भर्खरै :

दास मानसिकताले नेपाल परनिर्भर

लिम्पियाधुरासहितको अतिक्रमित भूमि नेपालको नक्सामा समेटिएको आधारमा विदेशी शक्ति राष्ट्र भारतले राजीनामा दिन या सत्ता ढाल्न दबाब दिएको साँचो हो भने त्यो नेपालमाथिको पछिल्लो अर्को हस्तक्षेप हो । यसले नेपाल सरकारलाई ढाल्ने र बनाउने काममा भारतको हात रहेको थाहा हुन्छ । भारतसामु झुक्ने, भारतको उठबसमा बस्ने, भारतसित असमान सन्धि गर्ने विगतका नेपाल सरकारहरू नेपाल र नेपालीको हितभन्दा भारतको पक्षमा सन्धि सम्झौता गर्ने दास मानसिकतामा केन्द्रित भए । त्यहीँ भएर भारतले नेपाललाई हेपिरहेको हो । नेपाल सरकारले यस्तै कमजोरीमाथि भारतले फाइदा उठाइरहेको हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो । नेपालको भूमि नेपालकै हुनुपर्छ भन्ने आम जनताको माग हो । आम जनताको मागलाई नेपाल सरकारले प्रतिनिधित्व गरेको हो । यसको विधि पु¥याउन नेपाल सरकारले कदम चालेको हो । नेपालको नयाँ बनाएकै आधारमा भारतले प्रमको राजीनामा माग गरेको हो भने प्रम ओलीले आफूलाई कसले के भने नेपालीमाझ स्पष्ट पार्नुपर्छ । प्रमको क्रियाकलापप्रति असन्तुष्ट भएरै पार्टीभित्रैबाट राजीनामाको माग उठाइएको हो भने भारतलाई दोष दिन पनि मिल्दैन । कतै प्रम ओलीले आफ्नो लोकप्रियता बढाउनमात्रै सरकारविरुद्ध देशी विदेशी शक्तिले चलखेल गरेको भनी हल्ला गरेका हुन् ? सरकारले आफ्नै पार्टीसँग कुनै परामर्श नगरी ल्याएका अनेक विधेयक र निर्णय देश र जनताको अहितमा भएको कारण प्रम ओलीको पार्टीभित्रै त्यतिबेला राजीनामा मागेको बिर्सन मिल्दैन । तर, यो बेला राजीनामा दिए गलत सन्देश जानेछ ।
नेता केपी ओलीलाई नेकपाले जिताएको हो, नेकपाले प्रधानमन्त्री बनाएको हो भने नेपाल सरकारलाई किन विदेशी शक्ति राष्ट्रले ढाल्छ, ढाल्न दबाब दिन्छ ? राजनीति शास्त्रीहरूले ठिक्कै भने, “सरकार जसले बनाएको हो, ढाल्ने पनि उसैले हो । आफ्नो शक्तिमा बनेको हो भने आफ्नै कारणले मात्र ढल्न सक्छ ।” प्रम ओलीको बानी पनि भनिनसक्नु छ । बोलेपछि पोल्नैपर्ने । अरू दलका नेता र सांसदलाई मात्र पोलेर नअघाउने । आफूलाई सुझाव दिने र कमी कमजोरी हटाउन आलोचना गर्ने आफ्नै नेता र सांसदहरूलाई पोल्न बाँकी नराख्ने । ठाडो–ठाडो बोल्ने । सरकारको कमी कमजोरी औँल्याउने जतिलाई शत्रु ठान्नैपर्ने । जनतामा असम्भव कुरा बाँड्ने । कामभन्दा गफ बढी छाट्ने पाराको छ ओलीको । कमी कमजोरी औँल्याउने जातिलाई उनी सरकारविरोधी ठान्थे, गणतन्त्रको विरोधी ठान्थे ।
प्रम ओली भावनामा डुब्छन् र कहाँ–कहाँ कुद्छन् । बोल्नुपर्ने कुरा बोल्दैन । भन्नुपर्ने कुरा भन्दैन । अरूलाई ठेल्न के पुग्छन् आफैँ वैचारिक घाइते बन्छन् । उनी आफूमात्रै शक्तिशाली प्रम ठान्थे । नेपाली भूमि अरू कुनै शासकले रक्षा नगर्ने धृष्टतासमेत गरे । के प्रम ओलीविना देश चल्दैन ? के ओलीबाहेक अरू कुनै नेता सक्षम र योग्य छैनन् ? आफू प्रमबाट हटे अरू पनि एकछिन नटिक्ने भविष्यवाणी गर्न पनि उनले भ्याए । मानौँ उनी भविष्यद्रष्टा हुन् । यसकारणले उनीमाथि प्रश्न उठाए, सरकारलाई चुनौती आन्तरिक कि बाह्य को ? आफूबाहेक अरू कुनै लायक नभएको देख्नु के प्रम ओलीको दृष्टिदोष होइन ? अरूलाई गन्दै नगन्ने ओलीको प्रवृत्तिले पनि आफ्नै पार्टीभित्र विरोधको स्वर बढी सल्केको हो ।
प्रम ओली आफ्ना पक्षधरबाहेक अरू सबैलाई भैँसीको जत्रो आँखाले हेर्थे । उनले आफ्नै नेताहरूप्रति प्रश्न छेडे, सरकारले गरेका काम पार्टीले किन देखेन ? पार्टीले किन सरकारी गतिविधिको प्रचार गरेन ? प्रचार गर्नलायकको काम हुनुपर्यो नि ¤ प्रम ओली पार्टीको मतलब राख्दैन, पार्टीको निर्देशन सरकारले पालना गर्दैन ।
उनी आफूखुसी निर्णय गर्थे । पार्टीको ख्याल नगरी उनी आफूखुसी अघि सर्थे । दोष जति पार्टीलाई देखाउँथे । आफू नै सर्वमान्य, आफू नै सरकार, आफू नै पार्टी ठानेर देश कसरी चल्छ, देश कसरी अघि बढ्छ ? एमसीसीको पक्षमा प्रम ओली अडानमा बस्नुपर्ने नै होइन । प्रतिवेदन सार्वजनिक नहुँदै, प्रतिवेदनको निष्कर्ष नआउँदै संसदमा पेश गर्नुपर्ने नै होइन । पार्टीको निर्णय या परामर्शबिना संसदमा पेश गर्नु के पार्टीविरोधी कदम होइन ? पार्टीलाई सोधपुच्छै नगरी एमसीसी जसरी भए पनि पारित हुन्छ भन्नु पार्टीविरोधी विचार होइन ? प्रम ओलीले पार्टीको त कुरा सुनेन, सुनेन सरकारको कुरा पनि सुनेन । यस्ता दर्जनौँ गल्ती र कमी कमजोरी गरेको कारण उनको विरोधमा पार्टीभित्रबाट असन्तोष बढेको हो ।
केपी ओली नेतृत्वको सरकारको आयुबारे भारतले चासो राखेको कुरा होइन भन्न सकिंदैन । विगतमा भारतकै कारण सरकार ढलेको, ठडेको कुरा स्वयं शासकहरू बताउँथे । भारतसँग परामर्श नगरिकन नेपालको संविधान बनाउँदा संशोधन गर्न दबाब दिने भारतले नेपाली भूमि कालापानीबाट भारतीय सेना फर्काउन भनेपछि सरकार छोडाउन कूटनीतिक भूमिका खेलेकोमा के आश्चर्य ? आफूलाई हटाउन भारत सक्रिय भएको हो भने मुटु दरो पार । देशको पक्षमा उभ । भूमि बचाउन नेपाली जनता एकढिक्का छन् । सरकारको पछाडि नेपाली जनता छन् भनेर आफू नभए अरूले नेपालको पक्षमा बोल्ने आँट गर्नसक्दैनन् भनेर घमण्ड नगर । कुनै एक देशका शासकले एक समय आफूलाई संसारकै शक्तिशाली ठाने, आफूलाई कसैले हटाउन नसक्ने बताए । त्यहीँ अभिमानीको कारण अन्ततः लडाइँमा उनी हारे । अभिमानी नगर्न, गल्तीको माफी माग्न सुझाउँदा ‘कुलद्रोह’ गर्ने भनी उल्टै हप्काए । प्रम ओलीमा पनि त्यस्तै अभिमानी छ । अभिमानी नगर्न आग्रह गर्दा उनले आफ्नै पार्टीका नेताहरूलाई ‘कुलद्रोही’ ठाने । पार्टी नेताहरूले सहेर बस्नुपर्ने कस्तो बाध्यता ¤ आफूलाई जनसेवक ठान्ने तर निरङ्कुश चरित्र देखाउने । अनि प्रम ओली कसरी जनसेवक हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *