भर्खरै :

भक्तपुरमा सङ्क्रमितमध्ये चार जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी

काठमाडौँ, २२ असार । सोमबार काठमाडौँ उपत्यकामा कोरोना पुष्टि भएका ५४ जनामध्ये चार जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी रहेको खुलेको छ । अस्पतालको ल्याबका तीन जना र एक जना कार्यालय सहयोगीमा कोभिड–१९ पुष्टि भएको छ । यसअघि अस्पतालमा उपचारको लागि आएका बिरामी र बिरामीका आफन्तमध्ये केहीमा कोभिड–१९ देखिए पछि अस्पतालका ७० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार जनामा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको हो ।
सङ्क्रमितमध्ये भक्तपुर नपा वडा नं २ इटाछेँका २४ वर्षीय पुरुष, भक्तपुर नपा वडा नं ९ देगइनाका ३३ वर्षीया महिला, भक्तपुर नपा वडा नं २ बर्केमा डेरा लिई बसेका २१ वर्षीया महिला, भक्तपुुर नपा वडा नं २ ब्यासीका २७ वर्षीय पुरुष रहेको खुलेको छ ।
अस्पतालका सहकर्मीहरूमा कोभिड–१९ देखिएपछि अस्पतालका ६ जना चिकित्सक र ४ जना ल्याबका कर्मचारी गृह एकान्तवासमा बसेका छन् । अस्पतालका कर्मचारीलाई दुई समूहमा विभाजित गरी पालैपालो काम चलाइरहेको हुनाले भक्तपुर क्यान्सर अस्पतालका सबै सेवा भने सुचारु गर्न सकिने अस्पताल स्रोतले बताएको छ ।
त्यस्तै भक्तपुर जिल्लाकै सूर्यविनायक नगरपालिकाका दुई जना र चाँगुनारायण नपाका चार जनाको पीसीआर परीक्षण पनि पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा एकै दिन सोमबार ५४ जनाको पीसीआर परीक्षण पोजेटिभ आएको हो । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या यो हालसम्मकै सबभन्दा ठुलो सङ्ख्या हो । काठमाडौँ उपत्यकामा आइतबार ३० जनामा सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमितमध्ये काठमाडौँका २४, ललितपुर २० र भक्तपुरमा १० जना रहेको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलट पनि छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरूमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको बताउनुभयो ।
उहाँका अनुसार तीनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले मानिसहरू उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताउनुभयो । उहाँले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताउनुभयो ।
उहाँका अनुसार ती सङ्क्रमित व्यक्तिहरूमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । “भेटिएका सङ्क्रमित कपन, चाँगुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन्, उनीहरूको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन् भन्ने हामीले पत्ता लगाइरहेका छौँ”, उहाँले भन्नुभयो ।
महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमुना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताउनुभयो ।
उपत्यकामा मानिसहरू भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो ।
अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *