भर्खरै :

भङ्गेरी डाँडामा वन फँडानीको विरोध

भक्तपुर, ७ असार । चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीस्थित भङ्गेरी डाँडामा ‘खेलमैदान’ बनाउने नाममा वन फँडानी गरेकोमा स्थानीय जनताले विरोध गरेका छन् । वन फँडानी गरी डोजर चलाउँदा हजारौँ स्थानीय जनताले उपयोग गर्ने खानेपानीमा हिलोमाटो मिसिएको र मुहानसमेत सुक्न सक्ने भएकोले सो ‘खेलमैदान’ निर्माण कार्य तत्काल रोक्न उनीहरूले माग गरेका हुन् ।
विरोधमा उत्रेका सर्वसाधारणले आइतबार डिभिजन वन कार्यालय, भक्तपुरमा पुगी वनविनाशमा संलग्नलाई कारबाहीको माग गरेका छन् । वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिकालाई बुझाइएको पत्रमा भनिएको छ, “नेपाल सरकारले वन सम्पदाको उपयोग गर्न रूख कटान, ढुवानी र ओसारप्रसार तत्काल रोक्का गर्न मिति २०७७ जेठ १५ गते वन तथा वातावरण मन्त्रालयबाट परिपत्र भएको अवज्ञा गरी चाँगुनारायण नपा वडा नं ७ बागेश्वरीको भङ्गेरी डाँडास्थित वनको रूख कटान गरी खेलमैदान निर्माण गर्ने काम भइरहेको छ । उक्त वन फँडानी गरेर डोजर चलाउँदा हजारौँ मानिसले दैनिक उपभोग गर्ने खानेपानीमा हिलोमाटो मिसिने र मुहान नै सुक्ने भएकोले उक्त कार्य तत्काल रोक्नुपर्छ । नेपाल सरकारको आदेश लत्याई वन विनाश गर्दा पर्यावरणमा गम्भीर असर पर्ने र पर्यटकीयस्थल नगरकोटको पर्यटन व्यवसाय डुब्ने तथा वन विनाशले प्राकृतिक विपत्तिसमेत निम्तिन सक्ने भएकोले उक्त गैरकानुनी काम तत्काल रोक्का गरी वनविनाशमा संलग्नहरूलाई आवश्यक कारबाहीको लागि निवेदन गर्दछौँ ।”
पत्रमा स्थानीय विभिन्न व्यक्तिहरूले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *