धोक्स्यबाट हिँडेपछि असल मैदान बाटो भत्केको घर किल्लाको माटाको गारो भेटिंँदै मैदान केही हिँडी आयापछि बायाँतर्फ पहाड सानुमा ४÷५ घर बनाई बस्ती बसेको रहेछ । त्यहाँबाट अलिकति आयापछि सानु पहाडका छुची घुमी खोलाका तीरैतिर मैदान आयापछि केहीँ कमोद भएको १२÷१३ घर भयाको माखाम्मे नाउँ गरेको गाउँ १ भेटियो । ताहाँ खाजा खाने ठाउँ भन्दारहेछन् । ताहाँदेखि धेपुर जाने बाटो रहेछ । सो बाटो हामीलाई नल्याई अर्कोबाट १ कोस डेढ कोसमा घर भेटिँदै सानु खोलोका तीर पाखो मैदान केही हिँडी पहाडको छुची घुमी बस्ती नभयाको वैरान् मैदान केहीँ हिँडी पहाडको छुची घुमी बस्ती नभयाको वैरान् मैदान् वर्गहिँडी आयापछि दुवैतिर पहाड बीचमा थुम्को भई सो थुम्कामा ठुलो एउटा घर बनाई भोट सरकारले मान्छे राखेको रहेछ । त्यस ठाउँलाई माखामचे भन्दारहेछन् । वास त्यहीँ प¥यो । वेसाहा पाइँदैन । दाउरा, घाँस, रुख, केही छैन । हावा बहुत चल्ने खराब ठाउँ छ । कोस ८ वास –– २४
माखाम्चेबाट हिँडेपछि, सानु खोलाका तीर, पाखो मैदान तेर्पाई उकालो, ढुङ्गेन्, बस्ती केही नभयाको वैरान् बाटो अन्दाज कोस, भन्ज्याङ्सम्म ३ होला । यो बाटो पाखोमा छ नबनाया तोप लैजान हुँदैन । सानु गोरेटोमात्र, यो लङ्गुरका भन्ज्याङ् ओर्लेपछि सानु खोलाका तीर मैदान, ढुङ्गेन, अड्वड् बाटो केही हिँडिसकेपछि असल मैदान बाटो अन्दाज कोस भन्ज्याङ्देखि ५।। आयापछि बीच मैदानमा ३ घर भएको धोपुर नाउँ गरेको वास पुग्यो । त्यस ठाउँदेखि उत्तरपट्टि सानु थुम्कामा नदेखिने गरी कोल्टे पारी फौज लुकाई राख्ने ठुलो घर बनाई भोट सरकारले ढेजस्तो १ राखेको रहेछ । सो घर जग्गालाई पोरोङ् नाउँ भन्दारहेछन् । फेरि यस ठाउँबाट पूर्वदक्षिणका आग्ने कुनाबाट २ दिनमा कुति पुग्ने बाटो रहेछ । यो मैदान ठुलो छ । पहाडका कुना–कुनामा कोल्टामा नदेखिने गरी सानु–सानु गाउँ पनि बसेको रहेछ । वेसाहा पाइँदैन । घाँस, दाउरा, गुइँठा र रुख छैन । जम्मा कोस ८।। होला वास धीपुर –– २५
धीपुरबाट हिँडेपछि, असल मैदान बाटो अन्दाज कोस ४ आयापछि लामजो सिंजो नाउँ गरेको ठुलो पोखरी १ को किनार भेटियो । सो पोखरीको किनार मैदान अन्दाज कोस १।। आयापछि सोही पोखरीका किनारमा एउटा सानु बस्ती मान्छे नभएको झुँगा जानेहरू बस्ने घर बनायाको रहेछ । ताहाँदेखि सीधा उत्तर पोखरीका किनार किनार अन्दाज क स ३ मा च्यामाङ्वो नाउँ गरेको ४÷५ घर भएको गाउँ १ रहेछ । वास त्यहीँ एकले घर हो । नाउँ ससिपा भन्दोरहेछ । छुट्टिछाट्टी केहीँ छैन । जम्मा कोस ८।। वास ससिपा – २६
ससिपाबाट झुँगा जाने र झुँगाबाट ससिपा जाने बाटो ४ रहेछ । १ बाटोको नाम येर्वुला । अर्को च्यार्कुँला । अर्को घुन्टाङ्ला । अर्को झुङ्गामुनि गुँटा वासमा निस्कनेको नाम ल्हासार्ला भन्दोरहेछ । अरू ३ बाटो माघदेखि हिउँले बन्द गर्दोरहेछ । असारदेखि खुल्दोरहेछ । हामी आयाको येर्वुला भन्या बाटो १ धेरै हिउँ बस्र्येमा बन्द हुँदोरहेछ । अलि–अलि परेमा कहिले १÷२ दिन बन्द भई १÷२ दिन खुल्दोरहेछ ।
ससिपाबाट हिँडेपछि २ तिर पहाड बीचमा खोल्सो खहरे भएको तेर्पाइ उकालो ओरालो पहाडका बाटो अन्दाज कोस २ उक्लेपछि भन्ज्याङ् पुग्यो । ताहाँदेखि पाखो तेर्पाइ ओरालो ओर्लेपछि सानु खहरे खोला भेटियो । त्यो खोलाबाट मोस्ताङ् जाने बाटो रहेछ । ताहाँबाट कति दिनमा मोस्ताङ् पुग्छ भन्दा सात दिनमा मोस्ताङ् पुग्छ । बाटो मैदान सानु–सानु ३ लङ्गुरा काट्नुपर्छ भन्दथे । ताहाँबाट फेरि सानु पहाड १ चढी ठाडो ओरालो ओर्ली मैदान पुग्यो ।
पहिला भन्ज्याङ्देखि अन्दाज कोस १ छ र सो मैदान ३ पाउ हिँडेपछि फेरि ठुलो डाँडो उकालो अन्दाज कोस १ उक्लेपछि भन्ज्याङ् पुग्यो । ताहाँबाट ठाडो ओरालो अन्दाज सवा एक कोस ओर्लेपछि फेदी पुग्यो । फेदीबाट केही नजानिदो ओरालो खोलाका तीर मैदान बाटो अन्दाज २ कोस आयापछि १ ले घर भेटियो । ताहाँबाट उस्तै बाटो अन्दाज कोस १ आयापछि झुँगा गडी पुग्यो । यो बाटोको जम्मा कोस अन्दाज ९ होला । गडीका किल्ला भत्की कहीँ कहीँ बिग्री भित्र बाहिर जानु हुँदोरहेछ । किल्लाभित्र गुम्बा घर गरी अन्दाज घर ४० होला । हाम्रा नीवार खचरा गरी २४ बसेका रहेछन् । वेसाहा खरिद गर्नलाई झुम्ले मद्दत दिएछ, नत्र छैन । जङ्गल रुख केहीँ छैन । दाउरा पाइँदैन । गुइँठा घाँस अलि–अलि छ । २ जना झुम् पुन् ल्हासाबाट आई ढेवाहुँ भनी भोटे सिपाहीँ २५ लिई काम गरी बसेका रहेछन् । यस जग्गालाई पालेको हाम्रो १८०० खोलाले रहेछ । अन्दाज उहीँबाट आउने रहेछ । केरुङ्बाट पनि केहीँ थोर अन्दाज आउँदोरहेछ । कोस ९ वास झुँगा –२७
येर्वुलाका बाटोका उकालोमा तोप जान मुस्किल छ ।
झुँगाबाट हिँडेपछि सानु खुड्को ओर्ली खोला तरी पाखो मैदान अलिक हिँडी केहीँ पूर्व लागी एउटा लङ्गुर काटी अन्दाज ३ कोस आयापछि ३÷४ घर भयाको नाम गरेको गाउँ खहरेका तीरमा भेटियो । फेरि ताहाँबाट सानु उकालो उक्ली तेर्पाइ आरालो ओर्ली खोलाका तीर मैदान बगर दाहिने बायाँ पहाड बीचमा खोला बाटो भई घाटी परेको अनेत्र बाटो नभयाको खोलामा सानु–सानु फड्केजस्तो पुल ३÷४ तरी पाखाको बाटो अड्वड् भयाको बाटो अन्दाज कोस ३ आयापछि ४÷५ घर भयाको भन्या गाउँ भेटियो । ताहाँदेखि पनि दाहिने बायाँ पहाड बीचमा खोला भई घाटी परेको कहीँ पाखो र कहीँ बगर मैदान भयाको ढुङ्गेन बाटो अन्दाज कोस २ आयापछि २ घर भयाको गाउँ भेटियो । ताहाँदेखि अन्दाज कोस आधा आयापछि गुन्टा भन्या वास ५÷६ घर भयाको खेतीपाती केही नभएको वोरान् दाउरा, घाँस कुछ् केही छैन । यो बाटो नबनाया तोप जान सक्तैन । जम्मा कोस ८।। छ । गुन्टा वास ––२८
वर्षामा खोलाबाट पनि गुन्टा आउने जाने बाटो छ । त्यस खोलाका बाटाबाट अन्दाज ५ कोस छ भन्थे ।
गुन्टाबाट हिँडेपछि दाहिने बायाँ पहाड बीचमा खोला भयाको बाटो कहीँ जङ्घार, कहीँ साँघु, कहीँ पहाडका पाखो, कहीँ घाटी, कहीँ नाका परेको उकालो ओरालो बगर खोलाको तीरैतिर हिँडेपछि ३÷४ साँगु तरी पाखाको नराम्रो बाटो काटी खोलैखोला आयापछि सानु भन्ज्याङ् १ उक्ली ओर्लेपछि साँगु १ तरी कुकुरघाट पुग्यो । ताहाँदेखि अलि–अलि मैदान बाटो आयापछि मैदानमा ४÷५ घर भयाको टोटाङ् भन्ने गाउँमा वास प¥यो । जङ्गल छ । दाउरा, घाँस प्रशस्त छ । वेसाहा किन्न पाइँदैन । जम्मा अन्दाज कोस ६ होला । बाटो नबनाया तोप जान मुस्किल छ । वास –– २९
टोटाङ्बाट हिँडेपछि जङ्गल र पाखो खोलाका तीर भयाको खोलाको बाटो अड्वड् भयाको कहीँ मैदान, कहीँ उकालो, कहीँ ओरालो हिँडेपछि भोटेका जग्गा १ भेटियो । ताहाँदेखि केहीँ उकालो उक्ली तेर्पाइ मैदान हिँडेपछि खोलामा ओर्ली सानु ढीस्काउलि ओर्लेपछि पाङ्सीङ् टार भन्या ७।८ घर भयाको मैदानमा गाउँ भेटियो । ताहाँबाट मैदान आई सानु ढीस्को उक्ली ओर्लेर खोलाका तीर हिँडी उक्लेर केरु पुग्यो । केरुङ्मा अन्दाजी २०० घर होला । भोटेका अफिसर छेवा २ र झुम १ रहेछ । हाम्रा नीवार ४०÷५०, खचडा २०।२५ र डिट्टा १, वहीदार १, सिपाहीँ १२ बसेका रहेछन् । याहाँ अन्नाज, दाउरा, घाँस पाइँदोरहेछ । च्याङ्रासि देउता पनि रहेछन् । जम्मा कोस अन्दाज ४ होला । वास ––३०
यसरी यो दोस्रो ‘बयान’ पनि टुङ्गिन्छ । पहिलो गंगाबहादुरको जाहेरी र यो दोस्रो जाहेरीमा केही कुरा मिले पनि यी दुई जाहेरी भिन्नाभिन्नै स्रोतका हुन् भन्ने स्पष्टै हुन्छ । भए पनि यो पछिल्लो जाहेरी लेख्ने मान्छेले बाटाको बयान उल्टोतिरबाट लेखेको र ‘ल्हासादेखि नेपालसम्मको’ भने पनि केरुङ्मा ल्याई बयान टुङ्ग्याएको महत्वपूर्ण लाग्छ । अरू, यसरी वास बस्तै आउँदा पनि लेख्नेको ध्यान लडाइँतिरै रहेको, चढाइ नै गर्ने आँखाले हेरी लेखेको मार्मिक छ ।
त्यहीँ देखाउने मात्र यस लेखोटको लक्ष्य हो ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *