भर्खरै :

प्रधानमन्त्री ओलीलाई एक नागरिकको चिट्ठी

औषधि विज्ञानका विशेषज्ञ तथा नाम कहलिएका चिकित्सकहरूलाई नै चुनौती दिंदै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिक्लोरोक्यूइन
(hydroxychloroquine) नामको औषधि नै कोरोना–१९ को अचुक औषधि भएको धेरै पटक सार्वजनिक मञ्चमा बोले । अझ उनले त्यही औषधि सेवन गरेको बताए । उनको त्यो अभिव्यक्तिले संसारभर चर्चा पायो । त्यसैले पनि हुनुपर्छ, नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले ट्रम्पभन्दा आफू पनि के कम भन्दै कोभिड–१९ को रोगबाट बच्न बेसारलगायत नेपालीका भान्छामा सधैँ प्रयोग हुने वस्तु सेवन गर्नु उचित हुने सल्लाह दिए । संसदमै उनले यस्तो बोलेपछि आयुर्वेदिक औषधि विज्ञानका कविराजहरू हिनताबोधको लज्जाले पानी भएका छन् । त्यत्रो वर्ष तत्सम्बन्धी अध्ययन गरिसकेपछाडि पनि नाथे बेसारे उपचार विधिबारे केही ज्ञान हात पार्न नसक्नु अति लाजमर्दाे मानेका होलान् तिनीहरूले । कसैले नगरेको एमसीसीको अध्ययन गर्ने प्रधानमन्त्री ओलीले सायद ज्यान मुद्दाको आरोपमा १४ वर्षको जेल जीवनमा आयुर्वेदिक औषधि विज्ञानको गहिरो अध्ययन गरेको हुनुपर्छ र दुईपल्ट मृगौला प्रत्यारोपणपछि पनि प्रधानमन्त्री भइरहने उनमा बलियो इच्छाशक्ति आज पनि कायम छ । बेलाबखत संसद भवन जाँदा जुत्ता फुस्केको चालै नपाई हिँड्न थालेर के भो र ! दायाँ बायाँका अङ्गरक्षकहरू बुँख्याचा हुन् र ?
साँच्चै नेकपाका नेताजीहरू पनि एकसेएक छन् । साम्राज्यवादी देश संरा अमेरिकाभन्दा आकारमा लगभग ८२ गुणा सानो प्रजग कोरियाका केन्द्रीय नेताहरूलाई २१ औँ शताब्दीमा आफ्नो सार्वभौम अस्तित्व जोगाई राख्नका लागि कस्तोखाले रणनीति अपनाउनुपर्छ भन्ने विषयमा गहन र गहकिलो सल्लाह दिएर आएको भनी छाती चौडापारी सञ्चारमाध्यममा धक्कु लगाई अन्तर्वार्ता दिँदै गर्दा आफूलाई असाधारण व्यक्ति ठान्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुबै दङ्ग थिए । तर, उनकै कार्यकालका सहपाठी केपी ओलीले अहिले आफू जन्मेकै मुलुक अनेकौँ समस्याले घेराबन्दी भएका बेला आफूलाई कुनै पनि प्रकारको सर–सल्लाह र सुझावका लागि नबोलाइएकोमा खिन्न छन् । प्रजग कोरियाका युवा नेता किम जङ उनले संरा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्नु माधव नेपालकै सल्लाहनुरूप पो थियो कि ? उहाँलाई सोध्न मन छ ।
केपी ओली भन्छन्, ३३ किलो सुनकाण्ड भएकै हो, बालुवाटार जग्गा प्रकरण गरेकै हो, वाइडबडी जहाज खरिदमा अपार भ्रष्टाचार भएकै हो, निर्मला हत्याकाण्डका दोषीलाई सरकारले संरक्षण गरिरहेको पनि हो, २०५३ सालमा महाकाली सन्धिबाट बर्सेनि अरर्बाैँ पैसाको खोलो बग्छ भनेकै हो, खुलामञ्चको जग्गा नियमविपरीत लिजमा दिएकै हो, अदालतभन्दा माथि उठेर मेरो गोकुलेलाई निर्दोष सावित गरेकै हो, कोरोनाको महामारी रोक्न दस अर्बको खर्च विवरणको पारदर्शी नभएकै हो, अरू थुप्रै कुकर्म गरेकै हो । तर, कुन माइकालालको विरोधले के चाहिँ लछारपाटो लगाउन सक्छ र ? दुईतिहाइ बहुमतको सरकारलाई हेप्ने ?
प्रधानमन्त्री ओलीलाई एउटा कुरामा स्ट्रङ्ग कन्फिडेन्स के छ भने, आचारसंहिताविपरीत निर्वाचनको बेला नेकपाले बाँडेको ग्यास सिलिन्डर लिनेले, पल्सर मोटरबाइकमा फोकटमा तेल हाल्नेले, चुपचाप हजारौँ रुपियाँ गोजीमा हाली केही दिन भट्टी धाउनेले, नेकपाको छत्रछायाँमा रही रक्तचन्दनको अवैध धन्दा गर्नेले, आफ्नालाई स्वदेशमा जागिर तथा विदेशमा छात्रवृत्तिको लागि नेकपाको तलुवा चाट्नेले, नेकपाका नेताहरूको जुत्ता पालिस गर्ने कार्यमा अहोरात्र खटी प्रहरी निकायलगायत निजामती क्षेत्रमा नियमविपरीत पदोन्नति हुने अवसर पाउनेले, उनको चम्चागिरीका कारण ठुल्ठुला ठेक्कापट्टा पाउनेले, देशलाई खोक्रो पारी अनेकौँ भ्रष्टाचारको भागबन्डाको अपराधमा सहभागी भई सत्तामा पुगेका ठुला पार्टीका भनिएका भ्रष्ट राजनीतिक जमात र हजारौँ डलरको बक्सिस पाएर राष्ट्रघाती भए पनि एमसीसीको पक्षमा पैरवी गर्ने बौद्धिक दासहरूलगायतका अन्यले यो सरकारको कुनै पनि बेला विरोध गर्नैसक्दैन । त्यस्ताहरू सब नुनको सोझो गर्न बाध्य छन् । सधैँ शिर निहुरिन्छन् ।
त्यसैले केपी ओली सम्झन्छन्, देशभक्त भनिएका ‘सानातिना राजनीतिक पार्टीहरू’ को विभिन्नखाले नारा–जुुलुस र विरोध भनेको हात्तीलाई लामखुट्टेको प्रहार हो, वर्तमान नेकपाको सरकारका लागि ती कहिल्यै पनि मुक्का र धक्का हुनैसक्दैन ।
तर, नेपालको निरङ्कुश राजतन्त्रले पनि प्रधानमन्त्री आलीले जस्तै शक्तिको मातमा अति अहम् पालेर आफ्नो सत्ता कहिल्यै समाप्त नहुने ठानेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारबाट जनताले लखेट्दा “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” भनी पञ्चायत शासनको बेला नारा लगाउन कहिल्यै नथाक्ने कोही पनि प्राणी सडकमा आएर तिनीहरूका अति प्रिय नारा दोहो¥याउने हिम्मत गर्न सकेनन् । बरु निरीह बनी राजा र रानीको हरिबिजोग टुलुटुलु हेरीमात्र बसे । केपी ओलीजस्तै प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराई अहिले घरको न घाटको भएका छन् । त्यसैले कसैको प्यादा बनी पराधीन शासक बन्नुमा गर्व गर्नुभन्दा आफ्नै मुलुकको शोषित पीडित देशप्रेमी जनताको आडमा नेपालीजनको हित र देशको सार्वभौमिकताको लागि सोच्नु सर्वदा उत्तम हुनेछ । आफूलाई हरेक क्षेत्रको सर्वज्ञ सम्झेर हावादारी कुरा गर्दा पनि दिमाग बन्धकीमा परेका सांसदहरूको तालीको गडगडाहटमा मख्ख भई विदेशी दातृसंस्थाको प्रलोभनमा नफस्ने आफ्नै मुलुकका अब्बल र सबल विज्ञ र बौद्धिक वृत्तलाई संसद् भवनभित्रैबाट अनपढ भनी अभिव्यक्ति दिनु प्रधानमन्त्री जस्तो उच्च पदमा रहने व्यक्तिको लागि कुनै पनि दृष्टिकोणले उचित छैन । गलत सल्लाहकारहरूका हावादारी कुराको भरमा दक्षिणबाट पानीजहाज र उत्तरबाट रेल कुद्ने भएकोले अब छिट्टै नेपाली जनताले लाममा उभिएर पानीजहाज र रेलको टिकट काट्न कम्मरकसे हुन्छ भनी सार्वजनिक गरेको वक्तव्य सम्झँदा हाम्रा प्रधानमन्त्रीलाई अलिकति भए पनि लज्जाबोध हुनुपर्ने हो । सम्माननीय प्रधानमन्त्रीलाई राजधानीवासीको तीर्खा मेलम्चीको पानीले मेटाउने सपनाले कतिचोटि लोप्पा खुवाएको हेक्का हुनुपर्छ । त्यसैले प्रधानमन्त्री केपी ओलीलगायत अन्यले पनि प्रजग कोरियाको राष्ट्रिय झन्डालाई एकचोटि गहिरिएर हेर्नु भए केही राम्रो कुरा सिक्ने अवसर पाउनु हुनेछ । अनि हाम्रो देश नेपालमा पनि इमानदार, देशप्रेमी र पराधीन मन नपराउने बौद्धिक जगतले विरही गीत गाउनुपर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *