भर्खरै :

पीसीआर परीक्षण गरेको व्यक्ति सम्भावित सङ्क्रमित हो

कैलालीमा सोमबार कोरोना पुष्टि भएका बिरामी केही दिनअघि मात्र क्वारेन्टिनबाट घर गएका थिए । रोगको कुनै लक्षण नदेखिएको भन्दै आइसोलेसनमा बस्न भनी उनीहरूको स्वाब सङ्कलन गरी घर पठाइएको थियो । घर बसेको केही दिनपछि मात्र उनीहरू कोरोना सङ्क्रमित पुष्टि भएको थियो । यसरी क्वारेन्टिनमा बस्दै आएका मानिसको स्वाब सङ्कलन गरी नतिजा नआउँदै बिरामीलाई घर पठाउँदा सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ । नेपाल सरकारको नीतिअनुसार सम्भावित सङ्क्रमितकै मात्र स्वाब सङ्कलन गरी परीक्षणमा पठाइने गरिन्छ । सरकारकै बुझाइअनुसार पनि स्वाब सङ्कलन गरिएको व्यक्ति सम्भावित बिरामी हो । कोही पनि व्यक्तिमा रोगको लक्षण देखिएको छ, कोही विदेशबाट फर्केको छ अथवा कुनै सङ्क्रमण प्रभावित क्षेत्रबाट आएको व्यक्ति छ भने उसको स्वाब सङ्कलन गरी परीक्षण गरिंदै आएको छ । यसको अर्थ स्वाब सङ्कलन गरिएको व्यक्तिमा रोगको लक्षण नदेखिए पनि ऊ सम्भावित बिरामी हो । क्वारेन्टिनस्थलमा बसेको छ भने त्यस्तो व्यक्तिलाई घर पठाउनु उचित होइन । उनीहरूलाई स्थानीय सरकारले व्यवस्थापन गरेको क्वारेन्टिन स्थलमै उचित बन्दोबस्तका साथ राख्नु उचित हो ।
स्वाब सङ्कलनपछि त्यसको निगेटिभ नतिजा नआउँदासम्म ऊ सङ्क्रमित हुनसक्ने मानेर नै उसलाई अलग राख्ने व्यवस्था गर्नुपर्छ । कैलालीमा जस्तो गल्ती अन्यत्र पनि भए सङ्क्रमण अझ तीव्रगतिमा फैलिन सक्छ ।
स्वाब सङ्कलन गरिएको व्यक्ति यदि क्वारेन्टिनमा बस्दै आएको छ भने उसलाई रोगको कुनै लक्षण नदेखिएको भन्दै घरमा आइसोलेसनमा बस्न पठाउनु उचित छैन किनभने अधिकांश निम्न वर्गीय परिवारको घरमा एक जना व्यक्ति अलग बस्ने बन्दोबस्तको अभाव छ । कोरोनाको सम्भावित बिरामीले पालना गर्नुपर्ने नियम त्यस्ता परिवारमा पालना गर्न कठिन हुनसक्छ । त्यसकारण त्यस्ता व्यक्तिको लागि स्थानीय सरकारले बन्दोबस्त गरेको क्वारेन्टिनमै उचित बन्दोबस्त गर्नु उचित हुन्छ । यसअघि दैलेखमा यस्तै खालको व्यवस्थापनको समस्या देखिएको थियो । अहिले कैलालीमा यस्तो हेलचक्र्याइँ देखिएको छ । क्वारेन्टिनको सबै जिम्मेवारी स्थानीय तहको भरमा मात्र छोड्दा अहिलेको विषम अवस्था देखिएको हो । यसको निम्ति सङ्घीय र प्रादेशिक सरकारले पनि जिम्मेवारीका साथ आफूसँग भएका स्रोतसाधन परिचालन गर्नुपर्छ । सङ्घ र प्रदेशमा रहेका कर्मचारीलाई सङ्क्रमणको जोखिम बढेको क्षेत्रमा परिचालन गर्नुपर्छ । कर्मचारीको खाँचो सिंहदरबारभन्दा गाउँपालिका र नगरपालिकाहरूमा बढी छ ।
पीसीआर परीक्षणको विधि अझ बढाइनुपर्छ । पीसीआर परीक्षण बढाउँदा सङ्क्रमित धेरै हुने भयको भाव सरकारले त्याग्नुपर्छ । बरु देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य केन्द्रहरूलाई कोरोनाको प्रतिरोध गर्न सक्षम बनाउनु जरुरी छ । कोरोना अब सिङ्गो मानव जातिको लागि नयाँ वास्तविकता हो । यो वास्तविकतालाई स्वीकारेर अघि बढ्नुको कुनै विकल्प छैन । यो ‘नयाँ वास्तविकता’(न्यु नर्मल) को सामना गर्न सरकारले अझ बढी जनस्वास्थ्यका पूर्वाधारमा ध्यान दिनुपर्छ । सबै स्थानीय तहमा अबका दिनमा केही शैøयाको स्थायी क्वारेन्टिन स्थल बनाउनुपर्ने हुनसक्छ । सबै अस्पतालमा आगामी दिनमा यस्तै पूर्वाधार निर्माणबारे पनि तयारी गर्नुपर्छ । मानिसबाट मानिसमा सर्ने रोग भएकोले सानोभन्दा सानो रोगले पनि भयावह अवस्था बन्न सक्छ । यसको निम्ति सरकारले जनतालाई सजग बनाउने दायित्व कदापि छोड्न मिल्दैन । लापरबाही र हेलचक्र्याइँ कहीं कसैबाट नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *