भर्खरै :

आफ्नो खेतमा धान रोप्न गएका किसानमाथि प्रहरी दमन, दमनको विरोधमा मसाल जुलुस

ललितपुर, २० असार । जनसरोकार समिति खोकनाको आह्वानमा शनिबार खोकनाको खुडोल फाँटमा सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर, अश्रुग्यास र लाठी प्रहार गरे पनि स्थानीय जग्गा पीडित किसानहरूले धान रोपाइँ गरे ।
राष्ट्रिय गौरवको योजना मानिएको फास्ट ट्र्याक निर्माण गर्न स्थानीय किसानहरूको असहमतिबीच जबरजस्ती अधिग्रहण गरेको जमिनमा किसानहरूले धान रोप्न जाँदा प्रहरीले दमन गरेको हो । शान्तिपूर्वक धान रोपिरहेको किसानलाई रोक्न प्रहरीले दमन गरेको थियो ।
किसानहरू रोपाइँमा व्यस्त भइरहेको बेला रोपाइँमा संलग्न किसानहरूलाई तितरवितर पार्न सुरक्षाकर्मीले लाठी प्रहार गर्नुको साथै १७ थान अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेका थिए ।

सुरक्षाकर्मीको लाठी प्रहारबाट दुर्गाराम डंगोल, विद्या श्रेष्ठ, मनोज महर्जन, राजकुमार महर्जन, उज्ज्वल डंगोललगायतका एक दर्जनभन्दा बढी घाइते भएका थिए । प्रहरी दमन र अवरोधबीच किसानहरूले रोपाइँलाई निरन्तरता दिइरहे ।
किसानहरू खेतमा पुग्नुअघि नै बन्दुकधारी सुरक्षाकर्मीहरू रोपाइँ गर्ने ठाउँमा घेरा हालेर बसेका थिए । प्रहरी दमनमा उत्रने सम्भावनालाई ध्यानमा राखी आयोजकले सोही फाँटको अर्को खेतमा धान रोप्ने पहिले नै योजना बनाएका थिए । अर्को पीडित किसानको खेतमा धान रोप्दै गर्दा प्रहरी रोपाइँ बिथोल्न रोपाइँ स्थलमा जान खोज्दा रोपाइँमा सहभागी युवाहरूले बाटोमा छेकेका थिए । बाटोमा छेकेर नाराबाजी गरेपछि सुरक्षाकर्मीहरू जबरजस्ती अघि बढ्न खोज्दा घण्टौँसम्म घम्साघम्सी भएको थियो । घम्साघम्सी भइरहेको बेला सुरक्षाकर्मीहरूको सङ्ख्या थपिएको थियो । रोपाइँमा संलग्न युवाहरूलाई तितरवितर पार्न सुरक्षाकर्मीहरूले चारैतिर घेर्ने प्रयास गरेका थिए । सयौं सङ्ख्यामा सहभागी रोपाइँ कार्यक्रममा किसानहरूले उत्साहपूर्वक धान रोपेका थिए ।
रोपाइँ सकेपछि सोही स्थानमा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले आफ्नै थातथलोको जग्गामा रोपाइँ गर्दा र अधिकारको निम्ति आवाज उठाउँदा पनि बन्दुकधारी प्रहरी तैनाथ गरेर हिंसा भड्काउने कार्य गरेको बताउनुभयो ।
स्थानीय आदिवासी जनतालाई विस्थापित गर्ने षड्यन्त्र वर्तमान सरकारले गरिरहेकोमा रोष व्यक्त गर्दै उहाँले आफ्नै खेतमा धान रोप्न पनि आतङ्क मच्चाउने सरकारको निन्दा गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले रोपाइँलाई आन्दोलनसँग जोडेर अघि बढ्न बाध्य बनायो, हाम्रो आन्दोलन जारी छ ।”
सरोकार समितिका उपाध्यक्ष कृष्णभक्त डंगोलले रोपाइँ स्वाभिमानी स्थानीय आदिवासी जनताको आन्दोलन हो, खुडोल फाँटमा सुरक्षाकर्मीलाई निषेधित गर्नुपर्छ भन्नुभयो ।

सभामा महेन्द्र ब्रम्हाचार्य, दुर्गाराम महर्जन, बुङ्गमतिका पीडित किसान कृष्णशरण डंगोलले स्थानीय जनतालाई भोका–नाङ्गा बनाउने सरकारको निन्दा गर्दै काठमाडौँ उपत्यका सुरक्षित हुनुपर्छ भन्नुभयो ।
रोपाइँ सुरू हुनुअघि खोकनाको रूद्रायणी मन्दिरको प्राङ्गणबाट जुलुस सुरू भएको थियो । धिमाय् बाजाका साथ सबै किसानहरूलाई रोपाइँमा सहभागी हुन आह्वान गर्दै सुरू भएको सो जुलुसमा रोपाइँका लागि आवश्यक कुटो, कोदालो, धानको बीउसहित हजारौँ युवा, महिलाहरू सहभागी भएका थिए ।
किसानको भूमि फिर्ता गर, नेपाली सेना खोकना छोड– सक्छौ भने सिमाना जा, जीवन त्याग्न सजिलो– माटो छोड्न गा¥हो, उर्वर भूमिमा डोजर होइन–कोदालो चलाउने हो, कर्मशील किसानलाई होइन–बन्दुक सीमा मिच्नेलाई तेस्र्याऊलगायतका नाराहरू लगाई जुलुस खुडोल फाँट पुगेको थियो ।
जुलुस सुरू भएपछि घर–घरबाट किसानहरू जुलुसमा सहभागी भएका थिए । खेतमा घाँस गोडमेल गरिरहेका महिलाहरू पनि जुलुस र रोपाइँमा थपेका थिए ।
शान्तिपूर्वक रोपाइँमा सहभागी किसानहरूमाथि प्रहरीबाट भएको दमनको विरोधमा शनिबार बेलुका खोकनामा मसाल जुलुस आयोजना गरिएको थियो । मसाल जुलुसमा सहभागीहरूले जनभावनाविपरीत अघि बढे सरकारको प्रतिरोध जारी रहने भन्दै प्रहरी दमनको निन्दा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *