नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१४ को नोभेम्बर १ मा आरम्भ भएको लडाइँ १८१६ मार्च ४ मा सुगौली सन्धिले टुङ्ग्याइदिएको थियो । अत्यन्त अपमानित ढङ्गले त्यो असमान सन्धि गर्न बाध्य गराइएको नेपालले त्यसपछि एक तृतीयांश जमिनमाथिको आफ्नो स्वामित्व गुमाएको थियो । सो घटना नेपालीको मनमा गहिरो घाउ बनेर बस्यो । त्यो घाउलाई समयरूपी मल्हमले बिस्तारै खाटा पार्दो हो । तर, विडम्बना ¤ त्यो खाटालाई घरीघरी उप्काएर सुगौली सन्धि नामक घाउ आलो बनाइराख्न हामी बाध्य छौँ ।
किन लागेथ्यो नेपालीको मनमा सुगौली सन्धिको घाउ ? किन भएथ्यो नेपालको ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग युद्ध ? कारणहरू यसप्रकार छन् ः
यूरोपेली मुलुकहरू व्यापार गर्ने उद्देश्यले एसिया महाद्वीपमा प्रवेश गर्ने क्रम सोह्रौँ शताब्दीमा आरम्भ भएको थियो । त्यही सिलसिलामा ब्रिटिस सरकारले इस्ट इन्डिया कम्पनीको गठन गरेर २१ वर्षको लागि भारतीय प्रायःद्वीपमा व्यापार गर्ने आधिकारिक आज्ञापत्रसहित व्यापारीहरू पठाएको थियो । कम्पनीले मुगल सम्राट जहाँगिरबाट उनको राज्यमा व्यवसाय गर्ने अनुमति प्राप्त गरेर विभिन्न स्थानमा कारखाना स्थापना गरी आफ्नो प्रभाव विस्तार गर्न थाल्यो । औरङ्गजेबको अन्त्यपछि कमजोर हुँदै गएको मुगल साम्राज्यबाट फाइदा उठाएर ठाउँ–ठाउँमा नवाबी राज स्थापित हुन थालेको मौका छोपी यूरोपेली मुलुकहरूबीच हालको भारत, पाकिस्तान, बङ्गलादेश क्षेत्रमा आफ्नो शक्ति विस्तार गर्ने होडबाजी चल्यो । जसमा ब्रिटिस कम्पनीले पोर्चुगल, फ्रान्स, डच, डेनमार्क, स्पेन सबैलाई पाखा लगाउँदै आफ्नो प्रभाव विस्तार गर्न सफल भएको हो ।
यही क्रममा सन् १७५७ मा बङ्गाल नवाब सिराजुद्दौलालाई प्लासीको युद्धमा समाप्त पारेपछि ब्रिटिस इस्ट इन्डिया कम्पनी निकै बलियो भयो । अझ सन् १७६४ मा बक्सरको युद्धमा बङ्गाल नवाब मीर कासिम, अवध नवाब सुजाउद्दौला, मुगल सम्राट शाह आलम द्वितीयलाई पराजित गरेपछि इस्ट इन्डिया कम्पनी अझ बलियो भएर बिस्तारै त्यहाँको राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक प्रणालीलाई समेत नियन्त्रणमा राख्न थाल्यो । अनि कम्पनीको ध्यान त्योभन्दा बाहिरका क्षेत्रतिर जान थाल्यो । त्यही तारोमा नेपाल पनि पर्न गएको थियो । शितोष्ण राज्य ब्रिटेनबाट आएको अङ्ग्रेजले नेपालबाट लिनसक्ने फाइदाको प्रक्षेपण त ग¥यो नै, यहाँको मौसमी अनुकूलताले त उसलाई झन् बढी लोभ्याएको थियो । अर्को कुरा ब्रिटिस इन्डिया नेपालसँग मात्र नभएर तिब्बतसम्म व्यापार फैलाउन चाहन्थ्यो जसका लागि सिक्किमदेखि काँगडासम्म लमतन्न परेर बसिदिएको नेपाल अवरोध बनेको थियो । तसर्थ ब्रिटिस इन्डियाले नेपालमाथि नियन्त्रण नगरी नहुने महसुस ग¥यो ।
त्यो बेलाको नेपाल अहिलेजस्तो कमजोर, निरीह तथा लाचार नभएर दक्षिण एसियामा शक्तिको रूपमा उदाइरहेको लडाकु तथा महŒवाकाङ्क्षी राज्य थियो । नेपालको मध्य पहाडको एउटा डाँडो गोरखाका राजा पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यका, पूर्वतिर चौदण्डी हुँदै विजयपुरसम्म जितेर राज्यको सिमाना मेची नदीसम्म पु¥याएपछि नेपाल शक्तिशाली राज्यको रूपमा स्थापित भयो । उनको मृत्युपछि उनका जेठा छोरा प्रताप सिंहले चितवन, कपिलवस्तुजस्ता तराईका केही राज्य एकीकरण गरे । प्रतापको चाँडै नै मृत्यु भएकोले राजकीय गुणले युक्त उनकी रानी राजेन्द्रलक्ष्मीले छोरा रणबहादुर शाहको नायबी सम्हाल्दै लमजुङ, तनहुँ र कास्कीलाई नेपालमा मिलाइन् । राजेन्द्रलक्ष्मीको पनि चाँडै नै मृत्यु भएकोले बहादुर शाहले भतिजा राजा रणबहादुरको नायबी सम्हाले र आफ्नो नामलाई सार्थक पार्दै पश्चिममा बाइसे, चौबीसे राज्यहरू, कर्णाली, डोटी प्रदेशहरू जितेर नेपालको सिमाना महाकाली नदीसम्म पु¥याए । त्यसपछि हाल भारतको उत्तराखण्ड, हिमाञ्चल, उत्तर प्रदेशमा पर्ने अल्मोडा, नैनीताल, कुमाउ, सिम्ला, मसूरी, रानीखेतसम्म विजय गरे । यही बेला नेपाल र भोटबीच उत्पन्न तनाव बढ्दै गएर युद्धमा परिणत भयो र सम्पूर्ण ध्यान त्यता केन्द्रित गर्नुप¥यो । परिणामस्वरूप पश्चिम विजय अभियान रोकियो र मौकाको फाइदा उठाउँदै जितिसकेका केही राज्यहरूले नेपालबाट स्वतन्त्र भएको घोषणा गरे ।
राजा रणबहादुर शाह वयस्क भएपछि काकालाई बन्दी बनाएर राज्यशक्ति हात पारे । उनको समयमा मुख्तियार भीमसेन थापा, सेनापति अमरसिंह थापा, वीर भक्ति थापा, वीर बलभद्र कुँवर आदिले राज्यविस्तार अभियानलाई निरन्तरता दिइरहे । पश्चिममा श्रीनगर, गढवालमा पुनःकब्जा गरेर अघि बढ्दै यमुना र सतलज नदीबीचका स–साना राज्यहरू जित्दै सतलज पार गरी काँगडाको किल्लासम्म पुगेर नेपालको क्षेत्रफल ३ लाख वर्ग किलोमिटरभन्दा बढी तुल्याए ।
नेपाली फौजले काँगडाको अभेद्य किल्लामा प्रवेश गर्ने प्रयासमा त्यहाँका राजा संसार चन्दलाई बन्दी बनाएर राख्यो । चार वर्षपछि कसो कसो आँखा छलेर भाग्न सफल भएका संसार चन्द पञ्जाव केशरी राजा रणजीत सिंहको शरणमा गए । नेपालको बढ्दो शक्तिलाई नियन्त्रण नगरे आपूmमाथि समेत खतरा हुने देखेका रणजीत सिंहले संसार चन्दलाई सहयोग गर्ने निर्णय गरे । अतः ती दुईको संयुक्त सेना र नेपालबीचको युद्धमा नेपाल पराजीत भयो । परिणामस्वरूप नेपाल सतलज नदीभन्दा वरै समेटिनुपर्ने गरी सन्धि भयो । यसपछि भने नेपालको राज्य विस्तारमा पूर्णविराम लाग्यो । यति हुँदा पनि नेपालको क्षेत्रफल झन्डै अढाइलाख वर्गकिलोमिटर रहन गएको थियो ।
अतः राज्य विस्तार अभियानमा तीव्ररूपले अघि बढिरहेको नेपाल र साम्राज्य विस्तार गर्न हिँडेको ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको यस्तो परिदृश्यमा कुनै न कुनै निहुँमा तनाव सिर्जना हुनुलाई आश्चर्यको विषय मान्नु पर्दैन । दुई शक्तिबीच केही गाउँलाई लिएर किचलो उठ्यो । यही विषयमा वसन्तपुर दरबारमा बसेको भारदारीले ब्रिटिस इन्डियाले निकालेको किचलोको समाधान गर्नेबारे एकमत बनेन । मुख्तियार भीमसेन थापा शक्तिशाली थिए । तर, उनलाई न युद्धको अनुभव थियो न कूटनीतिक ज्ञान । २० वर्षका अल्लारे राजा गीर्वाणयुद्ध विक्रमशाह त मुख्तियारको कठपुतली नै थिए । यद्यपि राजा र मुलुकप्रति भीमसेन थापाको इमानमाथि शङ्का गर्ने ठाउँ थिएन । भीमसेन थापाले दरबार बुझेका थिए, देश बुझेका थिएनन् ।
यसको विपरीत नेपाल बुझेका तर दरबारमा बलियो पकड नभएका सेनापति अमरसिंह थापाले ब्रिटिस शक्तिको आकलन गरेका थिए । त्यसैले विवादित क्षेत्र छाडेर भए पनि ब्रिटिस इन्डियासँग युद्धमा जानबाट बच्नुपर्छ, लडेर होइन कूटनीतिक प्रयासद्वारा समस्याको समाधान खोज्नुपर्छ भन्ने धारणा उनले राखेका थिए । तर, त्यसो भएन । नेपालले कूटनीतिक प्रयासै गरेन । अमरसिंह थापालाई मन नपराउने भारदारहरूले उनको विचारलाई कायरताको संज्ञा दिँदै फिरङ्गीलाई तह लगाएरै छाड्नुपर्ने विचार राखे । जसमा भीमसेन थापाको पूर्ण सहमति थियो । राजा त भीमसेन थापाले जे भन्थे, त्यसैलाई अनुमोदन गर्थे । यो मामलामा पनि त्यही भयो ।
विवादित क्षेत्रमाथि नेपाल र ब्रिटिस इन्डियाको दाबी रहेपछि युद्ध अनिवार्य भयो । नेपालले आफ्नो शक्तिको आकलन वास्तविकताभन्दा बढी गरेछ, त्यसैले युद्ध गर्न हौसियो । सायद छिमेकी राज्यबाट सहयोग प्राप्त हुने अपेक्षा पनि थियो । तर, नेपालसँग छिमेकीहरू सशङ्कित थिए । केही अघि भीषण युद्ध भएर चीनको मध्यस्थतामा सन्धि भएको तिब्बत नेपाललाई किन सहयोग गर्दो हो ? सिक्किमी राजा छोग्यालले आफ्नो आधाभन्दा बढी भाग हत्याइसकेको नेपाललाई भन्दा अङ्ग्रेजलाई सघाउनु उचित ठाने । बङ्गाल अङ्ग्रेजको पूर्ण नियन्त्रणमा भइसकेकोले चाहेर पनि नेपाललाई सहयोग गर्नसक्दैनथ्यो । अवधबाट केही आशा गर्नसकिन्थ्यो । तर, ब्रिटिस इन्डियाले त्यहाँका नवाबलाई फकाइफुल्याइ, तर्साइ–धम्काइ नेपाललाई जितेर ऋण लिएको रकम बराबर जमिन दिने भाका राखेर दुई÷तीन करोड रुपियाँ ऋण लिएका थिए । त्यसैले ऊ अङ्ग्रेजको विजयी होस् भन्न बाध्य थियो । पञ्जावका राजा रणजीत सिंहले ब्रिटिसलाई मित्र नठाने पनि नेपालसँग अङ्ग्रेजसँग जत्तिकै सशङ्कित थिए । नेपालसँग पराजित भए राजपाठ नै त्याग्नुपर्ने तर अङ्गे्रजसँग पराजित भए उसले कठपुतली बनाएर भए पनि राजा वा नवाब पदमा राखिरहने भएकोले मर्नुभन्दा बहुलाउनु निको भन्ने सोचेर पनि छिमेकी राज्यहरू नेपाललाई सहयोग नगर्ने निर्णयमा पुगेका थिए ।
अतः पश्चिम नेपालका केही गाउँको विषयलाई लिएर नेपाल अङ्ग्रेजबीच कतिसम्म तनाव बढ्यो भने सन् १८१४ नोभेम्बर १ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड फ्रान्सिस हेष्ंिटङले नेपालविरुद्ध औपचारिकरूपमै युद्धको घोषणा गरे । त्यसको एक दिनअघि ३१ अक्टोबरमै नालापानीको किल्लामा चढाइ गरिसकेको अङ्ग्रेजले अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउ, देउथल, बुटवल, मोरङ, मकवानपुर आदि धेरै ठाउँबाट धमाधम आक्रमण गर्दै नेपाललाई आच्छुआच्छु पा¥यो । तुलनात्मकरूपमा नगन्य स्रोत–साधन भए पनि गोर्खाली ज्यूज्यानको पर्वाह नगरी लड्यो । नालापानी मोर्चामा बलभद्र कुँवरलले जुन आँट र बहादुरीले युद्ध लडे, त्यो सानो किल्ला जित्न पनि ब्रिटिस इन्डियाले धेरै समय र स्रोत–साधन खर्चनुका साथै क्षति पनि धेरै बेहोर्नुपरेको थियो । यहाँजनरल जिलेस्पीलगायत धेरै अङ्ग्रेज सेनाले ज्यान गुमाएपछि क्रुद्ध ब्रिटिस इन्डियाले कपटको बाटो अपनायो । किल्लामा जाने पानीको मुहान थुनिदिनेजस्ता अमानवीय काम गर्न थाल्यो । अतः बलभद्र कुँवर बचेका मानिसहरू लिएर पछि हट्न बाध्य भए र नेपालले नालापानी गुमाउनपुग्यो ।
देउथलको मोर्चामा ७० वर्ष नाघिसकेका भक्ति थापाले बहादुरीपूर्वक लड्दालड्दै वीरगति प्राप्त गरे । सेनापति ढलेपछि सेनाको मनोबल कमजोर भयो र देउथलमाथि ब्रिटिस इन्डियाले कब्जा जमायो । यी दुई मोर्चामा विजयी भएपछि ब्रिटिस इन्डियाको हौसला बढ्यो र उसले गलत हल्ला फैलाएर मनोबल कमजोर पार्ने, घूस खुवाएर आफ्नो पक्षमा ल्याउने, ‘छोरी कुटेर बुहारी तर्साउने’ जस्ता खेल खेल्न थाल्यो । कुमाउका बडाहाकिम चौतारा बम शाहमाथि कुन सूत्रले काम ग¥यो कुन्नि, उनी शङ्कास्पद तरिकाले मोर्चा नै छाडेर हिँडिदिए । यसरी कुमाउ पनि नेपालको हातबाट फुत्कियो ।
यसप्रकार क्षतिमाथि क्षति हुनथालेपछि काँगडामा रहेका अमरसिंह थापा अत्तालिए र डेभिड अक्टरलोनीसमक्ष सन्धिको प्रस्ताव पठाए । फलस्वरूप सन् १८१५ मे १५ मा नेपाली सेनापति अमरसिंह र ब्रिटिस सेनापति अक्टरलोनीबीच युद्ध रोक्ने सम्झौता भयो । जसमा नेपालले हारेको महाकाली नदी पश्चिमका सबै क्षेत्र ब्रिटिसलाई छोड्नुपर्ने सर्त थियो । वास्तवमा यो न्यायोचित पनि थियो किनभने हारेको क्षेत्र छाड्नुपर्ने युद्धको सामान्य सिद्धान्त नै हो । तर, ब्रिटिसले यतिमा चित्त बुझाएन । नेपालबाट धेरै फुत्काउने, गलाउन सक्ने सम्भावना देख्यो र युद्धमा जितेको भूूमिसमेत त्याग्नुपर्ने सर्त राखेर ब्रिटिस इन्डियाका कर्नल पेरिस बेड्साले सुगौलीस्थित ब्रिटिस क्याम्पमा सन् १८१६ डिसेम्बर २ का दिन हस्ताक्षर गरेको सन्धिपत्र नेपाल दरबारमा पठायो । सन्धिमा ‘नेपालका राजाले हस्ताक्षर गरेर १५ दिनभित्र ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई बुझाउनुपर्नेछ’ भनिएको थियो ।
यो सन्धि स्वीकारेको खण्डमा नेपालले विशाल भूभाग गुमाउनुपर्ने हुन्थ्यो । वास्तवमा जमुनापारि मात्र नेपालले युद्ध हारेको थियो । बुटवल पश्चिममा कमसेकम आत्मरक्षा गरेको थियो भने पूर्वमा भएका सबै युद्ध जितेको थियो । हारेको त हारेको, जितेको र हारजीतै नभएको क्षेत्रसमेत छाड्नुपर्ने गरी ब्रिटिसले पठाएको नितान्त एकतर्फी र अन्यायपूर्ण सन्धि प्रस्ताव स्वीकार गर्न नेपाललाई गा¥हो भयो । भारदारहरू पनि सन्धि गर्ने र नगर्ने पक्षमा विभक्त भए । १५ दिने म्याद अलमलमै गुज्रियो ।
यसबाट नेपालले सन्धि गर्न नचाहेको, युद्धकै मनस्थितिमा रहेको अर्थ लगाएर ब्रिटिस इन्डियाले मकवानपुर शिविरबाट काठमाडौँ हान्ने तयारी थाल्यो । मराठासँगको विवाद युद्धमा परिणत होलाजस्तो स्थिति सिर्जना भएकोले गोर्खाली र मराठी मिल्न गएको खण्डमा आपूmलाई साह्रै अप्ठेरो पर्ने ठानेर ब्रिटिस नेपालसँगको विवाद चाँडै टुङ्ग्याउनुपर्ने दबाबमा थियो । तसर्थ उसले काठमाडौँ आक्रमण गर्ने हल्ला आक्रामकरूपमा चलाइदिएर नेपालीलाई फत्रक्क गलाउन सफल भयो ।
राजधानी हान्ने कुराले दरबारमा खैलाबैला र जनता त्राहिमाम हुनु स्वाभाविकै हो । अब त ब्रिटिस इन्डियाको कुरा नमान्ने हो भने अस्तित्व नै समाप्त हुन्छ भन्ने ठानेर नेपाल सुगौली सन्धि गर्न बाध्य भयो । गजराज मिश्र तथा चन्द्रशेखर उपाध्यायलाई सन्धिपत्र जिम्मा लगाएर पठाइदियो । अन्ततः तोकिएको म्यादभन्दा ९३ दिनपछि मकवानपुरको ब्रिटिस क्याम्पमा नेपालको तर्फबाट राजगुरु पण्डित गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेको सन्धिपत्र लेफ्टिनेन्ट कर्नल पेरिस बेड्सालाई बुझाइदिए । सन्धि गरे पनि नेपालीले कार्यान्वयन गर्ने कुरामा ब्रिटिसलाई शङ्का लाग्यो । तसर्थ ४ मार्च १८१६ का दिन सेनापति अक्टरलोनीले सन्धि अनुमोदन भएको र त्यही मितिदेखि जारी भएको औपचारिक घोषणा गरे । यसरी एक वर्ष ८ महिना ३ दिनमा नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको युद्ध औपचारिकरूपमा समाप्त भयो । यही सन्धिलाई सुगौली सन्धि भनियो । सुगौली सन्धिको नाममा ब्रिटिस इन्डियाले नेपाललाई खोष्ट्याउन कुनै कसर बाँकी राखेन । नौ भागको यस सन्धिका प्रत्येक शब्द, वाक्य र खण्डले नेपालीको स्वाभिमान, स्वाधीनता र स्वतन्त्र अस्तित्वमाथि व्यङ्ग्य गरेको छ ।
हामी कहिल्यै कसैको उपनिवेश बनेनौँ, दास बनेनौँ भन्छौँ तर सुगौली सन्धिले प्रत्यक्ष नभए पनि परोक्षरूपमा उपनिवेश बनाएको अनुभव गराउँछ । सन्धिको पहिलो भागमा माननीय इस्ट इन्डिया कम्पनी र नेपालका राजाबीच शान्ति र मैत्री कायम हुनेछ भनिएको छ । कम्पनीलाई ‘माननीय’ भनिएको छ, नेपालका राजाको नामसम्म उल्लेख छैन । दोस्रो भागमा युद्ध हुनुअघि विवाद भएका सबै क्षेत्र नेपालका राजाले परित्याग गरी माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्ने उल्लेख छ । यसलाई कुन अर्थमा लिने ? युद्धअघि विवाद नभएका र युद्धमा नेपाल विजयी भएका क्षेत्रमा ब्रिटिस प्रभुसत्ता स्वीकार गर्ने कुरा अपमानजनक छैन र ?
Leave a Reply