भर्खरै :

विश्वव्यापीकरणको पुनः गठन

अन्तर्राष्ट्रिय समुदायको लागि नोबेल कोरोना भाइरस महामारी एउटा कोसेढुङ्गा बनेको छ । विश्वव्यापी औद्योगिक सञ्जालको पुनः निर्माण गर्नुको अब विकल्प छैन । महामारीको बखत कुनै देश वा कम्पनीले आफूले आपूर्ति गर्दै आएको वस्तुको आपूर्तिलाई निरन्तरता दिन नसके औद्योगिक सञ्जालका अधिकांश हिस्सेदार र सम्पर्क प्रभावित बन्नेछन् । भविष्यमा यस्ता जोखिम कम गर्न कम्पनीहरू अहिले आफ्नै आधार देशमा फर्किरहेका छन् ।
विश्वव्यापी कार्य क्षेत्र भएका केही उद्योगहरू आफ्नो मुख्य आधार (देश) मा फर्किन उत्साहित हुनेछन् । मानिसको स्वास्थ्य रक्षाको लागि आज मुखमा लगाउने मास्क र भेन्टिलेटरजस्ता चिकित्सकीय उत्पादनको माग बढी छ । महामारीको सुरुमा ती व्यक्तिगत सुरक्षा सामग्रीको अभावले उत्पादन प्रणालीका कमजोरी उजागर बनाएको थियो । ती उद्योगहरूले आफ्नै घरेलु स्रोतसाधनमा भर परेर ती वस्तु उत्पादन गर्न सकेका थिएनन् । सस्तो ज्यामीको खोजीमा उनीहरूले आफ्ना कलकारखाना विभिन्न देशमा स्थापना गरेका थिए ।
यो अवस्थाबाट त्राण पाउन अहिले धेरै देशले जनताको स्वास्थ्य उपचारसँग सम्बन्धित न्यून नाफामूलक र सस्तो मोलमा बेचिनुपर्ने वस्तुको उत्पादन आफ्नै भूमिमा गर्न जोड दिइरहेका छन् । यसले उनीहरूलाई आर्थिक सार्वभौमिकता र उत्पादन स्वतन्त्रता पुनः हासिल गर्न मद्दत मिल्नेछ । संरा अमेरिका र जापानले विदेशमा कलकारखाना स्थापना गरेका आफ्नो देशका उद्योगलाई स्वदेशमा फर्किन सहुलियतको व्यवस्था गरेको छ । युरोपेली सङ्घले युरोपेली उत्पादकहरूबाट मात्र थप आयात बढाएर युरोपको पराधीनता घटाउन खोजिरहेको छ ।
राजनीतिक र सुरक्षाको कारण केही प्रमुख देशको लागि संसारको एकीकृत बजार थप प्राथमिकतामा पर्नेछैन । तसर्थ, महामारीपछिको संसारमा विश्वव्यापीकरण (ग्लोबलाइजेसन) लाई भन्दा क्षेत्रीयतावाद (रिजनालिज्म) हाबी बन्ने छ । आफ्नो प्रभुत्व कायम गर्ने दौडमा संरा अमेरिकाले आफ्ना प्रमुख रणनीतिक प्रतिस्पर्धीहरूमा आर्थिक र वित्तीय निर्भरता कम गर्दै जाने नीतिलाई जोड दिनेछ । अर्कोतिर चीनजस्तो उदयीमान देशले विश्वव्यापीकरणको नयाँ चरणको प्रवद्र्धनमा ध्यान दिनेछ । त्यसकारण केही विश्लेषकहरूले संसारमा दुई थरी विश्वव्यापीकरण उदाउने विश्लेषण गरिरहेका छन् । पहिलो, चीनकेन्द्रित र अर्को संरा अमेरिकाकेन्द्रित । यस्तो परिस्थितिमा सबै देशले क्षेत्रीय सहकार्यलाई नै जोड दिनेछन् । औद्योगिक सञ्जाल धेरै फैलाउनेछैनन् । औद्योगिक सञ्जाल फैलाउँदा सङ्कटको समयमा उत्पादनमा जोखिम बढ्नेछ ।
यसको अर्थ अब देशहरूले समाज र बजारबीचको सन्तुलन कायम गर्न ध्यान केन्द्रित गर्नेछन् । सँगसँगै उनीहरूले स्वतन्त्र प्रतिस्पर्धालाई जोड दिन र विश्वअर्थतन्त्रबारे सही बुझाई विकास गर्न विश्वव्यापीकरणलाई पनि छोड्नेछैनन् ।
विश्वव्यापीकरणबाट केही देशले सामाजिक र आर्थिक लाभ हासिल गरेका छन् । तर, यसबाट फाइदा लिन नसकेको ठान्ने केही देश भने विश्वव्यापीकरणप्रति सन्तुष्ट छैनन् । त्यसकारण बजार प्रतिस्पर्धा र नाफालाई जोड दिनुको सट्टा समाजको सन्तुलित प्रगतिका साथै अधिकांश देशको आपसी लाभलाई ध्यान दिन जरुरी छ ।
कुनै एउटा देशको मात्र दबदबा नभएको समावेशी र न्यायपूर्ण मैदान बनाउन जरुरी छ । स्वतन्त्र व्यापारको वकालत गर्ने केही विकसित देशहरूले विकासशील देशहरूको लाभ हेर्ने गरेका छैनन् । त्यसकारण उनीहरू केही विकासशील देशलाई समान व्यवहार गर्न तयार छैनन् । यसले एक प्रकारको असमानतालाई टेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय नियमको पुनर्लेखनको लागि सबै देश र क्षेत्रको आम सहमतिको खाँचो पर्छ । विकसित देशले धेरै लिनेभन्दा दिने खुला हृदय देखाउन सक्नुपर्छ । न्यायपूर्ण प्रतिस्पर्धाको लागि दीर्घकालीन प्रयासका साथै सबै हिस्सेदारहरूबीच संवाद र आपसी बुझाइ पनि आवश्यक छ ।
सन् १९९६ मा संसारका सबभन्दा धनी ५ सय कम्पनीमा चीनका जम्मा चार वटा कम्पनी मात्र थिए । २३ वर्षपछि चिनियाँ कम्पनीको सङ्ख्या १२९ पुग्यो । संरा अमेरिकी कम्पनीको सङ्ख्या १२१ मात्र थियो । चीनका राज्य नियन्त्रित कम्पनीहरूले उत्कृष्ट परिणाम दिए । पश्चिमका केही देशहरूले राष्ट्रिय सुरक्षाको कारण देखाएर चीनका ती राज्य नियन्त्रित कम्पनीहरूमा लगानी गर्न रोक लगाए ।
चीनले निजी कम्पनीको प्रवद्र्धनमा जोड दिइरहेको छ । तर, त्यसो गर्दै गर्दा उसले राज्य नियन्त्रित कम्पनीको महत्वलाई कति पनि उपेक्षा गरेको छैन । पश्चिमा देशमा पनि यस्तै भइरहेको छ । बिजुली, हुलाक बिमा र तेल क्षेत्रका केही पश्चिमा राज्यनियन्त्रित कम्पनीहरूले राम्रो काम गरिरहेका छन् । राज्यनियन्त्रित होस् वा निजी, सबै कम्पनीहरू विश्व अर्थतन्त्रका अंश हुन् । यी दुई थरी कम्पनीबीच गरिने विभेदले कुनै पनि देशको प्रतिस्पर्धात्मकता बढाउन सक्दैन । त्यसमाथि व्यापार नियमजस्तै अहिलेको आर्थिक बन्दोबस्तका विभिन्न पक्षलाई समयानुकूल बनाउन रोक्नु विश्व अर्थतन्त्रको विकासका लागि उपयुक्त हुनसक्दैन ।
मानव विकासको आधारभूत नियम भनेको अलगावबाट अरूको बृहत् सम्पर्कमा जानु हो । सङ्क्रामक रोगको भयले मानिसहरू आत्मरक्षाको लागि अलगावको बाटोमा गइरहेका छन् । तर, यो केही समयको व्यवहारमात्र हो । अलग बस्दा सहयोग गर्न चाहनेको बाटो रोक्छ र संसारलाई थप खतराको पोखरीमा धकेल्छ । उदाहरणको लागि खाद्य सङ्कट भएको देशमा बाह्य सहायताको अभावले मानवीय सङ्कट थप जटिल बनाउने गर्छ । आपसी सहकार्य र अन्तर्राष्ट्रिय समुदायको साझा चासो बिना जलवायु परिवर्तनको घातक प्रहारबाट कुनै पनि देश वा मानव समुदायलाई जोगाउन सक्दैन ।
महामारीको अवस्थामा पनि बहुपक्षवाद त्याग्नु हुन्न बरु केही क्षेत्रमा यसलाई अझ मुखर बनाउनुपर्छ । त्यसकारण, अबको विश्वव्यापीकरणमा कुनै पनि शक्तिले आफ्नो दबदबा कायम राख्न सक्दैन । ‘डेस्टिन्ड फर वारः क्यान अमेरिका एन्ड चाइना इस्केप थुसिडाइड ट्र्याप ?’ पुस्तकका लेखक ग्राहम एलिसनले विदेश मामिलाबारे एउटा लेख लेखेका छन् । जसमा उनले लेखेका छन्, “एकधु्रवीय विश्व अब समाप्त भयो । संरा अमेरिकाले नेतृत्व गरेको अन्तर्राष्ट्रिय व्यवस्थामा अब अरु कुनै देशले स्थान लिने कुरा भ्रममात्र हो । संरा अमेरिकाले अब संसारमा प्रभावका विभिन्न वृत्त भएको कुरा स्वीकार्नुपर्छ । अब सर्वत्र अमेरिकाको मात्र प्रभाव रहँदैन ।” उनले असल परिणामको लागि संसारका अरू देशसँग पनि काम गर्न संरा अमेरिकालाई आग्रह गरेका छन् ।
बहुलवादी समाजले धेरै थरी विचारधारा जन्माउनु स्वाभाविक हो । आ–आफ्नो हित र लाभमा आधारित रहेर विभिन्न देशले विभिन्न माग र नीति पस्कनु पनि स्वाभाविक हो । चीन आज संसारकै सबभन्दा ठुलो उपभोक्ता बजार हो । संसारकै सबभन्दा बढी जनसङ्ख्या चीनमै छ । चीनको त्यही जनसङ्ख्या नै विश्वव्यापी आर्थिक वृद्धि र विश्वव्यापीकरण प्रवद्र्धन गर्ने मूल आधार हो । भविष्यको विश्वव्यापीकरण अहिलेको भन्दा अलि फैलिएको हुनेछ । तर, अहिलेको भन्दा सन्तुलित, न्यायपूर्ण र आपसी हितमा आधारित समावेश विकासमा आधारित हुनेछ । यसले विश्वव्यापी शासन प्रणालीको प्रवद्र्धनलाई जोड दिएको छ ।
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *