भर्खरै :

एमसीसी अमेरिकी सैन्य गठबन्धन नै हो, खारेज गर्नैपर्छ’

भक्तपुर २२, असार । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नपा छालिङ एकाइ समितिको आयोजनामा छालिङमा भ्रष्टाचारविरोधी आन्दोलनबारे प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भ्रष्टाचारीहरूले सरकारी कार्यालयमा बिल मिलाएर खाने, कोषको दुरुपयोग गर्ने, समयमा जनताको काम नगर्ने र योजनाहरूमा कमिसन खानेजस्ता गतिविधि गरेर दुःख दिने भएकोले जनता सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा अरुलाई काम गराएर नाफा खाने प्रवृत्ति बढ्ने, केही ठुला व्यापारी र अपराधीहरूको चङ्गुलमा सरकार पर्ने र नेता र कार्यकर्ता स्वयम् भ्रष्टाचारमा संलग्न हुने राजनीतिक दल सरकारमा पुगेसम्म देशको विकास नहुने बताउनुभयो ।
सांसद सुवालले पञ्चायतले थुनेका भ्रष्टाचारीहरूलाई बहुदलपछि सत्तामा पुगेको नेपाली काङ्ग्रेसले छुट्टाएको, त्यसपछि आफैँ धमिजा काण्ड, लाउडा काण्डलगायत भ्रष्टाचारमा लागेको, एमालेले २०५१ सालमा सरकारमा गएपछि कमिसन राजस्वमा जम्मा गर्ने बताए पनि नगरेको बताउनुभयो । अहिले वाइडबडी काण्ड, एनसेल काण्ड, फोरजी सेवा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास, गोकर्ण रिसोर्ट काण्डजस्ता भ्रष्टाचारका घटना घटिरहेको हुँदा भ्रष्टाचारविरोधी आन्दोलनको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद सुवालले एमसीसी हिन्द–प्रशान्त क्षेत्रमा परेका देशमा अमेरिकी सैन्य गठबन्धनमा राख्ने काम भारतलाई चीनविरुद्ध पुनः लडाउने नियत भएकोले नेपाल असंलग्न परराष्ट्र नीतिअनुसार कसैको सैन्य छातामुनि जान नहुने भएकोले एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो ।
सांसद सुवालले भारतले गलवनमा सिमाना नाघेर चीनमा हिंसात्मक आक्रमण गरेको बताउनुभयो ।
नेपाली युवाहरूलाई भारतले अन्य देशविरुद्ध लडाउने भएकोले नेपाल–भारत–बेलायतबीच भएको त्रिदेशीय गोर्खा भर्तीकेन्द्रको सन्धि खारेज गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । सांसद सुवालले भन्नुभयो, “भारतमा कोभिड–१९ सङ्क्रमण बढ्दो छ । खुला सिमानाको कारण नेपालमा पनि यसको सङ्क्रमण बढ्ने भएकोले नेपाली जनता सचेत हुनुपर्छ । नेपाली जनताले शारीरिक दुरीमा बस्ने र मास्क लगाउनेलगायत रोकथामको उपाय अपनाउनु जरुरी छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले चीनमा हुनान किसान आन्दोलनमा अत्याचारी सामन्त र भ्रष्टाचारीलाई चुच्चे टोपी लगाएर परिक्रमा गराएको चर्चा गर्नुभयो । उहाँले भक्तपुरमा नवदुर्गा सहकारीका सञ्चालकहरूले जम्मा भएको बचत किसानको हितमा खर्च नगरी व्यक्तिगत व्यापारमा लगाई नाफा कमाउने गरेकोले त्यस्ता भ्रष्टाचारीलाई किसान कार्यकर्ताहरूले उल्टो टोपी लगाएर नगर परिक्रमा गराएको स्मरण गर्दै अहिले पनि उक्त आन्दोलनको महत्व रहेको बताउनुभयो ।
उहाँले मालपोत कार्यालय, खानेपानी डिभिजन कार्यालय, सडक डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, नगरपालिकालगायतका जनतासँग सरोकार राख्ने सरकारी कार्यालयहरूमा भ्रष्टाचार बढ्दै गएको र योजनाहरूमा समेत कमिसनको खेल भइरहेकोले जनताको खबरदारी जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिका सूर्यबहादुर फोँजूले पनि भ्रष्टाचारविरोधी दिवस (असार १९) को बारेमा बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *