प्रदेश आम्दानीको स्रोत र आत्मनिर्भरताको प्रश्न जहाँको तहीँ
- श्रावण १३, २०८३
संसारका धेरै प्रकाशन हाल बन्द छन् । कसैले अनलाइन पोर्टल चलाइरहेका छन् । कतिपय अनलाइन ठप्प छन् । यसबीच विद्युतीय र छापा माध्यमका हाम्रो प्रकाशनले निरन्तरता पाइरहेका छ । हाम्रा प्रकाशनहरूको लेखन, सम्पादन, प्रकाशन, वितरण र अध्ययनमा लागिरहनुभएका सबैका लागि यो खुसीको कुरा हो । हाम्रा प्रकाशनहरूको एउटा प्याकेट कोठासम्म आइपुगेको छ । यहाँ यिनै प्रकाशनबारे चर्चा गरिनेछ ।
मजदुर–किसान
बिहान साढे नौ बजेतिर पहेँलो प्याकेट हात प¥यो । साँझसम्म मजदुर–किसानको अङ्क पढेर सकियो । यस अङ्कबारे धेरै चर्चा–परिचर्चा आइसकेको हुनाले श्रमिक साप्ताहिकमा छापिएका जमिला र नम्रता श्रेष्ठका परिचय र समीक्षामा समर्थन जनाउँदै आफ्ना एकाध बुझाइ प्रस्तुत गर्ने प्रयास गर्छु ।
यस अङ्कको सबैभन्दा लामो लेख हो – कार्ल माक्र्सको ‘पुँजी’ को सान्दर्भिकता । लेखको स्रोत खुलाइए पनि लेखक खुलाइएको छैन । कुरा यहीँबाट थालौँ । ‘पुँजी’ को नेपाली अनुवाद छापिएपछि कामरेड रोहितले ‘नेपालीमा बल्ल त पुँजी छापियो’ भन्नुभएको अझै पनि सम्झना छ । ‘पुँजी’ को प्रकाशनपछि जर्मनीका मजदुरहरूबीच भएका छलफल र यसको रुसी अनुवाद निस्केपछि रुसका बौद्धिकहरूमाझ ‘पुँजी’ का विषयमा भएका अन्तरक्रियाको झल्को दिने खालका गतिविधि नेपालमा कमै भएका छन् । यसको अध्ययनले लाभान्वित हुनेहरूको सङ्ख्या बढिरहेको छ । ‘पुँजी’ का तीन खण्डमा निहित विषयवस्तुको एकसरो जानकारी, अर्थशास्त्रलाई एक सशक्त विज्ञान बनाउनमा ‘पुँजी’ को योगदान, ‘पुँजी’ ले पुँजीपतिहरूबाट झेल्नुपरेका तीतापीरा र ‘पुँजी’ मा व्यक्त विचारलाई गञ्जागोल बनाई त्यसको वैज्ञानिक सटिकतालाई धुलिसात पार्ने अहिलेसम्मका कुचेष्टाहरू गरी मोटामोटी चार विषयमा लेखमा सविस्तार चर्चा गरिएको छ । लेखको लम्बाइ बढ्ने हुनाले यहाँ मन हुँदाहुँदै पनि मूल्यवान उद्धरणहरू दिन सकिएन । यो लेख पढेर ‘पुँजी’ पढ्ने लालसा जागेन वा कम्तीमा आफ्नो जीवन र समाजबारे चिन्तन गर्न प्रेरित भइएन भने पाठकले लेख बुझेन भन्ने अर्थ लाग्छ । किनभने, यसमा ‘पुँजी’ मा उल्लिखित कैयन रोचक र रसिला विचार र प्रसङ्गहरू दिइएका छन् । टिप्पणीहरू निकै सघाउ छन् । अनुवादकले धेरै मिहिनेत गर्नुभएको छ । तैपनि, कताकति एकरूपताको समस्या देखिन्छ । जस्तो, नेपालीमा माल वा वस्तुको ‘प्रयोग मूल्य’, एलियनेसनलाई ‘अलग्याइ’ त्यति लेखिँदैन । यसको साटो उपभोग÷उपयोग मूल्य, अलगाव÷विमुखता लेख्ने प्रचलन छ । ‘अलगाव’ ले पाठ्यपुस्तकमा स्थान पाएको छ भने हाम्रै प्रकाशन ‘द एकेडेमी’ मा ‘विमुखता’ लेखिएको छ जुन राम्रै सुनिन्छ । यो लेख बुझ्न सामान्य पँुजीवादी अर्थशास्त्रको जानकारी पनि आवश्यक हुन्छ । अर्को, अनुवादक वा सम्पादकले नेपालको आर्थिक इतिहासको यसैगरी अध्ययन गर्नुपर्ने आवश्यकता देख्नुभएको कुरा लेखको बीचमा आउने टिपोटले प्रस्ट पार्छ । आगामी अङ्कहरूमा यस दिशामा लेख–रचनाहरू आउने आशा गर्न सकिन्छ ।
यसपछिको लामो लेख हो – अध्यक्ष माओ त्सेतुङका दार्शनिक रचना ः एक छलफल र सँगै जोडिएको ‘उदारतावादको विरोध गर’ । लेख पढ्दै जाँदा बसन्तीले माओका दार्शनिक रचनाहरूको रस बुझेझैँ लाग्छ । उहाँले ती रचनाका सन्दर्भहरूलाई चीनको इतिहास र नेपाली राजनीतिसँग जोडेर पाठक र खासगरी कार्यकर्तालाई वर्तमान स्थिति बुझाउने र यसबाट कसरी पार पाउने भनी प्रकाश पार्नुभएको छ । सरल शैलीमा माक्र्सवादी दर्शनको छोटो चिनारी प्रस्तुत गर्नुभएको छ । जुनसुकै देशको मुहार फेर्न प्रशस्त सङ्ख्यामा अनुशासित राजनीतिक कार्यकर्ता नभई हुँदैन र जहाँ यस्तो अभियान थालिन्छ त्यहाँ क्रान्तिको सफलताको लागि ‘उदारतावादको विरोध गर’ को अध्ययन र परिपालन गरिनेछ किनभने उदारतावादको विरोध आडम्बरको विरोध हो ।
अर्को समीक्षात्मक लेख हो – साम्राज्यवादको पतन र समाजवादी क्रान्तिको अपरिहार्यताबारे लेनिनको शिक्षा । यो लेनिनको ‘साम्राज्यवाद, सर्वहारा सामाजिक क्रान्तिको पूर्वसन्ध्या’ को समीक्षा हो । लेखले तीनवटा विशेषताका आधारमा साम्राज्यवादको चरित्र बुझ्न सघाउँछ । “साम्राज्यवादी शक्तिहरू जस्तोसुकै कठोर कदम चाल्न पनि तयार हुन्छन् ।” लेखको यो वाक्य एमसीसी पास गर्न नेपाली शासकहरूको जोडबल र तिनका मालिकको हिंस्रक दबाब महसुस गराउन पर्याप्त छ । आर्थिक दुर्गतिले बहुलाएको साम्राज्यवाद नेपालको दैलोमै आइपुगेको सन्दर्भमा लेनिनले साम्राज्यवादबारे ‘बेलैमा’ सचेत बनाउनुभएको प्रसङ्ग मननीय हुनपुग्छ र उक्त कृतिको अध्ययनलाई बल दिन्छ ।
का. रोहितको अन्तर्वार्ताले कोरोनाले आहत विश्व र देशको वर्तमान राजनीतिक र आर्थिक परिस्थितिलाई छर्लङ्ग पार्छ । यसमा मुलुकको स्वास्थ्य स्थिति र अर्थतन्त्रबारे चोटिला विचार छन् । उहाँ भन्नुहुन्छ, “साँचो अर्थमा यो महामारीले समाजवादी व्यवस्था जनताको सेवा गर्ने व्यवस्था हो र पुँजीवाद (साम्राज्यवाद) नाफाको निम्ति देश र जनतालाई भोकै मार्ने, उपचार नगर्ने र नाफा पाएपछि आफै नर्कमा जानको लागि तयार हुने नेता र राष्ट्रपतिहरू तयार गर्ने व्यवस्था हो भन्ने प्रस्ट पा¥यो ।” मजदुर–किसानको यस अङ्कका बाँकी सबै लेखले अध्यक्ष कामरेडको यहीँ भनाइलाई विभिन्न कोणबाट पुष्टि गरेका छन् । कतिपय लेखले यसबीच सम्पन्न पार्टी गतिविधिलाई रेखाङ्कित गरेका छन् । यसबाहेक प्रज्ज्वलले सङ्कटमा साम्राज्यवाद हायलकायलमात्र हुँदैन बरु यस्तो सङ्कटको जन्मदाता स्वयं साम्राज्यवाद हो भनी पुष्टि गर्नुभएको छ । कोभिड–१९ भाइरस सीआइएको सन्तान हो भनी तथ्यहरू प्रस्तुत गर्नुभएको छ ।
यसरी मजदुर–किसानको यो अङ्क कोरोना र यसले निम्त्याएका विविध परिस्थितिमा केन्द्रित छ । कोरोनापछिको विश्वलाई अझ मानवीय तुल्याउन चिनियाँ र क्युवाली प्रयत्नले पाठकमा आशाको सञ्चार गर्छ । कार्टुन र तस्वीरहरूले मुखपत्र सजिएको छ । आवरण कार्टुन भन्छ – ‘महामारीको होड’ मा ट्रम्प महोदय ‘नम्बर एक’ त भए, पुरस्कारमा कोरोना नै पाए ¤ पुँजीपतिलाई सङ्कटमा पनि फाइदैफाइदा ! ट्रम्प हुन्, हाँस्न छोड्दैनन् !
द सोलिडारिटी
मजदुर–किसानपछि ‘द सोलिडारिटी’को आठौँ अङ्क पढियो राति अबेलासम्म । यसका रचनाहरू विशेषगरी चारवटा विषयमा घुमेका छन् । मिखाइल लुकासको श्रद्धाञ्जली, मे दिवसको सन्दर्भमा विभिन्न देशका मजदुरको अवस्था, भारतले गरेको सीमा अतिक्रमण र कोरोनामयी विश्व । केही दस्तावेज र समाचार पनि समावेश छन् । एमसीसीविरुद्धको नेपाली जनताको लडाइँमा अमेरिकी मित्रहरूको ऐक्यबद्धताले ढाडस दिन्छ । माक्र्स दिवसको अवसरमा डार्विनको पत्र छापिएको छ । दुःखको कुरा ‘पुँजी’ लाई डार्विनप्रति समर्पित गर्ने कार्ल माक्र्सको प्रस्ताव अस्वीकृत भयो !
मिखाइल लुकास र नर्थस्टार कम्पाससँगको नेपाल मजदुर किसान पार्टीको निकट सम्बन्धबारे अमेरिकी लेखकले नेमकिपालाई उद्धृत गर्नुले जनाउँछ । लुकासको लामो, जोसिलो, बहुमुखी र सङ्घर्षशील जीवनबारे ‘मिखाइल लुकासको स्मृति’ ले धेरथोक भन्छ । पेशाले कलाकार हुँदाहुँदै पनि लुकास आफ्नो सम्पूर्ण बुद्धिबलले समाजवादप्रति बफादार रहनुभयो र संसारमा अन्तर्राष्ट्रवादी भावना फैलाउन योगदान गर्नुभयो ।
‘मे दिवसबारे’ मजदुर–किसानको सम्पादकीयकै अनुवाद हो । सम्पादकीयले लुकासको प्रसङ्गबाहेक माथि उल्लिखित सबै विषय समेटेको छ । कोरोना महामारीबीच उदाउँदो चीन र क्युवाली मानवता, अमेरिकी मजदुरको दुरवस्था र चीनमाथि भाइरस आक्रमणको योजना उल्लेख भएको सीआइए पोषित उपन्यासबारे चर्चा गरेको छ । विश्वभर साम्राज्यवादविरोधी बन्दै गइरहेको मे दिवसको चरित्रबारे तर्क गर्दै नेपालमा मजदुरहरूको सङ्गठनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ । भाषाको समस्या हल हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा मजदुरहरू एकजुट हुने आशा जाहेर गरेको छ ।
नेपाल–भारत सम्बन्धका घटनावली र कोरोनाको त्रासकै बीच पार्टीले देशका विभिन्न स्थानमा गरेका सीमा अतिक्रमणविरोधी कार्यक्रमका समाचारलाई स्थान दिइएको छ । भारतले पछिल्लोपटक लिपुलेक हुँदै मानसरोवर जाने अनधिकृत बाटो बनाएकोमा चार नेपाली युवाका आक्रोश यस अङ्कमा परेका छन् । नेपालमा बढिरहेको मोदी सरकारविरोधी भावनालाई यी प्रतिक्रियाले भाषा, भावना, तथ्य र तर्कका हिसाबले प्रतिबिम्बित गर्छन् । राजनीतिमा अनौठा दृश्य देख्न पाइन्छ । संसद्मा मोदीले भाषण गर्दा गद्गद् भएर ताली पड्काउने त्यसबेलाका एमाले, काङ्ग्रेस र माओवादी नेताले जनताको फेला परेपछि उनै ‘ऋषिमन’ सँग जुध्नुपर्ला भनेर सपनामा पनि चिताएका थिएनन् होला !
‘द सोलिडारिटी’को यस अङ्कको सबैभन्दा उल्लेखनीय पक्ष हो संवाद । ‘द सोलिडारिटी’ का प्रतिनिधिले अमेरिका, न्यूजील्याण्ड, श्रीलङ्का र क्युवाका कामरेडहरूसँग मे दिवस, ती देशमा मजदुरको अवस्था र कोरोनापछिको विश्वबारे राय लिएका छन् । ठुलो सङ्ख्यामा रोजगारी गुम्नु र जीवनको असुरक्षा बढ्नु प्रत्येक पुँजीवादी देशको साझा समस्या देखिन्छ । श्रीलङ्काको समस्या नेपालकै जस्तो लाग्छ । अमेरिकी मजदुर अवस्थाबारे यस अङ्कमा अझ स्पष्ट चित्र सामुन्ने आएको छ । ग्रेग बटरफिल्ड भन्छन्, “लामो समयसम्म, यहाँ अमेरिकी शासकहरूले शीतयुद्धका प्रचार–प्रसारमार्फत अन्तर्राष्ट्रिय मजदुर दिवसलाई मजदुर आन्दोलनबाट मेटेका थिए ।” आप्रवासी मजदुरहरूमार्फत ‘मजदुर दिवस’ आफ्नो जन्मभूमि अमेरिका फर्किनु सुखद छ । कोरोनाले अमेरिकी कामदार जनताजत्तिको पीडामा अरू छैनन् । खासगरी हिजो जसको रगतमा टेकेर अमेरिका सम्पन्न भएको थियो, ती आदिवासी, आप्रवासी एसियाली आदि समुदायप्रति अहिले अमेरिकी शासकहरू जातिवादी घृणा फैलाइरहेका छन् । बटरफिल्ड चीन, प्रजग कोरिया, क्युवा, भेनेजुयला, प्यालेस्टाइनलगायतका देशका अनुभवहरू आदान–प्रदान गर्दै वर्गसङ्घर्ष अघि बढाउनुपर्नेमा जोड दिन्छन् ।
‘द सोलिडारिटी’को सबैभन्दा लामो सामग्री क्युवाली लिमा मार्टिनेज फ्रेरेको अन्तर्वार्ता हो । अन्तर्वार्ता पढ्दा क्युवाको एक फन्को मारेजस्तो प्रतीत हुन्छ । लिमा भन्नुहुन्छ, “कोरोनापछि क्रान्तिले अर्को विजय पाएको अवसरमा हामी नाचेर रमाउनेछौँ ।” यस भनाइले क्युवाको वर्तमान र भविष्य व्यक्त गर्छ । कोरोनाको कष्टबीच अमेरिकाले घाँटी अँठ्याउने गरी क्युवामाथिको नाकाबन्दी अझ कठोर तुल्याइदिएको छ । यसैले क्युवाली जनतालाई प्रत्येक घडी अर्को क्रान्तिजस्तो दुष्कर बनिरहेको छ । मित्र देशबाट आउने आर्थिक र भौतिक सहायता अमेरिकाले रोक्का गरेको छ । दैनिक १ करोड २० लाख डलरको घाटा छ । तैपनि क्युवाले मे दिवसको ठुलो चाड फिक्का हुन दिएन । कोरोनाबाट प्रताडित जनताको उपचारमा विदेशमा मानवीय डाक्टरहरू पठाएर विश्वको सेवा गर्ने बानी त्यागेको छैन । एउटा पनि क्युवालीलाई रामभरोसामा अलपत्र नछोड्ने, नाकाबन्दीविरुद्ध सङ्घर्ष गर्न नछोड्ने र विश्वका जनताबीचको ऐक्यबद्धतामा कमी आउन नदिने प्रण गरेको छ । भविष्यबारे लिमाको विचारले लोभ्याउँछ । उहाँ भन्नुहुन्छ, “हामीसँग भएका सारा स्रोत–साधन बराबर बाँड्न कुनै कसर छोडिनेछैन ।” अर्थतन्त्रमा कुनै विदेशीको प्रभाव नभएकोले सार्वभौमिकताको उपयोग गरेर कृषिलाई जनताका आधारभूत आवश्यकता पूरा गर्न केन्द्रित गर्ने क्युवाली सरकारको योजना छ । नेपाल सरकारबाट यस्तो योजना आउला भन्नु सपना हो । अन्तर्वार्तामा क्युवाली स्वास्थ्य प्रणालीको बारेमा जानकारी समेटिएको छ । लिमाका कुरा पढ्दा सामान्य पाठकले ‘अन्य ग्रहको व्यक्तिका कुरा’ सुनिरहेको अनुभूति गर्नसक्छ ।
एउटा प्राविधिक सुझाव । सेटिङमा टेक्स्टलाई लेफ्ट र राइट मार्जिनमा एलाइन गरेको भए अझ आकर्षक देखिने थियो । समग्रमा ‘द सोलिडारिटी’को यो अङ्क आफ्नो नाम साकार पार्न सफल छ ।
Leave a Reply