भर्खरै :

यसरी बन्यो कसिमला मोबाइल एप

झन्डै २ वर्षअघि भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा कसिमला पाँय् खेल समावेश गरेपछि फेसबुकको भक्तपुरियन्स ग्रुपमा एकजना नेटिजनले भक्तपुरमै नगरपालिकाले चलाइरहेको ख्वप इन्जिनियरिङ कलेज रहेको हुनाले कलेजकै कसैले कसिमलाको मोबाइल गेम बनाए राम्रो हुने सुझाएका थिए । त्यो पोस्टमा केही साथीहरूले मलाई पनि मेन्सन गरे । त्यहीँबाट मैले कसिमलाको मोबाइल गेम बनाउने मनमनै सोच बनाएको थिएँ । तर, प्राविधिक ज्ञानको अभावको कारण मैले सो काम गर्न सकिरहेको थिइनँ । किनकि मसँग मोबाइल गेम बनाउने कुनै अनुभव थिएन । एप स्टोरमा लुडो, बाघचालजस्ता खेलहरू त धेरैले बनाइसकेका थिए । तर, कसिमला खेलसम्बन्धी कसैले पनि काम गरेका थिएनन् । यो नितान्त नौलो खेल थियो, मोबाइल गेमको निम्ति । त्यसकारण पनि लुडो, बाघचालजस्ता खेलको एप बनाउनुभन्दा यो निकै चुनौतीपूर्ण थियो ।
त्यसपछि विस्तारै युट्युवमा एन्ड्रोइड गेम डेभलपमेन्टसम्बन्धी भिडियोहरू खोजी खोजी हेर्न थालेँ र अभ्यास गर्न थालेँ । तर, अन्य काममा पनि व्यस्त हुनुपर्दा यसको लागि पुग्दो मात्रामा समय दिन सकिरहेको थिइनँ ।
पछिल्लो समय विश्वभर कोभिड – १९ ले महामारीको रूप लियो । विश्वका अन्य देशहरुसँगै नेपालमा पनि चैत ११ गतेबाट लकडाउन सुरु भयो । लकडाउनको त्यो समय मेरो निम्ति सो काम फत्ते पार्ने अवसर बन्यो । त्यसैले लकडाउनको समयमा मैले धेरैजसो समय एन्ड्रोइड प्रोग्रामिङको विषयमा इन्टरनेटमा खोज्न र सिक्न थालेँ । सँगसँगै अभ्यासहरू पनि गर्न समय पाएँ । अन्ततः २०७६ को चैत ३० गते राति मैले आफूले बनाएको पहिलो कसिमला एप गुगल ड्रात्बाट शेयर गरेर सार्वजनिक गरेँ र साथीहरूलाई सो एप प्रयोग गरेर त्यसका कमी–कमजोरी औँल्याइदिन र प्रतिक्रिया दिन अनुरोध गरेँ । मेरो नयाँ वर्षको दिन त्यसैको प्रतिक्रिया पाउँदै बित्यो । त्यसपछि साथीहरूको प्रतिक्रियाअनुसार त्यसमा थप सुधार गर्दै नयाँ संस्करण तयार गरेँ । तर, समस्या थियो गुगलको प्ले स्टोरमा उपलब्ध गराउनु । किनकि गुगलको प्ले स्टोरमा एप राख्नको लागि २५ डलर तिर्नुपथ्र्यो जुन नेपालबाट तिर्न सम्भव थिएन । त्यसैले कतारमा रहेका साथी सविनसँग कुराकानी गरेर उतैबाट त्यसको शुल्क तिर्ने व्यवस्था गरेँ र आफ्नो एकाउन्ट खोलेँ । त्यसपछि प्ले स्टोरमा अपलोड गर्नको लागि आवश्यक प्रक्रिया पूरा गरेर एप अपलोड गरेँ ।
यो एपमा अहिले २ जना खेल्न मिल्ने र कम्प्युटरसँग खेल्न मिल्ने अप्सनहरू छन् । सुरुवाती प्रयोगकर्ताको निम्ति सहायता पनि समावेश गरिएको छ ।

One response to “यसरी बन्यो कसिमला मोबाइल एप”

  1. Aarash says:

    Link of app

Leave a Reply

Your email address will not be published. Required fields are marked *