भर्खरै :

कोरोना भाइरसविरुद्ध चीनको लडाइँ’ महत्वपूर्ण पुस्तक

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । काठमाडौँ उपत्यकाभित्र ३२ जना सहित बिहीबारमात्र देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४७३ पुग्यो भने शुक्रबार अहिलेसम्मकै सर्वाधिक सङ्क्रमित सङ्ख्या ७४० पुगेको छ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि उपप्रधानमन्त्रीको नेतृत्वमा बनाएको समितिलाई निस्क्रिय बनाइसकेको छ । पीसीआर परीक्षणको परिधि फराकिलो बनाउन नागरिक सडकबाट माग गरिरहेका छन् । विशेषज्ञहरू काठमाडौँ उपत्यकाभित्रै सामुदायिक तहमा सङ्क्रमण फैलिएको हुन सक्ने बताइरहेका छन् । विडम्बना, संसारलाई नै त्रसित बनाएको कोरोना भाइरसको सङ्क्रमणबाट नेपाली जनतालाई जोगाउन जिम्मेवार नेपाल सरकार भने यतिबेला आफ्नो अस्तित्व जोगाउन दौडधूप गरिरहेको छ । सत्तारूढ दलभित्रको विवाद छताछुल्ल भएको छ । सत्तारूढ दलका नेताहरू आपसमा पदको लुछाचुँडी गरिरहेका छन् । उनीहरूको तल्लो स्तरको यो विवादले कोरोना महामारी नियन्त्रणको विषय ओझेलमा परेको छ । लकडाउन केही खुकुलो गर्ने निर्णयले सङ्क्रमण अझ फैलिँदो छ । तर, सरकार चलाइरहेको दलको नेतृत्व भने आफ्नो मूल दायित्वबाट टाढा आपसी सत्तासङ्घर्षमा उछिनपाछिन गरिरहेको छ । निःसन्देह यसले देशमा कोरोनाको कहर अझ गहिरो बनाउने नै छ, साथै देशका शासकहरूप्रति जनताको आक्रोश अझ बढाउनेछ । तर, संसारका सबै देशको राजनीतिक नेतृत्व यति पददलित हुने गर्दैन ।
सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको उहान सहरमा एउटा नयाँ खालको रोग देखियो । चिकित्सा विज्ञानलाई त्यसअघि कहिल्यै पनि त्यो रोगबारे थाहापत्तो थिएन । छोटो समयमा यो अज्ञात रोगका बिरामी यति धेरै बढे, उहान सहरमा भएको स्वास्थ्य पूर्वाधारले धान्न सकेन । नयाँ वर्ष २०२० र चिनियाँ बसन्त पर्वको स्वागतको लागि गतिवान बनेको उहानमा अचानक देखिएको यो रोगले सुरुका केही दिन भयावह अवस्था निम्त्यायो । उहानका अस्पतालमा बढेको बिरामीको सङ्ख्याले स्वास्थ्यकर्मीलाई अत्यायो । स्वास्थ्य सामग्री र औषधी सकिए तर बिरामीको लर्काे रोकिएन । केही दिनभित्रै उहानको यो भयावह अवस्थाबारे चीनको राजनीतिक नेतृत्व सचेत बन्यो । नयाँ रोग सामान्य रुघाखोकी र निमोनियामात्र नभई अर्कै घातक खालको रोग भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेलगत्तै त्यो रोग नियन्त्रणको लागि सारा चीन एक भएर उत्रियो । चीन अन्तर्राष्ट्रिय प्रकाशन समूह, विदेशी भाषा प्रकाशन र चीन अध्ययन केन्द्रले प्रकाशन गरेको ‘२०२० कोरोना भाइरसविरुद्ध चीनको लडाइँ’ पुस्तक चीनले त्यो नयाँ रोगविरुद्ध लडेको लडाइँसम्बन्धी सुरुको एक महिनाको दैनिक अभिलेख हो । नयाँ रोगले भयावह रूप लिन थालेपछि जनवरी २३ को दिन उहानमा लकडाउन घोषणा गरियो । उहानको स्थानीय सरकारले जारी गरेको सूचनामा लेखिएको थियो, “सार्वजनिक यातायात, बस, सुरुङमार्ग, डुङ्गा र लामो दुरीका यातायात सेवाहरू जनवरी २३, २०२० को बिहान १० बजेदेखि स्थगित गरिनेछ । उहानका बासिन्दाहरूलाई अनावश्यकरूपमा उहान नछोड्न अनुरोध गरिन्छ । बाहिर जाने हवाईजहाज र रेलहरू स्थगित हुनेछन् । यी सेवाहरू अर्को सूचना नआएसम्मका लागि बन्द हुनेछन् ।”
पुस्तकमा लकडाउन सुरु भएको जनवरी २३ देखि सङक्रमण उत्कर्षमा पुगेको फेब्रुअरी २३ सम्म दैनिक के कस्ता घटना भए भन्ने विषयमा उल्लेख छ । पेइचिङको विदेशी भाषा प्रकाशनले चिनियाँ र अङ्ग्रेजीमा प्रकाशन गरेको China’s Battle against the Coronavirus A Daily log पुस्तकको नेपालीभाषामा अनुवाद गरी चीन अध्ययन केन्द्रले प्रकाशन गरेको हो । नेपाली भाषामा सुन्दरनाथ भट्टराईले अनुवाद गरेका छन् ।
१०१ पृष्ठको सो पुस्तक पढिसकेपछि धेरै पाठकलाई कोरोना भाइरस नियन्त्रणमा चीनले लडेको लडाइँबाट मुख्यतः दुई कुराले प्रभावित बनाउनेछ । पहिलो, कोरोना भाइरसविरुद्ध चीनले निकै छोटो समयमा गरेको तयारी र दोस्रो चिनियाँ जनताको उदाहरणीय एकता ।
कोरोना भाइरस नयाँ खालको रोग थियो । त्यो रोगको लक्षण र उपचारको विषयमा चीनलाई त के, संसारमा कसैलाई पनि थाहा थिएन । त्यस्तो रोग महामारीको रूपमा फैलिँदा संसारको जुनकुनै देश र सहरमा पनि सुरुका केही दिन पूर्वाधार, जनशक्ति तथा आवश्यक सामग्रीको अभाव एवम् व्यवस्थापनमा समस्या हुनु स्वाभाविक हो । उहानले पनि सुरुका केही दिन त्यही अवस्था सामना ग¥यो । अस्पतालका सबै शैय्या भरिएका थिए । बिरामीलाई के औषधी दिने भन्ने प्रश्नको कोही पनि चिकित्सकसँग जवाफ थिएन । बिरामीको बढ्दो चापको कारण लक्षणअनुसारको उपचारको लागि आवश्यक औषधी पनि सकिए । न स्वास्थ्य क्षेत्रका जनशक्ति नै पुग्दो थियो । स्वास्थ्यकर्मीहरू आफै पनि कसरी सङ्क्रमणबाट जोगिने भन्ने विषयमा कुनै विधि र सामग्री थिएन । सारमा, धेरै प्रश्नको कसैसँग उत्तर थिएन । तर, जब चीनको राजनीतिक नेतृत्वले अवस्था निकै गम्भीर भएको निष्कर्ष निकाल्यो, उहानमा केही दिनभित्रै रोग नियन्त्रण र रोकथामको लागि आवश्यक पूर्वाधारहरूको निर्माण तीव्रगतिमा थालियो । संसारलाई नै चकित पार्ने गरी दस दिनमा दुई वटा सुविधासम्पन्न अस्पताल निर्माण गरियो । हजारौँको सहभागितामा बनेका ती अस्पतालले उहानको कठिनाइ पार गर्नमा ठूलो मद्दत गरे । उहानका अधिकांश ठूला सार्वजनिक भवनमा सुविधासम्पन्न क्वारेन्टिन स्थल निर्माण गरियो ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभावपूर्ति गर्न चीनका विभिन्न विश्वविद्यालयले सञ्चालन गरेका चिकित्सकीय प्रतिष्ठान र धेरै प्रान्तबाट हजारौँको सङ्ख्यामा चिकित्सक र स्वास्थ्यकर्मी उहान पठाइयो । सङ्क्रमणको कारण दैनिक सयौँ मानिसको निधन भइरहेको भयावह अवस्थाबीच ती स्वास्थ्यकर्मीहरू जोखिम मोलेर उहान गएका थिए । संसारले हुपेई प्रान्तको उहानलाई ‘राक्षस’ ले ध्वस्त बनाइरहेको एउटा वियोगपूर्ण सहरको रूपमा हेर्दै गर्दा ती स्वास्थ्यकर्मी आफ्नो देश र देशबासीलाई जोगाउन आगोमा होमिएका थिए । मास्क, ह्यान्ड स्यानिटाइजर, भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्रीले रोग नियन्त्रण र रोकथाममा मद्दत गरेको वैज्ञानिक र चिकित्सकहरूले बताएपछि त्यस्ता सामग्री उत्पादन गर्ने कलकारखानालाई चौबीसै घन्टा चालु राखियो । बसन्त पर्वको बिदा मनाउन आफ्नो जिल्ला र सहर पुगिसकेका मजदुरहरू समेत काममा फर्केर त्यस्ता सामग्री उत्पादनमा दिलोज्यान दिएर लागे ।

नेपालको राजनीतिक नेतृत्वले छिमेकका नेताहरूबाट सिक्न नसकेको कुरा यिनै हुन् । नेपालका प्रधानमन्त्री आफँै विशेषज्ञजस्तो गरी रोग उपचारको विषयमा बोल्दै हिँड्ने, रोकथामको लागि गठित समितिले हचुवा निर्णयहरू गर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, निजी अस्पताललाई पोस्ने सरकारका निर्णय, क्वारेन्टिन व्यवस्थापनमा लापरबाही, रोग परीक्षणमा लापरबाही र अहिलेको सत्ता झगडाले नेपालका नेताहरू र चीनको नेतृत्वबीचको भिन्नता घामजत्तिकै प्रस्ट हुन्छ ।

उहानमा लकडाउनपछिको एक महिना जे भयो, त्यसको चमत्कारिक तीव्र गति देखेर संसार जिल्ल प¥यो । चीनलाई चिनेका संसारका धेरै मानिसले ‘चीन भएकैले मात्र यो सब सम्भव भएको’ बताए । ‘कोरोना भाइरसविरुद्ध चीनको लडाइँ’ पुस्तकमा एक महिनामा भएका दैनिक गतिविधि पढ्दा जो कोहीलाई पनि यसो भन्न करै लाग्छ । नेपाली जनता लकडाउनमा बसेको तीन महिना नाघिसकेको छ । तर, नेपालले अझै पनि पीसीआर परीक्षणको लागि किट्स, प्रयोगशाला र जनशक्ति नै तयारी गर्न सकेको छैन, अरू पूर्वाधारको दुरवस्था सर्वविदित नै छ ।
यो लडाइँमा चीनमा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको चिनियाँ जनताको एकमनको एकता हो । उहानमा फैलिएको रोगले भयानक ‘रौद्र रूप’ धारण गरेपछि सिङ्गो चीन एक ढिक्का भएको देखियो । जसले जहाँबाट जसरी सकिन्छ, त्यसरी कोरोनाविरुद्ध लडेको देखियो । उहान नजिकका गाउँका किसानले दैनिक तरकारी र फलफुल उहानसम्म पु¥याए । लकडाउनमा बन्द उहानका जनता त्यही तरकारी र फलफुल खाएर बाँचे । विदेशमा रहेका चिनियाँहरूले आफू बसेको देश र सहरबाट मास्क किनेर उहान पठाए । त्यतिबेलासम्म संसारका निकै थोरै देशमा मात्र यो रोग फैलिएको थियो । चीन जाने विमानहरू मानिसको सट्टा मास्क र अन्य स्वास्थ्य सामग्रीले भरिएर उडे । स्वास्थ्यकर्मीहरू उहानमा काम गर्न पाउँदा गौरव गर्न थाले । चीनका विभिन्न प्रान्तले आ–आफ्ना प्रमुख उत्पादन उहान पठाउन होडबाजी गरे । उहान र चीनका अन्य विभिन्न प्रान्तका जनताले पनि अनुशासित भएर सरकारद्वारा जारी सूचनाको पालना गरी रोगविरुद्धको लडाइँमा टेवा पु¥याए । महिनौँ महिना कोठाभित्र कैद बसेर रोगलाई पराजित गर्न योगदान गरे । अर्कोतिर आज संसारले देख्दै छ– संरा अमेरिकामा घर बस्न, पसल बन्द गर्न, सार्वजनिक स्थलमा नआउन सरकारले गरेको आह्वानलाई जनताले मानेनन् । फलतः संरा अमेरिकाले अझै पनि यो रोगको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन ।
चीनका जनतालाई यसरी एक सुत्रमा एकताबद्ध गर्ने काम भने चीनको राजनीतिक नेतृत्व र चिनियाँ कम्युनिस्ट पार्टीले ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले कोरोना महामारीविरुद्धको लडाइँलाई ‘जनताको युद्ध’ को उपमा दिएर सम्पूर्ण राज्यका संरचना, पार्टी सङ्गठन र जनतालाई एकताबद्ध हुन आह्वान गरे । यो लडाइँको नेतृत्व स्वयम् महासचिव सीले गरे । उनले रोग नियन्त्रण र रोकथामको लागि भएका अधिकांश बैठकको अध्यक्षता गरेर विज्ञ अधिकारीका कुरा सुन्ने र आवश्यक परामर्श दिने जिम्मेवारी पूरा गरे । उनले भने, “जनता नै हाम्रो सबभन्दा पहिलो प्राथमिकता हो ।” सङ्क्रमण उत्कर्ष पुगेको बखत प्रधानमन्त्री ली खस्याङ र उपप्रधानमन्त्री एवम् रोग नियन्त्रण तथा रोकथामको लागि गठित समितिका संयोजक सुन चुन्लानले उहानको पटक–पटक भ्रमण गरे । पछि राष्ट्रपति सी स्वयम् उहान पुगेर जनतासँग भेटघाट गरे । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूले उहानका हरेक समुदायमा मिहिन तरिकाले गरेको कामले रोग फैलिन पाएन र जनताका दैनिक आवश्यकता पूर्ति सहज बन्यो । आफ्नो जीवन हत्केलामा राखेर अनि परिवारका सदस्यसँग टाढा बसेर कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको अहोरात्रको मिहिनेतकै कारण चिनियाँ जनताबीच कम्युनिस्ट पार्टी अझ लोकप्रिय बनेको छ । ९० लाख चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यको जोड र जनताको साथले ‘राक्षस’ कोरोना भाइरस महिना दिनमै गल्यो ।
नेपालको राजनीतिक नेतृत्वले छिमेकका नेताहरूबाट सिक्न नसकेको कुरा यिनै हुन् । नेपालका प्रधानमन्त्री आफँै विशेषज्ञजस्तो गरी रोग उपचारको विषयमा बोल्दै हिँड्ने, रोकथामको लागि गठित समितिले हचुवा निर्णयहरू गर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, निजी अस्पताललाई पोस्ने सरकारका निर्णय, क्वारेन्टिन व्यवस्थापनमा लापरबाही, रोग परीक्षणमा लापरबाही र अहिलेको सत्ता झगडाले नेपालका नेताहरू र चीनको नेतृत्वबीचको भिन्नता घामजत्तिकै प्रस्ट हुन्छ ।
नेपालमा अहिले सरकार चलाइरहेको दलको नाम पनि कम्युनिस्ट पार्टी हो र चीनमा सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी हो । तर, नेपाल र चीनका नेताहरूबीचको व्यवहारमा प्रस्ट देखिएको भिन्नताबाट वास्तवमा नेपालको सत्तारूढ पार्टी कम्युनिस्ट पार्टी हो वा होइन, स्पष्ट हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले सिङ्गो कार्यकर्ता पङ्क्तिलाई लडाइँको अग्रमोर्चामा उतारेको देखियो । तर, पैसा, पद र सुविधाको लागि सत्तारूढ दलको वरपर बस्ने ती दलका कार्यकर्ताहरू नेपालमा कोरोनाविरुद्धको लडाइँमा कहीँ कतै निस्केको देखिएन । बरु सत्ताको आडमा अकुत सम्पत्ति कमाएको, भ्रष्टाचार गरेको र कमिसन कुम्ल्याएको घटना धेरै प्रकाशमा आए । ‘कोरोना भाइरसविरुद्ध चीनको लडाइँ’ पढेपछि अधिकांश नेपाली जनताको मनमा यस्तै कुरा खेल्नेछ ।
जनवरी २३ देखि फेब्रुअरी २३ सम्म उहानमा भएका विभिन्न कोणले महत्वपूर्ण घटनाको वर्णन र रङ्गीन तस्वीरले पुस्तकलाई अझ पठनीय बनाएको छ । जनवरी–फेब्रुअरीमा भय र सन्त्रासको पर्याय बनेको उहान महिना दिनमै प्रतिकार र साहसको प्रतीक बन्यो । चीनको सफल प्रतिरोधले आज संसारभर उहान एउटा उदाहरण बनेको छ । उहान मार्च महिनादेखि नै सामान्य लयमा फर्किसकेको छ । उहान आज हिजो जस्तै गतिवान बनिसकेको छ । तर, जनवरीअघिको उहान र आजको उहानमा धेरै भिन्नता देखिएको छ । संसारले आज उहानमा आत्मविश्वास, सजगता र भविष्यप्रतिको विश्वास देखेको छ । उहान विश्वविद्यालयमा फुलेका पैयुँका फूलहरूले उहानलाई भविष्यप्रति आशावादी बनाएको छ । सुन्दर भविष्यप्रति विश्वस्त बनाएको छ ।
पुस्तकको नेपाली अनुवादमा केही समस्या छन् । हतारमा अनुवाद गर्दा ठीक–ठीक शब्दको प्रयोग र वाक्य विन्यासमा समस्या हुनेगर्छ । तथापि, पुस्तकको सान्दर्भिकताको तौलले अनुवादमा देखिएका सानातिना समस्यालाई ओझेलमा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *