भर्खरै :

अमेरिका किन जल्दै छ ?

‘बाइसिकल थिब्स’ बढ्दै !
आजभन्दा ७२ वर्षअगाडि सन् १९४८ मा बनेको इटालियाली चलचित्र ‘बाइसिकल थिब्स’ को प्रसङ्गबाट आलेख सुरु गरौँ । दोस्रो विश्वयुद्ध पछाडिको गरिबी, बेरोजगारी, अभाव, आर्थिक असमानता र उत्पीडनबाट आक्रान्त विश्वको चित्र हो, ‘बाइसिकल थिब्स’ । रोमको एक गरिब परिवारको प्रतिनिधि पात्र एन्टोनियो पेट पाल्न कामको खोजीमा हुन्छन् । मुस्किलले उनले एउटा काम पाउँछन् – चलचित्रका पोस्टर टाँस्ने । कामको निम्ति एउटा साइकल नभइ हुन्नथ्यो । एन्टोनियो आफ्नी श्रीमतीसँग समस्या राख्छन् । श्रीमतीले लत्ताकपडासमेत धितो राखी श्रीमान्लाई साइकल दिलाउँछिन् । काममा हिँडेको पहिलो दिन नै एन्टोनियोको साइकल चोरी हुन्छ । उनी साइकल लिएर भाग्ने चोरलाई भेट्टाउन सक्दैनन् । त्यसपछि साइकलको खोजीको यात्रा सुरु हुन्छ । आफ्नो साइकलको खोजीको निम्ति एन्टोनियो प्रहरीसमक्ष जान्छन्, प्रहरी लाचारी प्रकट गर्छ । उल्टो, प्रहरी एन्टोनियोलाई ‘चोरी बजार’ तिर हराएको साइकल खोज्न भन्छ । एकदिन साइकल चोर भेटिन्छ तर प्रमाण नभएको भन्दै प्रहरी कारबाही गर्न मान्दैन । एन्टोनियो आफ्नो बालक छोरा ब्रुनोसँगै साइकलको खोजीमा लागिरहन्छन् । एकदिन बाटोमा राखिएको एउटा राम्रो साइकलमा एन्टोनियोको आँखा लाग्छ । साइकल चोरी गर्ने खराब भावना उनमा पनि पलाउँछ । साइकल चढेर भाग्दै गर्दा भीडले पक्राउ गरी एन्टोनियोलाई कुटपिटसमेत गर्छन् । एन्टोनियोका छोरा ब्रुनोको आँसु देखेर साइकल धनीको मन पग्लिन्छ । एन्टोनियोले छुट्कारा पाउँछन्, ब्रुनोले बुबाको हात समात्छ, एन्टोनियोको आँखाबाट बलिन्द्र अश्रुधारा छुट्छ । चलचित्र सकिन्छ । ‘बाइसिकल थिब्स’ ले दोस्रो विश्वयुद्धपछिको गरिबी र नैतिक अवमूल्यन् दर्शाएको छ ।
सन् १९३९ देखि १९४५ सम्म भएको द्वितीय विश्वयुद्धमा ७५ लाख मानिस मारिए । युद्धले युरोपसमेत नराम्ररी प्रभावित भएको ‘बाइसिकल थिब्स’ ले देखाएको छ । सन् २०१९ का अन्तिम दिनहरूमा देखिन थालेको कोरोना भाइरसविरुद्धको ‘विश्वयुद्ध’ का ५ महिनामा करिब ७१ लाख मानिस कोरोना सङ्क्रमित भए भने ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोभिड –१९ को महामारीपछि पुँजीवादी विश्वमा बेरोजगारी उत्तिकै बढेको छ, रोगबाट भन्दा भोकबाट थप मर्ने सम्भावना छ । विभिन्न देशमा आत्महत्याका घटना बढेका छन् । अभावमा चोरिलगायतका अपराध बढ्दै छ । हालै संरा अमेरिकामा भएका लुटमारका घटनालाई यही नजरमा हेरिनु उपयुक्त हुन्छ । ‘बाइसिकल थिब्स’ को कथा दोहोरिरहेको छ ।
राज्यको पूर्वाग्रही दृष्टिकोण
१४ औँ शताब्दीमा प्लेगको महामारीबाट ४ वर्षमा करिब २० करोड मानिसको मृत्यु भयो । त्यतिबेला मानिसलाई रोगको कारण के भन्ने पनि थाहा थिएन । तर, कोरोना भाइरस पत्ता लागेको दुई हप्तामा त्यसको जिनको सिक्वन्सिङ भयो । कोरोना भाइरसको जिनको संरचना पत्ता लागेपछि रोगको उपचार वा भ्याक्सिन पत्ता लगाउन सहयोग मिल्छ । तर, कारोना भाइरसको भ्याक्सिन वा औषधी पत्ता लगाइहालियो भने के गरिबले उपचार पाउलान् ? यसको उत्तर नकारात्मक नै हुनेछ । महँगो औषधी वा भ्याक्सिनले मानिस थप शोषणको सिकार हुनेछ । विश्व स्वास्थ्य सङ्गठनबाट संरा अमेरिकाले अलग्गिन चाहनुको पछाडि कोरोनाको भ्याक्सिन बेचेर संसारलाई लुट्ने दाउ नै हो ।

डा. एलिजाबेथ रोजेन्थलले एउटा पुस्तक लेखेकी छन्, ‘अमेरिकन सिकनेस्’ अर्थात् ‘अमेरिकी रोग’ । अमेरिकाले कुल गार्हस्थ उत्पादनको १८ प्रतिशत अर्थात् ३ खर्ब डलर सार्वजनिक स्वास्थ्यमा खर्च गरेर पनि त्यसको आधा खर्च गर्ने विकसित देशको भन्दा अमेरिकाको स्वास्थ्य परिणाम कमजोर किन भयो भन्ने उत्तर त्यस पुस्तकले दिन्छ । अमेरिकामा घाउमा एउटा टाँका लगाउन पनि किन ५ हजार डलर पर्छ ? एउटा पिल्स किन्न ५५ डलर किन पर्छ ? यी सबै स्वास्थ्यसेवा नभइ स्वास्थ्य उद्योग हुनुकै परिणाम हुन् । अमेरिकी पुँजीपतिवर्ग यसैमा खुसी छ । 

कोरोना भाइरसविरुद्धको युद्धमा संरा अमेरिका हार्दै छ । २० लाखभन्दा बढी अमेरिकी सङ्क्रमित भइसके, १ लाख १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ (८ जून २०२०) । यसैबीच अमेरिकी सत्ताले कमजोर समुदायमाथि थोपरेको विभेदविरुद्ध विश्वभरि आन्दोलनको आँधी चलेको छ । अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडलाई सार्वजनिक ठाउँमै एक श्वेत प्रहरीले घाँटी थिचेर नृशंसतापूर्वक हत्या गरेपछि कैयौँ वर्षदेखि भित्रभित्रै सल्किरहेको भुसको आगोझैँ दबिएर रहेका जनताको सङ्घर्षले विष्फोटक रूप लिएको छ । जसरी एक झिल्को आगोले सारा वनमा डढेलो लगाउँछ, त्यसरी नै विश्वभर जातिवाद तथा शोषणविरोधी सङ्घर्ष अगाडि बढिरहेको छ । दासको रूपमा अफ्रिकाबाट ल्याइएका कालाजातिका अमेरिकीमाथि शताब्दीऔँदेखि अमानवीय शोषण भइरहेको छ । आम्दानीमा असमानता, बेरोजगारी, बसोबासको अभाव, स्वास्थ्यउपचारको अभाव, राजनीतिक प्रतिनिधित्वविहीनता आदि मापदण्डको आधारमा अमेरिकी कालाजाति संस्थागत जातिवादको सिकार भएको प्रमाणित हुन्छ । अमेरिकी सत्ताले कालाजातिका अमेरिकीलाई अपराधीको रूपमा हेर्ने पूर्वाग्रह राख्ने गरेको छ तर पछिल्लो तथ्याङ्अनुसार पक्राउमा पर्ने प्रहरीमध्ये ४९ प्रतिशत गोरा र २४ प्रतिशत कालाजाति रहेका छन् । पक्राउ परेका कालाजातिका अभियुक्तमध्ये ४७ प्रतिशत निर्दोष ठहरिएका छन् । राज्यको पूर्वाग्रही दृष्टिकोण यसबाट पुष्टि हुन्छ ।
निराश युवा ः भुसको आगो
के संरा अमेरिकाभर हालै फैलिएको आन्दोलनको आँधीको कारण एउटा अश्वेत मानिसको मृत्युमात्र हो ? वास्तविकता त्यतिमात्र होइन । पछिल्ला २–३ महिनालाई मात्र फर्केर हेर्दा संरा अमेरिकी नागरिकबीचमा निराशा अत्यधिक बढेको छ । कोरोना भाइरस महामारीको सुरुआति महिनामै अमेरिकी अर्थतन्त्र तासको घरजस्तै भत्किँदा अमेरिकी जनतामा असन्तोषको मात्रा पनि ह्वात्तै बढ्यो ।
अमेरिकी नागरिकलाई बच्चाकालदेखि मर्नेबेलासम्म पनि आफू सबभन्दा शक्तिशाली भएको भ्रम दिइन्छ, अमेरिकालाई अवसरको भूमि (ल्यान्ड अफ अपरच्युनिटी) भन्ने सिकाइन्छ, त्यहाँ क्षमता भए जो पनि माथिल्लो तहसम्म पुग्नसक्छ भन्ने प्रचार गरिन्छ । मानिसमा संसारमा सबभन्दा सुरक्षित, समृद्ध र सफल देश भएको घमण्ड थोपरिन्छ । तर, कोरोना भाइरसको कारण केही महिनामा १ लाखभन्दा बढी मानिसको मृत्यु हुँदा अमेरिकी नागरिकहरू सपनाबाट बिउँझिएका जस्ता भए । अमेरिकी नागरिकहरूलाई आफूलाई गलत इतिहास पढाइएको रहेछ भन्ने लाग्न थाल्यो । दुई महिनाभित्र ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका १० प्रतिशत नागरिक बेरोजगार भए । भेन्टिलेटर नपाएर मानिस मरिरहेका छन् । पर्याप्त मास्क पनि पाएका छैनन् । महामारीबाट गरिब अमेरिकीहरू नै बढी सिकार भएका छन् ।
अर्कोतिर, अमेरिकी राष्ट्रपति ट्रम्पका अभिव्यक्तिले आन्दोलनको आगोमा घिउ थप्ने काम ग¥यो । ट्रम्पका ‘ह्वेन लुटिङ स्टार्टस्, सुटिङ स्टार्टस्’ अर्थात् ‘जब लुटपाट सुरु हुन्छ, गोली चल्न थाल्छ’ भन्नेजस्ता भनाइले युवा समुदायलाई उत्तेजित बनायो । सेना परिचालन गर्ने ट्रम्पको धम्की पनि आयो । त्यसपछि, एक प्रहरी अफिसरले ट्रम्पलाई ‘रचनात्मक सुझाव दिन सकिन्न भने चूप लाग्न’ ‘अनुरोध’ गरे । (नेपालमा प्रहरीले यसो भने भने तत्काल कार्बाहीको भागी हुनुपर्ने कुरा छुट्टै हो । अमेरिकामा प्रहरीका यस्ता कुराले उसको नोकरी जाँदैन ।)
राजनीतिक प्रणाली नै दोषी
के कुनै कालाजातिको मानिसलाई शासन सत्तामा ल्याएपछि जातिवाद समाप्त हुन्छ ? यदि त्यसो हुन्थ्यो भने अश्वेत ओबामा अमेरिकाको राष्ट्रपति बने । कालाजातिका व्यक्ति राष्ट्रपति हुँदा पनि अश्वेतमाथिको अत्याचारमा कमी नआएको तथ्य उनकै १० वर्षको कार्यकालले देखायो । उल्टो ओबामा कार्यकालमै श्वेत जातिवादले बढोत्तरी पायो । अहिले ओबामाले ‘म हुँदा पनि कालालाई न्याय दिलाउन सकिनँ, हिंसा रोक्न सकिनँ’ भनी गोहीको आँसु चुहाउनुको अर्थ के ? फेरि ढाँट र थप छलछामको राजनीति ¤ सुरक्षा निकायमा पनि कालाजातिका नपुगेका होइनन् । रिपब्लिकन पार्टीका कोलिन पावेल विदेशमन्त्री भएकै हुन् । एक समय अमेरिकाका महान्यायाधिवक्ता पनि अश्वेत नै थिए ।
चालु आन्दोलनमा अश्वेतको सङ्ख्या सानो छैन । आन्दोलनमा हिस्प्यानिक पनि छन् । धेरै श्वेत र अश्वेत एकताबद्ध छन् । दुई वर्गमा छुट्टिएको समाजमा विभाजन स्पष्टतः बिचारसँग हुनु अस्वाभाविक होइन । कामदार वर्गीय दृष्टिकोणमा श्वेत र अश्वेत एकै ठाउँमा हुनु पनि उत्तिकै स्वाभाविक छ । अमेरिकाको चालू आन्दोलन आधारभूतरूपमा वर्गीय भएर पनि आन्दोलनले सङ्गठित रूप लिन सकेको देखिन्न । हुनेखाने र गरिखाने बीचको विशाल पर्खालले ल्याएका सामाजिक विकृति उदाङ्गो त भयो तर कामदार वर्गीय आन्दोलनको निम्ति चाहिने शक्तिशाली क्रान्तिकारी राजनीतिक पार्टीको उदय हुन अझै बाँकी देखिन्छ ।
अमेरिकमा मुख्यतः दुई पार्टी छन्, डेमोक्र्याटिक र रिपब्लिकन । अमेरिकी विद्वान नोम चोम्स्कीको शब्दमा खास ती एउटै हुन्, त्यसको नाम हो, कर्पोरेट पार्टी । एकै कर्पोरेट पार्टीका दुई संस्थान नै डेमोक्रेटिक र रिपब्लिकन हुन् । ओबामा होस् वा ट्रम्प, अमेरिकी पुँजीपतिवर्गको निम्ति खासै फरक पर्दैन ।
अमेरिकी जनता कोरोनाको कहरमा पिल्सिँदै र राहतको रकमबाट मुश्किलले गुजारा चलाइरहेको बेला अमेजन कम्पनी मालिक भने अर्बपतिबाट खर्बपति भएका छन् । अमेरिकामा सबैभन्दा बढी कमाउधन्दा स्वास्थ्य बीमा भइरहेको छ । औषधी कम्पनी तथा बीमा कम्पनी रातारात धनी भइरहेका छन् । अमेरिकामा चिकित्सा सेवा होइन, चिकित्सा उद्योग हुन्छ । सामान्य जनता उपचार खर्च व्यहोर्न सक्दैनन् । ‘अमेरिका जानू, रोगी नहुनू’ भन्ने नेपाली भनाइ सुन्नेको निम्ति यो नौलो कुरा होइन । दाँतको उपचार गर्न अमेरिका – नेपाल आउजाउ गर्ने नेपाली धेरै छन् । उपचार खर्चले आउनेजाने खर्च नै पुग्छ भनिन्छ ।
डा. एलिजाबेथ रोजेन्थलले एउटा पुस्तक लेखेकी छन्, ‘अमेरिकन सिकनेस्’ अर्थात् ‘अमेरिकी रोग’ । अमेरिकाले कुल गार्हस्थ उत्पादनको १८ प्रतिशत अर्थात् ३ खर्ब डलर सार्वजनिक स्वास्थ्यमा खर्च गरेर पनि त्यसको आधा खर्च गर्ने विकसित देशको भन्दा अमेरिकाको स्वास्थ्य परिणाम कमजोर किन भयो भन्ने उत्तर त्यस पुस्तकले दिन्छ । अमेरिकामा घाउमा एउटा टाँका लगाउन पनि किन ५ हजार डलर पर्छ ? एउटा पिल्स किन्न ५५ डलर किन पर्छ ? यी सबै स्वास्थ्यसेवा नभइ स्वास्थ्य उद्योग हुनुकै परिणाम हुन् । अमेरिकी पुँजीपतिवर्ग यसैमा खुसी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *