गत अप्रिल १ का दिन संरा अमेरिकाको इन्डो प्यासिफिक कमान्डका प्रमुख एड्मिरल फिलिप डेभिडसनले अमेरिकी तल्लो सदन–कङ्ग्रेसमा संरा अमेरिकाको क्यालिफोर्नियादेखि जापानसम्म र तल्लो एसियाको प्यासिफिक (प्रशान्त) महासागरको वरपर बलियो सैनिक घेरा निर्माण गर्न तत्काल २० अर्ब डलर आवश्यक रहेको बताए । लाभको पुनप्र्राप्ति (Regain the Advantage) शीर्षकको उनको प्रस्तावमा स्पष्ट उल्लेख छ – “हामीले महाशक्ति प्रतियोगिता जित्नुपर्ने नवीन खतराको सामना गर्नुपरेको अवस्था छ… परम्परागत ढर्राको वैध र विश्वसनीय भिन्नताको अभावमै पनि चीन र रसियाले संरा अमेरिकी हितहरूमा अवरोध पुग्ने कार्यलाई बलियो बनाइरहेका छन् ।”
उक्त प्रतिवेदनको वास्तविक तारो चीन हो । जनवरी २०१९ मा संरा अमेरिकाका कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहनले अमेरिकी सेनालाई सम्बोधन गर्दै बोलेका थिए– “संरा अमेरिकाको समस्या भनेको चीन, चीन र चीनमात्र हो ।” अमेरिकी रक्षा विभागमा राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै मनोनितहरूको मुख्य ध्यान यही रहँदै आएको छ, चाहे त्यो शानाहन होस् या वर्तमान रक्षामन्त्री मार्क इस्पर होस् । इस्परले त चीनमाथि दोषारोपन नगरी बोल्नै जान्दैनन् । उनले हालै एक इटालियाली समाचारपत्र ला स्टाम्पालाई अन्तर्वार्ता दिने क्रममा चीनले कोरोना भाइरस सङ्कटलाई उपयोग गर्दै हुवावेइ र इटालीलाई सहयोगमार्फत आफू अगाडि बढिरहेको बताएका थिए । ट्रम्प र इस्पर चीन र केही कम मात्रामा रसियालाई शसस्त्र बलको आधारमा नियन्त्रणमा राख्नुपर्छ भन्ने धारणा राख्ने गर्छन् ।
क्षेप्यास्त्रको परिमाणात्मक भिन्नता ?
अर्कान्सास राज्यबाट प्रतिनिधित्व गर्ने अमेरिकी रिपब्लिकन सिनेटर टम कटन (Tom Cotton) चीनको सैनिक आधुनिकीकरण कार्यक्रमले चीनको पक्षमा क्षेप्यास्त्रको परिमाणात्मक भिन्नतालाई कम गरेको विचार राख्छन् । मार्च २०१८ मा कटनले अमेरिकी सेनाको प्यासिफिक कमान्ड (वर्तमान इन्डो प्यासिफिक कमान्ड) का तत्कालीन प्रमुख तथा दक्षिण कोरियाका लागि वर्तमान अमेरिकी राजदूत एड्मिरल ह्यारी ह्यारिससित चीनको क्षेप्यास्त्र (मिसाइल) को स्थितिबिारे प्रश्न गरेका थिए । त्यसपछि सिनेटको रक्षा समितिको बैठकमा भनेका थिए – चीनको स्थलमा आधारित ब्यालेस्टिक क्षेप्यास्त्रको आधारमा आज हामी चीनसित धेरै पछाडि परेका छौँ । चीनका ती क्षेप्यास्त्रले पश्चिमी प्रशान्तमा रहेका हाम्रा सैनिक आधार र जहाजहरूमाथि ठूलो खतरा उत्पन्न गरेको छ ।
एड्मिरल ह्यारिसले त्यतिबेलै सिनेटलाई त्यसको उपायको रूपमा संरा अमेरिकालाई रसियासित गरेको इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्सेज ट्रेटी (आईएनएफ) बाट निक्लन सुझाव दिएका थिए । पछि ट्रम्पले २०१९ को सुरुआतसँगै रसियाले उक्त सन्धिको परिपालना नगरेको आधारहीन आरोप लगाउँदै उक्त सन्धिबाट संरा अमेरिका फिर्ता भएको घोषणा गरे । रसियामाथि उक्त आरोप लगाइए तापनि त्यसको वास्तविक कारण भनेको अमेरिकी शासकहरूको चीनको क्षेप्यास्त्र विकाससितको डर नै हो । आईएनएफ सन्धिबाट फिर्ता भएको केही महिनापछि नै अगस्ट २०१९ मा मध्यम दूरीका क्षेप्यास्त्र परीक्षण गरेर संरा अमेरिकाले आईएनएफ सन्धिबाट आफू निक्लने उद्देश्य निकै अघिबाट नै राखेको सङ्केत ग¥यो ।
मार्च २०१९ मा सिनेटर कटनले संरा अमेरिकी युद्धास्त्र निर्माण कम्पनी– हेरिटेज फाउन्डेसनको भ्रमण गरी संरा अमेरिकाले मध्यम दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू निर्माण गर्न सुरु गर्नुपर्छ भने । स्पष्ट छ, ती नयाँ उत्पादित मध्यम दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू संरा अमेरिका नियन्त्रित प्रशान्त महासागरीय टापू गुआम र एसियास्थित अमेरिकाका मित्रहरूका भूमिमा तैनाथ गरिनेछन् । ती क्षेप्यास्त्रहरूले चीनको सुरक्षामा प्रत्यक्ष खतरा निम्त्याएका छन् । सिनेटको रक्षा समितिको बैठकमा सिनेटर कटनले उत्तेजक स्वभाव प्रदर्शन गर्दै भनेका थिए – बेइजिङले हजारौँ मिसाइलहरू बनाएर जम्मा गरिसकेको छ, उसले हाम्रा मित्र देशहरूलाई तारो बनाउन सक्छ, हाम्रा सैन्य आधार, हाम्रा जहाज र प्रशान्त क्षेत्रमा रहेका हाम्रा नागरिकहरूलाई पनि तारो बनाउन सक्छ । कटनजस्ता मानिसको स्वभाव नै तथ्त्न्दा बढाइचढाइ गरी कुरा गर्नु हो । तिनीहरू त्रासको खेतीलाई आफ्नो नीति निर्माणको बाटो बनाउँछन् । तथ्य सधैँ नै तिनीहरूका लागि असहज हुन्छ ।
संरा अमेरिकाले पहिले पनि क्षेप्यास्त्रहरूको परिमाणात्मक भिन्नताको अवधारणालाई प्रयोग गरेको छ । यही अवधारणा प्रचार गरेरै सन् १९५८ मा जोन एफ केन्नेडीले निर्वाचन प्रचार गरेका थिए । जबकि उनलाई राम्ररी थाहा थियो – तत्कालीन सोभियत सङ्घसित संरा अमेरिकासित भन्दा बढी परिमाणमा क्षेप्यास्त्र छ भन्नु झूट हो । त्यतिबेला र अहिले थोरैमात्र परिवर्तन भएको छ ।
संरा अमेरिकाले आईएनएफ सन्धि त्याग्नु केही महिनाअघि नोभेम्बर २०१८ मा एड्मिरल डेभिडसनले अमेरिकी सरकारको सल्लाहकार समूह (थिङ्क टयाङ्क) को बैठकमा ‘चीनको शक्ति’ शीर्षकमा एक प्रतिवेदन प्रस्तुत गरेका थिए । सन् २०१५ मै एड्मिरल डेभिडसनले भनेका थिए कि उनका पूर्ववर्ती ह्यारी ह्यारिसले जनगणतन्त्र चीन वरिपरिका तटीय टापुहरू ‘बालुवाका ग्रेटवालहरू’ हुन् भनी ठट्टा गरेका थिए जबकि ती टापुहरू ‘मिसाइलहरूको ग्रेटवाल’ बनिसकेका छन् । डेभिडसनले चीनले विकास गरेका जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रबारे उल्लेख गर्दै त्यसो भनेका थिए ।
सेनातिरबाट डेभिडसन र नागरिक वा राजनीतिक क्षेत्रबाट कटनले पटक – पटक क्षेप्यास्त्रको परिमाणात्मक भिन्नताको आधारमा सैन्यरूपमा चीन अगाडि बढिसकेको भनी झूटो धारणा निर्माण गरेका हुन्, त्यसमा कुनै मिहिन छानबिनको आवश्यकता छैन ।
विश्वमा संरा अमेरिकासित सबैभन्दा ठूलो सैन्य शक्ति छ । यही अप्रिलमा स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदनअनुसार संरा अमेरिकाको सैन्य बजेट प्रतिवर्ष ५.३ प्रतिशतले बढेको छ वार्षिक बजेट ७३२ अर्ब अमेरिकी डलर पुगेको छ । संरा अमेरिकाको एक वर्षमा बढेको बजेटमात्र पनि जर्मनीको एक वर्षको बजेटभन्दा बढी छ । यसैबीच चीनको सैन्य बजेट अघिल्लो वर्षको भन्दा ५.१ प्रतिशतले बढेर वार्षिक ३६१ अर्ब अमेरिकी डलर पुगेको छ । संरा अमेरिकासित ६१८५ पारमाणविक अस्त्र छन् भने चीनसित २९० वटामात्र पारमाणविक अस्त्र छन् । मात्र पाँच देश (संरा अमेरिका, रसिया, चीन, संयुक्त अधिराज्य – बेलायत र फ्रान्स) सित मात्र पृथ्वीका जुनसुकै देशमाथि पनि प्रहार गर्नसक्ने क्षेप्यास्त्र प्रणाली छन् ।

उत्तर (प्रजग) कोरियाले पनि अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ तर त्यसको अन्तर्राष्ट्रिय पुष्टि भएको छैन । यसरी अन्तरमहादेशीय अस्त्रको आधारमा होस् वा हवाई सेनाको आधारमा होस् चीन संरा अमेरिकाभन्दा सैन्यरूपमा अगाडि बढेको देखिँदैन ।
जानकारी भएका कुनै पनि सैन्य अस्त्र आविष्कारहरूले सैन्य भिडन्त भएको खण्डमा संरा अमेरिकाले चीनलगायत जो कसैविरुद्ध पनि सबैभन्दा ठूलो विध्वंस मच्चाउने क्षमता राख्दछ । तर, अहिले संरा अमेरिकाले के बुझ्यो भने जबसम्म त्यसले कुनै देशलाई ध्वस्तै हुनेगरी बम हान्न सकिँदैन, त्यसले सबै देशलाई आफ्नो मातहतमा राख्न सक्नेछैन ।
सेना फिर्ता हुनुपर्ने अवस्था
संरा अमेरिकी जलसेना अहिले तनाव र त्रास दुवैमा परेको अवस्था छ । प्रशान्त महासागर वरपर रहेका दुईवटा संरा अमेरिकी क्यारियर (युद्धक जहाज) हरू – यूएसएस रोनाल्ड रेगन र यूएसएस थियोडोर रुजवेल्ट अहिले समस्यामा परेका छन् । यूएसएस रोनाल्ड रेगन अहिले जापानमा छ, त्यसमा कैयौँ यान्त्रिक गडबडी भएका कारण त्यसको मर्मतसम्भार हुँदै छ भने यूएसएस रुजवेल्ट अहिले गुआममा छ । त्यसको चालक दल कोभिड–१९ को महामारीले ग्रस्त भएको छ । यसैबीच संरा अमेरिकाले लागूपदार्थविरुद्धको लडाइँका नाममा एउटा हवाई क्यारियर (युद्धक विमानहरू त्यसैबाट उडाउने र बिसाउने सुविधा भएको विशाल पानीजहाज) भेनेजुयलालाई तर्साउन क्यारिबियाली सागरमा पठाएको छ । यसरी विश्वका विभिन्न भागका देशहरूलाई धम्की दिनका लागि तैनाथ गर्नुपर्दा संरा अमेरिकालाई कुनै एकदेशविरुद्ध सर्वोच्च सैन्य शक्ति बन्नमा केन्द्रित हुन कठिनाइ भइरहेको छ ।
इरान र चीनले विकास गरेका आणविक अस्त्र र क्षेप्यास्त्रहरूले संरा अमेरिकालाई कतारस्थित अल उदेइड हवाई आधार र गुआमस्थित एन्डर्सन एयर फोर्स हवाई आधारमा रहेका युद्धक विमानहरू संरा अमेरिकी भूमिमै फिर्ता लान बाध्य पारेको छ । यी बमवर्षक विमानहरू अहिले नर्थ डाकोटास्थित मिनोट एयर फोर्स आधार र लुइसियानास्थित बार्कस्डाले एयर फोर्स आधारमा छन् । संरा अमेरिकी हवाई सेनाको आक्रमण कमान्डका जनरल टिमोथी रेले संरा अमेरिकासित ठूलो लचकताको क्षमता छ भन्दै सेना फिर्ताको साहसिक निर्णय गरेका थिए । ती बमवर्षक विमानहरू कतार र गुआम छोड्नुको वास्तविक कारण संरा अमेरिकी सेनाले ती हवाई आधारहरू ध्वस्त हुने खतरा देखेर नै हो ।
हुन त न चीन न इरानसित सैन्य भिडन्तमा संरा अमेरिकालाई पराजित गर्ने क्षमता छ । तर, दुवै देशसित आफ्नो सीमा क्षेत्रका संरा अमेरिकी रणनीतिक महत्वका सैन्य आधारहरू र संरा अमेरिकी मित्रहरूलाई ध्वस्त पार्ने क्षमता छ । ती क्षमताले नै ती देशहरूलाई पूर्णतयाः आफ्नो बुटमुनि राख्ने संरा अमेरिकाको लक्ष्यमा बाधा हालिरहेको छ । चीन र इरानले विकास गरेका स्थानीय शक्तिहरूकै कारण संरा अमेरिका युद्ध टारेर पछि हट्न बाध्य भएको हो ।
लाभको पुनप्र्राप्ति
एड्मिरल डेभिडसनको अप्रिल प्रतिवेदनमा अग्रगामी आधारहरू, रोटेसन हुने संयुक्त सेना निर्माण र परिचालनले ती देशलाई सुरक्षा प्रदान गर्ने संरा अमेरिकाको प्रतिबद्धता कायमै रहेको प्रदर्शन गर्ने र सम्भावित शत्रुहरूलाई पराजित गर्ने सबैभन्दा विश्वसनीय मार्ग भएकोमा जोड दिइएको छ । इन्डो प्यासिफिक कमान्डको अर्थ एउटा निश्चित आधार शिविरभन्दा पनि संरा अमेरिकी हवाई सेनाको आक्रमण क्षमता अभिवृद्धि हो । संरा अमेरिकाका बमवर्षक विमानहरूले इन्डो प्यासिफिक सञ्जालमा आबद्ध देश (जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, अस्ट्रेलिया, भारत आदि) का भूमिमा रहेका हवाई आधारबाट उडेर त्यस क्षेत्रका लक्ष्य (चीन, उत्तर कोरिया, इरान आदि) भेदन गर्नेछन् । उनले त्यसो गर्दा अमेरिकी बमवर्षक विमानहरू बढी सुरक्षित हुने सुझाव दिएका छन् । भविष्यमा यसरी चीनमाथि निरन्तर धम्की बनिरहनेछ तर चीनका क्षेप्यास्त्रले अमेरिकी सम्पत्ति (बमवर्षक विमान, हवाई सेना र युद्धपोतहरू) लाई लक्ष्य बनाउन भने कठिनाइ हुनेछ ।
डेभिडसनको प्रतिवेदनले आफैमा अचम्मको विज्ञान कथाको गुण समाविष्ट गरेको छ । त्यसमा प्यासिफिक क्षेत्रको चारैतिर अत्यन्त उच्चस्तरको आफू सुरक्षित रहेर पूर्वनिर्धारित आक्रमण गर्ने सञ्जाल सिर्जनाको आकाङ्क्षा छ । प्रशान्त क्षेत्रका पलाउ, हवाई टापुहरू तथा अन्तरिक्षमा समेत विभिन्न प्रकारका क्षेप्यास्त्रहरू तैनाथ गर्ने योजना समेटिएको छ । उनले पहिल्यै अत्यन्त शक्तिशाली बनिसकेको सेनालाई अझै विकास गर्न ठूलो परिमाणको रकम माग गरेका छन् ।
त्यतिमात्र होइन संरा अमेरिकी सेना अन्तरिक्षमा प्रहार गर्ने अस्त्र, स्वचालित अस्त्रहरू, अस्त्र बोक्ने अत्यधिक क्षमता र गतिका यानहरू, अत्याधुनिक क्षेप्यास्त्रहरू र आक्रामक साइबर अस्त्रहरू निर्माण गर्न कटिबद्ध छ, यी सबैको अर्थ ऊ आफ्ना सबै प्रतिस्पर्धीहरूका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू असफल बनाउन र आफू सर्वशक्तिमान बनिरहन चाहन्छ । यस्ता कदमले विश्वमा अस्त्र विकासको नयाँ दौड सुरु हुनेछ, त्यो अत्यन्त महङ्गो हुनेछ र त्यसले विश्व व्यवस्थालाई झनै अस्थिर बनाउनेछ ।
संरा अमेरिकाले एकपक्षीयरूपमा चीनलाई घेराबन्दी गर्दै चीन खतरा रहेको मिथक प्रचार गरिरहेको छ । संरा अमेरिकाले सिर्जना गरेको स्थितिकै कारण चीनभित्रै पनि चीन–संरा अमेरिका युद्धको मनस्थिति विकास हुँदै छ । तरैपनि चीनको नरम जनमतले चिनियाँ सरकारसित संरा अमेरिकासित अस्त्रशस्त्रको होडमा नलाग्न आग्रह गरिरहेको छ । निश्चय पनि चीनमाथिको संरा अमेरिकी धम्की यथार्थ र विश्वसनीय हो एवम् प्रतिकारको आकाङ्क्षा त्यहाँ निर्माण हुँदै छ । बलियो विश्व शान्ति आन्दोलनको अनुपस्थितिले संरा अमेरिकाले यस ग्रहमा सिर्जना गरेको अशान्तिको खतराहरूमाथि गम्भीर चासो राख्नेहरू कम भएका छन् । त्यस्ता शान्ति आन्दोलनको आवश्यकता झन् – झन् बढ्दै गएको छ ।
(The U.S. Military is hell-bent on trying to overpower China)
MRonline, May 13, 2020
अनुवाद ः प्रकाश

 विजय प्रसाद image
विजय प्रसाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *