भर्खरै :

माक्र्सवाद, जबज र नेतृत्वको पुस्तान्तरण

एमाले+माओवादी=नेकपा अर्थात् ‘नेपाल कम्युनिस्ट पार्टी’ का कार्यकर्ताहरू आज आफ्नै पार्टीभित्र बाटो बिराएका बटुवाजस्तै अलपत्र परेका छन् । किन ? माक्र्सवाद र लेनिनवाद पार्टीबाट झिक्दा उनीहरू सन् १९६० पछि अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन छिन–भिन्न भएपछिको– बेलायत, फ्रान्स, इटाली, जर्मनीका कम्युनिस्ट पार्टीहरूको हालतमा पुगे । राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका क्रान्तिकारी कम्युनिस्ट पार्टी, आन्दोलन र माक्र्सवादी–लेनिनवादी विचार बोकेका विभिन्न देशका समूहहरूमाझ लज्जित हुनबाट जोगिनुपर्ने स्थितिमा नेकपा (एमोल+माओवादी) छ ।
देशकै इमानदार, क्रान्तिकारी विचार बोकेका र परिवर्तनवादी बुद्धिजीवीहरू, पद र पैसाको लोभ नगर्ने सच्चा कार्यकर्ताहरू आफ्नै पार्टी नेतृत्व र सरकारको गतिविधि, सङ्गत र निर्णयहरू पञ्चायत–नेका–मधेसवादी दल तथा जातिवादी दलहरूकै स्तरमा झरेकोमा बिलखबन्दमा परेका छन् । ‘विशाल’ पार्टीको लोभमा आएका ‘बुज्रुुक’ नेता र कार्यकर्ताहरूलाई विद्रोह गरे पुनः वामदेवजस्तै फर्कनुपर्ने स्थिति छ । अरू पार्टीको विचार राम्रै भए पनि तिनको आत्मकेन्द्रित भावनाले झुक्न दिँदैन र तिनीहरूको अन्तिम बाटो – राजनीतिबाट सन्यास अर्थात् राजनैतिक आत्म–हत्या हुने निश्चित छ !
आत्मकेन्द्रित भावना समाज र पार्टीभन्दा आफूलाई ठूलो ठान्ने पुँजीवादी विचार हो । यदि कुनै नेता, कार्यकर्ता र बुद्धिजीवीले आफूलाई साँच्चै कम्युनिस्ट नै सम्झेको भए उसले आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा वा पुँजीवादी विचारलाई त्याग्नैपर्छ । त्यसो गर्न सकिएन भने मर्मत गरेर साध्य नहुने २–४ सय वर्ष पुरानो घरमै इच्छा नभए पनि डल्लिएर बस्नुपर्नेे बाध्यताजस्तै हुनेछ !
कम्युनिस्ट घोषणापत्रमा जार र जर्मनीको गुप्तचर प्रहरीको संयन्त्रबारे नाम किटेरै उल्लेख गरिएको छ । यसको अर्थ रुसी कम्युनिस्ट र जर्मनीका कम्युनिस्टहरूलाई जेलको यातना, कालापानीको निर्वासन, हत्या–हिंसा एवम् देश निकाला गरेर, आफ्ना र अन्य देशका कम्युनिस्ट समूहहरूमा समेत गुप्तचरहरू घुसाएर पार्टी नेतृत्व, वर्गीय सङ्गठन, प्रचार माध्यम तथा अनेक समूहमा समेत छद्म भेषमा काम गराउँथे र पार्टीलाई धुजाधुजा पार्ने अनेक कुटिल कार्यहरू गर्थे रुस र जर्मनीका शासकहरू । नेपाल र छिमेकी देशहरूका यस्ता विध्वंसात्मक गतिविधिबाट पार्टीहरू मुक्त छैनन् ।
नेपालको कम्युनिस्ट आन्दोलनका अनेक नेताहरूलाई आर्थिक सहयोग गर्ने र पञ्चायतको पक्षमा अनेक वैचारिक एवम् कूटनैतिकरूपमा सहयोग पु¥याउने एक हस्तिबारे अहिले पनि खुलिसकेको छैन । उनले बैङ्कर सहकारी संस्थामार्फत पनि सहयोग गर्दै कम्युनिस्ट आन्दोलनलाई अनेक कोणबाट छियाछिया पारेका छन् ।
सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा राजावादी, शान्तिवादी र उत्पादनका साधनहरूलाई निजीको हातमा छोडेर समाजवादलाई अगाडि बढाउने खालका सर्वहारा शासनसत्ताविरोधी विचार फैलाउने, कम्युनिस्ट लुगा लगाएर पुँजीवादी र विश्वासघाती तत्वहरू आए र समयक्रममा ती उदाङ्गिए । आफ्नो देशलाई जर्मनी, बेलायत, र जापानबीच भाग लगाउनेजस्ता देशद्रोहीहरूलाई पछि अदालतले सजाय दियो ।
यति हुँदाहुँदै पनि रुसी कम्युनिस्ट आन्दोलनमा घुसेका पुँजीवादी विचारका पक्षपाती, संशोधनवादी र विश्वासघातीको रूपमा खु्रश्चेभहरू उदाङ्गिए । ख्रुश्चेभहरू रुसको पार्टी र समाजवादबारे भन्थे, “सारा जनताको पार्टी र सारा जनताको व्यवस्था” । सन् १९९१ मा गोर्भाचोभले ‘पुनः संरचना’ र ‘पारदर्शिता’ को नाममा पार्टीलाई विघटन गरे, सोभियत सङ्घलाई १५ टुक्रामा विशृङ्खलित गरे र रुसमा पुँजीवादको पुनः स्थापना गराए ।
नेपालमा ‘जनताको बहुदलीय जनवाद’ को नाममा नेकपालाई एउटा पुँजीवादी पार्टीमा फेर्ने काम गरियो । भ्रष्टाचार, कालाबजारी, घूसखोरी, विदेशी पुँजीको दलाली, तस्करी आदिबाट देशलाई कुरूप बनाइयो । ‘सोभियत सङ्घलाई गल्र्याम्गुर्लुम् ढाल्ने अधिनायकत्वतिर कि माक्र्सवादी सिद्धान्तलाई निरन्तरता दिने जनताको बहुदलीय जनवादतिर ।’ (गोरखापत्र, ‘माक्र्सवाद र जबज’ ३ जेठ, २०७७) । जनवादको अर्थ समाजवाद नभई जनतन्त्र, प्रजातन्त्र, नोकरशाही र डेमोक्रेसी हो । यसबारे जनता भ्रममा पर्नुहुन्न । नेकपाले आफ्नो बाटो पहिल्याउन नपाउँदै ‘अब नेतृत्व हस्तान्तरण’ को अर्थ ‘वर्नस्टीन’ को ठाउँमा ख्रुश्चेभ र खु्रश्चेभको ठाउँमा गोर्भाचोभ ल्याउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *