा जाँदा त्यहाँको जनस्वास्थ्य निर्देशन वा आचारसंहिता उल्लङ्घन गरेकोमा एक हजार अस्ट्रेलियन डलर जरिवाना गराइयो । जरिवाना गरेकै कारण उनले नैतिकताको आधारमा राजीनामा दिए ।
हाम्रो देशमा लकडाउनको उल्लङ्घन गर्नेहरूलाई केही घन्टा उभ्याउने वा सवारी साधन साँझ वा भोलि लिन आउनू भनी छोड्दा दैनिकरूपमा उल्लङ्घनकर्ताहरू बढेका छन् । अति आवश्यक काममा बाहेकका त्यस्ता उल्लङ्घनकर्ताहरूलाई मोटो रकमको जरिवाना गरे सायद त्यसमा कमी आउने देखिन्छ । त्यस्ता उल्लङ्घनकर्ता जति ठूलो पदका भयो त्यत्तिकै ठूलो सजायको नियम बनाए सबैलाई चेतावनी हुने थियो । हिजो हामीले सडकबीचको बार नाघेर बाटो काट्ने मन्त्री देखेकै हाँै ¤ यसमा सानालाई ऐन ठूलालाई चैन भएमा त्यो प्रत्युत्पादक हुनेतर्फ पनि गम्भीर हुनुपर्ने देखिन्छ ।
कोरोनाको डर सबैलाई छ । यसले बिरामी मात्र होइन मृत्यु पनि गराउन सक्छ । परन्तु डर वा त्रासभन्दा सचेत हुनु र रोकथामको उपाय अवलम्बन गर्नु यसबाट बच्ने सबभन्दा उत्तम उपाय हो । निको भएका सबैजसो सङ्क्रमितहरूले आत्मबल÷हिम्मत भए नमरिने बताएका छन् । तर, सचेतना र रोकथामको नियम पालना नगरी आत्मबलको डिङ हाँकेर लकडाउन उल्लङ्घन गर्नु वस्तुतः आत्महत्याको जमर्को हो । आत्महत्या कुनै बहादुरी होइन कायरता हो । अहिलको स्थितिमा हदैको मूर्खता हो ।
विश्व आज ‘अमेरिकी भाइरस’ बाट आक्रान्त छ । सङ्क्रमित र मृत्युको हिसाबले ‘अमेरिका नम्बर १’ मा रहिरहेको छ । त्यहाँ सचेतनाको कमी र लकडाउनको अवज्ञा दुवै उच्च रहेको ठहर सर्वत्र गरिएको छ । तर, त्यहाँ मर्नेहरूमा गरिबको सङ्ख्या अत्यधिक रहेको पनि बताइएको छ । सबभन्दा बढी जनसङ्ख्या भएको देश चीनमा कुल सङ्क्रमित सङ्ख्याको नजिक अमेरिकामा मर्नेहरूको सङ्ख्या पुग्न लागेको छ । यदि यसलाई प्रतिशत वा अनुपातमा हिसाब गर्ने हो भने अमेरिकाको स्थिति निकै भयावह छ । यसबाट समाजवादी र पुँजीवादी बन्दोवस्त भएका देशमा जनताको स्वास्थ्यप्रति गरिने व्यवहारको भिन्नता र परिणाम स्पष्ट दृष्टिगोचर हुन्छ ।
‘अमेरिका भाइरस’ बाट नेपाल अछुतो छैन । यसैबेला नेपालका किसानहरू मकैबालीमा लागेको ‘अमेरिकी फौजी किरा’ बाट आक्रान्त छन् । उता विभिन्न उद्योग–कारखानामा काम गर्ने र असङ्गठित मजदुरहरूमाथि बज्रपात हुन थालेको छ । देशलाई खर्बौँ रेमिट्यान्स दिने वैदेशिक रोजगारमा जाने नेपालीहरूको दुर्दशा पनि जटिल र गम्भीर छ । तर, सत्तामा बस्नेहरू कुर्सीको लागि ‘कुकुर झगडा’ मा व्यस्त छन् । तर, पनि निर्लज्जहरू ‘कम्युनिस्ट’ को ट्रेडमार्क झुण्ड्याएर जनतालाई झुक्याइरहेका छन् । सिद्धान्तमा चिप्लिएकाहरूसँग कर्तव्य, दायित्व, नैतिकताको कुरा गर्नु ‘भालुलाई पुराण’ मात्र हो ।
कोरोना महमारीले सङ्गठित क्षेत्रमा काम गर्ने मजदुरहरूलाई एउटा शिक्षा दिएको छ । हिजो उद्योग–कारखाना, व्यापार–व्यवसायहरू मजदुरहरूको रगत–पसिनाबाट तिनका मालिकहरूले करोडौँ–अर्र्बौँ नाफा कुम्ल्याए । आज केही हप्ता वा महिना लकडाउन हुँदा तिनीहरूको नाफामा केही घाटा हुनासाथ मजदुरहरूलाई बाँच्ने आधारसम्मको सहयोग पनि नगर्ने वा गर्न नसकिने बताउन थालेका छन् । ती मालिकहरूको यो अमानवीयता, अनैतिकता र विवेकहीनताको प्रमाण हो । शोषकवर्गको त्यो विश्वव्यापी चरित्र हो । त्यसैले यसबाट शिक्षा लिएर भोलिका दिनका निम्ति नियम–कानुनमै मजदुरवर्गको हक–हितको बन्दोबस्त गराउन पहल हुनुपर्छ, सङ्घर्ष गर्नुपर्छ । लकडाउन, हडताललगायतका कारणले उद्योग–व्यवसाय बन्दको बेला विगत वर्षको नाफाको कम्तीमा ७५ प्रतिशतसम्मको रकमबाट मजदुरहरूलाई न्यूनतम तलब पाउने व्यवस्था गराउनुपर्छ । मजदुरवर्ग सधैँ जुकाको आहारा या साधन बन्नुपर्ने नियतिलाई तोड्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *