हिजोको कुरा हो । टीभीको स्क्रिनमा ठुलो अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीन उद्घोषकको आक्रमण, जो हरेक दिन एबीपि न्यूजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनीषा कोइरालाको ट्वीट, जसमा उनले लेखेकी थिइन्, “हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकोमा धन्यवाद । तीन महान् देशबीच हामी शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गछौँ ।” केवल यति नै । अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानमा यो टिप्पणी गरेकी हुन् । उद्घोषक विकास भदौरिया भन्छन्, “कसरी भारतमा बसेर मनीषाले अथाह पैसा र प्रसिद्धि कमाइन् । तर, आज उनी भारतविरुद्ध चीनको साथ उभिएकी छन् । खडा भएकी छन् ।”

            भदौरियाले भने, ‘भारतको खान्छौ र चीनको गीत गाउँछौ ?’ यी समाचार च्यानलको बौद्धिक कङ्गाललता देखेर हैरान हुन्छ ।

            के अब कुनै पढे लेखेका सम्पादकजस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन ? के भीडले नै अब सबै तयार गर्दै छ कि के प्रसारण गर्ने, के नगर्ने ? या हरेक च्यानलमा जो गनिएका पढेलेखेका व्यक्ति छन्, उनीहरू चुप रहन अभिशप्त छन् ? यी सवालको जवाफ मेरा एक युवा पत्रकार मित्रले बताए कि वास्तवमा मोदी सरकारमा आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘राष्ट्रद्रोही’ वाला जुन एउटा ‘लार्जर न्यारेटिभ’ बन्यो, त्यसमा हरेक समाचारलाई फिट गरेको परिणाम यो हो ।

            खबरलाई यसरी प्रसारण गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ भन्ने एउटा मापदण्ड बनेको छ । जसलाई सत्यतथ्यमा रहेर साँच्चैको पत्रकारिता गर्नुछ, उनीहरूले यस्ता च्यानलबाहेक अन्यत्र कतै कुरा राखून् । दिउँसो हुँदै गर्दा यो समाचारले बहसको रूप लिने तयारी गर्दै थियो, जो आमरूपमा च्यानलको चलन भइसकेको छ । अब खबर भन्ने बागडोर च्यानलका सबैभन्दा समझदार र अनुभवी समाचार प्रस्तोता रोमाना ईसार खानको थियो, तर रोमानाले त्यसै गरिन् जुन बिहान देखिएको थियो । रोमानालाई पनि मनीषा कोइरालालाई भारतले सबै दियो तर आज उनी चीनको पक्षमा उभिएको जस्तो लागिरहेको थियो ।

            एउटा समझदार समाचार प्रस्तोता कसरी सत्ताको दबाबमा जान–अञ्जानमा मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने शानदार उदाहरण हुन् रोमाना । रोमानाको प्रश्न थियो कि – ‘यस्तो के भयो कि ७० वर्षमा पहिलो पटक नेपालले भारतसँग आँखा जुधाउने कोसिस किन गरिरहेको छ ? यो वाक्य कुनै पत्रकारको नभएर सानो छिमेकी देशको सम्प्रभुतामाथि औँला उठाइरहेका शासक वर्गका कुनै सदस्यको हुनसक्छ । यस कार्यक्रममा दुई विशेषज्ञ थिए– भाजपाका प्रेमशङ्कर शुक्ला र सेनाका अवकाश प्राप्त मेजर जनरल जी.डी. बख्शी । दुवैलाई नक्साबारे पूरा मामला के हो भन्नेबारेमा थाहा नै थिएन । तर, चीन र पाकिस्तानविरुद्ध त विनाकुनै तयारी, कुनै पनि समयमा बोल्न सकिन्छ । दुवैले चीनको षड्यन्त्रबारे प्रकाश पारे र जनरल बख्शीले यो कुराका लागि अघिल्लो सरकारलाई दोष दिए । उनले भने, “अघिल्लो सरकारले जेएनयूबाट वामपन्थी पठाएर नेपालमा माओवादीलाई बलियो बनाउँदाको परिणाम आज भारतले भोग्नुपरेको छ ।”

            उनले ‘यस ग्रहको एकमात्र हिन्दू राष्ट्रलाई बचाउन गुहार लगाउँदै आफ्नो बौद्धिकतालाई खुलासा गरे । अर्का विद्वान प्रेमशङ्कर शुक्लाले नेपालका माओवादी नेता प्रचण्डलाई भारतले जेएनयूमा पढाएको र पालनपोषण गरेको बताए । प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन । बाबुराम भट्टराईले जेएनयूबाट विद्यावारिधि गरेका थिए । समाचार प्रस्तोता रोमानालाई यिनीहरूलाई लामो समयसम्म स्क्रिनमा राख्नु ठीक छैन भन्ने लागिसकेको थियो । त्यसैले ‘तपाईंहरूको आरोपको जवाफ दिन यहाँ काङ्ग्रेसका कोही छैनन्’ भन्दै बहस समापन गरिन् ।

            कुनै पनि च्यानलमा तर्कपूर्ण ढङ्गले कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दवै देशबाट कमजोरी कहाँ भयो र अवस्था यति तनावपूर्ण बन्यो भन्नेबारे बहस देख्न पाइएन । किन समय छँदै वार्ताद्वारा यसको कुनै हल खोज्न सकिएन ? नेपालका दुई मात्र छिमेकी छन् – भारत र चीन । भारतसँग जबरजस्ती सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता हुनुका साथै नेपाल आज किन चीनसँग नजिक देखिएको छ ? के कसैले यसबारेमा कसैले चर्चा गरियो  ? चीनको इसारामा नेपालले नयाँ नक्सा तयार गरेको तर्क गर्नु घटनाको वास्तविकतामा नगएर अन्यत्र मोडिनु हो ।

            कालापानीमाथि भारतले र लिपुलेकमा चीनले उसलाई डसेको छ । यसलाई सम्झ शासक र उनका ‘पिट्‍ठु पत्रकार’ सानो राष्ट्र, सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊ । सम्प्रभुता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट निर्धारण हुँदैन । जबसम्म यसलाई सम्झँदैनौँ, छिमेकीको घृणा पाइनै रहनेछौँ र यी सबैका लागि कहिले चीनमाथि त कहिले पाकिस्तानविरुद्ध नाङ्लो ठटाइरहेका हुनेछौँ ।

(भारतका वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले नेपालले चीनको इसारामा नक्सा जारी गरेको भन्ने भारतीय सञ्चारमाध्यममा भएका प्रचारबाजीबारे जनपथडटकममा व्यक्त गरेको प्रतिक्रियाको नेपाली अनुवाद)

आनन्द स्वरुप बर्मा image
आनन्द स्वरुप बर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *